बालेन सहभागी सभामा उर्लियो जनसागर
०६ माघ २०८२
•
८ मिनेट पाठ
बालेन सहभागी सभामा उर्लियो जनसागर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले जनकपुरधामको तिहुतिया गाछीमा आयोजित सभालाई मैथिली भाषामा सम्बोधन गर्दै भने, ‘कि केना है तु (के छ हालचाल) ?’ बालेनले कालो चस्माबाट सभास्थलतर्फ नजर डुलाउँदै फेरि भने, ‘पहिल बेर सब जाइत समुदायके आदमीसब एके जगह जम्मा भेल है (मधेसमा पहिलोपटक सबै जात–समुदायका मानिसहरू एकै ठाउँमा जुटेको छ।’ 




उनले थपे, ‘देशको विकासका लागि सबै जात र समुदायको समान विकास हुनुपर्छ।’ उनले गत वर्ष एनपिएलमा जनकपुर बोल्ट्सले जित हात पार्दा सबै जात–समुदाय खुसी भएको सन्दर्भ उल्लेख गर्दै यसो पनि भने, ‘यहाँ पनि सबै जात–समुदायको चेहरा हेर्न पाउँदा खुसी लागेको छ।’

विश्वकै सबैभन्दा प्रसिद्ध जानकी मन्दिरको सौन्दर्य, आकर्षण र व्यवस्थापकीय कमजोरीप्रति लक्षित गर्दै बालेनले भने, ‘विश्वकै प्रसिद्ध रामसीताको विवाह जनकपुरधाममा भएको छ तर हामी डेस्टिनेसन वेडिङका लागि जयपुर र बाली गाइरहेका छौं।’ बाहिर किन जाने भन्दै कमजोर नीति र व्यवस्थापकीय पक्षप्रति उनले आक्रोश व्यक्त गरे। काठमाडौं महानगरपालिकाका नागरिकले काम गर्ने मौका दिएको र आफूले काम गरेर देखाएको उल्लेख गर्दै उनले आफूलाई सरकार प्रमुख (प्रधानमन्त्री) को जिम्मेवारी दिए काम गरेर देखाउने दाबी गरे।

बालेनले काठमाडौं महानगरपालिकाको मेयर पदमा रहँदा भाषण गर्ने फुर्सद नभएको बताएर चार वर्ष काममा मात्र केन्द्रित भएको र पदबाट राजीनामा दिएपछि मात्र बोल्ने फुर्सद मिलेको बताए। आफ्नो कार्यकालको समीक्षा गर्दै बालेनले भने, ‘करिब चार वर्ष म मेयरको कुर्सीमा बसें तर यसबिचमा मैले धेरै मान्छेसँग भेटघाट पनि गरिनँ, भाषण पनि गरिनँ। मलाई काम गर्नमै भ्याइनभ्याइ थियो।’ उनले अगाडि थपे, ‘हिजो (आइतबार) राजीनामा दिएपछि बल्ल मलाई फुर्सद भयो र आज (सोमबार) यहाँ उभिएर बोल्न पाएको छु।’ पुराना नेताहरूले कामभन्दा बढी भाषण र भेटघाटमा समय बिताउने गरेकोप्रति संकेत गर्दै उनले आफू भने नतिजा र कर्ममा विश्वास गर्ने व्यक्ति भएको बताए। मेयर हुँदा आफूले चुपचाप काम गरेको र त्यसको नतिजा अहिले काठमाडौंवासीले देखिरहेको उनको भनाइ थियो।

अब आफू पूर्णकालीन राजनीतिमा होमिएको र देशको नेतृत्व गर्न तयार रहेको सन्देश दिँदै उनले भाषणभन्दा पनि काम गर्ने ‘मुड’मा आफू रहेको दोहोर्‍याए। उनले भने, ‘मधेसके छौरा प्रधानमन्त्री बनतै से सोइच कँ भोट नै दियौ सही आदमी प्रधानमन्त्री बनैबाला है आइ ला भोट दियौ (मधेसी छोरा प्रधानमन्त्री बन्न लागेको भनेर मत नदिनुस्, सही मान्छे, सही सरकार बन्दै छ भनेर भोट दिनुस्।’ उनले आफू काम गर्ने मान्छे रहेको भन्दै मधेसी जनतालाई भने, ‘काम दिनुस्, काम गरेर देखाउँछु। काठमाडौंवासीले जसरी काम गरेर देखाउन मलाई मौका दिनुभयो, त्यसरी तपाईंहरू पनि मलाई काम गर्न जिम्मा दिनुहुन्छ ?’ उनले आफूलाई संघीयता, प्रदेशप्रतिको धारणा के हो भनेर प्रश्न सोध्ने गरिएको पनि बताए। उनले भने, ‘प्रदेशलाई अझ बलियो बनाउनुपर्छ। प्रदेश एउटा गाउँको धारा जोड्न होइन, कम्तीमा तीन–चार पालिकालाई जोड्ने गरी विकास योजना बनाउने खालको हुनुपर्छ।’ बालेनले संघीयता भनिए पनि प्रदेश र स्थानीय तहले त्यसअनुसार अधिकार नपाएको जिकिर गरे। ‘जनकपुरको मेयर अहिले पनि प्रमुख प्रशासकीय अधिकृतका लागि काठमाडौं जानुपर्छ ? मधेसको राजधानी जनकपुर हो नि ! काठमाडौं घुम्न जानुस्, पशुपति, स्वयम्भू घुम्न जानुस्, अधिकार माग्न जानु नपरोस्।’

बालेले काठमाडौं महानगरपालिले वार्षिक २० हजार विद्यार्थीलाई राम्रा र महँगा कलेज, विद्यालयमा छात्रवृत्ति दिएर पढाउने गरेको उदाहरण दिँदै त्यसलाई समाजवादका रूपमा प्रस्तुत गरे। यस्तो समाजवाद सबै प्रदेश र पालिकामा चाहिएको उनको भनाइ थियो। समाजवादको व्याख्या गर्दै बालेनले भने, विद्यार्थीले कलेजमा नि:शुल्क पढ्न पाउनु, अस्पतालमा नि:शुल्क उपचार पाउनु नै समाजवाद हो। यस्तो व्यवस्था सबै प्रदेश र पालिकामा आवश्यक रहेको उनको भनाइ थियो। बालेनले आफू काम गर्ने मानिस भएको उल्लेख गर्दै काम गर्न मौका दिन आग्रह गरे।

बालेनको करिब १० मिनेटको भाषण कुनै नेताप्रति लक्षित थिएन। उनले आफुले मेयर हुँदा गरेका काम र आगामी योजनाबारे मात्र बोलेका थिए। उनी बोल्दा भिडले उत्साहित हुँदै ‘बालेन–बालेन’को नारा लगाउँथ्यो। माहोल हेर्दा लाग्थ्यो, यो जनसागर बालेनलाई सुन्न र हेर्न मात्र उर्लिएको हो। तिरहुतिया गाछीको क्षमता २० हजार मानिस अटाउनेछ। सभास्थल पुरापुर भरिएर पर्खाल र छेउछाउका रूख र घरमा समेत मानिस भरिएका थिए। मधेसको आठ वटै जिल्लाबाट बालेनलाई सुन्न भिड लागेको थियो। बालेन बोल्नुअघि र पछि बोल्ने नेताहरूको भाषणमा भिडको ध्यान देखिन्नथ्यो। भिडले बालेनको मात्र माग गरिरहेको थियो।

बालेनको मन्तव्यपछि रास्वपाका सभापति रवि लामिछाने बोलिराख्दा पनि भिडमा ‘बालेन–बालेन’को आवाज निरन्तर धन्किरहेको थियो। लामिछानेले बालेन शाहसँग आफूहरूबिचको वार्ता पाँच मिनेटमै टुंगिएको बताए। पदको भागबन्डामा पनि कुनै विवाद नभएको उनको दाबी थियो। ‘हामीबिचको वार्ता केवल पाँच मिनेटमै सकिएको हो। बाँकी समय त हामीले एकअर्कालाई चिन्न र बुझ्न मात्र खर्च गरेका हौं,’ उनले भने, ‘बालेनजीले आफ्नो सपना सुनाउनुभयो, मैले मेरो सपना सुनाएँ। जब सपना एउटै देखियो, तब पद कसले लिने र को ठुलो बन्ने भन्ने विषय गौण बन्यो।’ उनले थपे, ‘हामीले एकअर्काको सपना साटासाट गर्‍यौं। भेट भएको पाँच मिनेटमै हामीलाई महसुस भयो कि हामी अब अलगअलग होइन, सँगै हिँड्नुपर्छ।’

स्वर्णिम वाग्लेसहितको उपस्थितिमा भएको उक्त छलफलमा बालेनले देश बनाउने हुटहुटी देखाएपछि आफू पछि हटेर उनलाई भावी प्रधानमन्त्री मान्न तयार भएको लामिछानेले बताए। आफूले स्वर्गीय आमाको तस्बिरसँग संवाद गर्दै अब देश बालेनले चलाउन सक्ने बताएको लामिछानेले सुनाए। ‘मैले आमाको तस्बिरमा हेरेर भनें– आमा ! बालेनले देश बनाउँछ। बालेनले हाम्रो सपना पूरा गर्छ। यसको साक्षी मेरी श्रीमती पनि छिन्,’ उनले भने। सरकारले लगाएको मुद्दाले कुनै दिन आफूलाई जेलसमेत पुर्‍याउन सक्ने उनको भनाइ थियो। 

लामिछानेले अघिल्लो निर्वाचनमा आफू सबैभन्दा धेरै मत ल्याउने सांसद बनेको उल्लेख गर्दै त्यसपछि आफूलाई छलछाम गरेर हटाइएको आरोप लगाए। उनले अब पार्टीलाई थप सशक्त बनाउँदै जनताबाट अभूतपूर्व समर्थन प्राप्त गर्ने र संसदमा बलियो उपस्थितिसहित प्रवेश गर्ने संकल्प व्यक्त गरे। 

रास्वपा नेत्री सोबिता गौतमले काठमाडौं महानगरका निवर्तमान मेयर बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा देख्न पार्टी र देश तयार रहेको बताइन्। उनले जन्मले मधेसको छोरो र कर्मले काठमाडौंको छोरो बालेन र रास्वपा सभापति रवि लामिछाने एकै मञ्चमा उभिनु ऐतिहासिक क्षण भएको बताइन्। ‘बालेन साहजीको आगमनले राष्ट्रिय स्वतन्त्र पार्टी आज पूर्ण भएको महसुस गरेको छु,’ उनले भनिन्, ‘रवि लामिछाने र बालेन साहको उपस्थितिले अबको नेतृत्व र भविष्य देखेको छ।’

रास्वपाका प्रवक्ता मनीष झाले आगामी निर्वाचनमा आफूहरूलाई एकपटक मौका दिन आग्रह गर्दै पाँच वर्षपछि पुनः भोट माग्न नभई पाँच वर्षको कामको हिसाबकिताब अर्थात् रिपोर्ट कार्ड लिएर जनतामाझ आउने उद्घोष गरे। ‘एकचोटि मौका दिनुस्, अर्को पटक अर्थात् १८२५ दिनपछि हुने चुनावमा अरूहरूले जस्तो फेरि मौका देऊ भनेर याचना लिएर आउनेछैनौं,’ उनले भने, ‘हामी हाम्रो रिपोर्ट कार्ड लिएर आउनेछौं कि पाँच वर्षमा हामीले के–के गर्‍यौँ।’ आफ्नो बाल्यकाल र शिक्षादीक्षा जनकपुरमै भएको स्मरण गर्दै झाले चियापसलदेखि लस्सी पसलसम्म र चोकदेखि घरघरसम्म पुगेर जनताका समस्या सुन्ने र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘म बालेनजीको नेतृत्वमा बन्ने सरकारको एक अनुयायी र सहकर्मीका रूपमा रहन चाहन्छु,’ झाले भने, ‘तर त्यसका लागि तपाईंहरूको मत, मन र आशीर्वाद चाहिन्छ।’ जनकपुरधामको विकासको खाका प्रस्तुत गर्दै उनले यहाँ राम जानकी रंगशाला निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरका खेलकुद आयोजना गर्ने र जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता जनाए।

रास्वपामा नवप्रवेशी नेता डा. अमरेशकुमार सिंहले रास्वपाका वरिष्ठ नेता मेयर बालेन देशको ‘महानायक’को पदवी दिँदै भने, ‘अब मधेसले देशलाई प्रधानमन्त्री दिन सक्नुपर्छ। जेनजी आन्दोलनलाई सफल बनाउन र देशमा सुशासन कायम गर्न बालेनलाई प्रधानमन्त्री बनाउनुको विकल्प छैन।’ रास्वपाले प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको ‘परिवर्तन उद्घोषसभा’मार्फत आफ्नो चुनावी सभाको सुरुवात गरेको बताएको छ। चुनावी सभालाई सोमबार सम्बोधन गर्दै रास्वपाका शीर्ष नेताहरूले ‘अब की बार, बालेन सरकार’ भन्दै मत मागेका थिए। सभामा सहभागी हुन बालेन आइतबार अपराह्न नै जनकपुरधाम आइपुगेका थिए। 

रास्वपा सभापति लामिछाने सोमबार जनकपुरधाम आइपुगेका थिए। बालेन सोमबार बिहानै अमरेश सिंहसँग जानकी मन्दिरमा पूजापाठ गर्न गएका थिए। त्यसपछि बालेन र सिंहसहितका नेताहरू लहानस्थित मधेसी सहिदको प्रतिमामा माल्यार्पण गर्न लहान पुगेका थिए। बिहानै मधेसी सहिद प्रतिमामा माल्यार्पण गरी उनले मधेसप्रतिको मोह र सम्मान प्रदर्शन गरेर मन जित्ने प्रयास गरेका थिए। बालेन हेर्न जम्मा भएको भिड व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो।

२०६३ सालमा भएको विभेदविरुद्ध पहिलो मधेस आन्दोलनमा माघ ५ गते रमेश महतो पहिलो सहिद भएका थिए। त्यसपछि चर्किएको आन्दोलनमा माघ ६ गते थप चार जना सहिद भएका थिए। पहिलो मधेस आन्दोलनका पाँचै जना सहिदको लहानमा प्रतिमा बनाइएको छ। हरेक माघ ५ गते मधेस बलिदानी दिवस मनाउँदै सहिदलाई सम्झने गरिएको छ।

मधेसी खेद्नेलाई बेलैमा चिनौँ : राउत
जनमत पार्टीका अध्यक्ष सिके राउतले महानगर प्रहरी लगाएर लाखौं मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेहरूलाई समयमै चिन्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउने मधेस विरोधी, पहिचान विरोधी, संघीयता विरोधी र स्वायत्तता विरोधीहरूलाई समयमा चिन्न आग्रह गरेका हुन्। राउतले मधेसीलाई काठमाडौंबाट भगाउनेभन्दा मधेसीलाई काठमाडौंमा बचाउनु र आत्मसम्मान दिलाउनु महत्त्वपूर्ण भएको जिकिर गरेका छन्।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
४४ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस