नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पार्टीका विभिन्न नेता कार्यकर्ताहरु मेडिसिटी अस्पताल पुगेका छन्।
पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस नेता शेखर कोइराला, अर्थमन्त्री जनार्दन शर्मा, स्वामी आनन्द अरुण लगायत अस्पताल पुगेका हुन्।
उनको पार्थिव शरीरलाई अहिले मेडिसिटी अस्पतालको शिवालयमा राखिएको छ। श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेसम्म मेडिसिटी अस्पतालमा राखिएको उनको पार्थिव शरीरलाइ बिहान ११: ३० बजेदेखि दिउँसो २: ०० बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
त्यसपछि उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
नेपाली कांग्रेसले प्रदीप गिरिको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ।
आज बसेको केन्द्रीय समितिको बैठकले पूर्वकेन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरिको शोक प्रस्ताव पारित गर्दै पार्टी कार्यालयहरुमा तीन दिनसम्म झण्डा झुकाउने निर्णय गरेको हो।
त्यस्तै सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द गरिने छ भने १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राखिने छ। १६ गते केन्द्र र सबै जिल्लामा शोक सभा गर्ने कांग्रेसले जनाएको छ।
गिरिको ७५ वर्षको उमेरमा शनिबार राति निधन भएको थियो। उनी लामोसमयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...