सरकारप्रति राष्ट्रपति असन्तुष्ट
११ साउन २०७९
•
४ मिनेट पाठ
सरकारप्रति राष्ट्रपति असन्तुष्ट
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएका बेला सरकारले फजुल खर्च नियन्त्रण र मीतव्ययिता अवलम्बन गर्न नसकेको गुनासो गरेकी छिन्। विभिन्न सञ्चारमाध्यमका प्रकाशक र सम्पादकसँग मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित भेटघाट कार्यक्रममा सरकारप्रति असन्तुष्ट देखिएकी राष्ट्रपति भण्डारीले आर्थिक अनुशासन कठोरतापूर्वक पालना गर्नुपर्ने आवश्यकता औंल्याइन्।  




सरकारका विभिन्न निर्णयप्रति असन्तुष्टि जनाएकी राष्ट्रपति भण्डारीले पाँचबुँदे लिखित धारणामार्फत हरेक नागरिक, परिवारदेखि राज्यका निकायलाई सकेसम्म खर्च नियन्त्रण गर्न भनेकी छिन्। ‘आर्थिक अनुशासन र मीतव्ययितालाई हामीले जीवन पद्धतिका रूपमा अवलम्बन गर्नुपर्दछ,’ उनले भनेकी छन्।  

अर्थ व्यवस्थालाई स्वावलम्बी र आत्मनिर्भर बनाउन नेपालले तुलनात्मक लाभको क्षेत्रमा तत्काल नयाँ फड्को मार्ने गरी काम थाल्नुपर्ने भन्दै उनले कृषि, वन, पर्यटन र जलविद्युत्लाई तुलनात्मक लाभको क्षेत्र मानिएको बताइन्। ‘हामीले आफैं उत्पादन गर्न सक्ने धानचामल मात्रै करिब ५० अर्ब रुपैयाँबराबरको आयात भइरहेको छ,’ उनले भनिन्, ‘सागसब्जी, दाल, मसला र गेडागुडीसमेत उसैगरी आयात भएको देखिन्छ।’

फर्निचर, काठ र अन्य वन पैदावारको पनि त्यही अवस्था रहेको भन्दै उनले ‘राष्ट्रपति कृषि उत्पादन’ बाट केही महिनामै लाभ प्राप्त गर्न सकिने हुनाले ठोस नीति र सकारात्मक हस्तक्षेपका माध्यमबाट उत्पादन बढाई व्यापार घाटा कम गर्ने पहलको सुरुवात गर्न आग्रह गरिन्। राष्ट्रपतिका रूपमा दोस्रो कार्यकाल सकिनै लाग्दा पछिल्ला दिनमा विभिन्न पक्षसँगको भेटघाटका साथै सरकारका कामप्रति असन्तुष्टि जनाउँदै आएकी राष्ट्रपति भण्डारीले ‘खेतबारी बाँझो राख्न नहुने’ अभियान थाल्नुपर्ने धारणा राखिन्। ‘यसका लागि जनता आफैं जागृत हुने अवस्था निर्माण गर्न हाम्रो प्रयत्न रहनुपर्दछ,’ उनले भनिन्, ‘ स्थानीय तहहरूले यस अभियानको नेतृत्व गर्न सक्छन् भन्ने मलाई लाग्छ।’

अमेरिकी सुरक्षा रणनीति एसपिपीका विषयमा आफ्नो असन्तुष्टि बाहिर ल्याउन केही समयअघि एमालेनिकट प्रेस चौतारीका पत्रकारसँग कुराकानी गरेकी राष्ट्रपति भण्डारीले यसपटक प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएको सन्दर्भमा सम्पादक तथा प्रकाशहरूसँग भेट गरेकी हुन्।  

कुराकानीका क्रममा उनले कोरोनाबाट जोगिन सतर्क हुनुपर्ने बताइन्। ‘यो महामारीका कारण हाम्रो राष्ट्रिय जीवनका सबै क्षेत्र प्रभावित बन्न पुगेका छन्। कोभिड–१९ को सामना गर्न अवलम्बन गर्नैपर्ने कठोर उपायका कारण मुलुकको शिक्षा, स्वास्थ्य, पर्यटनसहित समग्र अर्थ व्यवस्थामा परेको दुरगामी प्रभाव हामीले निकै लामो समयसम्म व्यहोर्नुपर्ने देखिएको छ,’ उनको लिखित मन्तव्यमा उल्लेख छ।  

मुलुकलाई प्रगतिको बाटोमा लैजान आफूले विभिन्न पक्षसँग छलफल गर्दै आएको धारणा राख्दै उनले भनिन्, ‘हाम्रो उत्पादन न्यून छ र आयातमाथिको हाम्रो निर्भरता अनियन्त्रित रूपमा बढिरहेको छ। फलस्वरूप, विप्रेषणमा निर्भर हाम्रो वैदेशिक मुद्रा सञ्चितीलाई बढ्दो आयातले निरन्तर दबाबमा राखिरहेको छ, जसबाट देशको समग्र अर्थ व्यवस्थामै चिन्ताको बादल छाएको छ।’

परनिर्भर अर्थतन्त्रले मुलुकको आत्मविश्वासलाई कसरी कमजोर बनाउँछ भन्ने सम्बन्धमा जनतालाई अझै सुसूचित गर्न राष्ट्रपतिले आग्रह गरिन्। ‘अर्कोतर्फ सरकारबाट तत्काल सुधारका उपाय कडाइका साथ लागु गर्न आवश्यक छ,’ उनले भनिन्, ‘केही सुरुवात भएका छन्, जसलाई अझै बलियो पार्दै लैजानुपर्छ।’

उनले आन्तरिक र वैदशिक पर्यटनलाई प्रवद्र्धन गर्दै जानुपर्ने भन्दै जलविद्युत्का क्षेत्रमा प्राथमिकताका साथै आन्तरिक खपत वृद्धितर्फ उन्मुख हुनुपर्नेमा जोड दिइन्। मुलुकले कष्टपूर्वक सञ्चित गरेको विदेशी मुद्राको ठूलो अंश पेट्रोलियम पदार्थ आयातमा खर्च भइरहेको उल्लेख गर्दै उनले  

जलविद्युत्लाई जनताको भान्सासम्म पुर्‍याएर एलपी ग्यास आयात कम गर्दै लैजानुपर्ने बताइन्। ‘पेट्रोलियम इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीले विस्थापन गर्दै लैजाने नीति अवलम्बन गरी हामी अर्को सुरुवात गर्न सक्छौं। यससम्बन्धी विद्यमान नीतिको इमानदारीपूर्वक कार्यान्वयन गर्न सबैको सचेत प्रयास आवश्यक देखिएको छ,’ उनले भनिन्।  

स्वावलम्बी र स्वाधीन अर्थतन्त्र मुलुकको सार्वभौमिकतासँग प्रत्यक्ष रूपले जोडिएको भन्दै भण्डारीले नेपालको मौलिक पहिचान, संस्कृति र सभ्यता हाम्रो स्वाधीनतासँग गहिरो गरी अन्तरसम्बन्धित रहेको बताइन्। बौद्ध एवं सनातन सभ्यताहरूको विकास भएको मानिने हाम्रो भूखण्डसँग भएका सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न सबल शिक्षा प्रणालीको आवश्यकता रहेको पनि उनले बताइन्। मुलुकको सांस्कृतिक एवं सभ्यतागत पुनर्जागरणका लागि शिक्षा नै पहिलो र एक मात्र सर्त भएको धारणा राख्दै उनले विद्यालयदेखि विश्वविद्यालय तहसम्म नेपालले आफ्नो क्षमताअनुसार प्रशस्त लगानी गरेको भए पनि अपेक्षित प्रतिफल निस्कन नसकेको बताइन्। ‘विद्यालयदेखि विश्वविद्यालयसम्मकै शिक्षाको गुणस्तर, सामाजिक दायित्व, शिक्षण सिकाइको प्रभावकारिता, जनताको करबाट त्यहाँ भइरहेको आर्थिक लगानी जस्ता महत्वपूर्ण मुद्दामा सुधारात्मक उपाय पहिल्याउन यहाँहरूको कलम अझै चल्नेछ भन्ने विश्वास व्यक्त गर्दछु,’ उनले भनिन्।  

मुलुकको अर्थिक प्रणाली, शिक्षा, स्वास्थ्य, विदेश नीतिलगायत आधारभूत विषयमा राज्यले लिनुपर्ने दिशा संविधानले स्पष्ट गरेको राष्ट्रपति भण्डारीले उल्लेख गरिन्। राष्ट्रसामु उपस्थित अहं विषयमा संविधानलाई शिरमा राखेर सबै राजनीतिक दलहरूबीच सहमति कायम गर्नुपर्ने बताउँदै उनले भनिन्, ‘यसका लागि आवश्यक पर्ने जनमत निर्माण गर्न राज्यको चौथो अंगको रूपमा सम्मानप्राप्त सञ्चार जगतले सबै पक्षलाई निरन्तर सचेत गराउने मैले अपेक्षा लिएको छु।’ विभिन्न प्रसंगमा आफूले सामूहिक जमघट चाहेर पनि नसकेको राष्ट्रपति भण्डारीले बताइन् ।
अर्को समाचार
सरकारप्रति राष्ट्रपति असन्तुष्ट
०१ असार २०७९
•
३ मिनेट पाठ
सरकारप्रति राष्ट्रपति असन्तुष्ट
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र हितविपरीत कुनै काम हुन नदिने भन्दै अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौताबारे चासो राखेकी छन्।




केही दिनदेखि एसपिपीबारे चर्चापरिचर्चा चलिरहेका बेला राष्ट्रपति भण्डारीले केही पत्रकारसँगको भेटमा भनिन्, ‘मैले जानेर वा नजानेर राष्ट्र हितविपरीत कुनै पनि काम गर्दिनँ।’ राष्ट्रपति भण्डारीसँग मंगलबार एमालेनिकट प्रेस चौतारीमा आबद्ध केही पत्रकारले भेट गरेका थिए।

स्रोतका अनुसार भेटमा मुलुकको सार्वभौमसत्ता, स्वाभिमानलाई झुक्न दिन नहुने, नेपालको भूमिमा विदेशी शक्ति राष्ट्रहरूको चलखेल रोक्न सरकारले नै पहल गर्नुपर्ने र त्यसो नभए राष्ट्रपतिले मुलुकको अभिभाकको भूमिका निर्वाह गर्नुपर्ने प्रसंग उठेपछि उनले आफूले जानेर वा नजानेर राष्ट्र हित विपरीतका कुनै पनि काम नगर्ने बताएकी हुन्।

पत्रकारसँगको कुराकानीमा राष्ट्रपति भण्डारीले असंलग्न परराष्ट्र नीतिमा सरकारले तलमाथि गर्नेबारेमा कहींकतै नबोलेको तर व्यवहारमा त्यस्तो नदेखाएको भन्दै चिन्ता प्रकट गरेकी थिइन्। ‘सरकारका कुनै अधिकारीले असंलग्न परराष्ट्र नीतिका विपक्षमा बोल्नुभएको छैन तर अमेरिकी अधिकारीलाई तिब्बती शरणार्थी क्याम्प जान दिनुले व्यवहारमा अप्ठेरो उत्पन्न गराएको छ’, राष्ट्रपतिलाई उद्धृत गर्दै स्रोतले भन्यो।

उनले सरकार कुनै पनि विदेशी शक्ति राष्ट्रका विषयमा एकपक्षीय जस्तो भएर जान नहुने र यस्तो भएमा नेपालको परराष्ट्र नीतिमा असर पर्ने बताइन्। अमेरिकी उपविदेशमन्त्री उज्रा जेयाको काठमाडौंस्थित तिब्बती शरणार्थी शिविर भ्रमणको विषयले दलहरूभित्र मतभिन्नता उत्पन्न भएका बेला राष्ट्रपति भण्डारीले पनि यसबारेमा चासो राख्दै असन्तुष्टि प्रकट गरेकी हुन्।

यसै साता अमेरिकी सेनाका कमान्डर चार्ल ए फ्लिनको नेपाल भ्रमणलगत्तै एसपिपी सम्झौताका विषयमा पनि चर्चा भइरहेको छ। जसले गर्दा यसमा राष्ट्रपति भण्डारीले समेत चासो दिने अवस्था आएको हो। प्रेस चौतारीनिकट केही पत्रकारसँगको भेटमा राष्ट्रपतिले राष्ट्र र राष्ट्रियताका सवालमा कुराकानी गरेकी थिइन्।

राष्ट्रपति भण्डारीसँग मंगलबार केही पत्रकारको भेट भएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पुष्टि गरे। ‘हामीले लामो समयदेखि राष्ट्रपतिसँग भेटका लागि समय मागेका थियौं, मंगलबार समय मिलेको हो। हाम्रो भेट सामान्य कुराकानीमै टुंगिएको हो, अन्य कुनै कुरा भएन’, बस्नेतले भने।

राष्ट्रपति भण्डारीले अहिलेको सरकारले ल्याएको बजेटका विषयमा पनि सामान्य धारणा राखेकी थिइन्। खासगरी किसानले समयमा मल नपाएको, कृषि उत्पादनलाई सरकारले बेवास्ता गरेको, बिचौलिया हाबी भएको जस्ता विषयमा राष्ट्रपति भण्डारीको चासो थियो। उनले आफूले सकेजति र संविधानले दिएको अधिकार कार्यान्वयन गरिरहेको बताइन्।

उनले अर्को एक फरक प्रसंगमा अनशन बसिरहेकी निहारिका राजपुतको माग सरकारले सम्बोधन गर्न नसकेको भन्नेबारेमा पनि चासो राखेकी थिइन्। समाचारमाध्यमबाट आफूले यो विषय थाहा पाएको र निहारिकालाई सहयोग गर्न सरकारले किन बेवास्ता गरिरहेको छ भन्नेबारे आफूलाई जानकारी नभएको उनले बताइन्।

‘एउटी महिला सानो बच्चासहित अनशन बसिरहेकी छन्। मैले सुन्दै छु–महिला आयोगले पनि सहयोग गरेको छैन रे। महिला मन्त्रालयको त प्रवेश निषेध नै छ भन्ने सुनेकी छु। यस्तो किन भइरहेको छ? सरकारले यसबारे केही सोचेको छ कि छैन?’ राष्ट्रपतिलाई उद्धृत गर्दै स्रोतले भन्यो। उनले निहारिका लगायत महिलामाथि भएका हिंसाका विषयमा गम्भीर चासो राखेकी थिइन्।

स्रोतका अनुसार राष्ट्रपति भण्डारीले जनताले चर्को महँगी खेपिरहेका विषयमा पनि चासो राखेकी थिइन्। ‘जनताका आधारभूत समस्या समाधान हुन सकेका छैनन्। जसले गर्दा जनता निराश हुने अवस्था आएको छ’, उनले भेटका क्रममा भनेकी थिइन्। उनले वाम गठबन्धनबारेमा भने खासै चासो दिइनन्।

भेटमा केही पत्रकारले वाम गठबन्धन अहिले मुलुकको आवश्यकता भएको र त्यसका लागि राष्ट्रपतिले पहलकदमी लिनुपर्ने बताए पनि उनले त्यसबारे आफूलाई चासो नभएको बताइन्। ‘यो विषय समयको माग हो। यसमा धेरै चासो र चिन्ता लिनुपर्ने आवश्यकता छैन। यतिबेला जनताको जीवनशैलीलाई समस्यारहित बनाउनुपर्छ। गठबन्धनको विषय दलहरूले जान्नेछन्’, राष्ट्रपतिलाई उद्धृत गर्दै स्रोतले भन्यो।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस