एमालेमा संगठित गुट विघटन !
१४ असोज २०७८
•
४ मिनेट पाठ
एमालेमा संगठित गुट विघटन !
आन्तरिक विवाद समाधान गर्न १०बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ। नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरकफरक प्यानलबाट निर्वाचनमा भाग लिएका नेताहरू अहिले छिन्नभिन्न भएपछि एमालेभित्रको संगठित गुट विघटन भएको हो।




विधान मस्यौदामा महाधिवेशनमा नेतृत्वका लागि प्यानल बनाएर निर्वाचनमा भाग लिन नपाउने, व्यक्तिमात्रै उम्मेदवार बन्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ। ‘अध्यक्षसहित सबै पदाधिकारी र सदस्य महाविधेशन वा अधिवेशनबाट निर्वाचित हुने र निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने’, विधान मस्यौदामा उल्लेख छ। 

विधानमै प्यानल बनाउन बन्देज लगाउन गरिएको प्रस्ताव विधान महाधिवेशनबाट अनुमोदन भएपछि एमालेमा अब संगठित रुपमा गुटबन्दी नहुने दाबी नेताहरूको छ।

नवौं महाधिवेशनमा नेतृत्वका लागि केपी शर्मा ओली र माधव नेपालले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लडेका थिए। नवौैं महाधिवेशनमा नेतृत्वमा पुग्न प्यानल बनाएर निर्वाचनमा गएका कारण पार्टीभित्र समस्या उत्पन्न भएको र त्यसैका कारण विभाजनसम्म पुगेको भन्दै अहिले विधानमै प्यानल बनाउन बन्देज लगाउने प्रस्ताव गरिएको हो। 

नवौं महाधिवेशनपछि एमालेमा दुई लाइन संघर्ष सुरु भएको थियो। त्यसैकारण देशव्यापीरुपमा पार्टी दुई धारमा विभाजित भएको थियो। नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए। त्यसपछि उनले महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गरेका नेपाल र उनको समूहलाई पेलेर पार्टीभित्र काम गर्ने वातावरण नदिएको आरोप लागेको थियो। 

त्यतिमात्र होइन, एमालेभित्र ओली समूह र नेपाल समूह स्पष्ट रुपमा देखियो। अन्ततः पार्टी विभाजन भयो। नवौं महाधिवेशनबाट निर्वाचित ५० भन्दा बढी केन्द्रीय सदस्यसहित नेपालले नेकपा एकीकृत समाजवादी गठन गरिसकेका छन्। यसबाट पाठ सिक्दै एमालेले महाधिवेशनमा नेतृत्वका लागि प्यानल बनाएर निर्वाचन लड्न बन्देज लगाउने व्यवस्थासहितको विधान मस्यौदा तयार पारेको छ। यो मस्यौदालाई विधान महाधिवेशनबाट पारित गर्ने तयारी छ। 

विधानमा राखिएको यो व्यवस्था पारित भए दसौं महाधिवेशनमा नेतृत्वमा पुग्न प्यानल बनाएर चुनावमा जान पाइने छैन। यो व्यवस्थाले अब एमालेमा संगठित गुट निर्माण नहुने नेताहरूको दाबी छ।

नवौं महाधिवेशनपछि पार्टीभित्र उत्पन्न विवाद समाधान गर्न गत असार २७ गते १०बुँदे सहमति गरिएको थियो। त्यो सहमतिपछि बसेको स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकमा नेताहरूले आफ्ना धारणा राखेका थिए। 

१० बुँदे सहमतिपछि पार्टीको जिम्मेवारीमा फर्केका नेताहरूले विधानको मस्यौदामाथि खुलेर छलफल गरेका थिए। ‘विभिन्न बैठकमा पार्टीमा देखिएको समस्या साझा भएको र त्यसलाई गुटको धारणा बनाउन नहुने विषय पार्टी अध्यक्ष केपी शर्मा ओली नजिकका नेताहरूले राखेका थिए भने पहिला माधव नेपाल पक्षमा रहेका तर पछि उनको साथ छोडेका नेताहरूले पनि गुटगत धारणा राखेनन्’, एक केन्द्रीय सदस्यले भने।

पार्टी अध्यक्ष ओलीले पनि पटकपटक गुटको रुपमा कसैसँग कुरा नगर्ने बताउँदै आएका छन्। तर पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासो आएपछि ओलीले स्थायी कमिटीको बैठक राखेर उपाध्यक्ष भीम रावलको संयोजकत्वमा कार्यदल बनाएका छन्। 

महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, लेखराज भट्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल सदस्य रहेको कार्यदलले सहमति कार्यान्वयनको वातावरण बनाउने जिम्मेवारी पाएको छ। सहमति कार्यान्वयन भएपछि एमालेमा गुट नरहने अपेक्षा गरिएको एक नेताले बताए। कार्यदलमा माओवादीबाट एमालेमा आएका नेतासमेत रहेका कारण गुटबन्दी हुन नपाउने ठम्याइँ नेताहरूको छ। ‘सबैलाई मिलाउने जिम्मेवारी उपाध्यक्ष रावल कार्यदलले पाएको छ। त्यसमा सबैतिरको प्रतिनिधित्व छ’, केन्द्रीय सदस्य विजय सुब्बाले भने।

पार्टीभित्र सबै पक्षको समीक्षा हुनुपर्ने र एउटा पक्षले अर्कोलाई आरोप लगाएर फेरि विवाद उत्पन्न गराउन नहुने धारणा बलियो बन्दै गएको सुब्बाले बताए।  

‘केन्द्र्रीय कमिटी बैठकमा केही साथीले राजनीतिक प्रतिवेदनमा पार्टी अध्यक्षको आलोचना गर्नुभयो तर उहाँहरूले गरेको विषयमा पनि समीक्षा हुनुपर्छ। पार्टीभित्र देखिएका समस्यामा सबैको कमजोरीको पक्षमा समीक्षा हुनुपर्छ। समीक्षा गुटभन्दा बाहिर गएर हुनुपर्छ’, उनले भने।

अर्का केन्द्रीय सदस्य निरज आचार्यले पार्टीभित्र अहिले गुटबन्दी बन्द भएको र विधान महाधिवेशनबाट प्यानल बनाएर निर्वाचन लड्न नपाउने व्यवस्था पारित भएपछि गुटबन्दी पूर्णत बन्द हुने बताए। ‘विधान मस्यौदामा महाधिवेशनमा नेतृत्वका लागि प्यानल बनाएर निर्वाचनमा जान नपाउने व्यवस्था राखिएको छ। यो पारित भएपछि प्यानल बन्दैन। नेताहरू आफ्नो व्यक्तिगत आकांक्षाअनुसार महाधिवेशनमा उम्मेदवार हुन्छन्। 

त्यसले कसैलाई पनि यो वा त्यो प्यानलमा लागेको भन्ने इगो जन्माउँदैन’, आचार्यले भने। एमालेले पहिलो पटक गर्न लागेको विधान महाधिवेशनले धेरै विवाद निरुपण गर्ने दाबी गर्दै आचार्यले भने, ‘अहिलेको अवस्थामा पार्टीलाई कसरी एकढिक्का बनाएर लैजाने र महाधिवेशनलाई कसरी सफल बनाउने भन्नेमै ध्यान केन्द्रित हुन थालेको छ ।’
अर्को समाचार
एमालेमा पुरानै कमिटी ब्युँतिए
०९ भदौ २०७८
•
४ मिनेट पाठ
एमालेमा पुरानै कमिटी ब्युँतिए
प्रमुख प्रतिपक्षी नेकपा एमाले स्थायी कमिटी बैठकले आन्तरिक विवाद समाधानका लागि गत असार २७ गते भएको दसबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले छाडेलगत्तै मंगलबार बसेको स्थायी कमिटी बैठकले दसबुँदे सहमति कार्यान्वयनको निर्णय गरेको हो।  




बैठकमा विगतमा लामो समय नेपालसँगै रहेका स्थायी कमिटी सदस्यहरू पनि उपस्थित थिए। नेता नेपाललाई साथ दिँदै आएका एमाले उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, रघुजी पन्त बैठकमा सहभागी थिए। उनीहरू पुसपछि पहिलोपटक पार्टी अध्यक्ष ओलीले डाकेको बैठकमा सहभागी भएका हुन्। एमाले विवाद निरूपणका लागि गठित कार्यदलले असार २७ गते गरेको दसबुँदे सहमति कार्यान्वयन गर्न ओली सहमत भएपछि उनीहरू बैठक र निर्णय प्रक्रियामा सामेल भएका हुन्।  

बैठकले केन्द्रदेखि स्थानीय तहसम्म र जनसंगठनका सबै कमिटीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको छ। बैठकको निर्णयअनुसार अब एमाले पार्टी संरचनाहरू २ जेठ २०७५ अघिको अवस्थामा क्रियाशील हुनेछन्। पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीका अनुसार १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरूको पूर्णता दिनेलगायत प्रयोजनका निम्ति सात सदस्यीय कार्यदल बनाइएको छ। कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरू विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन्। 

बैठकले मंसिर १० देखि १२ गतेसम्म पार्टीको दसौं महाधिवेशन र असोज ४ देखि ६ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। एमाले सदस्यता २ जेठ २०७५ अघिको आधारमा कायम हुनेछ। महाधिवेशनका लागि सदस्यता नवीकरण असोज मसान्तभित्र गरिसक्ने निर्णय भएको सचिव ज्ञवालीले बताए। उनका अनुसार बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरूको भेला गर्ने निर्णय गरेको छ। त्यसअघि १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। बैठकले पूर्वप्रधानमन्त्री नेपाललगायतलाई एमालेमै फर्कन आग्रह गरेको छ। यसअघि भएका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने भन्दै एकताका लागि बैठकले आग्रह गरेको हो।

‘एमालेबाट विभाजित भएर अलग्गै पार्टी दर्ता गर्ने प्रयास गरिहेका कमरेडहरूलाई हामी आग्रह गर्छौं– मुलुकका सामु उपस्थित असाधारण सम्भावना र अकल्पनीय चुनौतीप्रति संवेदनशील हुँदै पार्टीको काँधमा आएको ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै त्यस्तो गलत र हानिकारक बाटो छाडेर पार्टी एकतामा आबद्ध हुनुहोस्, आफ्नो मूलघरमा फर्किनुहोस’, बैठकपछि सचिव ज्ञवालीले भने, ‘जीवन्त र लोकतान्त्रिक पार्टीमा समस्या उत्पन्न हुनु, समस्यालाई हेर्ने दृष्टिकोणमा भिन्नता हुनु र कतिपय प्रश्नमा असहमति पैदा हुनु स्वाभाविकै हो। तर, समस्याको विकल्प विग्रह होइन। त्यसरी नै भिन्नताको समाधान अन्तरद्वन्द्व होइन। असहमतिको निष्कर्ष त विभाजन झन् हुँदै होइन। नेकपा एमालेको एकता यस पार्टीका लाखौं सदस्य र समर्थक, शुभचिन्तकहरूको मात्र होइन, आमजनता र देशकै चाहना हो।’ बैठकले नयाँ दल खोल्ने प्रक्रियामा लागेका नेता कार्यकर्ता फर्किए पुरानै जिम्मेवारी दिने निर्णय गरेको छ।  

माओवादीबाट भित्रिएका स्थायी कमिटी सदस्यमात्र

दसबुँदे सहमति कार्यान्वयन गर्ने क्रममा पार्टी संगठन २०७५ जेठ २ गतेको अवस्थामा फर्कंदा नेकपा माओवादीबाट एमालेमा आएका नेताहरूको भने जिम्मेवारी खोसिएको छ। बैठकले ०७५ जेठ २ अघिकै संरचनामा पार्टीलाई लैजाने निर्णय गरेपछि उनीहरू स्थायी कमिटी सदस्यमात्रै भएका छन्। दसबुँदे सहमति कार्यान्वयनका अन्य मापदण्ड बनाइने भनिए पनि तत्काललाई उनीहरूको केन्द्रीय सदस्य खोसिएको हो।  

बैठकको निर्णयअनुसार एमालेका २०७५ जेठ २ अघिका सबै संचरना पुनर्जीवित भएका छन्। जिल्ला र प्रदेश कमिटीहरू पनि २०७५ जेठ २ कै अवस्थामा फर्किएका छन्। निर्णयअनुसार प्रदेश १ को इन्चार्ज भीम आचार्य, प्रदेश २ को इन्चार्ज सत्यनारायण मण्डल, वाग्मती प्रदेशको इन्चार्ज अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङ, लुम्बिनी प्रदेश इन्चार्ज विष्णु पौडेल, कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल कायम भएका छन्। 

नेकपा विभाजन भएपछि एमालेले प्रदेश कमिटीमा जिम्मेवारी हेरफेर एवं कमिटीको आकारसमेत बढाएको थियो। प्रदेश १ मा सुवास नेम्बाङ, २ मा रघुवीर महासेठ, वाग्मतीमा रामबहादुर थापा, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको थियो। जनसंगठनको हकमा पनि २०७५ जेठ २ अघिकै संरचना ब्युँतने छन्।  

माओवादीबाट आएका नेताहरूको जिम्मेवारी व्यवस्थापनका सन्दर्भमा उच्चस्तरीय कार्यदलले खाका तयार गर्ने भएको छ। बैठकले केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वयन कमिटी, जिल्ला कमिटीलगायत सबै तहका कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरूलाई २०७५ साल जेठ २ गतेअघि जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ। दसबुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटी तथा पार्टी सदस्यसमक्ष प्रेसित गर्ने निर्णय भएको छ। प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने क्रममा उत्पन्न हुन सक्ने समस्या समाधान गर्न कार्यदल बनाइएको छ।  

महाधिवेशनका लागि २०७५ जेठ २ गतेलाई आधार मानेर पार्टी सदस्यता नवीकरण अगाडि बढाउने, पार्टी एकताका क्रममा आबद्ध भएका सदस्यहरूको पनि सदस्यता नवीकरण गर्नेे र २०७५ जेठ ३ पछि सदस्य भएकाहरूको पनि नवीकरण गर्ने निर्णय भएको छ। पार्टी विधान महाधिवेशन असोज ४,५ र ६ गते काठमाडौंमा गर्ने र १० औं महाधिवेशन २०७८ मंसिर १०, ११ र १२ मा गर्ने निर्णय भएको जानकारी सचिव ज्ञवालीले दिए।  
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस