‘सरकारलाई ठाकुरको साथ’
०९ वैशाख २०७८
•
२ मिनेट पाठ
‘सरकारलाई ठाकुरको साथ’
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई साथ दिने निष्कर्षमा पुगेका छन्। जसपाले राखेका मागलगायत विषयमा मंगलबार प्रधानमन्त्री ओलीसँग भएको छलफलपछि ठाकुर यस्तो निष्कर्षमा पुगेको उनी निकट नेताहरूको दाबी छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवलगायतको समूह भने कुनै पनि अवस्थामा ओली नेतृत्वको सरकारलाई साथ दिन नहुने पूर्ववत् अडानमा कायमै छ।  




अध्यक्ष ठाकुरले मंगलबार प्रधानमन्त्री ओलीसँग करिब तीन घण्टा छलफल गरेका थिए। भेटमा जसपाका नेता सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण पनि सहभागी थिए। उनीहरू दुवैजना ठाकुर निकट मानिन्छन्। शुक्ल र कर्ण जसपा–सरकार संयुक्त कार्यदलका सदस्य पनि हुन्।  

प्रधानमन्त्रीसँगको भेटमा जसपाले राखेका मागसम्बन्धमा बुँदागत छलफल भएको नेताहरूले बताएका छन्। जसपाका ५ वटै माग पूरा गर्न प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको र केही माग पूरा गर्ने प्रक्रिया समेत अघि बढाएको ठाकुर निकट नेता डा. सुरेन्द्र झाले बताए। सरकारले माग पूरा गर्न प्रक्रिया अघि बढाइ रहेका बेला जसपा सरकार विरोधी गठबन्धनमा नलाग्ने सहमति भएको जानकारी उनले दिए। उनले एमालेसँग सत्ता सहकार्य हुन सक्ने समेत बताए। ‘हाम्रा माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ। राजनीतिमा अनुहार हेरिन्न, अवस्था हेरिन्छ’, झाले भने, ‘त्यसैले एमालेसँग सहकार्य हुन सक्दैन भन्ने अवस्था छैन।’

वार्तामा कुनै लिखित सहमति भने भएको छैन। मौखिक रूपमा प्रधानमन्त्रीले माग पूरा गर्ने र ठाकुरले वर्तमान सरकारलाई साथ दिने सहमति भएको जसपा स्रोतले बतायो। ओलीले ठाकुरसँग सत्ता सहकार्य गर्न प्रस्ताव राखेका थिए। स्रोतले भन्यो, ‘प्रधानमन्त्रीसँगको छलफलपछि ठाकुर निकै उत्साहित देखिएका छन्। माग पूरा भएमा पार्टीमा यसको सबै जस ठाकुरले लिनेछन्। विगतमा उपेन्द्र यादव माग पूरा नभईकन सरकारमा गएका थिए।’

तर यादव पक्ष भने ओली नेतृत्वको सरकारलाई पार्टीले साथ दिने कुनै आधार नभएको बताउँछ। उपेन्द्र निकट मानिने पार्टी कार्यकारिणी समिति सदस्य रामसहाय यादवले ओली सरकारलाई जसपाले साथ दिने कुनै आधार नभएको दाबी गरे। ‘कुन आधारबाट प्रतिगामी सरकारलाई साथ दिन सकिन्छ’, उनले भने, ‘ओली सरकारविरुद्ध आन्दोलनममा उत्रिने जसपाले गरेको निर्णय अहिले पनि कायमै छ। त्यसमा कुनै परिवर्तन भएको छैन।’

जसपाले सरकारसँग थुनामा रहेका सांसद रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज, नागरिकता विधेयक संसदबाट पास र संविधान संशोधन गर्नुपर्ने माग राखेको छ। स्रोतका अनुसार मंगलबार भएको छलफलमा प्रधानमन्त्री ओली संविधान संशोधनका लागि ‘संविधान पुनरावलोकन आयोग’ गठन गर्न सहमत भएका छन्। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि ओली तयार भएका छन्। मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता गर्ने प्रक्रिया सरकारले अघि बढाइसकेको छ।  

वर्तमान सरकारलाई हेर्ने विषयमा जसपाभित्र दुई लाइन संघर्ष बढ्दै गएपछि पुस पहिलो सातायता पार्टी बैठक बस्न सकेको छैन। चैत ६ गते बस्ने भनिएको कार्यकारिणी समितिको बैठक स्थगित गरिएको थियो । होलीपछि बैठक बस्ने भनिए पनि त्यस्तो भएन। बैठक बस्न नसक्नु दुखद भएको जसपा नेता सवर प्रजापतिले बताए।
अर्को समाचार
ठाकुरको अध्यक्षतामा जसपा लोकतान्त्रिक
०३ भदौ २०७८
•
३ मिनेट पाठ
ठाकुरको अध्यक्षतामा जसपा लोकतान्त्रिक
गठन भएको १६ महिनामै जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ। जसपाको अध्यक्षबाट हटाइएका महन्थ ठाकुरले बुधबार जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।




२०७७ वैशाख १० गते मध्यरातमा हतारहतारमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण गरी जनता समाजवादी पार्टी गठन गरिएको थियो। गठन भएको एक वर्ष नबित्दै पार्टीभित्र गम्भीर विवाद सिर्जना भयो। केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुगेको भए ठाकुर पक्षले एक महिनाअघि नै नयाँ पार्टी गठन गर्ने थियो। अहिले सरकारले पार्टी विभाजन र गठनका लागि सजिलो हुनेगरी राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरेपछि ठाकुर पक्षले नयाँ पार्टी गठन गरेको हो।

जसपा आधिकारिकता विवादमा निर्वाचन आयोगले साउन ११ गते उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि राजनीतिक दलसम्बन्धी ऐनमा भएको प्रावधानका कारण ठाकुर पक्ष नयाँ पार्टी खोल्न पनि नसक्ने र जसपामा पनि बस्न नसक्ने अवस्थामा पुगेको थियो। त्यति बेला नयाँ पार्टी घोषणा गर्नेबित्तिकै उनीहरूको सांसद पद जाने थियो। त्यसैले ठाकुर पक्षले जसपामै रहेर नयाँ पार्टीको अभ्यास गरिरह्यो। पार्टी अध्यक्ष यादवले ठाकुर पक्षलाई निरन्तर पेल्दै गए। सुरुमा यादवले ठाकुरलाई अध्यक्षबाट हटाए। त्यसपछि ठाकुर र उनीनिकट नेताहरूलाई कार्यकारिणी समितिबाट हटाइयो। निर्वाचन आयोगमा हेडकाउन्ट हुँदा ठाकुरलाई साथ दिएका १६ जनालाई केन्द्रीय सदस्य पदबाट समेत हटाइयो।  

यस्तै अप्ठेरो परेका बेला सरकारले दल विभाजन र गठनका लागि सहज हुनेगरी ल्याएको अध्यादेशले ठाकुर पक्षका नेताहरूलाई ठूलो राहत मिल्यो। उनीहरूले बुधबार नयाँ दल गठनका लागि निर्वाचन आयोगमा निवेदन दिए। नयाँ दल दर्ताका लागि निवेदन दिएपछि ठाकुर पक्षका नेता केशव झाले भने्, ‘राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएकोमा शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विशेष धन्यवाद छ।’ देउवालाई अध्यादेश ल्याउन आग्रह गर्न ठाकुर पक्षका नेताहरू मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

ठाकुर पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा कार्यकारिणी समिति २४ सदस्यीय हुने उल्लेख छ। जेलमा रहेका रेशम चौधरीको नाम पनि कार्यकारिणी समितिमा राखिएको छ। यसअघि उनी उपेन्द्र यादव पक्षमा थिए। ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) मा प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी १४ सांसद रहेको दाबी गरेको छ। पार्टीमा एकल अध्यक्षको व्यवस्था गरिएको छ। राजेन्द्र महतोलाई वरिष्ठ नेता बनाइएको छ। तत्कालीन राजपामा जस्तो अध्यक्षमण्डल राखिएको छैन। चुनाव चिह्न साइकल प्रस्ताव गरिएको छ। जसपा नेपाल (लोकतान्त्रिक) को कार्यकारिणी समितिका अधिकांश सदस्य तत्कालीन राजपा खेमाका छन्। तत्कालीन समाजवादी पार्टीबाट आएका उमाशंकर अरगरैया र विमल श्रीवास्तवलाई पनि ठाकुरले कार्यकारिणी समितिमा राखेका छन्।

विभाजनको शृंखला

तराई मधेस केन्द्रित भएर गठन गरिएका दल डेढ दर्जनभन्दा बढी पटक फुटिसकेका छन्। २०४७ साल वैशाख ३ गते गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना पार्टी गठन गरेका थिए। त्यसयता तराई मधेस केन्द्रित भएर गठन भएका दल पटकपटक फुटेका छन्। नेपाल सद्भावना पार्टी गठन भएको एक वर्षमै २०४८ सालमा रामजनम तिवारीले नेपाल सद्भावना पार्टी (आर) गठन गरेका थिए। त्यसपछि २०५२ सालमा रामेश्वर राय यादव र हृदयेश त्रिपाठीले नेपाल सद्भावना पार्टी फुटाएर समाजवादी जनता दल गठन गरेका थिए। २०५९ सालमा नेपाल सद्भावना पार्टी र समाजवादी जनता दलबीच एकीकरण भयो। २०५९ चैत ११ गते नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) बनाइयो। यसमा विभाजन भई दुईवटा सद्भावना पार्टी भए। 

नेपाल सद्भावना पार्टीको अध्यक्ष बद्री मण्डल भए भने नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) को अध्यक्ष आनन्दीदेवी सिंह भइन्। २०६२/६३ सालको आन्दोलनपछि नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) मा फेरि एकीकरण र विभाजनको क्रम सुरु भयो। २०६४ सालमा उपेन्द्र यादवले मधेसी जनता अधिकार फोरम नेपाल दर्ता गराए। फोरम गठन भएपछि एक दर्जनभन्दा बढी पटक फुटिसकेको छ।

२०७४ साल वैशाखमा तत्कालीन तराई मधेस केन्द्रित ६ दलबीच एकीकरण भई राष्ट्रिय जनता पार्टी (राजपा) गठन भयो। त्यसपछि तराई मधेस केन्द्रित दुईवटा मात्रै दल भए। २०७७ वैशाख १० गते दुई दल राजपा र समाजवादी पार्टीबीच एकीकरण भई जसपा गठन भयो। अन्ततः जसपा पनि विभाजित भयो। तराई मधेस केन्द्रित दल पटकपटक विभाजित हुनुमा सत्ता र व्यक्तिगत स्वार्थ प्रमुख कारण भएको जसपा नेता मनिष सुमन बताउँछन्।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस