ओली कदमले नेकपा संकटमा
०१ पौष २०७७
•
७ मिनेट पाठ
ओली कदमले नेकपा संकटमा
आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ। पार्टीका आन्तरिक बैठकमा अल्पमतमा पर्दै आएका ओलीले सहमतिको बाटो रोज्नुभन्दा विवाद बढाउने काम गरेपछि शीर्ष नेताहरूले पार्टी विभाजनतर्फ उन्मुख भएको बताउन थालेका छन्।  




राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाका नेताहरूले कडा शब्दमा आपत्ति जनाएका छन्। उनीहरू यो विषयमा स्थायी कमिटी बैठकमा छलफल गर्ने तयारीमा छन्। स्थायी कमिटीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बहुमत छ। मंसिर २८ गते दुई अध्यक्षबीच सहमतिको वातावरण बनाउने भन्दै पुस १ गते (बुधबार) का लागि स्थायी कमिटी बैठक सारिएको थियो। तर यो बीचमा दुई अध्यक्षबीच सहमतिका लागि छलफल हुन सकेन। प्रधानमन्त्रीसमेत रहेका ओलीले दाहालसँग सल्लाह नगरी संवैधानिक परिषद्को बैठक बोलाए। दाहालसँग सल्लाह नगरी परिषद्को बैठक बोलाएपछि सभामुख अग्नि सापकोटा उपस्थित भएनन्। सभामुख उपस्थित नभएपछि प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर संवैधानिक परिषद्को बैठक राखे। ओलीले पूर्णतः पार्टीलाई पन्छाएर आफूलाई केन्द्रमा राखेको आरोप असन्तुष्ट पक्षले लगाएको छ।  

‘प्रधानमन्त्री ओलीले नै सहमतिको पहल गर्नुहोला भनेको उल्टै पार्टीलाई विभाजनको संघारमा धकेल्दै हुनुहुन्छ, उहाँका कदमले पार्टी संकटमा पर्न थालेको देखिँदैछ,’ दाहाल निकट एक नेताले भने। ती नेताका अनुसार दाहाल–नेपाल समूह ओली आफूखुसी चल्न थालेपछि उनलाई स्थायी कमिटी बैठकबाटै कारबाही प्रक्रिया अघि बढाउने पक्षमा छ। ‘कि त केपी ओलीले गरेका निर्णय ठीक छन् भनेर उनकै फेरो समातेर हिँड्नुपर्‍यो, होइन भने उनले गरेका निर्णय बेठीक छन् भने प्रधानमन्त्रीबाट हटाउनुपर्‍यो, सधैंभरि यस्तो तमासा गर्नु राम्रो होइन’, स्थायी कमिटीका ती सदस्यले भने।  

पार्टी विभाजनको संघारमा उभिएका बेला दुवै पक्षले सांसदको हस्ताक्षर संकलन गरेर राखिसकेका छन्। दुवै पक्षले आफ्नो पक्षमा बहुमत सांसद रहेको दाबी गरेका छन्। ओलीको पक्षमा एक महिनाअघि नै ९२ जना सांसदले हस्ताक्षर गरेको दाबी उनी निकट नेताको छ। दाहाल–नेपाल पक्षले सांसदको हस्ताक्षर संकलन गरेको जनाए पनि कतिजनाले हस्ताक्षर गरेका छन् भने खुलाएको छैन। ‘ओलीलाई संसदीय दलबाट फिर्ता बोलाउन पुग्ने सांसद हामीसँग छन्’, दाहाल निकट एक नेताले भने। यस्तै दाहालले आफ्नो पक्षका केन्द्रीय सदस्यलाई पनि कुनै पनि बेला अप्रिय निर्णय हुनसक्ने जानकारी गराइसकेका छन्। ‘हामीलाई तयारी अवस्थामा बस्नुस् भन्ने निर्देशन छ। जे पनि निर्णय हुनसक्छ। अब ओलीसँग बस्न सक्ने अवस्था छैन भन्ने खबर छ’, दाहाल निकट एक केन्द्रीय सदस्यले भने।  

दाहाल–नेपाल समूहले खासगरी मंगलबार सरकारले ल्याएको अध्यादेशबाट आफूहरू झस्किएको प्रतिक्रिया दिएको छ। प्रधानमन्त्री ओलीले फेरि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनसक्ने दाहाल–नेपाल समूहको आकलन छ। ‘यसअघि पनि सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको थियो, पार्टीले विरोध गरेपछि फिर्ता भएको हो।  

फेरि पनि दल विभाजनसम्बन्धी अध्यादेश आउने सम्भावनालाई नकार्न सकिँदैन’, दाहाल–नेपाल समूहका एक नेताले भने। यसैबीच प्रधानमन्त्री ओलीले अध्यादेश जारी भएसँगै साँझ संवैधानिक परिषद्को बैठक राखे। बैठकमा परिषद् अध्यक्ष प्रधानमन्त्री ओली तथा सदस्यहरू प्रधानन्याधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना उपस्थित भए। प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने उपस्थित भएनन्। बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा नियुक्तिबारे छलफल भएको स्रोतले बतायो। संवैधानिक परिषद्को बैठक सकिएपछि प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगेका थिए।  

अध्यादेश फिर्ता लिन आग्रह

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा सचिवालयका बहुमत सदस्यले त्यसलाई फिर्ता लिन आग्रह गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो जारी गरेको थियो। परिषद्का बहुमत सदस्य उपस्थित भए बैठक बसी निर्णय गर्न सक्ने प्रावधानसहितको अध्यादेश राष्ट्रपतिबाट जारी गराएपछि साँझ प्रधानमन्त्री संवैधानिक परिषदको बैठक राखेका थिए। त्यसअघि नेकपा कार्यकारी अध्यक्ष दाहालले सचिवालयका बहुमत सदस्यसँग आफ्नै निवासमा छलफल गरेका थिए। नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले सो अध्यादेश फिर्ता हुनुपर्ने धारणा सार्वजनिक गरेका छन्। दाहालले पनि सो अध्यादेश फिर्ता हुनुपर्ने बताएका छन्। ‘संसद् बैठक बोलाउनुपर्ने समयमा अध्यादेश जारी गर्नु गलत छ, दलहरूले संसद्को बैठक बोलाउन भनिरहेका बेला सरकारबाट अध्यादेश आउनु बदनियतपूर्ण छ। यस्तो अध्यादेश खारेज गर्नुपर्छ,’ दाहाललाई उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने।  

नेता खनालले अध्यादेश ल्याउनु आपत्तिजनक भएको बताएका छन्। ‘यो अध्यादेश ल्याउनु अत्यन्त आपत्तिजनक छ, पार्टीमा कुनै परामर्श नगरी यो अध्यादेश ल्याइएकोमा हामी गम्भीर छौं,’ उनले भने। उनले यो विषयमा स्थायी कमिटी बैठकमा छलफल हुने पनि बताए। त्यस्तै नेता नेपालले पनि पार्टीलाई छलेर अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाएका छन्। ‘पार्टीलाई छलेर, अन्धकारमा राखेर ल्याइएको अध्यादेश तुरुन्त फिर्ता हुनुपर्छ,’ नेपालले भने, ‘योलगायत विषयमा स्थायी कमिटी बैठकमा हामी विस्तृत ढंगले छलफल गर्नेछौँ।’  

पार्टी प्रवक्तासमेत रहेका श्रेष्ठले पनि अध्यादेश ल्याउने विषयमा पार्टीलाई कुनै जानकारी नभएको बताएका छन्। ‘प्रधानमन्त्रीले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलत छ। यो अध्यादेश तत्काल फिर्ता हुनुपर्छ’, उनले भने।  

बालुवाटारको आरोप  

सभामुख सापकोटा गुटको निर्देशनमा चलेपछि संविधान कार्यान्वयनका लागि भए पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनुपरेको दाबी प्रधानमन्त्री निकट नेताको छ। तीन वर्षदेखि संवैधानिक अंगहरूमा रिक्त पदाधिकारी नियुक्त गर्न अध्यादेश ल्याउनु परेको बालुवाटार निकट स्रोतको दाबी छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सभामुख पार्टीभन्दा माथि उठ्न नसकेको बताएका छन्। ‘सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक दायित्व र कर्तव्यविपरीत संवैधानिक परिषद्को बैठक बहिष्कार गर्नुभएको छ। सभामुख त पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय हुने तथा निष्पक्ष रूपमा कार्यसम्पादन हुनुपर्ने संवैधानिक परिकल्पना र व्यवस्था छ,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्।  

खुमलटारमा नेम्वाङ  

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा कार्यकारी अध्यक्ष दाहालले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई आफ्नै निवासमा बोलाएर त्यसबारे जानकारी लिएका थिए। दाहालले नेम्वाङसँग स्थायी कमिटी बैठकअघि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्रीले सुधार हुन लागेको सम्बन्ध झन् बिगारेको बताएका थिए। नेम्वाङले यसबारे दुई अध्यक्ष बसेर कुराकानी गर्नुपर्ने बताएका थिए। ‘हाम्रो कुराकानी भएको थियो। अध्यादेशबारे केही कुराकानी भयो। यसबारे दुवै अध्यक्ष बसेर कुराकानी गर्नुस् भनेको छु’, नेम्वाङले भने।  

अध्यादेशबारे मन्त्री नै बेखबर  

प्रधानमन्त्री ओलीले मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा अध्यादेशबारे कुनै जानकारी गराएका थिएनन्। उनले मन्त्रीहरूलाई जानकारी नदिईकन संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा सिफारिसका लागि पठाउने निर्णय गराएका थिए। बिहान १० बजे बालुवाटारमा बोलाइएको बैठकमा नेपाली सेनामा बढुवा र अन्य सामान्य अजेन्डामा छलफल र निर्णय गरी बाहिरिएका मन्त्रीहरूले अध्यादेशबारे दिउँसो एक बजेमात्रै जानकारी पाएका थिए। ‘आज (मंगलबार) को मन्त्रिपरिषद् बैठकमा अध्यादेशबारे कुनै जानकारी थिएन। छलफल मात्रै भएको भए पनि अध्यादेश ल्याउन हुँदैन भन्ने थियौं। यसबारे कसैलाई पनि थाहै थिएन,’ एक मन्त्रीले भने।  

सचेतकको राजीनामा माग  

नेकपा संसदीय दलका नेता एवं प्रधानमन्त्री ओलीले आफूविरुद्ध बोल्दै हिँडेको भन्दै दलका प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेका छन्। गुरुङले भने पार्टीको निणय नभएकाले प्रमुख सचेतकबाट तत्काल राजीनामा नदिने भएका छन्। प्रधानमन्त्री ओलीले गुरुङलाई बोलाएरै जिम्मेवारी अनुसार काम गर्न नसकेको भन्दै प्रमुख सचेतकबाट राजीनामा दिन भनेका थिए। संसदीय दलका नेताले प्रमुख सचेतक र सचेतक नियुक्त गर्ने प्रावधान छ। गुरुङ पूर्वमाओवादी खेमाका हुन्। उनी गृहमन्त्री रामबहादुर थापा नजिक मानिन्छन्। गृहमन्त्री थापा भने प्रधानमन्त्री ओली निकट छन्।
अर्को समाचार
अब रक्षात्मक अवस्थामा ओली
०२ पौष २०७७
•
४ मिनेट पाठ
अब रक्षात्मक अवस्थामा ओली
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका क्रममा चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानबाट पछि हटेका छन्। मंगलबार सरकारका तर्फबाट जारी गरिएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश फिर्ता गर्न तयार भएसँगै उनी पार्टी बैठकमा सहभागी नहुने भन्ने अडानबाट पनि पछि हटेका छन्।




ओली आफ्नो अडानबाट पछि सरेपछि अध्यादेश र विशेष अधिवेशनसम्बन्धी प्रस्ताव फिर्ता लिएर सहमति खोज्ने निर्णय नेकपा स्थायी कमिटी बैठकले गरेको छ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई काउन्टर दिन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राष्ट्रपति कार्यालयमा संसद्को विशेष अधिवेशनसम्बन्धी प्रस्ताव लिएर गएपछि ओली र दाहालसहित ६ नेताहरूबीच लामो समय छलफल भएको थियो। स्थायी कमिटीको बैठक सुरु नहुँदै ओली, दाहाल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, घनश्याम भुसाल र शंकर पोखरेलको बैठक बसेको थियो। छलफलका क्रममा ओलीले आफू पछि नहट्ने बताइरहँदा छलफलमा सहभागी नेताहरूले ‘हामी कुन बाटो हिंडिरहेका छौं, सहमतिको बाटो हो कि समाप्तिको, यसको जवाफ तपाईंहरू दुवै अध्यक्षले दिनुपर्छ भनेका थिए। ‘हामी सहमतिको बाटो हिँडिरहेका छौं भने अध्यादेश र विशेष अधिवेशन मागको दुवै प्रस्ताव फिर्ता गरौं, होइन अहिले दुवै पक्ष समाप्तिको बाटो हिँडेका हौं भने आफ्नो आफ्नो बाटो लागौं, यसले कोही कसैको टाउको माथि पर्दैन, नेपालमा कम्युनिस्ट पार्टीकै भविष्य संकटमा पर्छ, यसको अपजसबाट तपाईंहरू दुवै अध्यक्ष उम्कन पाउनुहुन्न’ भनेपछि दुवै अध्यक्ष प्रस्ताव फिर्ता गर्न राजी भएका थिए।  

ओलीले दाहालकै असहयोगका कारण अध्यादेश ल्याउनुपरेको बताएका थिए भने दाहालले ‘अध्यादेशबाट मुलुकको भलो त हुँदैन, तपाईंको पनि भलो गर्दैन, तपाईंकै भलाईका लागि फिर्ता लिनुस्’ भनेका थिए। त्यसक्रममा ओलीले स्थायी कमिटीमा दाहालले पेस गरेको प्रतिवेदन फिर्ता हुनुपर्ने अडान दोहोर्‍याएका थिए। अन्य सहभागीले अहिले अध्यादेश र संसद्को विशेष अधिवेशन मागको निवेदन फिर्ताको विषयमा मात्रै कुरा गरौं भनेपछि ओली पनि सहमत भएका थिए। ‘नेकपाको आन्तरिक जीवनमा देखिएका सबैखाले समस्या समाधान हुन्छन् भन्ने आजको बैठकले देखाएको छ। अब पार्टी नयाँ शिराबाट अगाडि बढ्छ। समस्या समाधानको बाटोतर्फ उन्मुख भएको छ’, स्थायी कमिटीको बैठकपछि महासचिव पौडेलले भने। 

‘अध्यादेशको कुनै अरु विशेष उद्देश्य छैन। लामो समयदेखि संवैधानिक परिषद्को बैठक बस्न सकेन, कहिले कांग्रेसले दुःख दियो, कहिले आफ्नै साथीहरूले दुःख दिए, त्यसकारण बाध्य भएर ल्याएको हो’, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। ओलीको सो भनाइपछि दाहालले पनि अध्यादेश फिर्ता भए पार्टीमा पनि सहमतिको वातावरण बन्ने भनाइ राखेका थिए। ‘अहिले कुनै पनि प्रकारले अध्यादेशको आवश्यकता होइन। यसलाई सहमतिमै टुंगो लगाउन अध्यादेश पनि फिर्ता गरौं। अरु विषयमा अर्को बैठकमा छलफल गरौंला। अहिलेलाई विशेष अधिवेशन बोलाउने र अध्यादेश फिर्ता गर्ने निर्णय गरौं। बाँकी विषयमा ५ पुसको बैठकमा तयारीका साथ छलफल गरौंला’, दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।  

बुधबारको स्थायी कमिटी बैठकले सकारात्मक निर्णय गरेको बताउँदै स्थायी कमिटी सदस्य जनार्दन शर्माले अन्य विषयमा पुस ५ गतेको बैठकमा छलफल हुने जानकारी दिए। ‘आजको स्थायी कमिटी बैठकले अध्यादेश र संसद् अधिवेशन आह्वानको माग गरेको निवेदन फिर्ता गर्ने निर्णय गरेको छ। बाँकी प्रस्तावबारे समग्र परिस्थितिलाई ध्यानमा राखी पुस ५ गतेदेखि छलफल हुनेछ’, शर्माले भने।  

अर्का नेता वेदुराम भुसालले पनि अहिलेलाई तीनवटा मात्रै निर्णय भएको बताए। ‘अध्यादेश र संसद्को विशेष अधिवेशनबारे दुवै प्रस्ताव फिर्ता गर्ने, संवैधानिक नियुक्ति शीर्ष नेताहरूबीच सहमतिमा गर्ने र पुस ५ गते स्थायी कमिटी र पुस १० गते केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय भएको छ’, उनले भने।  

६ नेताहरूको छलफलपछि सुरु भएको स्थायी कमिटी बैठकमा ओली अध्यादेश ल्याउनुपर्नाको कारणबारे स्पष्टीकरण दिएका थिए। उनले दाहालले प्रस्तुत गरेको प्रतिवेदन फिर्ता हुनुपर्ने धारणासमेत राखेका थिए। त्यसपछि वरिष्ठ नेता नेपालले अघिको छलफलमा केके भएको अलि बुझिएन स्पष्ट पार्नुपर्‍यो भनेपछि दाहालले ६ नेताको बैठकमा भएका निर्णयबारे बोलेका थिए। नेपालले निर्णयहरू सच्याउन तयार रहेको हो भने ठीकै छ भनेर आफ्नो धारण टुंग्याएपछि महासचिव विष्णु पौडेल, सुवास नेम्वाड, शंकर पोखरेल र घनश्याम भुसालले सहमतिका विषयमा धारणा राखेका थिए। ‘ओली कमरेडले अलि टार्न खोजेजस्तो पुरानै स्वभाव देखाएपछि नेताहरूले पनि आपत्ति जनाएका थिए। त्यसपछि मात्रै बैठकमा सहभागी सबैले पालैपालो सहमतिको विषयमा धारणा राखेर बैठक टुंगिएको हो’, एक स्थायी कमिटी सदस्यले भने।  

राष्ट्रपति कार्यालयमा पाँच घण्टा धर्ना  

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि त्यसलाई काउन्टर दिन संसद्को विशेष अधिवेशन माग गर्दै नेकपाकै सांसद राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए। नेकपा स्थायी समिति सदस्य भीम रावल र पम्फा भुसाल साढे १२ बजे शीतल निवास पुगेका थिए। उनीहरू स्थायी कमिटीको बैठक हुनुअघि शीतल निवास पुगे पनि राष्ट्रपति कार्यालयका सचिव नभेटेपछि उनको कार्यकक्षमा दिनभर बसेर साँझ दाहालको फोन आएपछि मात्रै फर्केका थिए। ‘सांसदको आवश्यक संख्याको हस्ताक्षरसहित लिखित रूपमा विशेष अधिवेशन माग गरिएको पत्र लिएर हामी गएका

थियौं, दिनभर बस्दा पनि पत्र दर्ता हुन सकेन’, स्थायी कमिटी सदस्य रावलले भने। उनीहरू अधिवेशनका लागि पत्र दर्ता नभएसम्म आफूहरू नफर्किने भन्दै सचिवकै कार्यकक्षमा धर्ना बसेका थिए। रावलले आफूहरूसँग ८३ जना सांसदको हस्ताक्षर रहेको बताएका थिए।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस