हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छ : प्रधानमन्त्री ओली
०२ जेष्ठ २०८२
•
९ मिनेट पाठ
हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। आजदेखि यहाँ सुरु सगरमाथा संवादको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका रहेको हिमाल बचाउनका लागि विश्व समुदाय एकजुट हुन आवश्यक भएको बताएका हुन्।




प्रधानमन्त्री ओलीले भने, 'जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ, उनीहरूले संवेदनशील राष्ट्रहरूलाई वित्त, प्रविधि, र क्षमता अभिवृद्धिमार्फत सहयोग गर्नुपर्छ।'

विश्वका विभिन्न तीन दर्जनभन्दा बढी मुलुकका प्रतिनिधि र विश्व बैंक, एसियाली विकास बैंक, विमिस्टेक, सार्कलगायत क्षेत्रीय र बहुपक्षीय अन्तरराष्ट्रिय ६१ सङ्घ संस्थाका प्रतिनिधि सहभागी रहेको सगरमाथा संवाद तीन दिनसम्म सञ्चालन हुनेछ।  

सम्बोधनको पूर्णपाठ

सगरमाथा संवादको यस पहिलो संस्करणमा यहाँहरुलाई स्वागत गर्न पाउनु मेरा निम्ति गहिरो सम्मान र हार्दिक अबसर दुवै हो। नेपालको विश्वसँगको यो संवाद, पहलकदमी, गहन विचार विमर्शको लागि प्लेटफर्म, सिद्धान्तनिष्ठ सहभागिताको लागि अवसर, र, हाम्रो समयका अत्यन्त गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्ने साझा प्रयास हो। आज, 'लोकल र ग्लोबल' छुट्याउने सीमाहरू लगभग हराइसकेका छन्। संसारको कुनै एक कुनामा घटेको घटना, तत्कालै सबैतिर फैलिन्छ। एउटा भूभागमा सल्किएको डँढेलोले अर्को भूभागको आकाश अन्धकारमय बनाउँछ।

टाढाका हिमनदीहरू पग्लँदा वर्षाको चक्र विथोलिन्छ, खेतबारी बाढीले डुबाउँछ, र फाँटहरू सुख्खा र बाँझो बन्न पुग्छन्। केही थोरैले गरेको निर्णयले धेरैको भाग्य बदल्न सक्छ। यही गहिरो अन्तरनिर्भर यथार्थभित्र, इमानदार संवादको लागि स्थान, आपसी ज्ञान साटासाट गर्न,  र सामूहिक कदम चाल्न गरमाथा संवादको जन्म भएको हो। हामीले यसलाई सगरमाथाको नाममा समर्पण गरेका छौं, सगरमाथा, पृथ्वीको सर्वोच्च शिखर!

र आशा गर्छौं यो संवाद, हाम्रो संवाद, त्यत्तिकै उच्च बनोस्। उच्च नैतिक स्पष्टतामा, दृढ बौद्धिक साहसमा,  र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा। महिला तथा सज्जनबृन्द,

आज हाम्रो विश्व अग्ला, बहुपक्षीय चुनौतीका पहाड सामु खडा छ। चुनौतीहरू विशाल छन्  तीव्र रूपमा नजिकिंदै छन्। महामारीपछिको पुनःस्थापना अझै नाजुक छ। जलवायु सङ्कट झन् तीव्र बन्दैछ। संसारका थुप्रै ठाउँहरूमा शान्ति र सौहार्दता झनै टाढिँदै गएको अनुभूति हुन्छ। वैश्विक शासनप्रणालीप्रति विश्वास क्रमशः घट्दै गएको छ। असमानता, देशभित्र र देशहरुका बीचमा, गहिरिँदो छ। एक समय पथप्रदर्शक बनेको बहुपक्षीयता, अहिले डरलाग्दो अन्यौलको आँधीमा रूमलिएको छ। र अझै, यस्तो अन्यौलका बीच हामी, सरल तर शक्तिशाली विश्वासमा अडिग छौंः

संवादको शक्ति।

महिला तथा सज्जनबृन्द,

नेपाल भूगोलको टुक्रा मात्रै होइन। यो पवित्र भूमि हो, जहाँ प्रत्येक चट्टान र झरनाबाट बौद्धिकता प्रस्फुटित हुन्छ। यहीँ, चेतना जागृत भएको थियो। यो बुद्धको भूमि हो। यसै माटोबाट एउटा यस्तो प्रकाश उदायो, जसले मानवतालाई शान्ति, करुणा, र समन्वयको बाटो देखायो। यो त्यही भूमि हो, जहाँ सन्तहरूले ध्यान गरे। साधकहरुले सत्य फेला पारे। र जहाँ ऋषिहरुले मानव आत्मालाई अझै पनि प्रेरित गर्ने ज्ञानको अमूल्य भण्डार सारा संसारलाई अर्पण गरे।

नेपाल सदा खोजकर्ताहरूको थलो रहँदै आएको छ। विजेताहरूको होइन, चिन्तकहरूको, युद्धको होइन संवादको। हाम्रो परम्परा, आदरपूर्वक आत्मबोध गर्ने सँस्कृतिमा अडेको छ। सच्चा मनले बोल्नेमा र सँगसँगै सत्य खोज्नेमा। सगरमाथा संवाद त्यही भावनामा जन्मिएको हो। हाम्रो प्राचीन परम्पराको एउटा सौम्य पुनरागमन।

यस्तो 'स्पेश' जहाँ प्रज्ञा नतमस्तक हुन्छ विनम्रताका साथ। जहाँ विविध स्वरहरू एकसाथ गुञ्जिन्छन् श्रद्धाका साथ। र जहाँ जवाफ खोजिन्छन् अहम् बाट होइन, सहअनुभूतिका साथ। हामीलाई एउटा प्राचीन सत्यले सम्झाउँछः  "वादे वादे जायते तत्त्वबोधः" अर्थात् संवादबाटै सत्य। चर्को विभाजनको घडीमा पनि न मौनताले काम गर्छ, न त कर्कस आवाजले। सत्य संवादले काम गर्छ।

सुन्ने/ गुन्ने क्षमताले अन्तर्मनको वचनले।  

सगरमाथा संवाद यस पवित्र परम्परालाई जीवन्त राख्ने हाम्रो विनम्र प्रयास हो। हाम्रो पहिलो थेमले, हाम्रो मनको कुरा भन्छ: "जलवायु परिवर्तन, हिमालहरू, र मानवताको भविष्य।"

हिमाली मुलुक हुनुको नाताले, हाम्रा लागि यो थाहा नभएको विषय होइन, यो त हाम्रो दैनिक यथार्थ हो, तर, केवल हाम्रो मात्र होइन विश्वकै साझा चिन्ताको विषय हो। के मानवता हाम्रा हिमाल बिना जोगिन सक्छ ? के हाम्रो भविष्य हाम्रा यी प्राचीन 'संरक्षक'हरूका संरक्षणबिना बचाउन सकिन्छ ? हिमालहरू टाढाका लाग्न सक्छन् तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको छ।  

आर्कटिकदेखि एन्डीजसम्म,आल्प्सदेखि हिमालयसम्म तिनीहरू पृथ्वीका जल-भण्डार हुन्। तिनीहरू हाम्रो जलवायुका धुकधुकी हुन्। र, तिनीहरू अहिले भयङ्कर संकटमा छन्।

तिनीहरूको नाजुकता, हाम्रो साझा असुरक्षित अवस्था हो। संसारकै सर्वोच्च शिखर, सगरमाथाको काखबाट, हामी स्पष्ट र दृढताका साथ—सन्देश दिन्छौं:

• हिमाल जोगाउनु भनेको पृथ्वी जोगाउनु हो।  

• हिमाल जोगाउनु भनेको महासागरहरू जोगाउनु हो।

• हिमाल जोगाउनु भनेको स्वयं मानवता जोगाउनु हो।

यो संवाद केवल संवाद मात्र हुन नजाओस्, एक संकल्प होस्। सुनिने एउटा संकल्प, कार्यमा उत्रने, र हातेमालो गर्दै— भद्र, बौद्धिक, र करुणामय संसारतर्फ अघि बढ्ने संकल्प।

महिला तथा सज्जनबृन्द,

जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन।

यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो।

यसले सबै थोकलाई लपेट्छ, हाम्रो पृथ्वी, हाम्रा जनता, र हाम्रो साझा समृद्धि।

कुनै पनि राष्ट्र यसबाट अछुतो छैन।

कुनै पनि समाज पूर्ण सुरक्षित छैन।

तर सबैभन्दा बढी असर तिनीहरूमाथि परेको छ, जो यसको लागि सबैभन्दा कम जिम्मेवार छन्।

ती गरिबहरू,

ती अत्यन्त असुरक्षितहरू,

ती हिमाली र कम विकसित राष्ट्रहरू।

नेपाल पनि तीमध्ये एक हो।

यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन।

तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं।

हिमनदीहरू पग्लिरहेका छन्।

वर्षा अनिश्चित बन्दै गइरहेको छ।

पहिरोहरूले घर-बास बगाइरहेका छन्।

बाढी र खडेरी अकस्मात आउँछन्।

तर अझै, हामी डटिरहेका छौं।

हाम्रा उत्सर्जनहरू न्यून छन्ल, गभग नगण्य।

तर वाताबरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन्।

हाम्रा हिमालय पूरै क्षेत्रलाई चिस्याउने प्रकृतिको आफ्नै जलवायु सन्तुलिका हुन्।

हाम्रा जंगल जसले हाम्रो आधा भू-भाग ढाकेका छन् कार्बन सोस्छन्, आशाको सास फेर्छन्।

हाम्रा नदीनाला हिउँले ढाकिएका शिखरहरूबाट बग्छन् लाखौंको प्यास मेटाउछन्।

हाम्रा संरक्षित क्षेत्रहरू प्रकृतिका पवित्र मन्दिर हुन् धरतीको समृद्ध जैविक विविधतालाई सँ संहाल्छन्।

नेपालले सन् २०४५ सम्ममा खुद-शून्य उत्सर्जनको प्रतिबद्धता जनाएको छ।

विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष पहिले।

हामी अनुकूलित योजनाहरू अघि बढाइरहेका छौं।

हामी हाम्रो अर्थतन्त्रलाई हरिततर्फ मोड्दैछौं।

हामी दीगोपनलाई हाम्रो राष्ट्रिय दृष्टिकोणमा जोड्दैछौं।

तर हामी यी काम एक्लै गर्न सक्दैनौं।

कुनै देशले पनि एक्लै गर्न सक्दैन।

जलवायु परिवर्तन एक वैश्विक आपत् हो।

यसको समाधान पनि वैश्विक हुनुपर्छ।

एक यस्तो उपाय न्यायमा आधारित।

उत्तरदायित्वमा आधारित।

ऐक्यवद्धताबाट उत्प्रेरित।

जलवायु न्यायले हाम्रो मार्गदर्शन गर्नुपर्छ।

जसले सबैभन्दा बढी प्रदूषण गर्छन्—उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ।

उनीहरूले संवेदनशील राष्ट्रहरूलाई सहयोग गर्नुपर्छ— वित्तमार्फत, प्रविधिमार्फत, क्षमता अभिबृद्धिमार्फत्।

र, हामी हिमाललाई नबिर्सौं।

विश्वका वार्ताहरूमा तिनीहरू प्राय: जसो उपेक्षित हुन्छन्।

तर तिनैले जलवायु सन्तुलन कायम राख्छन्।

तिनैले पानीको भण्डारण गर्छन्।

तिनैले जमिनलाई पुनःसिञ्चित गर्छन्।

तिनैले जीवनको रक्षा गर्छन्।

जब हिमाल पग्लिन्छन्  उपत्यकाहरू पीडित हुन्छन्।

नदीहरू सुक्छन्।

बालीहरू नष्ट हुन्छन्।

सागरहरू उर्लन्छन्।

जीवन विखण्डित हुन्छ।

हिमालय हाम्रो तेस्रो ध्रुव विश्व औसतभन्दा छिटो तात्दैछ।

हिमनदीहरू हराउँदैछन्।

हिमतालहरू फैलिंदैछन्।

तटीय क्षेत्रका करोडौं मानिसहरू जोखिममा छन्।

हामीलाई साहसी, एकीकृत दृष्टिकोण चाहिएको छ।

"हिमालदेखि महासागरसम्म" को सोच।

हिमालहरू उपयुक्त सम्मानका हकदार हुन्  हामीले ध्यान दिनुपर्छ

विशेष वित्तीय सहयोगसहित।

तदनुकूलका नीतिहरू सहित।

हामीले स्वच्छ ऊर्जामा लगानी गर्नुपर्छ।

जलवायु-उत्थानशील बालीहरू बढाउनु पर्छ।

महिला र युवालाई अगाडि ल्याउनु पर्छ।

र विस्थापितहरूलाई सुरक्षा दिनुपर्छ।

आउनुस् जोखिम मूल्याङ्कन बलियो बनाऔं।

पूर्व सूचना प्रणाली निर्माण गरौं।

डाटा साझेदारी गरौं।

सीमापार सहकार्य मजबुत पारौं।

र सबैभन्दा महत्वपूर्ण, हाम्रो प्राचीन ज्ञानलाई आधुनिक नवप्रवर्तनसँग आवद्ध गरौं।

यसरी नै हो, दीगो उत्थानशीलता बढाउने।

यसरी नै हो, पृथ्वीको सम्मान गर्ने।

र यसरी नै हो, हाम्रो साझा भविष्य जोगाउने।

महिला तथा सज्जनबृन्द,

हिमालहरूले हामीलाई प्रेरणा दिन्छन्

अलग रहने भनेर होइन,

अझै माथि उठ्न सकिन्छ भनेर हो।

तिनीहरूले दृष्टिकोण दिन्छन्।

तिनीहरूले हामीलाई आफूभन्दा बाहिर पनि सोच्न सिकाउँछन्।

त्यही भावना अनुरूप, हाम्रो संवाद पनि उचाइमा पुग्नुपर्छ

सङ्कीर्ण स्वार्थहरूभन्दा माथि।

साझा उच्च उद्देश्यतर्फ।

आउनुहोस्, हामी हातेमालो गरौं।

साहस र संवेदनाका साथ अगाडि बढौं।

न्यायपूर्ण भविष्यका लागि।

दीगो पृथ्वीका लागि।

हामीलाई चाहिन्छ नवीन संकल्प।

साहसी विचार।

नयाँ लगानी,

र, क्षेत्रीय र विश्वव्यापी स्तरमा गहन सहकार्य।  

हरित, उत्थानशील र दीगो भविष्य रोजाइ मात्र होइन।

अघि बढ्ने एकमात्र बाटो हो।

सगरमाथा संवाद हाम्रो विनम्र अर्पण हो

सुन्ने गुन्ने, बोल्ने, र बुझ्ने वैश्विक मञ्च।

विश्वास निर्माण गर्ने एक साझा थलो।

सोचको यस्तो संसार जहाँ प्रकृतिसँगको सामञ्जस्यता

र मानिसहरूबीचको समानता

दूरको सपना होइन, जीवित यथार्थ बनोस्।

आउनुहोस्, हामी आरोहण गरौं

उत्थानशीलताको चुचुरोतिर

न्यायको शिखरतिर

र साझा आशामा निर्माण भएको भविष्यतिर।

हामी तपाईंहरूको विद्धताको अपेक्षा गर्छौं।

यस संवादभरि, तपाईंहरूका आवाजको तपाईंहरूको दृष्टिकोणको।

नेपालमा तपाईंहरूको समय आनन्ददायक र प्रेरणादायी रहोस्

यस सगरमाथाको भूमिमा।

यस बुद्धको भूमिमा।

धन्यवाद !
अर्को समाचार
‘सगरमाथा संवाद’लाई सगरमाथा बेसक्याम्पबाट विश्वप्रकाशको सन्देश
०२ जेष्ठ २०८२
•
२ मिनेट पाठ
‘सगरमाथा संवाद’लाई सगरमाथा बेसक्याम्पबाट विश्वप्रकाशको सन्देश
विश्वव्यापी जलवायु परिवर्तन र त्यसका प्रभावबारे विश्व मञ्चलाई आह्वान गर्न शुक्रबारबाट काठमाडौंमा ‘सगरमाथा संवाद’ सुरु भएको छ।




यता काठमाडौंमा सगरमाथा संवाद सुरु हुँदा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा भने सगरमाथा बेसक्याम्पमा छन्। बेसक्याम्पबाटै महामन्त्री शर्माले ‘सगरमाथा संवाद’को शुभकामना दिएका छन्। 

शुभकामना सन्देश दिँदै गर्दा महामन्त्री शर्माले ‘ठुला देशउपर दबाब बढाऔँ, सानाको नेतृत्व नेपालले गरौँ’ भनेका छन्।

यस्तै उनले यस महत्त्वपूर्ण अभियानमा संलग्न सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीप्रति सम्मान व्यक्त गरेका छन्। 

आफू सगरमाथा बेस क्याम्पमा रहँदा जलवायु परिवर्तनले सम्पूर्ण विश्वलाई प्रभावित पारिरहेको देखिरहेको उनले बताएका छन्।

‘यसको सीधा प्रभाव म हाम्रो हिमालयमा देख्न सक्छु,’ शर्माले लेखेका छन्,‘बेसक्याम्पबाट एकातिर म सेताम्मे हिमाल हेर्दै छु, अर्कातिर देख्दै छु–जलवायु परिवर्तनको असरले कालो बन्दै गएका भित्ताहरू।’ 

हिउँ पहिरो, अस्थिर हिमनदीहरू र विगतको तुलनामा घट्दो हिमपात अत्यन्त चिन्ताजनक अवस्था रहेको महामन्त्री शर्माले बताएका छन्। 

‘नेपालजस्तो देश, जसको कार्बन उत्सर्जन अत्यन्त न्यून छ, उसले आफैँ नगरेका गल्तीहरूको मूल्य चुकाउनु परिरहेको छ,’ उनले भनेका छन्, ‘हिमालयको संरक्षण केवल नेपालको जिम्मेवारी होइन–यो सम्पूर्ण मानव जातिको साझा कर्तव्य हो।’ 

नेपालका हिमाल ‘केवल प्राकृतिक सौन्दर्यका प्रतीक नभई जीवनदायी नदीका मुहान र पृथ्वीको वातावरणीय सन्तुलनका संरक्षक पनि रहेको उनले भनेका छन्। 

‘नेपालले विश्वका प्रमुख राष्ट्रहरूलाई गम्भीर र सम्मानजनक रूपमा आग्रह गर्नुपर्छ कि तिनीहरूले कार्बन उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउने निर्णायक कदम चालुन्। यही नै हिमालयको रक्षा गर्ने र पृथ्वीलाई बचाउने मुख्य मार्ग हो,’ महामन्त्री शर्माले भनेका छन्। 

‘सगरमाथा संवाद’मार्फत ठुला राष्ट्रहरूलाई कार्बन उत्सर्जन घटाउन अनुरोध गर्नुपर्ने पनि उनको भनाई छ। ‘अनि साना राष्ट्रहरूको नेतृत्व विश्वका मञ्चहरूमा अब नेपालले गर्नुपर्छ,’ महामन्त्री शर्माले भनेका छन्, ‘सगरमाथा संवादले त्यो उचाइमा उठेर नेतृत्व गर्न नेपाललाई नवीन इच्छाशक्ति पुर्‍याउनुपर्छ।’ 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस