‘अनुदानमा बिआरआई’को कांग्रेस अडान कायमै
१३ मंसिर २०८१
•
३ मिनेट पाठ
‘अनुदानमा बिआरआई’को कांग्रेस अडान कायमै
सत्तारुढ नेपाली कांग्रेस उत्तरी छिमेकी चीन सरकारको विशेष परियोजना बेल्ड एन्ड रोड इनिसिएटिभ (बिआरआई) ऋणमा स्वीकार गर्न नसकिने अडानमा कायमै छ। कांग्रेसले बिआरआईअन्तर्गतका परियोजना अनुदानमा मात्र स्वीकार गर्नुपर्ने बताउँदै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तय भएपछि बिआरआई ऋणमा कि अनुदानमा भन्ने विषय बहसमा छ। प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदै छन्।




नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीसँगको छलफलमा पनि बिआरआईमा अनुदान मात्र लिन सकिने दोहोर्‍याएसँगै सत्ता साझेदार एमाले र कांग्रेसबीच उक्त परियोजनाका विषयमा फरक मत देखिएको छ। एमाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बिआरआई परियोजना अघि बढाउने पक्षमा देखिएको छ। तर कांग्रेस भने मुलुकले कुनै पनि देशको ऋण धान्न नसक्ने भन्दै अनुदान मात्र लिनुपर्ने पक्षमा उभिँदै आएको छ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले बिआरआई परियोजना नयाँ सम्झौता नभएर पुरानै भएको बताए। उनले बुधबार विराटनगर विमानस्थलमा बिआरआईमाथि उठेका आशंका सम्बोधन हुनुपर्ने बताउँदै भने, ‘मुलुकको आर्थिक विकासका लागि ठुलो पुँजीको आवश्यकता पर्ने छ, हाम्रा मित्र राष्ट्रहरूबाट अहिलेलाई ऋण नभई अनुदान सहयोगको अपेक्षा हामीले राखेका छौं।’

मंसिर १७ गतेदेखि प्रधानमन्त्री ओलीले गर्न लागेको चीन भ्रमणका क्रममा बिआरआईअन्तर्गतका परियोजना तथा ऋण वा अनुदान केही नखुलाईकन प्रक्रिया अघि बढाउन सकिने प्रस्ताव पनि एकालेका नेताहरूले अघि सारेका छन्। तर कांग्रेसका नेताहरू त्यसरी परियोजना अघि बढाउँदा त्यसले दुई देशबीचको सम्बन्धनमा थप चिसोपना ल्याउन सक्ने निष्कर्षमा पुगेको स्रोतको दाबी छ।

शून्य प्रतिशत ब्याजदर वा अनुदान र ऋण केही उल्लेख नगरी प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा परियोजना अघि बढाउनुपर्ने प्रस्ताव आएको जनाउँदै स्रोतले भन्यो, ‘पहिलो त चीन सरकारले हामीले भनेजस्तो प्रस्ताव स्वीकार गर्नुपर्‍यो, दोस्रो हामीले भनेअनुसारकै ऋण वा अनुदान केही उल्लेख नगर्न चीन तयार भए पनि त्यसले भोलिका दिनमा थप अन्योल खडा गर्नेछ। त्यो हाम्रो देशको हितमा हुँदैन।’

कांग्रेस प्रवक्ता प्रकाशशरण महत बिआरआईका विषयमा सघन छलफल गरेर मात्रै एउटा समझदारीमा पुग्नुपर्ने बताउँछन्।

अहिले ऋण लिएर बिआरआई कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको जनाउँदै उनले बुधबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा भने, ‘अहिलेको परिवेशमा ऋण लिएर त्यसको सदुपयोग र कार्यान्वयन गर्न सकिने अवस्था छैन। चीनको बिआरआईको सन्दर्भमा मात्रै होइन, अरू देशसँग पनि हामीले ऋण लिनु हुँदैन।’

चीनले यसअघि दिने भनेको अनुदानसमेत कार्यान्वयन नगरेकाले बिआरआईमार्फत ऋण लिन नसकिने जनाउँदै महतले पार्टी अहिले ऋण लिन नहुने निष्कर्षमा पुगेको बताए। हतारमा निर्णयमा पुग्न नहुने बताउँदै उनले भने, ‘हामीले केही समय लिनुपर्छ, हतारहतारमा निर्णय गर्नु हुँदैन।’

सरकारको नेतृत्व गरिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बिआरआई चीन सरकारले अघि सारेको पूर्वाधार विकासको एउटा अवधारणा भएको बताउँदै त्यसलाई मुलुकको आर्थिक विकासमा अधिकतम सदुपयोग गर्नुपर्ने धारणा राखे। प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा यसै विषयमा राखिएको छलफलमा उपमहासचिव ज्ञवालीले ऋण भर्सेस अनुदान बनाउन नहुने बताए। ऋण कि अनुदान भन्ने विषयमा प्रवेश गर्ने बेला नै नआएको धारणा राख्दै उनले भने,‘अनुदान होस् या लोन त्यो राष्ट्रिय हितमा छ कि छैन हेर्नुपर्छ।’

अहिले नेपाल ठुला आयोजनाहरूमा ऋण लिएर भार बढाउन सक्ने अवस्थामा नभएको बताउँदै ज्ञवालीले भने, ‘त्यसैले यो समय उचित छैन भन्ने नै लाग्छ। सरकारमा भएका मुख्य दलहरूबीच यस विषयमा समझदारी पनि भएको छ।’ यसअघि प्रधानमन्त्री ओलीले सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग गरेको छलफलमा सहभागी अधिक नेताले बिआरआईलाई अघि बढाउन सुझाएका थिए।
अर्को समाचार
२०८२ भित्रै महाधिवेशनको तयारीमा एमाले
१० माघ २०८१
•
४ मिनेट पाठ
२०८२ भित्रै महाधिवेशनको तयारीमा एमाले
सरकारको नेतृत्व गरिरहेको एमाले आगामी ११औं महाधिवेशनको तयारीमा जुटेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सचिवालय बैठकमा छलफल गर्दै आगामी भदौमा विधान महाधिवेशनको निर्णय गर्ने गरी एमाले महाधिवेशनको तयारीमा जुटेको हो। एमालेको विधानअनुसार केन्द्रीय कमिटीको बैठकले विधान महाधिवेशन तोक्ने भए पनि पदाधिकारी तथा सचिवालय बैठकले गरेका निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन गर्नेगरी आगामी विधान महाधिवेशनको मिति तय गरेको हो।




नेकपा एमाले २०८४ अघि नै ११औं महाधिवेशनको तयारीमा जुटेको छ। नेकपा एमालेको विधान महाधिवेशन २०८२ भदौमा हुने भएपछि करिब करिब २०८२ भित्रै महाधिवेशन गरिसक्ने तयारीमा जुटेको हो। यदि २०८२ मा महाधिवेशन भएन भने २०८३ पहिलो महिनाभित्रै महाधिवेशन गरेर एमाले २०८४ को निर्वाचनको तयारीमा जुट्न सक्ने संकेत गरेको छ।

पार्टी केन्द्रीय सचिवालयको बालुवाटारमा बसेको बैठकले भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन गर्ने निर्णय गरेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। अहिलेको अवस्थामा एमालेले चाँडै महाधिवेशन गरेर आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध बनाउने सोच एमालेले नेतृत्वले गरेको छ।

एमालेको १०औं महाधिवेशन २०७८ मंसिर १० देखि १३ सम्पन्न भएको थियो। सो महाधिवेशनले केन्द्रीय कमिटी सदस्य र विभाग चयन गर्दै चितवन जिल्लाको सौराहामा आयोजना भएको थियो। त्यसअघि एमालेले गोदावरीमै पहिलो विधान महाधिवेशन गरेको थियो। अहिले पनि गोदावरीकै सनराइज हलमा विधान महाधिवेशन गर्ने एमालेले जनाएको छ। एमालेले दसौं महाधिवेशनको दुई महिनाअघि (१५ देखि १७ असोज, २०७८) पार्टीको विधान महाधिवेशन सोही स्थानमा सम्पन्न गरेको थियो।

नीति महाधिवेशन र नेतृत्व चयन गर्ने महाधिवेशन अलग–अलग गर्ने एमालेको विधानमा व्यवस्था छ। नीति महाधिवेशनले विधान पास गरेपछि नेतृत्व चयन गर्ने महाधिवेशन सम्पन्न गर्ने भएको हो। हरेक पाँच वर्षमा हुने महाधिवेशनको बीचमा एकपटक विधान महाधिवेशन गर्ने एमालेको विधानमा व्यवस्था भएअनुसार अहिले नै मिति तोकेको हो।

‘एक महाधिवेशनबाट अर्को महाधिवेशनको बीचमा विधान महाधिवेशन गर्ने पार्टीको वैधानिक व्यवस्थाअनुसार सचिवालयले विधान महाधिवेशनको मिति तय गरेको हो,’ विधानअनुसार आगामी मंसिरपछि एमालेले एक वर्षभित्र नेतृत्व चयन गर्ने महाधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ। अध्यक्ष केपी ओली सकेसम्म २०८२ भित्रै महाधिवेशन सम्पन्न गरेर आफ्नै नेतृत्वमा २०८४ को निर्वाचन सम्पन्न गराउने र परिणाम आफ्नो पक्षमा पार्ने योजनामा छन्।

यतिबेला पार्टीअध्यक्ष केपी शर्मा ओलीको योजनाअनुसार नै एमालेले मिसन ८४ का विभिन्न कार्यक्रम गर्दै आएको छ। एमालेले तीन वर्ष कार्यकाल पूरा गरेका १६ वटा जनवर्गीय संगठनको महाधिवेशन आगामी वैशाखभित्र गरिसक्ने जनाएको छ। एमालेले अबको तीन वर्षभित्र मिसन २०८४ को तयारी गर्ने जनाएको छ। महाधिवेशनमा धेरै अलमल नगरी मिसन २०८४ मा लाग्ने एमालेले संकेत गरेको छ। त्यसका लागि एमालेले २०८१ पुस २२ मा गरेको केन्द्रीय कमिटीको बैठकबाट स्पष्ट अवधारणा बाहिर ल्याएको छ।

एमालेले मिसन–२०८४ सफल पार्न आठ शीर्षकमा पार्टी कार्यक्रम अगाडि सारेर वडा तहमै कार्यान्वयन गर्न थालिसकेको छ। त्यतिबेलाको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीबाट पेस भएको राजनीतिक प्रतिवेदनअनुसार राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट गरिएको संकल्पका आधारमा पार्टी कार्यक्रम प्रस्ताव गरिएको थियो। निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न पहिलो दायित्व पार्टीको अभियान बुझ्ने र बुझाउने हुनुपर्ने प्रस्ताव गरिएको थियो।

२०८१ वैशाखमा सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट पारित सात विषय एमालेले बुझ्नुपर्ने कामहरूमा राखिएको थियो। पार्टी सदस्यता विस्तार, नवीकरण तथा अभिलेख व्यवस्थापन, प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयन, कमिटीको चेन–अफ–कमान्ड कायम गर्ने र कार्यकर्ताको मूल्यांकन, कमिटी सञ्चालन र गुटबन्दी अन्त्य, कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण, आर्थिक–सामाजिक रूपान्तरण र जनचासोका विषय सम्बोधन र निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि निर्वाचनको व्यवस्थित तयारीलगायत थिए। यिनै विषयलाई ध्यानमा राखी एमालेले विधान अधिवेशनको मिति तय गरेको हो। अहिलेको विधानले ‘केन्द्रीय कमिटी दुई महाधिवेशनबीचको अवधिमा पार्टीको सर्वोच्च कार्यकारी संस्था हुनेछ’ उल्लेख गरेको छ।

यसैगरी राष्ट्रिय महाधिवेशनले अध्यक्ष–१, वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–४, महासचिव–१, उपमहासचिव–१, सचिव–७ समेत २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचन गर्ने उल्लेख छ। यसलाई चितवन महाधिवेशनबाट संशोधनसमेत गरिएको थियो। प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीका पदेन सदस्य हुने जनाइए पनि तिन सय बढी केन्द्रीय सदस्य रहेका छन्।

केन्द्रीय कमिटीको निर्वाचनमा कम्तीमा एकतिहाइ महिलासहित नेपालको विविधता प्रतिबिम्बित हुनेगरी समावेशीकरण गरिने राष्ट्रिय महाधिवेशनबाट नयाँ केन्द्रीय कमिटी निर्वाचित भई शपथग्रहण गरेपछि पुरानो केन्द्रीय कमिटी स्वतः विघटन पार्टीका निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुनेछन्, महाधिवेशनले उल्लेख गरेको थियो। दशौं महाधिवेशनयता एमालेमा कोही वरिष्ठ नेता छैनन्।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस