उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी छलफल थालेका छन्। पुल्चोकस्थित स्थानीय पूर्वाधार विकास आयोजनाको सभाहलमा आयोजनाअन्तर्गतका सातै प्रदेशका आयोजना प्रमुख, आयोजनाका महानिर्देशकसहितसँग शुक्रबार उनले आयोजनाबारे समिक्षात्मक छलफल गरे।
आयोजनाको अन्तिममा समीक्षा गर्दा कार्यान्वयन फितलो भइसकेको हुने भन्दै उपप्रधामनमन्त्री सिंहले सुरुमै आयोजना कार्यान्वयनका समस्या पहिचान गर्ने गरि छलफल थालेको स्पष्ट पारेका छन्। उनले कामलाई प्रभावकारी बनाउन नीतिगत विषयमै बढी जोड दिने पनि बताए।
मन्त्री सिंहले भने, ‘तपाईंहरुसँगको छलफलपछि समस्या के छ? भन्ने जानकारीमा आएको छ । यो छलफल परिणामका लागि हो। समस्या सुन्ने मात्र होइन समाधानका लागि पहल गर्छु।’
उनले छलफलमा स्थानीय पूर्वाधार विकास आयोजना अन्तर्गत सातै प्रदेशका आयोजना प्रमुखहरुले चालु आर्थिक वर्षमा भएका योजनाका उपलब्धीहरु, भोग्नुपरेका समस्या र भइरहेका कामबारे विस्तृतमा प्रस्तुतीकरण गरेका थिए । त्यस्तै, असोजमा आएको बाढीका कारण भएको क्षती र बाढी पछि भएका कामबारे पनि जानकारी गराएका थिए ।
शहरी विकास मन्त्रालयअन्तर्गतका झोलुंगे पुल र सडकहरुमा बाढीका कारण क्षती पुगेको छ । आयोजनाका विभिन्न प्रदेशका प्रमुखहरुले पूर्व तयारी भएका आयोजनामा बजेट नपर्ने तर नयाँ आयोजना थपिनेक्रम रोक्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै, एउटै आयोजनामा पनि डुप्लिकेसनको समस्या रहेको भन्दै त्यसलाई रोक्ने गरि पहल गर्नुपर्ने बताएका थिए ।
मन्त्रालयका सचिव मणिराम गेलालले चालु आवको विनियोजित कार्यक्रमहरु सम्पन्न गर्न देखापरेका समस्या,समाधानका उपाय र आयोजनाकातर्फबाट विभाग र मन्त्रालयसँगको अपेक्षाबारेको छलफलले धेरै विषय प्रष्ट भएको भन्दै यसले आगामी दिनमा काम गर्दा थप सहज हुने बताए ।
शहरी विकास मन्त्रालयमा केही दिनअघिसम्म बजेट माग्न आउनेको ठुलै भिड देखिन्थ्यो । स्थानीय, प्रदेश र संघका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता विभिन्न योजनामा बजेट माग्दै मनत्रालयका चोटाकोठामा भेटिन्थे । अहिले मन्त्रालयमा योजना माग्नेको भिड घटेपनि आर्थिक वर्ष २०८२/०८३ का लागि माग भएका योजनाको भने चाङ लागेको छ ।
शहरी विकास मन्त्रालयका अनुसार आथव ०८२/८३ का लागि करिब १५ हजार योजनामा बजेट माग भएको छ। करोडौंका ठुलो योजनादेखि १० लाखसम्मका योजना माग भएको उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको सचिवालयले जनाएको छ । साना खुद्रे योजनाहरूको धेरै माग छ ।
‘हाइप्रोफाइल मन्त्रीज्यू, त्यसमाथि कांग्रेसको तर्फबाट नेतृत्व गरेरै आउनुभएकाले पनि मन्त्रालयको आकर्षण यसपटक धेरैनै बढेको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘हाइप्रोफाइएल नेता हुँदा योजना माग्नेको भीड हुनेनै भयो ।’
पार्टको कामका लागि होस् वा मन्त्रालयकाे कामका लागि मन्त्रालय सम्हालेपछि सिंह करिब ५० जिल्ला पुगिसकेका छन् । सो क्रममा उनी जहाँ-जहाँ पुग्छन्, त्यहाँ विकास योजना माग्दै मागपत्र बुझाउने क्रम उच्च हुने गरेको सचिवालयले जनाएको छ । जिल्लाजिल्लाबाट संकलन भएका योजनाहरुलाई पनि प्राथमिाकतामा राख्ने गरि योजना छनौटको काम अघि बढिरहेको मन्त्रालय स्रोत बताउँछ ।
उसो त उपप्रधानमन्त्री सिंहले कसैको दबाब र प्रभावभन्दा आवश्यक्ताका आधारमा योजनाहरु छनौट गर्दै श्रृंखलावद्ध रुपमा विकास निर्माणका काम अघि बढाउने बताउँदै आएका छन् । बजेटमा अत्यावश्यक र उत्पादनमूलक क्षेत्रका योजनाले बढी प्राथमिकता पाउने बताइएको छ ।
चालू आयोजनाहरुलाई छिटै सम्पन्न गर्ने र नयाँ योजना छान्दा जनताको जीवन र जिविका सहज बनाउने योजनामा मन्त्री सिंहले जोड दिँदै आएका छन् । ३ करोडभन्दा माथिको योजना मात्र संघीय सरकारले अघि बढाउने गरि छलफल अघि बढिरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...