राष्ट्रिय सभा अन्तर्गतका दुई समितिको सभापतिमा तीन जनाको उम्मेदवारी परेको छ।
विधायन व्यवस्थापन समितिमा दुई र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा एक जनाको उम्मेदवारी परेको संघीय संसद सचिवालयले जनाएको छ।
निर्वाचन कार्यतालिकाअनुसार आइतबार दिउँसो साढे १२ बजेसम्मको समयभित्र विधायन समितिमा नेकपा (एकीकृत समाजवादी) की जयन्ती देवी राई र नेकपा (एमाले) की तुलसाकुमारी दाहालको उम्मेदवारी परेको हो।
राईको प्रस्तावकमा एकीकृत समाजवादीका बेदुराम भुसाल र समर्थकमा माओवादी केन्द्रका सुरेशकुमार आलेमगर छन्। यस्तै, दाहालको प्रस्तावकमा नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थकमा एमालेकी भगवती न्यौपाने रहेका छन्।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने माओवादी केन्द्रका मायाप्रसाद शर्माको एकल उम्मेदवारी परेको छ। उनको प्रस्तावकमा एकीकृत समाजवादीकी मदनकुमारी शाह र समर्थकमा माओवादीका नरबहादुर विष्ट रहेका छन्।
सोमबार दिउँसो एक बजे बस्ने सम्बन्धित समितिको बैठकबाट सभापति चयन गर्ने कार्यतालिका छ।
राष्ट्रियसभाको बैठकमा सांसदहरूले संक्रमणकालीन विधेयक पीडितमैत्री नभएको बताएका छन्। आइतबारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदले विधेयकको व्यवस्थाले पीडितलाई मेरो भाग्य नै यस्तै रहेछ भनी चित्त बुझाउनुपर्ने अवस्था रहेको बताएका छन्।
छलफलमा भाग लिँदै सांसद पदमबहादुर परियारले द्वन्द्वपीडित नागरिकको सत्य, न्याय र परिपूरण अधिकार सुनिश्चित गर्ने गरी विधेयक संशोधन हुन नसकेको बताए। अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकार कानुन, सर्वोच्च अदालतको आदेश, विस्तृत शान्ति सम्झौता अनुरूप एवं पीडितकेन्द्रित ढंगले न्यायका सर्वमान्य र स्थापित मूल्य तथा मान्यता आत्मसात गरेर द्वन्द्वपीडित नागरिकको सत्य, न्याय र परिपूरण अधिकार सुनिश्चित गर्ने गरी विधेयक संशोधन हुन नसकेको उनले बताए।
उनले सबैखाले पीडकका हात नै माथि पर्ने गरी र पीडितहरू मेरो भाग्य नै यस्तो हो भनेर मन बुझाउनुपर्ने गरी संशोधन आउनु अन्यायपूर्ण र पश्चगामी रहेको बताए ।
सांसद सुरेश आलेमगरेले द्वन्द्वका बेला आफूलाई विनाकारण २१ महिनासम्म सैन्य हिरासतमा राखिएको भन्दै कैयौं नागरिकले समस्या भोग्नुपरेको बताए। उनले माओवादीका विभेद र असमानताविरुद्धको संघर्ष भए पनि द्वन्द्वमा राज्य पक्ष र माओवादी पक्षबाट भएका अपराधका घटनालाई छानबिन गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्ने बताए।
सांसद मनरूपा शर्माले सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षको ज्यादती भएको, माओवादीको आरोपमा हत्या गरिएको, बलात्कार गरिएको विषयले आफू अझै पनि मर्माहत भएको बताइन्। सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्षको आक्रमणबाट उनका श्रीमान्ले ज्यान गुमाएका थिए।
सांसद रेणु चन्दले पीडितकेन्द्रित विधेयक छ वा छैन भन्नेबारे कार्यान्वयनले पुष्टि गर्ने बताइन्। उनले आयोगको काम र परिपूरणको कामलाई सँगसँगै लैजानुपर्ने सुझाव दिइन्। पीडितहरूको धैर्यको बाँध टुट्न लागेकाले सबै कुरा चित्त नबुझेको भए पनि पीडितलाई न्याय दिन जरुरी रहेको उनले बताइन्।
छलफलपछि राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकलाई स्वीकृत गरेको छ । यो विधेयकमाथि ७२ घन्टा संशोधनको समय तोकिएको छ। संशोधनकर्ताले संशोधन राखेपछि यो विधेयकलाई राष्ट्रियसभाको बैठकले विधायन समितिमा पठाउने तयारी गरेको छ।
प्रमुख राजनीतिक दलको सहमति भएकाले विधायन समितिले पनि तीव्र गतिले विधेयक पारित गरेर राष्ट्रियसभामा पेस गर्ने छ। राष्ट्रियसभामा पेस भएको विधेयकलाई राष्ट्रियसभाले पारित गरेपछि प्रतिनिधिसभामा सन्देश पठाइने छ। प्रतिनिधिसभाले सदनमा राष्ट्रियसभाको सन्देशबारे जानकारी प्राप्त गराएपछि यसलाई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइने छ। यो कार्य एक साताभित्र गर्ने गरी तयारी गरिएको संसद सचिवालयले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...