नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।
काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकपछि बोल्दै महामन्त्री प्रदीप पौडेलले कांग्रेसले संविधान, लोकतन्त्र, विधिको शासन र संवैधानिक संस्थाको मर्यादाविपरीत सरकार अघि बढेको आरोप लगाएका हुन्।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच र प्रवृत्तिमै समस्या देखिएको कांग्रेसको निष्कर्ष छ।
संसद्प्रति सरकार जवाफदेही हुन नचाहेको, संसदीय समितिलाई बेवास्ता गरेको र संसद् छल्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको उनको आरोप छ।
पौडेलले प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासँग जोडिएका संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना ल्याइएका अध्यादेश तत्काल फिर्ता लिन माग गरेका छन्।
त्यस्तै, कांग्रेसले संसद्को अधिवेशन आह्वान गर्न र संवैधानिक सीमा तथा संस्थागत मर्यादाको पूर्ण पालना गर्न सरकारलाई आग्रह गरेको छ।
महामन्त्री पौडेलले सरकारको विरोधी भएकै कारण निर्दोष व्यक्तिलाई अनुसन्धान र कारबाहीमा तान्नु राज्यशक्तिको दुरुपयोग भएको बताए। सरकारनिकट व्यक्तिलाई संरक्षण गर्ने र विरोधीलाई लक्षित गर्ने प्रवृत्ति पनि गलत भएको उनको भनाइ छ।
सरकारका सकारात्मक काममा सहयोग गर्ने प्रतिबद्धता कायमै रहेको उल्लेख गर्दै उनले संविधान, लोकतन्त्र र नागरिक अधिकारमाथि हुने हस्तक्षेपको प्रतिरोध गर्ने चेतावनी दिएका हुन्।
कांग्रेसले आफ्नो संयमलाई कमजोरी नठान्न सरकारलाई चेतावनीसमेत दिएको छ। अब संसद्, सार्वजनिक मञ्च र लोकतान्त्रिक विधिबाट सरकारका गतिविधिमाथि निरन्तर निगरानी र खबरदारी गर्ने निर्णय बैठकले गरेको महामन्त्री पौडेलले जानकारी दिएका हुन्।
६ मिनेट अघि
•
१ मिनेट पाठ