भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ। राष्ट्रपति पौडेललाई भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरी उपचार जारी छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइराखेका पौडेललाई थप उपचारका लागि गत वैशाख ६ गते भारत लगिएको थियो।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो। राष्ट्रपति पौडेलमा शारीरिक रूपमा शिथिलता देखिए पनि हिँडडुल गर्न सक्ने अवस्था रहेको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपतिको उपचारमा संलग्न रहेका चिकित्सकहरूलाई उद्धृत गर्दै राष्ट्रपति कार्यालयले राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'स्वास्थ्य असहजता भइ अस्पतालमा भर्ना हुनु भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।' उनी शनिबार अस्पतालमा भर्ना भएका थिए।
राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज विहान अस्पताल पुगेका थिए।
साथै सांसद् सुरेन्द्र आचार्य, पूर्वसभामुख तारानाथ रानाभाटले पनि भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवि अधिकारीले बताए।