आगामी निर्वाचनमा महिला सहभागिता
२६ माघ २०८२
•
७ मिनेट पाठ
आगामी निर्वाचनमा महिला सहभागिता
शिशिर ऋतुको जाडो सकिँदै न्यानो मौसम सुरु हुनै लाग्दा देशमा भने चुनावी सरगर्मी ह्वात्तै बढेको छ। आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरूको घरदैलो र प्रचारप्रसारले चुनावी रौनक बढ्दै गएको अनुभूति गर्न सकिन्छ। त्यसो त यो निर्वाचन गत जेनजी अभियानले ल्याएको नयाँ परिस्थितिमा धेरै व्यवस्था परिवर्तनका बाबजुद हुन गइरहेको छ। प्रत्येक राजनीतिक दल र स्वतन्त्रतर्फबाट नयाँलाई रोजौं भन्ने मूल ध्येयअनुसार पनि उम्मेदवारी दिने, टिकट पाउने वा छनोट गरेर पठाउने नेतृत्व तहमा पुरुषको तुलनामा महिलाको स्थिति कस्तो छ भनेर मूल्यांकन गरिनु स्वाभाविक पक्ष हो। महिला सशक्तीकरण र निर्णय तहमा महिलाको प्रतिनिधित्वलाई स्थान दिन्छौं भन्ने दलहरूको मौखिक प्रतिबद्धताले वास्तवमै साकार रूप लिएको छ त? धेरै महिला नेतृत्वहरूको अनुभव सुन्नमा आएको छ कि प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने महिलाहरूको संख्या निराशाजनक देखिएको छ र यसको कारण कानुनमै बाध्यात्मक व्यवस्था नहुँदासम्म महिलाको उपस्थिति सम्मानजनक हुने नदेखिएको बताइएको छ।




निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार प्रत्यक्षतर्फका १६५ क्षेत्रमा कुल उम्मेदवार तीन हजार चार सय ८९ रहेकामा तीन सय ९६ मात्रै महिला छन्। बाँकी तीन हजार ८८ पुरुष अनि एक जना अन्यमा रहेका छन्। स्वतन्त्र उम्मेदवारी दिने महिलाको संख्या एक सय ६० रहेको छ। अर्थात् प्रत्यक्ष निर्वाचनतर्फ करिब ११.३४ प्रतिशत मात्रै महिला उम्मेदवार रहेका छन् र त्यसमा पनि दलहरूको तर्फबाट उठ्ने महिलाको संख्या १०.२३ प्रतिशत रहेको छ। निर्वाचन आयोगका अनुसार मतदाताको संख्या एक करोड ८९ लाख तीन हजार ६ सय ८९ छ र तीमध्ये महिला मतदाताको संख्या ९२ लाख ४० हजार एक सय ३१ रहेको छ। त्यो ५० प्रतिशतभन्दा कम हो। जनसांखिक अनुपातको तुलनामा उम्मेदवारीमा देखिएको महिलाको न्यून उपस्थितिलाई विभिन्न दलका महिला राजनीतिकर्मीहरूले निराशाजनक मानेका छन्। यसअघिको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ सिटका लागि २२५ महिलाले उम्मेदवारी दिएका थिए। त्यो भनेको उम्मेदवारी दिएका दुई हजार चार सय १२ जनामध्ये ९.३ प्रतिशत थियो।

नेतृत्व, प्रतिनिधित्व र लोकतान्त्रिक रूपान्तरण

लोकतन्त्रको सार केवल आवधिक निर्वाचन र सरकार गठन मात्र होइन। यसको वास्तविक शक्ति नेतृत्वको प्रकृति, प्रतिनिधित्वको समावेशिता र सामाजिक–राजनीतिक रूपान्तरणको दिशामा देखिने परिवर्तनमा निहित हुन्छ। इतिहासले देखाएको छ कि जहाँ नेतृत्व केही सीमित वर्ग, जाति वा लिंगमा केन्द्रित रहन्छ, त्यहाँ लोकतन्त्र औपचारिक त रहन्छ तर जनजीवनमा यसको प्रभाव कमजोर हुन्छ। नेपालको सन्दर्भमा लामो समयसम्म राज्यसत्ता, नीति निर्माण र निर्णय–प्रक्रिया पुरुषप्रधान, केन्द्रीकृत र वर्गीय रूपमा सीमित रह्यो। यद्यपि जनसंख्याको आधाभन्दा बढी हिस्सा महिलाको भए पनि उनीहरू नेतृत्व र प्रतिनिधित्वका संरचनाबाट ऐतिहासिक रूपमा बहिष्कृत थिए। यही संरचनागत असमानताले सामाजिक न्याय, समान अवसर र समावेशी विकासमा गहिरो प्रभाव पारेको छ।

२०४६ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०६२÷६३ को जनआन्दोलन र २०७२ सालको संविधान निर्माणसम्म आइपुग्दा नेपालले राजनीतिक संरचनामा आमूल परिवर्तन अनुभव गर्‍यो। यी आन्दोलनहरूले समावेशिता, समानता र अधिकारलाई लोकतान्त्रिक मूल्यका रूपमा स्थापित गरे। विशेषतः २०७२ को संविधानले महिलाको राजनीतिक सहभागितालाई अनुग्रह होइन, अधिकारका रूपमा परिभाषित गर्दै सबै तहका राज्य संरचनामा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गर्‍यो।

यस सन्दर्भमा नेतृत्व भन्नाले केवल पद धारण गर्नु होइन, नीति निर्माण, स्रोतको वितरण र सार्वजनिक निर्णयमा प्रभाव पार्ने क्षमतालाई जनाउँछ। प्रतिनिधित्व भनेको संख्यात्मक उपस्थितिसँगै सामाजिक विविधताको आवाज संसद् र राज्य संयन्त्रमा प्रतिबिम्बित हुनु हो। जब नेतृत्व समावेशी हुन्छ र प्रतिनिधित्व अर्थपूर्ण हुन्छ, तब मात्र लोकतान्त्रिक रूपान्तरण सम्भव हुन्छ - जहाँ लोकतन्त्रले नागरिकको दैनिकी, अधिकार र अवसरमा वास्तविक परिवर्तन ल्याउँछ।

त्यसैले महिला सहभागितालाई नेतृत्व र प्रतिनिधित्वसँग जोडेर हेर्नु केवल लैंगिक मुद्दा होइन, यो लोकतन्त्रको गुणस्तर, उत्तरदायित्व र सामाजिक न्यायसँग प्रत्यक्ष सम्बन्धित विषय हो। नेपालको लोकतान्त्रिक यात्रामा महिलाको प्रभावकारी नेतृत्व र समान प्रतिनिधित्व नै दीर्घकालीन राजनीतिक स्थायित्व र समावेशी विकासको आधार बन्न सक्छ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा अघि बढ्दै गर्दा आगामी केन्द्रीय संसद् निर्वाचन केवल सत्ता हस्तान्तरणको प्रक्रिया मात्र नभई समावेशी लोकतन्त्रको वास्तविक परीक्षाका रूपमा उभिएको छ। यस सन्दर्भमा महिला सहभागिता, नेतृत्वमा पहुँच र निर्णय–निर्माणमा प्रभावकारी उपस्थिति नेपालको लोकतान्त्रिक परिपक्वताको महत्त्वपूर्ण सूचक बनेको छ।

महिलाको ऐतिहासिक पृष्ठभूमि: आन्दोलनदेखि संसद्सम्म

नेपालको राजनीतिक इतिहासमा महिलाको सहभागिता मुख्यतः आन्दोलनकेन्द्रित रहँदै आएको छ। प्रजातन्त्र पुनस्र्थापना आन्दोलन (२०४६), जनआन्दोलन (२०६२÷६३) र संविधान निर्माण प्रक्रिया (२०७२) मा महिलाले महत्त्वपूर्ण योगदान पुर्‍याए पनि औपचारिक सत्ता संरचनामा उनीहरूको पहुँच सीमित रह्यो। यही असमानता सम्बोधन गर्न २०७२ को संविधानले सबै तहमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था गर्‍यो। समानुपातिक प्रणाली र स्थानीय तहमा उपप्रमुख÷उपाध्यक्ष पद महिलाका लागि सुरक्षित गरिनु उल्लेखनीय उपलब्धि हुन्, साथै दलित, आदिवासी, मुस्लिम र अपांगता भएका महिलाको प्रतिनिधित्वका लागि कानुनी आधार बनेको छ। तर प्रत्यक्ष निर्वाचन प्रणालीमा संविधानको भावना अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन र महिलाहरू प्रायः समानुपातिक सूचीमै सीमित रहने प्रवृत्ति देखिन्छ।

आगामी निर्वाचनमा महिलाको सहभागिता र नेतृत्वका चुनौतीहरू

आगामी निर्वाचनमा समानुपातिक प्रतिनिधित्व प्रणालीअन्तर्गत महिलाको सङ्ख्यात्मक सहभागिता उल्लेखनीय भए पनि प्रत्यक्ष निर्वाचनमा उनीहरूको उम्मेदवारी अझै न्यून रहेको छ, जहाँ धेरै राजनीतिक दलहरूले जित्ने सम्भावनाका नाममा पुरुष उम्मेदवारलाई प्राथमिकता दिने प्रवृत्ति देखिन्छ। यसले महिलाको प्रतिस्पर्धात्मक राजनीतिक नेतृत्व विकासमा अवरोध सिर्जना गरेको छ। जनसङ्ख्यामा महिलाको संख्या बढी भए तापनि मतदाता नामावलीमा नाम दर्ता नहुनु, वैदेशिक रोजगारी, नागरिकता समस्या र सामाजिक नियन्त्रणका कारण मतदाता तहमा उनीहरूको प्रभाव कमजोर देखिन्छ। पछिल्ला वर्षहरूमा केही महिला नेतृहरूले शिक्षा, स्वास्थ्य, लैंगिक हिंसा र सामाजिक सुरक्षाजस्ता विषयलाई राष्ट्रिय अजेन्डामा ल्याउन सफल भए पनि समग्र रूपमा महिला नेतृत्वको प्रभाव सीमित छ। अधिकांश महिला सांसदहरू पार्टीको आन्तरिक निर्णय प्रक्रियामा न्यून प्रभाव राख्छन्, महत्त्वपूर्ण मन्त्रालय, संसदीय समिति र पार्टी नेतृत्व तहमा उनीहरूको उपस्थिति कमजोर छ र महिलाका मुद्दाहरू प्रायः सामाजिक क्षेत्रमा सीमित गरिन्छ। यसका साथै चुनावको उच्च लागत, वित्तीय स्रोत र दातृ सञ्जालको अभाव, राजनीति पुरुषको क्षेत्र भन्ने सामाजिक मानसिकता, पारिवारिक दबाब, चरित्र हत्या र साइबर हिंसा तथा पार्टी संरचनामा विद्यमान पुरुष प्रभुत्वले महिला उम्मेदवार र नेतृहरूका लागि संरचनात्मक चुनौतीलाई अझ गहिरो बनाइरहेको छ।

अबको बाटो: नीतिगत र व्यावहारिक सुझाव

नेपालको महिला समुदाय एकरूप छैन। दलित, आदिवासी÷जनजाति, मुस्लिम, अपांगता भएका, ग्रामीण र गरिब महिलाहरूले राजनीतिक प्रक्रियामा दोहोरो वा तेहेरो बहिष्करण भोगिरहेका छन्। यी महिलाहरूलाई लैंगिक पहिचानसँगै जात, वर्ग, भूगोल र शारीरिक अवस्थाका कारण थप अवरोधहरू सामना गर्नुपर्ने बाध्यता छ। त्यसैले महिला सहभागिताको बहस केवल लैङ्गिक आधारमा सीमित नभई अन्तरवर्गीय दृष्टिकोणबाट विश्लेषण हुनु अत्यावश्यक छ। यी सबै चुनौतीका बाबजुद पनि महत्त्वपूर्ण अवसरहरू देखिन्छन्। संविधान र कानुनले महिलाको राजनीतिक सहभागिताका लागि बलियो आधार प्रदान गरेका छन्।

स्थानीय तहबाट नेतृत्व विकास हुँदै जानु, युवा महिला नेतृहरूको उदय, नागरिक समाज र मिडियाको बढ्दो दबाब तथा मतदातामा लैङ्गिक चेतनाको विस्तारले सकारात्मक सम्भावना सिर्जना गरेको छ। यदि दलहरूले इमानदार प्रतिबद्धता देखाए भने आगामी निर्वाचन महिला नेतृत्वका लागि निर्णायक मोड बन्न सक्छ। आगामी दिनमा प्रत्यक्ष निर्वाचनमा महिलाका लागि न्यूनतम कोटा सुनिश्चित गर्नु आवश्यक छ। पार्टीभित्र नेतृत्व तहमा महिलाको अनिवार्य प्रतिनिधित्व, महिला उम्मेदवारका लागि निर्वाचन खर्चमा विशेष सहुलियत, राजनीतिक प्रशिक्षण तथा नेतृत्व विकास कार्यक्रमको विस्तार र महिला नेतृमाथि हुने हिंसा तथा दुष्प्रचारविरुद्ध कडा कानुनी व्यवस्था लागू गर्नु अपरिहार्य देखिन्छ।

त्यसैले नेपालको आगामी केन्द्रीय संसद् निर्वाचन महिला सहभागिताको संख्यात्मक परीक्षण मात्र होइन, गुणात्मक रूपान्तरणको ऐतिहासिक अवसर हो। महिलालाई केवल प्रतिनिधि बनाउने होइन, निर्णयकर्ता, नीतिनिर्माता र नेतृत्वकर्ता बनाउने राजनीतिक इच्छाशक्ति आजको मुख्य आवश्यकता हो। समावेशी लोकतन्त्र महिलाविना सम्भव छैन। महिला सहभागिता दया वा कोटा होइन - लोकतन्त्रको आधार हो। यसलाई मनन गर्नुपर्ने जरुरी छ।
अर्को समाचार
आगामी निर्वाचनमा पुरुषलाई समानुपातिक सांसद बनाउन महिला नेतृहरुको माग
२७ साउन २०७९
•
६ मिनेट पाठ
आगामी निर्वाचनमा पुरुषलाई समानुपातिक सांसद बनाउन महिला नेतृहरुको माग
आगामी प्रदेश र संघको निर्वाचनमा महिलालाई प्रत्यक्षबाट बढी उम्मेदवार बनाउन हरेक राजनीतिक दलहरुको भुमिका महत्वपूर्ण भएको बताएका छन्।




आगामी प्रदेश र संघको सदस्य निर्वाचनमा समावेशी सिद्धान्तको आधारमा समानुपातिक सहभागिता गराउनुपर्नेमा महिला नेतृहरुले जोड दिएका हुन्। आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सदस्यको निर्वाचनमा उम्मेदवारी दिँदा पुरुषहरुलाई पनि समानुपातिक सहभागिता गराउनुपर्नेमा उनीहरुको जोड छ।  

पछिल्ला निर्वाचनमा प्रत्यक्षतर्फ महिला सांसद चुनिन नसक्नु राजनीतिक दलहरुले महिलाप्रति विश्वास गर्न नसक्नुको परिणाम भएको महिला सांसदहरु बताउँछन्। प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवारलाई बढी अवसर दिनुपर्ने र जित सुनिश्चितताका लागि पनि राजनीतिक दलहरुले आफ्नो भुमिका खेल्नुपर्ने उनीहरुको भनाइ छ। महिला नेतृहरुले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाँदा महिला सहभागिता कम देखिएको भन्दै प्रत्यक्ष निर्वाचन प्रणालीमा भने हरेक पार्टीहरुले महिलालाई अघि सारेर जानुपर्ने बताए। महिलालाई प्रत्यक्षतर्फ प्रतिष्पर्धा गराएर पुरुषलाई समानुपातिकतर्फ ल्याउनुपर्ने उनीहरुको माग छ। उनीहरुले हरेक निर्वाचनमा क्रमशः महिलाहरुको निर्वाचित संख्या घट्दै गएकोले महिलाहरुको लागि राजनीतिक दलहरुले एक आपसमा समझदारी गरेर महिला नेतृ उठेको स्थानमा महिला नेतृलाई नै उठाउनुपर्ने माग गरेका छन्।  

शुक्रबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले संविधानको माग परिपूर्ति गर्नुपरेका कारण मात्रै महिलालाई समानुपातिक निर्वाचन प्रणालीमार्फत अवसर दिइएको बताइन्। उनले अझैपनि राजनीतिक दलहरुले प्रत्यक्षमा महिलालाई विश्वास गरेर उम्मेदवार बनाउन नसकेको गुनासो गरिन्। उनले महिलालाई समानुपातिक नभइ प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवार बनाउन र जित सुनिश्चित गर्न आवश्यक रहेको बताइन् । उपसभामुख भुसालले प्रत्यक्षबाट महिलाको उम्मेदवारी सबैभन्दा बढी दिएर महिला निर्वाचित गराएमात्र समानुपातिक निर्वाचन प्रणालीबाट महिलाको संख्या घट्ने उनको तर्क छ। 

समाजको मनोवैज्ञानिक दृष्टिकोणलाई परिवर्तन गर्नको लागि पनि प्रत्यक्ष निर्वाचनबाट महिलाहरु जान जरुरी रहेको उनको भनाइ छ। अहिले एकीकृत निर्वाचनको विधेयक तयार भइरहेको र अर्को निर्वाचनसम्म विधेयकको काम पूर्ण हुने बताइन्। दलभित्रका महिला नेतृत्वहरुले महिला उम्मेदवारीको मुद्दालाई साझा मुद्दा बनाएर आफ्नो दल, आफ्नो निर्वाचन क्षेत्रभित्र उम्मेदवारी लिनको लागि आफ्नो भूमिकालाई परिवर्तन गर्न जरुरी रहेको पनि बताइन्। 

उम्मेदवारी दिने कुरा नभइ लिने कुरा भएकोले महिला नै यसमा सक्रिय बन्नुपर्नेमा उनको जोड छ। उपसभामुख भुसालले महिलाले कुनै भएको जोखिम नलिइकन निर्वाचन लड्ने वातावरण तयार गर्ने जिम्मेवारी पनि महिला नेतृकै काँधमा रहेको बताइन्।  उम्मेदवारीपछि विजय हुनको लागि पनि रणनीति बनाएर अघि बढ्नको लागि समय पर्याप्त रहेको उनको धारणा छ।  उपसभामुख भुसालले महिलाले प्रतिष्पर्धामा जान आफूलाई तयार गर्नुपर्ने भन्दै अहिलेको समयमा प्रतिष्पर्धा कोसँग गर्ने भन्नेकुरा दोस्रो भएकोले प्रतिष्पर्धामा उत्रिन आफ्नो भुमिकालाई परिवर्तन गर्ने र सशक्त ढंगबाट अघि बढाउने कुरालाई नै प्राथमिकतामा राख्नुपर्ने बताइन्।

त्यस्तै नेकपा एमालेकी सांसद विन्दा पाण्डेले हरेक दलका महिला नेतृहरुले आफूले प्रतिष्पर्धा गर्ने निर्वाचन क्षेत्रबाट लड्छु भन्ने दाबी गर्न आह्वान गरिन्। उनले अहिले हुने निर्वाचनमा कम्तिमा पनि ५० प्रतिशत वा समानुपातिक महिला उम्मेदवारी दिने कुरा अहिलेका राजनीतिक दलहरुले गर्नुपर्ने बताइन्। संविधानको रक्षा गर्न बनेको दाबी गर्दै आएको गठबन्धनको सरकारले यदि  महिलालाई संविधानले भनेबमोजिम अधिकार दिएर संविधानको रक्षा गर्ने हो भने संवैधानिक व्यवस्थाअनुसार समानुपातिक संख्यामा महिलाहरुको पनि उम्मेदवारी दिनेकुरा सोच्नुपर्ने बताउनु भयो।  एक तिहाई निर्वाचन क्षेत्र आरक्षण वा समानुपातिक उम्मेदवार दुईमध्ये एकमा जानुपर्ने उनले बताइन्। 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले अहिले यो असम्भव बताइए पनि सरकारले जोडबल गर्ने हो भने फास्टट्रयाबाट काम गर्न सकिने बताइन्। प्रत्यक्ष निर्वाचनमा राजनीतिक दलहरुले महिलालाई उम्मेदवार नबनाउँदा सबै महिलालाई समानुपातिक निर्वाचन प्रणालीबाट लैजानुपरेको भन्दै यसले सीमान्तकृत, अल्पसंख्यक, निम्नवर्गका पुरुषलाई असर गरेको उनले व्यक्त गरिन्। उनले पहिलो हुने निर्वाचन प्रणालीमा महिलाको उम्मेदवारी संविधानसम्मत दिनुपर्ने माग गरिन्।

त्यस्तै नेपाली काँग्रेसकी महासमिति सदस्य एवं नेपाल महिला संघकी अध्यक्ष उषाकुमारी राउत मिश्रले कुनैपनि राजनीतिक दलले ५० प्रतिशतलाई उम्मेदवारी बनाउनैपर्ने धारणा राखिन्। उनले शक्तिशाली नेताहरुसँग महिलालाई प्रतिष्पर्धामा उतार्नु नहुने बताइन्। समानुपातिक निर्वाचन प्रणालीबाट पुरुषलाई ल्याएर भएपनि महिलालाई आगामी संघ र प्रदेशको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी र जित सुनिश्चितताको लागि राजनीतिक दलहरुले कदम चाल्नुपर्नेमा उनको जोड छ। उनले गठबन्धनको नाममा जित्न सक्षम महिलाको स्थानमा अर्को पार्टीलाई पठाउने परिस्थित नदोहोर्‍याउन पनि आग्रह गरिन्। अध्यक्ष राउतले महिला कुनै पनि तहमा बसेर काम गर्न सक्षम रहेको भन्दै चुनाव लड्नका लागि पैसा चाहिन्छ, तिमीसँग छैन भन्ने किसिमबाट महिलालाई पाखा लगाउन नहुने तर्क राखिन्।

अध्यक्ष राउतले ५० प्रतिशत भन्दा बढी महिलाको जित सुनिश्चित गर्न पार्टीले भुमिका खेल्नुपर्ने बताइन्। उनले महिला निर्वाचनबाट चुनिएर नेतृत्वमा जाँदा देशमा सुशासन कायम हुने बताइन्। यसअघि साउन २४ गते बसेको प्रतिनिधि सभाको बैठकमा सांसद विन्दा पाण्डेले 'दोस्रो जनआन्दोलन २०६२/०६३ ले स्थापित गरेको समावेशी समानुपातिक सहभागिताको विषयलाई नेपालको संविधानले पनि स्वीकार गरेको परिवेशमा संविधान कार्यान्वयनमा आएको ६ वर्ष बितिसक्दा पनि महिलाको उल्लेखनीय सहभागीता नभएकोले आगामी निर्वाचनमा प्रदेश सभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएकोले' भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको ध्यानाकर्षण गराएकी थिइन्।  

साउन २४ गतेकै प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अमृता थापाले 'नेपालको संविधानले सम्बोधन गरेको समानुपातिक समावेशी सहभागीताको विषयलाई सुनिश्चितताको लागि संघीय संसद र प्रदेश सभाको निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली दुवैमा महिला र पुरुषको समान संख्यामा प्रतिनिधित्व गराउन हाल निर्वाचन आयोगबाट निर्वाचन सम्बन्धी कानून संशोधनको एकीकृत मस्यौदा तयारीको लागि विभिन्न क्षेत्रबाट सुझाव संकलन गरकोले प्रतिनिधिसभामा समेत यस विषयमा छलफल गरी संघीय संसदको प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्ने, स्थानीय तहको निर्वाचनका विभिन्न पदमा हरेक दलले कम्तिमा पचास प्रतिशत महिला उम्मेदवारी दिनुपर्ने र वडा तहमा दलित महिलाको उम्मेदवारी नपरेमा अल्पसंख्यक वा सीमान्तकृत वा अरु कुनै समुदायबाट महिलाको उम्मेदवारी आह्वान गर्ने व्यवस्था गर्ने लगायतका सुझावहरु दिन अत्यावश्यक भएकोले' भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेकी थिइन्।  

सदनमा यो जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि  छलफल भइसकेको छ। प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारसहित ११ जना सदस्यहरुले उक्त प्रस्ताव समर्थन गरेकी थिइन्। सांसदहरुको प्रश्नको जवाफमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा काईरालाले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन गर्न सरकार तयार रहेको बताए। उनले सन् २०३० सम्म संघीय संसदमा महिलाहरुको प्रतिनिधित्व ४० प्रतिशत, प्रदेशमा ४० प्रतिशत र स्थानीय तहमा ४२ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य रहेको स्पष्ट पारे। सरकारको लक्ष्य अनुरुप राजनीतिक दलहरुपनि प्रतिवद्ध हुनुपर्ने उनले भनाइ थियो।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस