परिवर्तनको अर्थ
१४ माघ २०७८
•
६ मिनेट पाठ
परिवर्तनको अर्थ
राजा महेन्द्र हल्यान्ड (नेदरल्यान्ड्स) भ्रमणमा रहेका बेला त्यहाँ एउटा ऐतिहासिक घटना भयो। १९६७ को अप्रिल २७ साँझ रात्रिभोज चलिरहेको बेला त्यहाँका एकजना विशिष्ट व्यक्तिले व्याङ्कट हलमा उद्घोष गरे–“डच राजपरिवारमा अहिले भर्खरै राजकुमारी बेट्रिक्सबाट युवराज पैदा भएको खबर छ। एकसय चालीस वर्षपछि दरवारमा बालक पैदा भएको सुखद समाचार सुनाउन पाउँदा हामी हर्षित छौं।” ती बालक थिए–विलियम अलेक्जन्डर।




चारदिने राजकीय भ्रमणमा राजासँगै गएका साहित्यकार भीमनिधि तिवारीलाई महेन्द्रबाट संकेत गर्नेबित्तिकै अर्को कोठामा गएर तिवारीले कविता लेखे। डच भाषा जान्नेले तुरुन्त अनुवाद गरे। नेपाली र डच भाषामा हलमा कविता गुञ्जियो। ‘कविता कूटनीति’ नवीन प्रयोग थियो। भोलिपल्ट पत्रपत्रिकाले लेखे– “नेपालका राजा महेन्द्रले हाम्रो राष्ट्रमा पाइला टेक्दा चमत्कार भयो।”

कुनैबेला कहाँ कसरी प्रस्तुत हुनुपर्छ भन्ने कला जानेका महेन्द्र कविमात्र थिएनन्, गायक र संगीतकार पनि थिए। खेलाडी थिए। साहित्य, कला, संगीतलगायत राष्ट्रनिर्माणका यावत् क्षेत्रमा योगदान गर्नेहरू राजा महेन्द्रका प्रिय थिए। उनी राष्ट्रियताका पक्षमा निर्भीक भएर उभिन सक्ने राजा थिए।

एकपल्ट युरोपबाट स्वदेश फर्किने क्रममा राजा महेन्द्र दिल्लीमा चार दिन बस्ने कार्यक्रम बन्यो। भारतस्थित नेपाली राजदूतावास भवनमा बस्ने र भारतीयहरूलाई त्यहीँ भेट्ने कार्यक्रम निश्चित भयो। राष्ट्रपति भीभीगिरी राजा महेन्द्रलाई भेट्न बाह्रखम्बा रोडस्थित दूतावास भवनमै पुगे। महेन्द्रको व्यक्तित्वबाट प्रभावित गिरी शाकाहारी हुन् भन्ने सूचना पाएका महेन्द्रले सबैलाई शाकाहारी खाना खुवाउने निर्णय गरे। राष्ट्रपति गिरीलाई मन पर्ने विभिन्न परिकार तयार गरियो।

हल्यान्डको ‘कविता कूटनीति’ जस्तै दिल्लीमा ‘व्यञ्जन कूटनीति’ सफल भयो। भारतीय राष्ट्रपतिलाई महेन्द्रले भनेछन्–“तपाईँमात्र होइन, तपाईँका पुर्खा सबै शाकाहारी रहेछन्। त्यसैले तपाईँ र तपाईँका सहयोगी सबैलाई रुचि हुने भोजन तयार गरिएको छ। राष्ट्रपति गिरी प्रसन्न भए।

मानिसले अरूको सम्मान गरेपछि स्वतः सम्मान पाउँछ। संसार घुम्दा राजा महेन्द्रले तत्तत् राष्ट्रको कला, साहित्य, परम्परा, धर्म, संस्कृति अध्ययन गरेर जाने र उपहार दिँदा कसलाई के दिने भन्ने हेक्का राख्ने गरेको महेन्द्रका नजिक बसेर काम गरेका भीमबहादुर पाँडे, यदुनाथ खनाल, खड्गमानसिंह बस्न्यात आदिले उल्लेख गरेका छन्।

दिल्ली भ्रमणमा त्यहाँका तत्कालीन पर्यटनमन्त्री करण सिंहले आफ्नो निवासमा रात्रिभोजका लागि महेन्द्रलाई निम्तो गरेछन्। श्री ३ मोहनशमशेरकी नातिनी (शारदाशमशेरकी छोरी) विवाह गरेका डा. कर्ण सिंहले रात्रिभोज सुरु हुनुअघि ‘शान्तकारं भुजनशयनम्’ लगायत तीन चारवटा भजन गाएछन्।

राजा महेन्द्रले सिद्धहस्त कलाकारले झैँ तबला बजाउँदा धेरैजना चकित भएको सरदार भीमबहादुर पाँडेले लेखेका छन्। महेन्द्रको ‘समाजशास्त्र’ अनौठो थियो। हजारौँ बिघा जमिन जमिनदारहरूबाट खोसेर भूमिहीन किसानलाई बाँडे उनले। त्यो एक किसिमको ठूलो क्रान्ति (परिवर्तन) थियो। भन्नु परोइन, क्रान्ति भनेको उत्ताउलो कर्म र निरर्थक भाषण होइन, युग बदल्ने ‘एक्सन’ हो।

मेल जिप्सन, टम क्रुज, ज्याकी चान, एन्जेलिना जोली, सिन कोन्री, ह्यारीसन फोर्डलगायतका हलिउडका एक्टरहरू हुन् वा बलिउडका कलाकारहरू, उनीहरूको प्रसिद्धि सधैँ रहँदैन। राष्ट्रका लाखाँै जनताको उत्थानमा समर्पित नायक हुन राष्ट्रनायक, उनीहरूलाई युगौँसम्म सम्झना गरिन्छ। त्यस्ता महानायकको सत्कर्मको अन्तर्य नबुझेर कतिपय अज्ञानीले अवमूल्यन गर्छन्। त्यो मानसिक दरिद्रता हो।

जर्ज अर्बेलले व्यंग्य गरेका छन्– “धनीसँग ज्ञान, सभ्यता, शिष्टाचार, सदाचार केही नभए पनि हुन्छ किनभने ऊसँग धन छ। ऊ त्यसै पनि धनी छ।” कतिपय राजनीतिकर्मीहरू आफू हिँडेको बाटोमात्र सत्य र बाँकी मिथ्या ठान्छन्। यो मानसिक दरिद्रता हो। इतिहासप्रति पूर्वाग्रही कतिपय मानिस आफूलाई अभिरुचि वा अरूचि भएका कुराहरू केस्राकेस्रा छानेर इतिहासको अपव्याख्या गर्छन्। यो दृष्टिदोष, विद्वेष, विभ्रम र दुराग्रहबाट धेरै ‘नेपाली बुद्धिजीवी’ ग्रस्त छन्।

माया सभ्यतामा टर्की नामको चरा देवदूत मानिन्थ्यो। धन्यवाद ज्ञापन दिवस (थ्याङ्कस गिभिङ डे) मा पछि त्यो अनिवार्य आहारा बन्यो। चित्रकला (फाइन आर्ट) निम्ति सर्वोत्कृष्ट पदक दिन्थ्यो, कुनैबेला ओलम्पिक पदक। सन् १९१२ देखि १९४८ सम्म चल्यो, त्यो परम्परा। आज डेमोक्रेसीको तीर्थ मानिने अमेरिकामा महिलाले सन् १९०८ सम्म सार्वजनिक ठाउँमा चुरोट खान पाउँदैनथे।

कानुन मिचेमा पाँच डलर जरिवाना हुन्थ्यो। त्योबेला नेपालमा गोरखापत्र प्रकाशन भएको सात वर्ष भइसकेको थियो। त्यस पत्रिकालाई श्री ३ देवशमशेरले दिएको लिखित आदेश (सनद) मा कुनै महिलाले चितुवा मारेको खबर आएमा निःशुल्क छापिदिनू भनेका छन्।

अर्थात, घाँसपात लिन जंगलतिर गएका कतिपय महिलालाई चितुवाले आक्रमण गरेमा उनीहरू ‘फाइट’ खेल्थे चितुवासँग। त्यसका लागि दल, समूह, जुलुस, आरक्षण चाहिएन। चितुवा मारेर घाँसको भारीमाथि बोकेर ल्याएको कथा गाउँघरका कतिपय वृद्ध आमाहरू सुनाउँछन्।

सहरबजारमा काँटा चम्चाले खानेलाई ‘सभ्य’ मानिन्छ। आठौँ शताब्दीतिर टर्कीमा भेटिएको ‘काँटा’ सुरुमा असभ्यले प्रयोग गरे। जंगलमा जनावर पोलेर खान त्रिशूल आकारका ठुल्ठूला काँटा बनाइएको थियो। राजदरवार, चर्च र सभ्य मान्छेहरूले काँटा त जंगलीको नक्कली हात हो भने। ‘परिवर्तन’ यसरी फैलियो, काँटाले खान नजान्नेलाई पो असभ्य भन्न थाले।

इजिप्टकी महारानी क्लियोपेट्रा (कतिपय इतिहासकारले महिला राजा अर्थात फिमेल किङ) त्यो राष्ट्रकी होइनन्। उनी ग्रिक हुन भनेका छन्, इतिहासकारहरूले। उनी अलेक्जान्डर द ग्रेटकी वंशज हुन। इतिहासमा उनको छुट्टै स्थान छ। रोमन राजनीतिको महानायक भइन् उनी। अठोट, साहस, शैली र स्वाभिमानका कारण क्रूर शासकहरू पनि डराउँथे उनीसँग। मनोवैज्ञानिक परिवर्तन ल्याएर एकैपल्ट युग हाँक्न सक्ने वीराङ्गना थिइन् उनी।

परिवर्तन स्वैरकल्पना होइन। तसर्थ युग बदल्न खोज्नेहरू पहिले आफू बदलिनुपर्छ। पावरको टावरबाट हेर्दा सबैलाई होचो देख्छ शासकले। जनतासँगै सोच्ने, काम गर्ने र हिँड्ने मार्गदर्शन पाएनन् नेपालीले। त्यसैले उनै प्रभावहीन मुहारहरूमात्र बदलिए सिंहदरवारमा। जो आफैँ भ्रान्त पथिक छन्, उनीहरूले कसरी बाटो देखाउँलान्?

पौराणिककालमा देवतीर्थ भनिने आजको देवघाट (चितवन) र राजा भरतले तपस्या गरेको बागलुङ पर्वत क्षेत्र हुँदै तराई पुग्ने कालीगण्डकीको जल नै तीर्थ मानिन्छ। पवित्र भएकै कारणले मात्र होइन, धेरै पौराणिक तथ्यले पनि कालीगण्डकी नेपालको सर्वाधिक पवित्र मानिएको हो। जयापीड नामका काश्मीरी राजा र उनको सशक्त फौजले धुलो चाट्यो, कालीगण्डकीमा कालीगण्डकी क्षेत्रका राजा अरमुडीबाट काश्मीरी सेना परास्त हुनुपरेको कुरा काश्मीरी विद्वान् कल्हणले राजतरंगिणी ग्रन्थमा लेखे।

अरमुडीको साहस, न्याय र परोपकारको भावना खोटरहित थियो। जन्मभूमिको रक्षा गर्नुपर्छ भनेर अहोरात्र माटो र जनताको चिन्ता गर्थे उनी। जनताले खाएपछि मात्र आफूले भोजन गर्ने कान्तिपुरका राजा महेन्द्र मल्लले त उर्दी लगाए– ‘तिमीहरूले बेलुका बेलैमा खानू। तिमीहरूले अबेर गर्दा मेरो पेटमा बतास भरिन्छ।’

अहिले उल्टो छ। राजनीतिलाई पेसा बनाएर परिवर्तन ल्याउँछु भन्नेहरू पहिले आफू खान्छन्। केही सीमित व्यक्ति अकुत सम्पत्तिको मालिक भए। यसलाई हामी परिवर्तन भनिरहेका छौँ। २०१९/२० सालसम्म नेपाल जस्तै दरिद्र थिए, मलेसिया र दक्षिण कोरियालगायतका राष्ट्र। उनीहरू साँच्चैका लिडर र निडरको संरक्षणमा सुप्रबल भए। हामी विदेशीका डिलरको फेला पर्‍यौँ।

हामीले बुझेनाैँ राष्ट्रनायकमात्र राष्ट्र, जनता, धर्म, संस्कृति र परम्पराको रक्षक हुन्छ। दलनायक र गुटनायकमा त्यो उदार हृदय हुँदैन। परिवर्तनको सही अर्थ बुझेको भए करोडौँ रुपियाँको गाडी चलाउनका लागि नक्कली लाइसेन्सधारीलाई जिम्मा दिने थिएनाैँ।

गाडी भीरबाट तल खोलामा खसेको छ, उत्तानो परेर। केही मानिस ड्राइभरको सिटमा बस्छु भनेर त्यहाँ पनि ठेलाठेल गरिरहेका छन्। विदेशीको क्रेनले तानेर एकपल्ट पुनः मूल सडकमा ल्याए पनि सत्ताको लडाइँमा पुनः अलि पर पुगेर गाडी खोलैखोला जान्छ। थाहा छैन, परिवर्तनको बाटो भन्दै ड्राइभरले कता लग्छ?
अर्को समाचार
गणतन्त्रका प्रणेता 'दुर्गानन्द झा'
१५ माघ २०८०
•
४ मिनेट पाठ
गणतन्त्रका प्रणेता 'दुर्गानन्द झा'
नेपालमा मृत्युदण्डको सजाय पाउने पहिलो ब्राह्मण मात्र होइन, गणतन्त्रणको बिगुल फुक्ने पहिलो व्यक्ति थिए दुर्गानन्द झा। आज उनको ६०औं स्मृति दिवस हो। उनले राजा महेन्द्रको गाडीमाथि बम प्रहार गरेर गणतन्त्र उद्घोष गरेको ४५ वर्षपछि देशमा गणतन्त्र आयो। उनी गणतन्त्रका लागि बलिदानी दिएको ५२ वर्षपछि सहिद घोषणा भए, तर उनी गणतान्त्रिक सरकारको प्राथमिकताबाट ओझेल पर्दै आएका छन्।




नेपालमा गणतन्त्र आएपछि कांग्रेस र कम्युनिस्ट दुवैले सरकारको नेतृत्व गरे, तर नेपालमा गणतन्त्र आएको झन्डै एक दशकपछि दुर्गानन्द झालाई राज्यले सहिद घोषणा गर्‍यो। उनको परिवारलाई सरकारले अझै सहिद परिवारसरहको सम्मान दिन सकेको छैन। 

पुराना राजनीतिज्ञ खुसीलाल मण्डल भन्छन्, ‘मधेस र मधेसीमाथिको विभेदको यो चरम उदाहरण हो, जसले नेपालमा गणतन्त्रको शंखघोष गरे। राजाको खिलाफ बोल्ने साहससम्म नगर्ने समयमा जसले राजामाथि बम प्रहार गरेर गणतन्त्रको उद्घोष गरे।’

मण्डल भन्छन्, ‘गणतान्त्रिक मुलुकमा दुर्गानन्दको बलिदानी ओझेल पर्नु विडम्बना हो।’ यद्यपि त्यो हमला ज्यान लिने उद्देश्यले गरिएको थिएन। राजाबिनाको ‘तन्त्र’ कल्पना गर्नु पनि अपराध करार हुने समयमा दुर्गानन्दले राजामाथि बम फ्याँकेर साहस मात्र प्रदर्शन गरेका थिएनन्’, मण्डल भन्छन्, ‘राजा चाहिँदैन भन्ने सन्देश दुर्गानन्दले त्यतिबेला नै प्रदर्शन गरेका थिए। तर मधेसी भएकै कारण दुर्गानन्द मरणोपरान्त पनि राज्यबाट सहिद घोषणा हुन दशकौं पर्खिनुप¥यो। सहिद घोषणा भएर पनि सहिदसरह सम्मान पाउन सकेका छैनन्।’

२०२० माघ १५ गते झालाई फाँसी दिइएको थियो। २०७२ फागुन १९ गते राज्यले उनलाई सहिद घोषणा गरेको थियो। गणतन्त्रका लागि हाँसीहाँसी फाँसीमा चढेका दुर्गानन्दले सहिदका सम्मान पाउन ५२ वर्ष कुर्नुप¥यो। २०६५ जेठ १५ मा बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

मधेसको दूरदेहातमा जन्मिएर राजासँग फरक मत मात्र होइन, राजा नै चाहिँदैन भने साहस गर्ने पहिलो व्यक्तिका रूपमा चिनिन्छन् दुर्गानन्द । उनको जन्म १९९९ वैशाख १४ मा धनुषाको जटही गाउँमा पिता देवनारायण र माता सुकुमारीदेवी झाको एक्लो सन्तानका रूपमा भएको थियो।

२०१७ पुस १ मा राजा महेन्द्रले गरेको ’कु’ को विरोधमा कांग्रेसले आन्दोलन सुरुवात ग¥यो। प्रजातन्त्रमाथि ’कु’ गर्ने राजा महेन्द्रको कदमविरुद्ध युवा उमेरका दुर्गानन्दको आक्रोश उत्कर्षमा थियो। भारतको जयनगरमा निर्वासित जीवन बिताइरहेका कांग्रेस नेता सरोज कोइरालाको सम्पर्कमा पुगी उनले राजा महेन्द्रको जनकपुर सवारीका क्रममा बम प्रहार गर्ने योजना बनाएका थिए। २०१८ माघ १९ गते राजा महेन्द्रको जनकपुर भ्रमणका क्रममा दुर्गानन्दले महेन्द्र चढेको गाडीलाई लक्षित गरी बम प्रहार गरेका थिए।

कडा सुरक्षा पहराबीचमा महेन्द्र चढेको गाडीमाथि जानकी मान्दिरमा दुर्गानन्दले बम प्रहार गरे। यद्यपि बम पड्केन, गाडीको सिसामा क्षति भयो। बम प्रहार गरेर सकुशल उम्कनसमेत दुर्गानन्द सफल भएका थिए। त्यो दिन उनी जनकपुरमै सुरक्षित बसेर बिहान भारतको उभगाउँ पुगेका थिए। दुर्गानन्दकै नजिकका व्यक्तिले उनलाई राजाबाट माफी दिलाइदिने भनेर बोलाए। 

जयनगरबाट रेल चढेर जनकपुर आउँदै गरेका दुर्गानन्द बाटोबाटै गिरफ्तार भए। पक्राउ परेको भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याएर हेलिकोप्टरबाट काठमाडौंको केन्द्रीय कारागारमा पुर्‍याइएको थियो। दुर्गानन्दमाथि राज्यले राजामाथि गाथ गादी हालेको (राजालाई मार्ने उपक्रम) गरेको अभियोग लगाइयो। उनलाई फाँसीको सजाय तोकियो। तर, ब्राह्मण जातिका उनलाई फाँसी वा मृत्युदण्ड दिन कानुनमा व्यवस्था थिएन। कानुनले ब्राह्मणलाई मृत्युदण्ड दिन रोक लगाएको थियो।

त्यतिबेला राज्यले जनकपुरमा राजामाथि भएको बमकाण्डको छानबिन गर्न विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहने गरी उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो। आयोगले २०१९ भदौ १९ मा सरकारलाई प्रतिवेदन बुझायो।

विशेष अदालतद्वारा २०१९ भदौ १९ गते कुनै सुनुवाइ नगरी मृत्युदण्ड दिने फैसला सुनाइएको थियो। पञ्चायतकालीन प्रधानन्यायाधीश भगवतीप्रसाद सिंहको इजलासबाट उक्त फैसला भएको थियो। २०१९ फागुन २० मा सर्वोच्च अदालतका न्यायाधीशद्वय दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले फैसला सदर गरेका थिए।

राजनीतिज्ञ मण्डल भन्छन्, ’ब्राह्मणलाई मृत्युदण्ड दिन नहुने कानुन संशोधन गरेर यो देशमा फाँसी पाउने पहिलो व्यक्ति दुर्गानन्द हुन्। २०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था कानुनमा उल्लेख गरियो, जसअनुसार २०२० माघ १५ गते राति दुर्गानन्द झालाई केन्द्रीय कारागारको रूखमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो। राज्यले दुर्गानन्दलाई बिन्तीपत्र लेखेर राजासमक्ष माफी मागे मृत्युदण्ड मिनाहा हुने अन्तिम समयसम्म भनिरह्यो।

तर दुर्गानन्द झुक्न तयार भएनन्। उनले माफीभन्दा मृत्यु स्वीकारे। उनी हाँसीहाँसी फाँसीमा चढे। कतिसम्म भने राज्यले दुर्गानन्दको मृत शरीरसमेत उनको परिवारलाई दिएनन् । उनको परिवारले भारतको गयामा गएर कुशलाई अन्तिम संस्कार गरेका थिए।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४ सेकेन्ड अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस