सिंहदरबारबाटै हुनुपर्छ परिवर्तनको अनुभूति
२१ चैत्र २०८१
•
५ मिनेट पाठ
सिंहदरबारबाटै हुनुपर्छ परिवर्तनको अनुभूति
देशका दुई ठूला राजनीतिक दल नेपाली काङ्ग्रेस र नेकपा एमाले सत्ता सञ्चालन गरिरहेका छन्। साना दलको समेत समर्थनमा बनेको र संसद्मा गणितीय हिसाबले दोस्रो स्थानमा रहेको एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको प्रधानमन्त्रित्वमा सात बुँदे राजनीतिक सहमतिका आधारमा चलेको सरकार हो यो। सम्झौताअनुसार नेका संसदीय दलका नेता शेरबहादुर देउवा प्रम ओलीको कार्यकालपछि २०८४ को आमचुनावसम्म प्रम बन्नेछन्। त्यतिन्जेल देशको राजनीतिक अवस्थाले कुन रूप लिने हो, यसै भन्न सकिने अवस्था छैन।




राजावादीहरूको दिनहुँजसो वक्तव्यबाजी, केही जुलुस देखेर लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका हालका तीन दल र तिनका शीर्षस्थ नेताहरू केही डराएका हुन् कि भन्ने शंका पनि देखिन्छ। तर हालै बूढानीलकण्ठस्थित देउवा निवासमा बसेको बैठकले पार्टी हालको शासन व्यवस्थाको पक्षमा दृढतापूर्वक उभिएको निष्कर्ष निकालेको छ। सो अवसरमा सभापति देउवाले २०६२/६३ को जनआन्दोलनबाट प्राप्त नेपाली जनताको मौलिक अधिकारको रक्षा गर्नु पार्टीको कर्तव्य रहेको बताएका छन्।

यसबाहेक महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पनि गणतान्त्रिक शासन प्रणालीका पक्षमा दृढ भएर उभिन सबैलाई अपिल गरेका छन्। उनीहरू दुवैजनाले सल्यान, जाजरकोट, तनहुँ, सोलुखुम्बुलगायत जिल्लाको भ्रमणका अवसरमा जनसमुदायलाई पार्टीको सुदृढीकरणमा लाग्न र राजावादीको नाराको बहकाउमा नलाग्न सुझावसमेत दिएका छन्।

लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि संसद् भवन बानेश्वरमा एमाले सांसद रघुजी पन्तको विचार पनि सुन्न र बुझ्न लायक थियो। उनले राजा किन ब्युँताउने र कुन शासनकालमा राजाको पुनः आगमन गराउने भन्दै गोपालवंशी, किरातवंशी, लिच्छविकाल हुँदै शाहकाल र राणाकालका तत्कालीन राजाहरूको क्रियाकलापबारे धारणा राखेका थिए।

इतिहासको लामो कालखण्डदेखि परिवर्तनका लागि लागिपरेका यी दुई दलका लाखौँ कार्यकर्ताको योगदान र बलिदान नेपाली राजनीतिमा सम्झन लायक छ। राजनीतिक लडाइँमा दुई दलका नेता/कार्यकर्ता नै निर्णायक शक्ति बनेको इतिहास धेरै पुरानो भएको छैन। अझ गणतन्त्रको पक्षमा खरो रूपमा लागिपरेको प्रतिपक्षी दल नेकपा माओवादी थपिएपछि २०६५ जेठ १५ गते ग्यालरी बैठक सिंहदरबारबाट जनप्रतिनिधिहरूद्वारा अनुमोदित शासनशैली निरन्तर अघि बढ्ने कुरामा शंका कहीँ पनि देखिँदैन।

बीचका केही समयबाहेक माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफ्ना समर्थकसहित देश दौडाहामा लागेका छन्। पूर्वको झापादेखि पश्चिमको कञ्चनपुर गड्डाचौकीसम्म पुग्ने भनिएको यात्रा बीचमा रोकियो पनि। प्रमुख प्रतिपक्षको राजनीतिक दौडाहा आफैँमा चेतनामूलक पनि छ। सरकारका असल कर्म र खराब कर्म के के भैरहेछन्, सुसूचित गराउनु पनि प्रतिपक्षको धर्म नै हो।

यसैबीच सरकार सञ्चालनमा रहेका दुवै दलका नेता लाखौँ कार्यकर्ताको दलबलसहित जनताको घरदैलोमा पुग्ने भन्ने जानकारीमा आएको छ।  उनीहरूको देश दौडाहा के मसला र अजेन्डाका लागि हो? अब जनतालाई भिडतन्त्र होइन, मसलातन्त्र चाहिएको छ। सानो मुलुक छ, पुग न पुग तीन करोड जनसंख्या भएको देशमा जनताले परिणाममुखी प्रतिफल चाहेका छन्। लाखौँ जनता लोकतान्त्रिक गणतन्त्रात्मक शासनशैलीको पक्षमा छन् यसमा शंका छैन।

आफैँमा बेमेलको सिद्धान्त र योजनाबिहीन राजावादीहरूको बेमौसमी जुलुसको मूल्यांकन क्रान्तिको ऐतिहासिक झण्डा बोकेका लाखौँ तरुण र बस्ती बस्तीका लोकतन्त्रवादी नरनारीले राम्ररी बुझेका छन्। तर त्यति भनेर सन्तोषको सास लिने अवस्था भने देखिँदैन।

जताततै असन्तुष्टि बढिरहेका बेला केही युवा र पार्टीका व्यक्तिहरू सडकमा स्वस्फूर्त उत्रनु अस्वाभाविक मानिँदैन। तर यस्तो बेलामा हुने असन्तुष्टि प्रदर्शनले प्रतिगमनकारी शक्तिलाई थप बल मिल्नेछ। एकातिर प्रतिगमनकारी शक्तिहरू कानुनी राजको धज्जी उडाउँदै जनताको बलिदानीबाट आएको हालको शासन प्रणालीको विरोध गर्दै खुलारूपमा ‘राजा आऊ, देश बचाऊ’ भनी सडकमा कुर्लिरहेछन्। अर्कोतर्फ यही बेला सत्तासीन दलहरूको परेडले सकारात्मक सन्देश जान गाह्रो हुने देखिन्छ।

२०४६ सालअघि र पछिको देशको अवस्थामा आकाश–जमिनको फरक छ। २०३४ सालमा बझाङ, बाजुरा, बैतडी, हुम्ला, जुम्लालगायतका त्यसबेलाका पश्चिमका दुर्गम जिल्लाबाट राजधानी आउँदा ८–१० दिन पैदल हिँडेर आउनुपथ्र्यो। अझ छिमेकी मुलुक भारतको रेलको मार्ग भएर आउनुपर्थ्याे। अहिले विकासका प्रशस्त मार्ग छन्।

बिहान काठमाडौँमा दालभात खाएर हिँडेको यात्री बेलुका आफ्नै जन्मभूमिमा आमाले पकाएको स्वादिलो खाना खान पुग्छ। सुत्केरी बेथाबाट मृत्युको मुखमा धकेलिएकी महिला वर्तमानमा आफ्नै वार्डमा बच्चा जन्माउँछिन्, गाउँ–गाउँमा कलेज स्थापना गरिएका छन्। त्यसबेला गाडीको यात्राबाट सहर पुगेपछि मात्र उच्च शिक्षा सम्भव थियो।

यति मात्र हैन, अहिले गाउँ–गाउँमा गाडीले सुविधा दिएका छन्। बझाङ, बाजुरा जिल्लामा उत्पादन हुने आलुले बजार नपाउँदा घरमै कुहिने गर्थे तर आजभोलि जिल्ला सदरमुकाम र कैलालीको बजारसम्म बिक्री हुन्छन्।  डडेलधुरामा उत्पादन हुने फलफूल र हरियो सागपात कैलाली कञ्चनपुरको बजारमा मात्र नभएर दिल्लीको बजारसम्म बिक्री हुन्छन्। सञ्चार क्षेत्रले  फड्को मारेर संसार नै एक घर भएको छ।

कुनै बेला आकासवाणी (आवा)को भरमा परदेशीले घरमा परिवारलाई रैवार पठाउनु पथ्र्यो। रेडियो नेपाल गाउँमा प्रष्ट सुनिँदैनथ्यो। गणतन्त्रकालपछि एफएम रेडियो जिल्ला जिल्लामा स्थापना भएका छन्। हात–हातमा मोबाइल छन्।

लोकतन्त्रको मर्यादा भनेकै आफ्नो कर्तव्य पालना गर्दा अरूको अधिकार हनन नगर्नु पनि हो। तर यहाँ त्यस्तो देखिएको छैन। जोस र जवानीका आधारमा अरूप्रति अपशब्द प्रयोग गरी, गालीगलौज गरी आफ्नो र आफ्नाहरूको परिचय दिलाउनुले कसको कद घटेको मानिन्छ ? सबैलाई अवगत भएकै कुरा हो।

दलका नेता/कार्यकर्ता एवं उच्च ओहोदामा आसीन व्यक्तिहरूले सहीदको सम्मान गर्दै, नेपाली माटोलाई शीरमा राखी भ्रष्टाचार कदापि गर्दिन, गरे जन्म दिने आमाको रगत चुसे बराबर श्राप लाग्नेछ भनी संकल्पसहित सेवा गर्नुपर्‍यो। परिवर्तनको अनुभूति सिंहदरबारबाट नै देखाउन सकेमा बल्ल प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले छिटै जय/जयकार पाउनेछ। बेतुकका आन्दोलनका आवाज स्वाभाविकरूपमा बन्द हुँदै जानेछन्।
अर्को समाचार
‘क्वाक’ पशु चिकित्सकबाट जोखिम
०९ साउन २०८२
•
४ मिनेट पाठ
‘क्वाक’ पशु चिकित्सकबाट जोखिम
‘क्वाकरी’ अर्थात् नक्कली। चिकित्सा क्षेत्रमा आर्थिक लाभ लिने ध्येयले उचित योग्यता वा इजाजतपत्रविना अभ्यास गर्ने व्यक्तिलाई चिनाउन ‘क्वाक’ शब्द प्रयोग हुन्छ। यसलाई नक्कली डाक्टर भन्न सकिन्छ। यस्ता डाक्टरले मानिसलाई मात्र होइन पशु कल्याण, खाद्य सुरक्षा र जनस्वास्थ्यमासमेत गम्भीर खतरा निम्त्याउन सक्छन्। तिनीहरूको गलत अभ्यासले जनावरमा पीडा, रोगको विस्तार र विशेषज्ञता बेगर रासायनिक पदार्थ वा औषधि प्रयोग गरी खाद्य उत्पादनमा समेत गम्भीर परिणाम निम्त्याउन सक्छ।




पशु चिकित्सामा ‘क्वाकरी’ बढ्दो संकट हो। यसले पशु स्वास्थ्यलाई त खतरामा पार्छ नै सार्वजनिक सुरक्षामा जथाभाबी गर्छ। त्यति मात्र होइन एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) बढाउन सघाउँछ। ग्रामीण क्षेत्रमा जहाँ योग्य पशु चिकित्सकहरूको अभाव हुन्छ, तिनले आफूलाई पशु चिकित्सकका रूपमा प्रस्तुत गर्छन्।

यी स्वघोषित चिकित्सकलाई सामान्यतया ढोंगी भनिन्छ। यिनीहरूले औपचारिक शिक्षा, प्रशिक्षण र नियामकको स्वीकृतिविना पशु रोगको निदान, उपचार र शल्यक्रिया गर्छन्। एन्टिबायोटिक, स्टेरोइड र अन्य औषधि तिनले जथाभाबी प्रयोग गर्दा पशु कल्याणलाई मात्र खतरामा पार्दैन मानव स्वास्थ्यमा समेत दूरगामी परिणाम निम्त्याउँछ।

दुधालु गाईको फाँचोमा पोलिरहेको हुन सक्छ। यस्तो बेला एन्टिबायोटिकले काम गर्दैन। ब्याक्टेरियाले हरेक उपचारलाई पचाइसकेको छ। यसका कारण प्रतिरोध क्षमता विकास गरिसकेको छ। पशुधनबाट उत्पादित खाना उपभोग गर्ने नौ अर्ब मानिसको संसार अहिले संकटमा छ। अब एक पटक प्रभावकारी भएका औषधिले काम नगर्ने भइसकेको छ।  

यस्तो अवस्थामा हामी कसरी पुग्यौं त ? यसको उत्तर एन्टिबायोटिकको लापरबाहीपूर्ण प्रयोगलाई मानिन्छ। यस्तो गलत अभ्यास पशुचिकित्सा क्षेत्रमा नक्कली औषधिको अनियन्त्रित प्रयोगसँग गाँसिएको छ। मानिस र पशुबिच नक्कली डाक्टरको कामलाई बुझ्नु जरुरी छ। एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) पशु स्वास्थ्यका लागि मात्र खतरा होइन; मानिसका लागि पनि उत्तिकै जोखिम छ।

पशु र मानव स्वास्थ्यमा घनिष्ट सम्बन्ध छ। विशेष गरी दूध र मासुजन्य पदार्थको उपभोग अभिन्नरूपमा जोडिएको छ। नक्कली डाक्टरद्वारा एन्टिबायोटिकको अन्धाधुन्ध प्रयोग, उचित मात्रा, निकासी अवधि, वा फार्माकोडायनामिक्स (शरीरमा औषधि प्रभाव) लाई वास्ता नगरी उपयोग गर्दा पशुजन्य खाद्य उत्पादनमा औषधिका अवशेष जम्मा हुन थाल्छन्। यी अवशेष मानिसले उपभोग गरेपछि एन्टिबायोटिक–प्रतिरोधी ब्याक्टेरियाको विकास हुन्छ। यसैले एकै पटकमा निको हुने संक्रमणको उपचार अझ गाह्रो हुन्छ। यो प्रवृत्तिलाई नियन्त्रण नगरी निरन्तरता दिइरहने हो भने एन्टिबायोटिकले प्रभावकारिता गुमाउने सम्भावना हुन्छ।

सरकारका गरिबी निवारण योजनासहित धेरै कारकले ढोंगीहरूको प्रसारलाई बढावा दिन्छन्। यस क्षेत्रमा जिम्मेवारीपूर्वक अभ्यास गर्न आवश्यक ज्ञान वा नैतिक मापदण्ड प्रदान नगरी आधारभूत पशु चिकित्सा प्राथमिक उपचारमा मानिसलाई तालिम दिने सरकारका गरिबी निवारण योजना समावेश छन्।

पशुधन व्यवस्थापनमा तीनदेखि ६ महिने प्रशिक्षण दिने सरकारी कार्यक्रमले ठूलो संख्यामा ढोंगी चिकित्सक उत्पादन गरिरहेका छन्। यिनले वास्तविक पशु चिकित्सकहरूलाई अपेक्षाकृत सहयोग गर्नुको सट्टा आफैं अनियमित अभ्यास गर्न थाल्छन्। वित्तीय लाभ लिने ध्येयले विश्वविद्यालय र तालिम संस्थानहरूले कुनै कानुनी अनुमति बिना पशुचिकित्साका क्षेत्रमा प्रवेश गर्ने डिप्लोमाधारी उत्पादन गर्छन्।  

नेपाल पशु चिकित्सा परिषद् (एनविसी) मा दर्ता पशु चिकित्सकले मात्र पशु चिकित्सा सेवा प्रदान गर्न सक्ने भनेर आदेश दिन्छ तर यी नियमहरूको कार्यान्वयनपक्ष साह्रै फितलो छ, जसले ढोंगी पशुचिकित्सक बढाउँछ।  

यस्तो संकट बढ्नुमा औषधि कम्पनी पनि उत्तिकै जिम्मेवार छन्। उत्पादन प्याकेजिङमा सरलीकृत नेपाली वा अंग्रेजीमा पशु चिकित्सा औषधिहरूमा लेबल टाँसेर, तिनीहरूले अयोग्य व्यक्तिहरूलाई पूर्ण ज्ञानविना औषधि व्यवस्थापन गर्न सक्षम भएको भ्रम सिर्जना गर्छन्।  

विश्वव्यापी मापदण्ड विपरीत पशु चिकित्सासम्बन्धी औषधिलाई वैज्ञानिक भाषामा लेबल टाँस्नु आवश्यक हुन्छ। स्थानीय औषधि प्याकेजिङमा सरलीकृत निर्देशनले ढोंगीहरूलाई एन्टिबायोटिकको दुरूपयोग गर्न सजिलो बनाउँछ, जसले गर्दा एएमआरको जोखिम अझ बढ्छ। पशु कल्याण र जनस्वास्थ्यमाथि औषधि बिक्रीको यस्तो प्राथमिकताले प्रतिरोधी ब्याक्टेरियाको फैलावटलाई तीव्र बनाउँछ।

यस सन्दर्भमा चिन्ताजनक प्रवृत्ति भनेको विज्ञानको नाममा अवैज्ञानिक अभ्यास गर्न केही इजाजत प्राप्त पशु चिकित्सकको संलग्नता हो। आर्थिक लाभका लागि केही पशु चिकित्सकले आफ्नो डिग्री र आधारभूत क्लिनिकल ज्ञान अयोग्य व्यक्तिलाई भाडामा दिन्छन् वा प्रशिक्षणविनाका सहायकहरूलाई आफ्नो व्यावसायिक आवरणमा काम गर्न तालिम दिन्छन्।

यो अभ्यासले पशु चिकित्सा सेवामा नागरिक विश्वास र पेशाको पवित्रतालाई कमजोर बनाउँछ। यिनीहरूले सामाजिक सञ्जालमार्फत भ्रम बढाउँछन्। प्रायः स्वघोषित पशु चिकित्सा विशेषज्ञहरू र सामाजिक सञ्जालमा योग्य पशु चिकित्सकहरू पनि- आफैं औषधि र गलत निदानको जोखिमलाई विचार नगरी उपचार प्रोटोकल प्रस्तुत गरिहेका देखिन्छन्। यस्ता क्रियाकलापले लापरबाहीपूर्ण तवरले औषधि प्रयोग गर्न बढावा दिन्छ।

विश्वभरका पशु चिकित्सा अभ्यासमा नक्कली पशु चिकित्सकको उपस्थिति, पशु कल्याण, खाद्य सुरक्षा र जनस्वास्थ्यका लागि गम्भीर चिन्ताको विषय हो।  
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस