जलवायु परिवर्तनका कारण मानव स्वास्थ्यमा पर्ने असरबारे नेपाल रिपब्लिक मिडिया (नागरिक दैनिक)द्वारा ‘म नागरिक म बनाउँछु नेपाल'’ भन्ने नाराका साथ फागुन ४ गते जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरी काठमाडौं फर्किन विमानस्थलतर्फ जाँदै थिएँ। विमानस्थल पुग्दा गेटनजिक मानिसको भिड देखियो। त्यहाँको गतिविधिलाई हेर्दा स्वास्थ्यसम्बन्धी कुनै घटना भएको सहजै अनुमान लगाउन सकिन्थ्यो।
उडानको समय भइसकेको भए पनि मलाई त्यहाँ के भइरहेको छ? भन्ने जान्ने उत्सुकता भयो। त्यसैले गाडीबाट ओर्लिएर भिड भएतिर जाँदै गर्दा बिचमै एकजना मलाई चिन्ने व्यक्तिसँग भेट भयो। मैले उनलाई त्यहाँ के भइरहेको छ? भनेर सोधेँ। उनले भने– ‘डाक्टर साब, एक जना महिला यात्री ‘अराइभल कक्ष’निर एक्कासी बेहोस भइन्।’ ती व्यक्तिको भनाइ र घटनास्थलको वस्तुस्थिति देखेपछि म फटाफट ती महिलाको छेउमा पुगेर उनलाई नियालेँ। अर्धचेत अवस्थामा रहेकी करिब २० वर्षकी ती युवती पसिनाले निथ्रुक्क भिजेकी थिइन्। पतिले उनलाई समातेर उभ्याइरहेका थिए।
मेरो सहयोग के रह्यो? परिस्थितिको गम्भीरतालाई ख्याल गर्दै मैले ती युवतीलाई त्यहीं नै भुइँमा सुताउन लगाएँ अनि नाडी छामेँ। मैले मुस्किलले नाडी भेटाउन सकेँ। उनको नाडी अत्यन्तै धिमा थियो। मेरो अनुमानमा त्यति बेला ती युवतीको माथिको रक्तचाप ५०/६० को हाराहारीमा मात्रै थियो होला! यति बेलासम्म ती युवती पूर्ण अचेत भइसकेकी थिइन्। ती युवतीलाई शीतलता दिन मैले उपस्थित व्यक्तिलाई आग्रह गरेँ। मेरो आग्रहपछि धेरै जनाले कपडाले उनलाई हम्किए, कतिपयले आफ्नो कपडा त कतिपयले बच्चाको ज्याकेटले हम्किँदै उनलाई शीतलता प्रदान गर्ने प्रयास गरेँ। मैले पनि कपडाले हम्किएँ।
त्यस बेलासम्म म चिकित्सक भएको कुरा त्यहाँ धेरै जनाले थाहा पाइसकेको हुँदा त्यहाँ उनीहरूले मलाई सघाइरहेका थिए। जसले गर्दा ती युवतीको प्राथमिक उपचार गर्न सहज वातावरण बन्यो। मैले भुइँमा सुताइएर ती युवतीको टाउको तल तथा दुवै खुट्टा माथि गर्न लगाएँ। उनलाई होसमा ल्याउन मैले उनको नाम सोधेँ तर उनले मेरो प्रश्नको उत्तर फर्काउन सकिरहेकी थिइनन्। मेरो हात उनको नाडीमै थियो। मैले उनको नाडीको गतिलाई सूक्ष्म तरिकाले विश्लेषण गरिरहेको थिएँ। क्रमशः उनको नाडीको गति सुधारोन्मुख थियो। केही बेरपछि उनी पूर्ण होसमा आइन्।
उनी को थिइन्? प्राथमिक उपचार गर्दा गर्दै मैले ती युवतीबारे सोधेँ। उनी नवविवाहिता रहिछिन्। भारतको विहारस्थित सीतामढी निवासी उनी श्रीमान्सहित काठमाडौं घुमेर जनकपुर फर्किंदै गर्दा स्वास्थ्यमा समस्या आएको थियो। होसमा आएपछि मानिसले उनलाई उठाएर अर्को ठाउँमा बसाउन खोजे। तर, मैले रोक्दै उनलाई त्यहीं नै सुत्न लगाउँदै आराम गर्न लगाएँ। उनको होस आइसकेको र नाडी छाम्दा मलाई सन्तोष लागेपछि मैले मेरो ड्राइभरलाई भनेर जुस मगाएर उनलाई दिएँ। उनी पूर्ण रूपमा होसमा आइसकेको हुँदा मैले उनलाई जुस खुवाउन उपयुक्त ठानेँ। यस्तो बेलामा जीवन जल वा नुनिलो झोल खुवाउँदा बढी उपयुक्त हुन्छ। यद्यपि, त्यो उपलब्ध नभए जुस वा पानी दिँदा पनि लाभप्रद नै हुन्छ। यसले शरीरमा पानीको सन्तुलन मिलाउँछ र रक्तचापलाई माथि लैजान मद्दत गर्छ। त्यसबेलासम्म मलाई विमानका कर्मचारीको फोन आइरहेको थियो। उडानको समय पनि भइसकेको हुँदा ती युवतीलाई सुरक्षित देखेपछि म उनलाई त्यहीं नै छोडेर विमानस्थलभित्र गएँ। बोडिङ पास लिएपछि बुझ्दा ती युवती र उनको परिवार त्यहाँबाट हिँडिसकेका रहेछन्।
उनलाई के भएको थियो? चिकित्सकीय भाषामा ती युवतीलाई ‘भासोभगल सिन्कोप’ भन्ने समस्या भएको थियो। कुनै विशेष अवस्थामा रक्तचाप, मुटुको धड्कन कम हुने तथा मस्तिष्कमा पर्याप्त रक्तसञ्चार नपुगेर मानिस अचानक बेहोस हुने समस्यालाई भासोभगल सिन्कोप भनिन्छ।
यस्तो अवस्थामा कसरी सघाउने? यस्तो बेला बिरामीलाई ऊ जहाँ छ, त्यहीं टाउको तल खुट्टामाथि गरेर सुताउनुपर्छ। वरिपरिको वातावरणलाई चिसो बनाउने, हावा आउने वातावरण बनाउने, बिरामीको श्वासप्रश्वासलाई ख्याल गर्ने, घाँटीको कपडा खोलिदिनेलगायतका कार्य गर्नुपर्छ।
के गर्नु हुन्न? त्यस्तो बेलामा बिरामी बसाउने, उठाउने, हिँडाउने, पानी खुवाउने, नाकमुख छोपिदिनेजस्ता कार्य गर्नुहुँदैन। केही समयभित्र प्रतिरोधात्मक क्षमता पुनः सुचारु भएपछि बिरामी सामान्य अवस्थामा फर्किन्छन्। उसको रक्तचाप र नाडी बिस्तारै पहिलाकै अवस्थामा स्वतः आउने सम्भावना बढी हुन्छ। त्यस्तो बेला अरू मानिसले विशेष ख्याल गर्नुपर्छ। मेरो विचारमा ती युवतीलाई काठमाडौंको चिसो मौसमबाट एकैपटक जनकपुरको गर्मीमा गइन्। उनले अत्यन्तै बाक्लो कपडा पनि लगाएकी थिइन्। विवाह, घुमफिरको धपेडी, खानामा अनियमितताजस्ता कारणले त्यो समस्या भएको हुनुपर्छ।
भासोभगल सिन्कोप हुनुको कारण? लामो समयसम्म उभिइरहेमा, भोकै वा उपवास बसेका बेला, राति सुतेर अचानक बाथरुम जाँदा, रक्तदान गरेपछि, विभिन्न कारणबाट अत्यधिक दुखाइ, पिसाब बढी च्यापेका बेला, डर, तनाव वा भावनात्मक आघात हुँदा, असहज वा अप्रत्यासित दुखाइ हुँदा, तातो ठाउँमा लामो समय बस्दा भासोभगल सिन्कोप हुने सम्भावना बढी हुन्छ।
लक्षणहरू के के हुन्? टाउको हलुका महसुस हुनु, आँखा धमिलो हुनु, बिनाकारण खलखल पसिना आउनु, पेट बिग्रिएजस्तो महसुस हुनु, शरीर कमजोर हुनु, वाकवाकी लाग्नु, अचानक दिशा लाग्नु र एक्कासी बेहोस वा अर्धचेत हुनु।
रोकथामका उपाय लामो समय उभिनु परेमा बेला बेला बस्ने वा खुट्टा चलाइरहने, प्रशस्त पानी पिउने, खानपान राम्रो राख्ने, तातो वातावरणमा धेरै समय नबस्ने, बेहोस हुने लक्षण आएपछि तुरुन्त बस्ने वा सुत्ने, खुट्टामाथि उठाउने, मस्तिस्कमा रक्तसञ्चार गराउने, केही मिनेट आराम गर्ने, कोल्टे भएर सुत्ने ताकी बान्ता भए खाना नअड्कियोस्, शरीरलाई शीतल बनाउने, व्यक्ति बेहोस भइसकेको छ भने उसलाई ढल्न नदिने, सपोर्ट दिएर सुताउने, खुट्टामाथि उठाइदिने (रक्तसञ्चार सुधार गर्न), कसिलो लुगा भए फुकालिदिने (जस्तै टाइट बटन, टाई, बेल्ट आदि), ताजा हावा आउन सहयोग गर्ने। कोठाभित्र हुनुहुन्छ भने झ्याल खोल्ने। होस खुलेपछि बिरामीलाई बिस्तारै उठ्न दिई पानी वा झोलिलो पदार्थ पिउन दिने। चिकित्सकको सल्लाह लिनुहोस्। सामान्यतः भासोभगल सिन्कोप खतरनाक हुँदैन। तर, सचेत भने हुनुपर्छ । – लेखक, मुटुरोग विशेषज्ञ तथा स्वास्थ्य नवप्रवर्तक ।
एउटा व्यावसायिक भेलामा मुटु चिकित्सक र हाडजोर्नीका डाक्टरसँग आमनेसामने भयो। पेशागत संवादपछि स्वास्थसम्बन्धी भलाकुसारी पनि भयो। मुटुका डाक्टरले दगुर्ने सल्लाह मात्र दिएनन् बरु जति धेरै हिँडडुल गर्यो ‘कार्डियो भास्कुलर डिजिज’ हरूको सम्भाव्यता त्यसै अनुपातमा घट्ने बताए।
तत्कालै अर्का चिकित्सकले जोर्नीका समस्याको चिरफार गरे। धेरै हिँड्ने गर्दा मुटुको समस्या घट्ने तर जोर्नीमा नवीन समस्या निम्तने बताए। उनले मानिसहरू मुटुको स्वास्थ्यसँग सजग भएर अत्यधिक दगुर्ने गर्दा पछिल्ला दिनमा हाडजोर्नीका सर्जरी अत्यधिक बढेको विश्वव्यापी तथ्यांक नै प्रस्तुत गरे। एउटा अंगलाई सबल बनाउँदा अर्कोलाई आघात परेको त छैन? भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ भन्ने चिकित्सकहरूको निचोड थियो।
विश्वका विभिन्न भौगोलिक इलाका र खानपिन तथा रहनसहनमा हुर्किएका अर्बौं जनसंख्याको आयु चिरफार गर्दा जुनसुकै लिंग, वर्ण, रङका भए पनि मानवीय उमेरको सीमा एक शताब्दी भन्दा बढी नहुने देखिन्छ भने आठ दशकभन्दा अधिक सुझबुझसहितको क्रियाशील जीवन बिताउन कठिन छ। प्रकृतिले नै उमेरको परिधि तोकेको अवस्थामा पाँच सय वर्ष चल्ने मुटुको कल्पनामा दगुर्नुको के अर्थ? यद्यपि जटिल शारीरिक कारण कति कसरतले एक शताब्दी मात्र चल्ने बनाउन सकिन्छ भन्ने ठम्याउन कठिन छ।
बेलायती अर्थशास्त्री थोमस माल्थसले सन् १७९८ मा ‘एन एस्से अन द् प्रिन्सिपल अफ पपुलेसन’ पुस्तक प्रकाशन गरे। त्यसबखत रफ्तारले बढी रहेको जनसंख्यालाई खुवाउन धेरै फल्ने प्रजातिका अन्न उत्पादनका लागि संघर्षरत वैज्ञानिकहरूलाई सान्त्वना दिने खालको निचोड निकालेका थिए, माल्थसले उक्त पुस्तकमा। पपुलेसन कन्ट्रोल गर्न थप केही गर्नु पर्दैन भोकमरी, रोग अथवा युद्धका कारण पृथ्वीको जनसंख्या स्वत: नियन्त्रणमा आउने माल्थसको सिद्धान्तको सार थियो। पछि मलखाद र किटनासक ओखतीको आविष्कार, उन्नति प्रजातिका अन्नबालीको विकास अनि प्रविधिको आधुनिकीकरणले खानाका लागि छटपटाएर मर्नुपर्ने अवस्थाको अन्त्य भयो। विज्ञानले भोकमरीको सामना गर्नुपर्ने अवस्थाको अन्त्य गरेपछि माल्थसको सिद्धान्तमा शंका गरियो।
संसारभर रुमलिएको युद्धको बादलले तेस्रो विश्वयुद्धलाई ललकारेको अवस्थामा माल्थसले भनेझैँ विश्व जनसंख्या आफैं आजभन्दा दुई सय वर्षअघिको अवस्थामा पुग्ने हो कि भन्ने भान पारिरहेको छ। कोरोना भाइरस जस्ता सूक्ष्माणुको प्रकोप मात्र होइन बरु बाल्यकालमै देखिने गरेका अस्वाभाविक लक्षणले कहाली लाग्दो महामारीको संकेत गर्यो।
आधुनिक खेतीपाती अनि वैज्ञानिक आविष्कारले भोकमरीको समस्याबाट विश्व माथि उठेको छ। खान नपाएर मर्नुपर्ने बाध्यताबाट गुज्रने जनसंख्या नगन्य देखिन्छ भने चाहिनेभन्दा अत्यधिक खाना खानेको संख्या उकासिएको छ। विश्वका झन्डै १५ प्रतिशत जनसंख्याको तौल स्वस्थ शरीरले थेग्नेभन्दा अत्यधिक देखिन्छ। अध्ययनले मोटा मानिसको जनसंख्या वितरण देशको आर्थिक समुन्नतिसँग जोडिएको देखाएको छ। सम्भ्रान्त देशमा मोटा मानिसको संख्या धेरै बढ्यो भन्छ एक अध्ययनले। त्यो अध्ययन संसारभरका दर्जनौं अन्वेषणकर्ताको सहभागितामा गरिएको थियो। सो अध्ययनको निष्कर्ष यसै महिना जर्नल ‘पिएनएएस’मा प्रकाशित छ। संयुक्त राज्य अमेरिकाको ड्युक युनिभर्सिटीका अनुसन्धानकर्ता एमान्डा मेग्रोस्कीको नेतृत्वमा बाहिरिएको उक्त अध्ययनले गरिब देशमै पनि धनी मानिसले चाहिने भन्दा अत्यधिक खाना खाने गरेकाले उनीहरूको तौल बढेको उल्लेख गरेको छ।
दुब्लाउन भोजनको नियन्त्रण र शारीरिक कसरतको सहारा लिनुपर्ने तथ्य जगजाहेर रहेको विषय भए पनि कुन विधि वजन नियन्त्रणको लागि प्रधान हुन्छ भन्ने विषय बहसमै थियो। जति धेरै खाए पनि कसरत मार्फत ऊर्जा दहन गर्ने हो भने के फरक पर्छ र भन्ने बहानामा चाहिनेभन्दा धेरै भात खाने मानिस छन्। दुबै विधिको सार्थकता समान भए पनि त्यसको प्रभावकारिता परीक्षण भएको थिएन। उक्त अनुत्तरित प्रश्नको उत्तर दियो ड्युक युनिभर्सिटीको गत हप्ता छापिएको माथि उद्धृत अध्ययनले। संसारका लाखौं मानिसको जीवनशैलीलाई समेटेर प्रकाशित उक्त अनुसन्धानले मानिस मोटो हुनुमा शारीरिक परिश्रमको खासै भूमिका हुँदैन बरु खाना नै मुख्य दोषी हो भन्ने त्यसको निचोड हो। तसर्थ, शरीरको तौल घटाउने हो भने अविलम्ब खानामा लगाम लगाउनुपर्ने देखियो। वजन नियन्त्रणका लागि शारीरिक कसरत सहायक सिद्ध हुने भए पनि खान्कीमै कटौती नगरी दुब्लो बन्न सकिँदैन भन्ने उक्त अध्ययनको सार हो।
हिजोका दिनमा आर्थिक अभावका कारण खान नपाउने वर्ग वैदेशिक रोजगारीका कारण आर्जित रकमले गर्दा दुई छाक भात खाने मात्र होइन बरु चाउचाउ समेतको जोहो गर्नसक्ने अवस्थामा पुग्यो। स्थानीय गोरसको बदला सहरको अनुकरण गर्दै कोक र पेप्सीसमेत दुर्गम गाउँमा पुग्यो। ग्रामीण सुमानी दही–चिउरालाई बेइमानी चिप्स, बिस्कुट जस्ता पत्रु खानाले प्रतिस्थापन गर्यो।
पृथक स्वाद अनि लामो समयसम्म नबिग्रियोस् भनेर तयारी खान्कीमा विभिन्न किसिमका रासायनिक पदार्थ प्रयोग गरिन्छ। भर्खर आविष्कार भएको रासायनिक पदार्थलाई छोटो तथ्यांक संकलनलाई आधार मानेर खाद्य पदार्थमा प्रयोग गर्न अनुमति दिइने भएकाले उक्त रसायनको दीर्घकालीन स्वास्थ्य असरको खासै जानकारी हुँदैन। खाद्यान्नमा प्रयोग भएका रासायनिक पदार्थको वास्तविक चरित्र थाहा पाउन वर्षौ कुर्नुपर्ने भएकाले तथ्य बाहिरिनु अघि नै लाखौं उपभोक्ता उक्त केमिकलले भित्र्याउने रोगको मारमा परिसकेका हुन्छन्।
उदाहरणका लागि केही वर्षअघि बोतलमा प्याक भएको पेयमा रासायनिक पदार्थ ‘क्लोरेट’ भेटिएपछि युरोपियन युनियनबाट धेरै पेय पदार्थ बिक्री गर्न बर्जित गरियो। त्यस्तै डाएट कोकाकोलालाई गुलियो बनाउन लामो समयदेखि प्रयोगमा रहेको ‘एस्पार्टेम’ले क्यान्सर भित्र्याउने यथार्थ थाहा पाउन वर्षौं लागेकाले त्यसको दीर्घकालीन असरको भयावह परिणाम भनिरहनु परेन। अहिलेसम्मको तथ्यांक केलाउँदा चलानी खान्कीमा प्रयोग भएका अधिकांश रासायनिक तत्व क्यान्सर लगायतका दीर्घरोगको सम्भाव्यता बढाउने देखाएकाले बट्टाबन्द खान्कीलाई रोगको घरभन्दा अन्यथा हुँदैन।
तरकारी फलफूल, माछामासु लगायतका खान्कीको उत्पादन रासायनिक पदार्थ तथा विषादीको प्रयोग बिना प्राय असम्भव छ। तसर्थ, जतिसुकै सावधानी लिए पनि खानासँगै दूषित केमिकल हाम्रो शरीरमा पुग्छ नै। व्यक्तिको सचेतताले विषादीको मात्रा फरक हुन सक्छ। सूक्ष्म परिमाणमा शरीरमा पस्ने विषादीलाई शारीरिक प्रक्रियाले निस्तेज पार्ने भए पनि दिनहुँ खाने खान्कीमा पाइने रासायनिक पदार्थको संसर्गसँग आन्तरिक बायोलोजीले हार्छ। अनि व्यक्ति विभिन्न किसिमको रोगको सिकार हुन्छ।
जंक फुड खराब हो भनेर जान्दाजान्दै पनि अहिलेको संस्कारमा बट्टाको खान्कीको निषेध असम्भव छ। वर्जित गर्न सम्भव नभएपछि हाम्रो शरीरमा पस्ने केमिकलको मात्रा न्यूनीकरण अहिलेको आवश्यकता भएको छ। सभ्यताको विकाससँगै फेरिएको जीवनशैलीले गर्दा जन्मदा देखि विषाक्त वायु, अशुद्ध पानी र खराब खान्की शरीरमा पुग्यो। कलिला ज्यानमा झाँगिदै गरेको प्रतिरक्षा संयन्त्र बाह्य विषादीसँग पराजित हुँदा बालबालिका रोगको सिकार बन्न पुग्छन्। साना बालबालिकामा लाग्नै नहुने क्यान्सर, मधुमेह, मुटुका रोग दिनानु दिन बढ्नुमा बदलिँदो सामाजिक परिवेश र आधुनिकताको उपज देखियो। सावधानी अपनाएको खण्डमा रासायनिक तत्वको मात्रा शरीरमा घटाएर रोगको आयतन कम गर्न नसकिने होइन तर शून्यमा झार्न भने सकिँदैन।
क्रयशक्तिमा वृद्धि भएपछि मानिसले धेरै खान थाले, शरीर भारी भयो। मोटो शरीर क्यान्सर, मधुमेह, मुटु रोग लगायतका दर्जनौं समस्याको कारक भएकाले पनि खान्कीले हौस्याएको मरण बढ्नु अस्वाभाविक रहेन। यसरी विकाससँगै बालबालिकादेखि वयस्कसम्ममा रोगको प्रकोप बढ्दा समष्टिगत मरणको आयतन बढेको छ। अघिल्लो कालमा पर्याप्त खान्की नहुँदा भोकमरीले मर्नेको संख्या धेरै थियो भने पछिल्लो समय अधिक भोजनले मृत्यु हुनेको संख्या अकासिन सक्ने देखियो।
माल्थसले भनेभन्दा फरक भोकमरी र युद्धलेभन्दा पनि भोजनको अत्यधिक खपतले बढाएको मृत्युले पो जनसंख्यालाई नियन्त्रण गर्ने देखियो! सय वर्षअघि कुपोषणले निम्त्याउने समस्याको वर्चस्व थियो भने अहिले धेरै खाँदा लाग्ने रोग अकासिएको छ। वैज्ञानिक आविष्कारको राम्रा पक्षको दोहन अनि नकारात्मक उपजलाई निषेध गरी स्वस्थ जीवन शैलीको प्रवर्द्धन गर्न आवश्यक देखियो। – पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...