निर्वाचन परिणामको सन्देश
१२ मंसिर २०७९
•
६ मिनेट पाठ
निर्वाचन परिणामको सन्देश
सत्तारुढ गठवन्धनको परिणाम सकारात्मक नै आएको छ। यद्यपि यति मात्रै अपेक्षित थिएन। कम्तीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी यी तीन पार्टीले सहजै सरकार बनाउने अवस्था बन्नुपर्थ्यो। कांग्रेसले उम्मेदवारमध्ये ६० प्रतिशत र एकीकृत समाजवादीले ५२ प्रतिशतलाई जिताउँदै गर्दा माओवादीले ४० प्रतिशतलाई पनि जिताउन सकेन। यद्यपि, समानुपातिक मतमा एकीकृत समाजवादी र माओवादीको मत परिणाम उल्टो हुनसक्छ। गठबन्धनबीचको यो परिणाम अन्यथा हो भने पार्टी नेताहरूकै कमजोरी हो। उनीहरूले टिकट वितरणमा जित्ने उम्मेदवार हेरेनन्। केन्द्रीय नेताहरूको व्यवस्थापनलाई मात्रै गठवन्धन मान्नु उनीहरूको कमजोरी मात्र होइन, लापरबाही पनि हो। आफ्ना भागमा परेका १९ मध्ये एकीकृत समाजवादीले केन्द्रीय समितिभन्दा बाहिर कसैलाई योग्य उम्मेदवार देखेन। कांग्रेस र माओवादीले एक अर्को नेताको व्यवस्थापनमा मात्रै ध्यान दिए। आफन्तजनको खोजीमा ध्यान दिए तर आफूले जित्ने निर्वाचन क्षेत्र र उम्मेदवारबीच पनि तालमेल गरेनन्। अन्यथा मतदाताको तहमा एक आस्थाबाट अर्को आस्थामा यति मत हस्तान्तरण हुनु भनेको चानचुने कुरा होइन।




गठबन्धन गर्दैगर्दा कांग्रेसले यति मात्रै जित्नुपर्ने कारण थिएन। कांग्रेसका ९१ मध्ये दुई तिहाइ उम्मेदवार जित्ने हैसियत राख्छन् भन्ने अनुमान थियो। प्रत्यक्ष निर्वाचन लडेका कांग्रेसका चार सहमहामन्त्रीमध्ये भीष्मराज आङदम्बे, डिना अर्याल, उमाकान्त चौधरी पराजीत भए। उनीहरूको पराजय अपेक्षित थिएन। रूपन्देहीमा गृहमन्त्री बालकृष्ण खाँणसहित तीन हस्तीको पराजयले कांग्रेसको प्रतिनिधित्व नै शून्य बनायो। सुनसरीमा कांग्रेसको यो अवस्था रहला भनेर शायदै अरू पार्टीसमेतले अनुमान गरेका थिए। सिरहामा पद्मनारायण चौधरी र चित्रलेखा यादवको पराजय पनि कल्पनाभन्दा टाढा थियो। तर उम्मेदवारको अति आत्मविश्वास, केही हदसम्मको दम्भ र कतिपयका हकमा पार्टीको असहयोगले पराजयका लागि काम गर्‍यो। पार्टीभित्रै असहयोग भइरहँदा कांग्रेस उम्मेदवारको पराजयमा गठबन्धनको सहयोग रह्यो वा रहेन भन्ने कुरा गौण बन्यो।

माओवादीले एक्लै चुनाव लड्दै गर्दा रुकुम, रोल्पा सुरक्षित हुन्थे होलान्, एकीकृत समाजवादीका लागि अध्यक्ष माधव नेपाल स्वयंको सुरक्षित क्षेत्र थिएन। त्यसैले निर्वाचन परिणाम हेरेर गठबन्धनमा मत हस्तान्तरण भएन भन्ने निष्कर्ष निकाल्नु गलत हुन्छ। यो पक्कै हो, कम्युनिस्ट नामले बहु कम्युनिस्टबीच दिने एकताभाव कांग्रेस र कम्युनिस्टबीचमा शतप्रतिशत हुनै सक्दैन। सम्भवतः यो चुनावमा पनि मत हस्तान्तरण ७०/३० को अवस्थामा रह्यो। ३० मध्ये कतिपयले मत दिएनन् भने कतिपयले नयाँ पार्टीलाई कांग्रेसको विकल्पका रूपमा रोजे होलान्।

एकीकृत समाजवादीले आफ्ना आधा उम्मेदवारलाई विजय दिलायो। तर उसका पनि केही दिग्गजहरू पराजीत भए। दुई खतिवडा बिरोध (मकवानपुर १) र जगन्नाथ (उदयपुर १) को विजय अपेक्षित थियो। तर दुबै पुरमा उनीहरू पराजीत भए। उदयपुरमा कांग्रेसका विद्रोहीले ल्याएको मत जगन्नाथका लागि अभिशाप बन्यो। तर यो कांग्रेसको असहयोग थिएन। किनकि कांग्रेसले आफ्नो विद्रोहीलाई मनाउने अवस्था थिएन। कांग्रेसले आफ्नै उम्मेदवार दिएको भए पनि उनी छाड्नेवाला थिएनन्। समाजवादीको जित्नेको सूचीमा थोरै आश रामकुमारी झाँक्री र सोमप्रसाद पाण्डेको पनि गरिएको थियो। उनीहरू पनि सम्मानजनक मतका साथ पराजीत भए। झलनाथ खनालले आफ्नो तागत पहिल्याउन सकेनन्। मतगणनामा गरिएको रोदनले उनको कद बढाएको छैन। कास्कीमा यो गठबन्धनका सबै उम्मेदवार सुरुमै कमजोर मानिएका थिए।

माओवादीले पनि ४६ मध्ये कम्तीमा ५० प्रतिशत जित्नुपथ्र्यो। उसले काठमाडौंमा ओनसरी घर्ती र कल्पना धमलालाई उठाएर न पार्टीलाई न्याय गरेको थियो न उम्मेदवारलाई नै। स्थानीय चुनावमा कतै मत हाल्ने ठाउँ नपाएका माओवादी मतदाताका लागि यसपटकको उम्मेदवारी थोरै राहत भए पनि माओवादी उम्मेदवार जित्ने आधार थिएन। फेरि काठमाडौंमा जुन लहर चल्यो त्यसलाई धान्ने सामर्थ्य एमालेले त राखेन भने संगठन नै कमजोर भएको माओवादीका लागि यो घाटाको व्यापार बन्यो। कांग्रेस बहुल क्षेत्रमा माओवादीका उम्मेदवार उठाउनु खतरा हो भन्ने जान्दाजान्दै चितवन ३ मा प्रचण्ड आफूले छाडिसकेपछि अर्को उम्मेदवार खोज्नेतिर लाग्नु  हुँदैनथ्यो। यसको परिणाम कांग्रेस पनि चितवनमा शून्य हुन पुग्यो।

उम्मेदवार तय गर्दैगर्दा प्रदेश र संघ दुवैमा कुनै पनि पार्टीको मत चिह्न नहुने गरी खाली राख्नु अर्को कमजोरी थियो। आफू बलियो भएका ठाउँमा बाहेक मत साट्नुपर्ने निर्वाचन क्षेत्रमा तीन दलकै उम्मेदवार बनाउने रणनीति लिनुपथ्र्यो। त्यसो गर्न नसक्दा त्यस क्षेत्रबाट समानुपातिक उम्मेदवार सुरक्षित हुने व्यवस्था गर्नुपर्थ्यो। यी दुवै कुरामा ध्यान नदिंँदा नेपाली कांग्रेसको मात्रै ६१ निर्वाचन क्षेत्रमा संघ वा प्रदेश कतै रुख चिह्नमा मत दिने ठाउँ थिएन। उसै त मत हाल्न नजाने कांग्रेसी मतदाताका लागि आफ्नो पार्टीको उम्मेदवार नहुनु जस्तो हाइसञ्चो केही भएन। सम्भवतः यो अनुभूति माओवादी वा एकीकृत समाजवादीका मतदाताले पनि गरे होलान्। त्यसैले पनि यसपटकको मतदान कम रह्यो।

समानुपातिकतर्फ मत दिने कुरालाई न पार्टीले गम्भीरतापूर्वक लिए न त मतदाताले। आम मतदातामा प्रत्यक्षतर्फ आफ्नो पार्टीको उम्मेदवारलाई मत दिने हो, समानुपातिकचाहिँ जोसुकैलाई दिए हुन्छ भन्ने मान्यता अहिले पनि देखियो। २०७० को चुनावमा राप्रपा नेपालले जुन रूपमा गाई चुनाव चिह्नको फाइदा लिएर प्रत्यक्षतर्फ एकजना पनि नजित्दै गर्दा २३ सभासद् बनाएको थियो, त्यही प्रवृत्ति यसपटक नयाँ देखिएको पार्टीमा लागु भयो। यद्यपि नयाँ पार्टीले केही सीट प्रत्यक्षमा जितेको छ। समानुपातिकतर्फको मत गणना गर्ने बेलामा कांग्रेसका लागि प्रतिनिधि राख्ने समस्या अघिल्लो चुनावमा जस्तै यसपटक पनि रह्यो। गठबन्धन गरेर चुनावमा जाँदा आफ्नो उम्मेदवार भनेको चाहिँ समानुपातिकको हो भनेर पार्टीले मतदातालाई बुझाउन सकेनन्। समानुपातिकमा मत दिनुलाई आफ्नो पार्टीका उम्मेदवार जिताउने मतका रूपमा न पार्टीले बुझाउन सक्यो, न मतदाताले नै त्यसरी लिए।

मतदान गरेर मिडियालाई प्रतिक्रिया दिँदै गर्दा एमाले अध्यक्ष केपी ओली मंसिर १५ गते एमालेको सरकार बन्ने घोषणा गर्दै थिए। मानौै, उनका लागि मतपेटिकामा खसेका मत एमालेबाहेक अरूका हुनै सक्दैनन्। कथम्कदाचित भएछन् भने पनि टिपटाप मात्रै अरूले पाउने हुन्। तर मतदाताले एमालेको पनि खास साइज बताइदिएका छन्। अत्यन्त अहंकार पालेर पार्टी चलाएका ओलीलाई विष्णु पौडेलको विजयले राहत दिन्छ कि दिँदैन शंकै छ। शंकर पोखरेलको पराजयसँग जोडिएको विष्णु पौडेलको नामले उनलाई ओलीसँग नजिक बनाउला वा टाढा? यद्यपि सुवास नेम्वाङले झिनो मतमै सही, पाएको विजय ओलीका लागि ठूलो राहत हो। अन्यथा उनका धेरै विश्वासपात्र र नेताले हार बेहार्नुपर्‍यो।

सर्वश्री ईश्वर पोखरेलदेखि शंकर पोखरेल र अग्नि खरेलदेखि महेश बस्नेतसम्मको पराजयले ओलीलाई यो संसद् रहेसम्म चयनको अनुभूति दिलाउने छैन। यद्यपि तीन दलको गठबन्धनका बीच एमालेको यो साइज सानो होइन। उसलाई ठूलो बनाउन केही हदसम्म राप्रपा र जसपासँगको गठबन्धनले पनि काम गर्‍यो होला। मधेसमा जसपाको मतले एमालेको साइज बढाएकै छ। तर त्योभन्दा बढी कांग्रेस र कम्युनिस्टबीचको अस्वाभाविक सुनिने, देखिने गठबन्धनले एकअर्कालाई दिल खोलेर मत हाल्ने अवस्था रहेन। त्यसको फाइदा झण्डै पच्चीस निर्वाचन क्षेत्रमा एमालेले लिन सक्यो। अन्यथा एमाले पनि हिजोको कांग्रेसभन्दा कुनै ठूलो हुने अवस्था रहने थिएन।

यो निर्वाचन परिणाम पाँच वर्षका लागि स्वीकार गर्नु नै लोकतान्त्रिक धर्म हो। तर यो निर्वाचन परिणाममा ओलीसँग सहमत हुन सकिने कुरा के छ भने यसले स्थायित्व नदिन सक्छ र सत्ता स्वार्थमा को कता विभाजित हुन्छन्, अहिले अनुमान गर्न कठीन छ। सत्ता गठबन्धनका दललाई सरकार बनाउन पुग्ने मत त नागरिकले दिएका छन् तर यो गठबन्धन टुट्ने अवस्थामा अर्को बन्न नसक्ने अवस्था भने नरहन सक्छ। तसर्थ यो निर्वाचन परिणामको आदेश गठबन्धनको निरन्तरता र अरू पार्टीप्रतिको सम्मान नै हो ।
अर्को समाचार
निर्वाचन परिणामको सन्देश
१५ मंसिर २०७९
•
६ मिनेट पाठ
निर्वाचन परिणामको सन्देश
प्रतिनिधिसभा र सातवटा प्रदेशसभाको चुनाव एकै दिनमा र एकै चरणमा सम्पन्न गरेर राज्यले आफ्नो सामथ्र्य देखाएको छ। निर्वाचनले विभिन्न पार्टीका ४३ जना नयाँ अनुहारलाई सांसदका रूपमा जितायो। यीमध्ये ठूला दुई पार्टीका आधा भन्दा बढी, नेपाली कांग्रेसमा १२ जना र एमालेमा १० जना नयाँ सांसदले निर्वाचन जितेका छन्। पार्टीहरूप्रति तराईका मतदातामा सब भन्दा बढी विचलन देखियो जहाँ ५ जना निर्दलीय (स्वतन्त्र) उम्मेद्वार निर्वाचित भए। २० जना गायक–गायिका, नायक–नायिका कलाकारहरू निर्वाचनमा आकर्षित र सहभागी भए पनि कसैले विजय हासिल गरेनन्।  




ठूला दलहरूले ‘प्रतिगामी शक्ति’ को हाउगुजीको बहानामा जनतासमक्ष एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामथ्र्य देखाउन नसकी गठबन्धनका नाममा उम्मेद्वारीमै भागबन्डा गरेर निर्वाचनमा गए। प्रमुख दलहरूभित्र ‘प्रतिगामी शक्ति’ को खतरा देखाएर गणतन्त्रको औचित्य स्थापित गर्न पनि खोजियो। वास्तवमा नेताहरूको निहित स्वार्थले निम्त्याएको आपसी तानातान, गुट, फुट र कलहले यो दुरावस्था आएको हो। तर आममतदातामा यिनै पार्टीहरूप्रति गम्भीर निरासा र क्षोभ रहेका कारण, मतदान आजसम्मकै सबभन्दा कम (६१ प्रतिशत) सरदरमा सीमित भयो।  

जनताद्वारा मताधिकारका आधारमा गरिने पार्टीको छनोटलाई ‘गठबन्धन’ का नाममा मुख्य दलहरूले एकदमै साँघुरो (बोटल नेक) बनाइदिए भने आफैँले बनाएको संविधानलाई कुण्ठित र प्रभावहीन बनाउन पुगे। सत्तालिप्साको राजनीतिले सिद्धान्तहीन गठबन्धनलाई नेताहरूले सहजरूपमा ग्रहण गरे भने जनता भोट बैंक मात्र हुन पुगे। जसरी भए पनि चुनाव जित्नु एकमात्र अभीष्ट भयो। उम्मेद्वारबाट चुनावमा दशौँ करोड खर्च गर्ने आँट सत्तामा पुगेपछि भ्रष्टाचार गरेर असुल गर्न सकिन्छ भन्ने विश्वासका आधारमा हुँदै गयो। भ्रष्टाचार र समानान्तर अर्थतन्त्रबाट आएको, स्रोत नखुलेको सम्पत्ति निर्वाचनमा खर्च हुनु पैसाको बोलवाला निर्णायक हुनु, लोकतन्त्रको वर्तमान कुरूप, भविष्य खतरनाक र अर्थतन्त्र झन् रुग्ण हुँदै जानुको द्योतक हो।

संविधानलाई निर्वाध गतिमा क्रियाशील हुन दिँदा राजनीतिका मुख्य नेताहरूको अस्तित्व खतरामा पर्न सक्ने देखियो। त्यसैगरी सत्तामा मुख्य नेताहरूको हालिमुहाली कायम राख्न नेता व्यवस्थापनका लागि गठबन्धन गर्दा संविधान कुण्ठित हुने अवस्था आयो। संविधानको अस्तित्व तथा प्रभावकारिता र नेताहरूको अस्तित्व तथा प्रभावकारिताका बीच विरोधाभास र विसंगतिपूर्ण परिस्थिति आजको जटिल राजनीतिक अवस्था हो।

आफ्नै विगतले खडा गरेको खतराबाट तर्सिएका नेताहरू राजनीतिमा आफ्नो व्यवस्थापन र निर्वाचन जित्ने ग्यारेन्टीका लागि अनेकौँ कसरतमा लागे। प्रचण्डले चितवनमा चुनाव लड्ने तयारी गरेपछि अनायास किन गोर्खामा निर्वाचन लड्न पुगे ? बुढीगण्डकी आयोजनामा ९ अर्ब रुपियाँ कमिसन बाँडेर खानेमा प्रचण्डलाई पनि औल्याउँदै दोषी करार गर्ने ‘माओवादीका मास्टर माइन्ड’ भनिने बाबुराम भट्टराईले ‘कमिसनखोर’ भनी औल्याएका उनै प्रचण्डलाई किन र कुन नैतिकताले आफ्नो निर्वाचन क्षेत्रमा उम्मेद्वारीका लागि रातो कार्पेटमा भित्र्याए ? नेताहरूका लागि आमनिर्वाचन आफू जसरी भए पनि जित्नुमा मात्र सीमित भएको देखिन्छ। ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ को माला जपेपछि नियम, नैतिकता, धर्म–शर्म, मर्यादा र परिधिको ख्याल गर्नै पर्दैन भन्ने आसयका क्रियाकलापले मूलधारको राजनीतिलाई ढाकिरहेको छ।  

जेनतेन निर्वाचन त भयो। यसपछिको गन्तव्य कता हो, सरकार कस्तो बन्ने हो, कसले बनाउने हो, चुनावको सिलसिलामा जनतासमक्ष गरिएका वाचा कसरी कार्यान्वयन गरिने हो जस्ता यावत् प्रश्न अनुत्तरित नै छन्। राजनीतिक स्थिरता र शासकीय स्थायित्वको ग्यारेन्टी कसरी हुने हो। एउटा पक्षबाट सरकार गठन गर्ने कसरत र अर्को पक्षबाट सरकार भत्काउने कसरतको हानथापमा जनताप्रति गरिएका वाचा (घोषणापत्र) केवल चुनावी कोलाहल भएर हावामा हराउने जोखिमप्रति कसैबाट वा कतैबाट उत्तरदायित्व बहन गर्ने लक्षण देखिएको छैन। सत्ताको एकोहोरो चिन्ताले दायाँ÷बायाँ सोच्ने न्यायिक विचार, बुद्धि र विवेक नै दिन सकेको देखिन्न। त्यसैले प्रधानमन्त्री नियुक्त हुन निकै समय लाग्ने, प्रधानमन्त्रीलाई मन्त्री छान्न झन् सकस पर्ने सम्भावना देखिँदैछ। वर्तमान गठबन्धन सरकार गठन हुँदा तीन महिनासम्म मन्त्री नियुक्त गर्न नसकेको विवश परिस्थिति पुनः देखापर्ने सम्भावना छ। जनताले नयाँ अनुहार र नवीन कार्यशैलीको व्यक्तित्व प्रधानमन्त्री बनेको हेर्न चाहिरहेका छन्। त्यसको विपरीत प्रधानमन्त्री भएर आफ्नो चिनारी दिइसकेका तिनै अनुहारलाई दोहोर्‍याइ–तेहर्‍याइ सिंहदरबार जिम्मा लगाइयो भने जनताको धैर्यको बाँध कहिलेसम्म टिकिरहला ?  

गठबन्धनविरुद्ध उभिएर जवाफी गठबन्धन गरेका एमाले अध्यक्ष खड्गप्रसाद ओलीले हावादारी मानसिकतामा एमाले १५० संसदीय स्थानमा निर्वाचित हुन्छ भनी दावी गरेका थिए। तर ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, शेरबहादुर तामाङ, महेश बस्नेत, राजन भट्टराई, सुरेन्द्र पाण्डे जस्ता आफ्ना विश्वासिला सहकर्मीहरूको समेत पराजय देख्नुपर्दा आफ्नै पराजयबोधले उत्पन्न छटपटीपूर्ण मानसिकता देखाउँदै छन्। समानुपातिक मत एउटा पार्टीबाट अर्को पार्टीमा सारिने काल्पनिक भयले ग्रस्त अध्यक्ष ओली आफ्ना निर्वाचन प्रतिनिधिमार्फत देशभरिबाट मतगणनाको मुचुल्का मगाउन थालेका छन्। लोकतान्त्रिक गणतन्त्रले यसका स्रष्टाहरूलाई नै साँघुरो परिवेश र उकुसमुकुस अवस्थामा कोच्न थाल्नुको कारण आफैँले अभ्यास गरेको सिद्धान्तहीन राजनीति, फ्रिस्टाइल कुस्ती, अवसरवादी गतिविधि, निषेधको षड्यन्त्र हो। राजतन्त्रप्रति सुरू गरिएको निषेध र ‘सिध्याइदिने भिडन्त’ (फाइट टु फिनिस) अन्ततः आ–आफ्नै पार्टीहरूभित्र पसाएर दलहरू निर्वाचनमा गएका हुन्।

पूर्ण समावेशी भनिएको संविधानको अभ्यास निषेध र छलकपटपूर्ण चरित्रका साथ हुँदै आयो। गणतन्त्रको सर्वोच्च संस्था मानिएको राष्ट्रपतिलाई समेत मुछेर अनेकौँ जालझेलका असंवैधानिक निर्णय नगरिएको होइन। सबै नागरिकको मताधिकारको ग्यारेन्टी न संविधानले गर्न सक्यो न त नेताहरूको व्यवहारबाट भइरहेको छ। वैदेशिक रोजगारीमा गएर मुलुकको अर्थतन्त्रलाई विप्रेषण (रेमिटान्स) द्वारा प्राण–प्रतिष्ठा दिएर तङ्ग्य्राइरहेका नागरिकलाई नै मत हाल्नबाट वञ्चित बनाइएको छ। जसले मुलुकलाई बचाइरहेको छ, उसैलाई मत हाल्नबाट वञ्चित गर्ने हो भने समावेशी संविधानको दाबी गर्नु व्यर्थ छ।  

मुख्यतः यसपालिको संसदीय निर्वाचनमा नयाँ राजनीतिक दलहरू राम्रैसँग देखापरे। यी पार्टीले कति आफ्नै क्षमता, जनताप्रतिको इमानदारी, समर्पण, लगाव, सुशासन तथा सुव्यवस्थापनका संवाहक बनेर समाजमा जरो हाल्लान् वा जिम्मेवार हुनुपर्ने नेताहरूको जनविरोधी आचरणका कारण जनआक्रोशलाई भजाउन बर्खे च्याउझैँ उम्रिएका मौसमी झुण्ड जस्ता हुन् ? निर्वाचनपछिको वर्तमान अवस्थामा यही प्रश्नमा सबै पार्टीहरूको अग्नि–परीक्षा सुरु भएको छ। उनीहरूले पाएको जनमत र संसदीय सिट उनीहरूको योगदानले पाएको नभई ठूला दलका शीर्ष नेताहरूको नालायकी र त्यसबाट व्याप्त जनआक्रोशले गर्दा भाग्यमानी भएका हुन्।  

‘प्रतिगामी’ भनिएको शक्तिको अस्तित्व ठूला दलहरूलाई भयभीत बनाउने विषय बन्यो। २०४६ सालपछि ३३ वर्षको अवधिमा नेताहरूले जनताको मन जित्ने अभ्यासमा आफूलाई केन्द्रित गरेको भए सायद त्यस्तो भय उब्जिने थिएन। जनताको मत जित्ने कोसिस मात्र भयो मन जित्ने कोसिस गरिएन। संविधानले दिएको धरातलमा, लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्दै लाँदा संविधान क्रमशः तहसनहस हुँदै जाने संकेतहरू एकपछि अर्को देखा पर्दैछन्।

यो निर्वाचन परिणामअनुसार संविधानको धारा ७६ (१) अनुरूप ‘प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने’ मतादेश छैन। धारा ७६ (२) अनुरूप, ‘दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने...’ विकल्पमा सरकार गठन गर्नुपर्ने हुन्छ। संसद र सरकार यही धारामा स्थिर रहन पाउलान् कि अल्पमतको सरकार वा धारा ७६ (५) अन्तर्गत सरकार गठन हुनेतिर झर्दै जाने हो, अहिले नै भनिहाल्न सकिन्न। सरकार गठन, मन्त्री हुन खोज्नेहरूको दौडधूप, हानथाप, जोड र तोडका अनेकौँ खेल देखापर्न थालेपछि यो संविधानको अस्तित्व, सर्वोच्चता र प्रभावकारिताको अवस्था पनि देखिनेछ। अर्कातर्फ, २०५२ सालतिर सरकार टिकाउन भए/गरिएका कलङ्कित तथा असंसदीय चरित्र र गतिविधिको पुनरावृत्ति हुने खतरालाई नकार्न सकिन्न ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस