जेन-जीका माग ठिक थिए तर आन्दोलन ‘हाइज्याक’ भयो
०९ असोज २०८३
•
२१ मिनेट पाठ
जेन-जीका माग ठिक थिए तर आन्दोलन ‘हाइज्याक’ भयो
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि सक्रिय छन्। राजनीतिक यात्राका क्रममा उनले लामो समय नेकपा (एमाले) को नेतृत्व तहमा रहेर काम गरे।




जेनजी आन्दोलनका क्रममा देशभर मानवीय तथा भौतिक क्षति भयो। त्यस क्रममा उनको घरमा समेत आगजनी भयो। जेनजी आन्दोलनपछि बदलिएको नेपालको राजनीतिक परिवेश, आन्दोलनका क्रममा भएको हिंसा र भौतिक क्षति तथा त्यसले जन्माएका राजनीतिक प्रश्नमा केन्द्रित रहेर नागरिक फ्रन्टलाइनका लागि नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीद्वारा पूर्वप्रधानमन्त्री नेपालसँग गरिएको कुराकानीको सम्पादित अंश:

पछिल्लो समय तपाईं सार्वजनिक कार्यक्रममा कम देखिनुहुन्छ। अहिले दिन कसरी बिताइरहनुभएको छ?

राजनीतिमा होमिएको मान्छेको समय राजनीतिक गतिविधिमै बित्ने रहेछ। पारिवारिक काममा लाग्नेको ध्यान परिवारमा, जागिरमा लाग्नेको जागिरमा, व्यवसायमा लाग्नेको व्यवसायमा र पत्रकारितामा लाग्नेको ध्यान पत्रकारितामा हुन्छ। राजनीति धेरै कुरासँग जोडिएको हुन्छ। राजनीति देश, जनता र समाजसँग जोडिनुपर्छ। त्यसैले अहिले मेरो समय अध्ययन, चिन्तनमनन, भेटघाट, संगठन निर्माण, संगठन परिचालन र कार्यकर्तासँगको भेटघाटमै बितिरहेको छ।

सञ्चारमाध्यममा पनि तपाईंको उपस्थिति केही कम भएको हो?

पार्टीका कार्यक्रममा सहभागी भइरहेकै छु। बोलाएको ठाउँमा पनि जान्छु तर उपयुक्त नलाग्ने ठाउँमा जान्नँ। मिडियामा भने अलि कम जाने र त्यसलाई केही हदसम्म एभ्वाइड गर्ने गरेको छु। मिडियाका पनि दुई पक्ष छन्।

जस्तो?

एउटा बाटोघाटोमा भेट्नेबित्तिकै प्रश्न सोधिहाल्ने शैली मलाई मन पर्दैन। अर्को म शिष्ट, संस्कारयुक्त र सकारात्मक अन्तर्वार्ताको पक्षमा छु। नकारात्मक, अनावश्यक र प्रोभोकेटिभ किसिमका प्रश्न मलाई मन पर्दैनन्।

अघिल्लो वर्षको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा तपाईंको घरमा पनि आगजनी र क्षति भएको थियो अहिले पुनर्निर्माण गरेर बस्न थाल्नुभएको छ?

मेरो मात्रै होइन, माइलो, कान्छो भाइको घर, सिंगै दाजुभाइका घर जलाइए। कान्छो भाइको घरको त एउटा सानो टुक्रासमेत बाँकी रहेन।

मेरो सबैभन्दा ठुलो नोक्सानी भनेको मसँग भएका किताब र दस्ताबेज हुन्। केही किताब जोगिएका छन्। दस्ताबेजहरू त राष्ट्र र इतिहासका लागि पनि अत्यन्त अमूल्य निधि थिए। घरका सामान या त जलाइए, या लुटेर लगिए। लुगाफाटा, सामान र उपहारसमेत लिएर गए। अहिले पनि केही दराज खुल्न सकेका छैनन्। घर पूर्णरूपमा तयार भइसकेको छैन तर बस्नलायक भएको छ।

कति समय घरबाहिर बस्नुभयो?

झन्डै तीन–चार महिना बाहिर बस्नुपर्‍यो। कहिले भक्तपुर, कहिले काठमाडौं, कहिले पाटन र कहिले साथीहरूको घरमा बसियो। म एक ठाउँमा, श्रीमती अर्को ठाउँमा र परिवारका अरू सदस्य अर्को ठाउँमा बस्नुपर्ने अवस्था आयो।

त्यो संकटका बेला अन्य राजनीतिक दलका नेताहरूसँग सम्पर्क भएन?

२४ गते तोडफोड र आगजनी भयो। दुई दिनपछि २६ गते राष्ट्रपतिज्यूले राष्ट्रपति भवनमा बोलाउनुभयो। प्रचण्ड कमरेड (पुष्पकमल दाहाल) पनि त्यहाँ हुनुहुन्थ्यो। विभिन्न दलका नेतालाई बोलाइएको थियो। हामीले राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न कांग्रेस र एमालेका नेताहरूलाई पनि बोलाउनुपर्छ भनेर जोड दिएका थियौं। कांग्रेसका नेताहरू आउन तयार नभए पनि प्रतिनिधित्व होस् भनेर बोलाउने प्रयास गरियो। त्यसमा हाम्रो भूमिका महत्त्वपूर्ण रह्यो।

त्यतिबेला राष्ट्रपतिले चालेका कदम तपाईंहरूकै सल्लाहमा भएका हुन्?

हामीले संसद् विघटन गर्नु हुँदैन भनेका थियौं। संसद्को माध्यमबाटै सबै कुरा गर्नुपर्छ भन्ने हाम्रो धारणा थियो। विघटन गर्नैपर्ने अवस्था आयो भने सरकार बनेपछि वा सरकारले अनुमोदन पाएपछि चुनावका लागि विघटन गर्न सकिन्छ भन्ने थियो। राष्ट्रपतिले हाम्रो कुरालाई पनि ध्यानमा राखेर नै कदम चाल्नुभएको हो।

त्यतिबेला तपाईंहरू रातभरि छलफलमा बस्नुभएको थियो? कुराचाहिँ के भएको थियो?

राति ९ बजे शीतल निवास पुगेको थिएँ, बिहान ४ बजे बाहिरिएको हो। प्रचण्ड र म रातभरि नै थियौं। राष्ट्रपति, प्रधानसेनापति र हामी केही व्यक्तिबिच मुख्य कुराकानी भयो। पछि राष्ट्रपति र प्रधानसेनापतिले पछि गृहमन्त्री हुनुभएका ओमप्रकाश अर्याल, सुशीला कार्कीसँग पनि छुट्टै कुराकानी गर्नुभएको थियो।

त्यहाँ प्रधानसेनापतिको उपस्थितिलाई तपाईंले कसरी लिनुभयो?

हामीले उहाँलाई बोलाएका थिएनौं। प्रधानसेनापति किन आउनुभयो र त्यति धेरै चासो किन राख्नुभयो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ तर उहाँले दलहरूलाई बेवास्ता नगर्न, दलको शक्तिलाई कम नआँक्न आग्रह गर्नुभएको थियो। दलहरूको गाउँगाउँसम्म संगठन र जनता–कार्यकर्ता छन्। उनीहरूले सडकमा मानिस उतार्ने हो भने गृहयुद्धको अवस्था आउन सक्छ र त्यसलाई सम्हाल्न कठिन हुन्छ भन्ने उहाँको भनाइ थियो।

अर्को प्रश्न पनि मनमा आयो? त्यत्रो आगजनी हुँदा नेपालको सुरक्षा निकायले के गर्‍यो?

त्यतिबेला ठाउँ र समय हेरेर कुरा गर्नुपर्छ भन्ने लागेर हामी त्यसमा प्रवेश गरेनौं। तर त्यो प्रश्न हाम्रो दिमागमा भने घुमिरहेको थियो।

त्यतिबेला पूर्वराजा ज्ञानेन्द्रलाई पुनः फर्काउने हल्ला पनि चलेको थियो। शीतल निवासमा त्यसबारे छलफल भयो?

छलफल भएन तर बाहिर त्यस्तै हल्ला सुनेका कारण हामी केही आतिएका थियौं। राजतन्त्र फर्काउनु भनेको दुनियाँका सामु पनि हामीले टाउको देखाउन नसक्ने अवस्था हो। हामीले जनताको सार्वभौम सत्ता स्थापित गरिसकेका छौं र जनताबाट निर्वाचित सरकारको आवश्यकता स्वीकार गरिसकेका छौ।

इतिहासलाई पछाडि फर्काउँदै जाने हो भने कहाँसम्म पुग्ने ? राणाकालसम्म पुग्ने हो वा कहाँसम्म ? त्यसैले अब पूर्वराजाले आफूलाई के फाइदा हुन्छ भन्ने होइन, देश र जनतालाई के फाइदा हुन्छ, देशलाई कसरी राम्रो ढंगले अगाडि बढाउन सकिन्छ भन्ने सोच्नुपर्छ।

एक वर्षपछि फर्केर हेर्दा जेनजी आन्दोलनको मूल कारण के देख्नुहुन्छ? कतिपयले विदेशी प्रभाव वा चलखेलको कुरा गर्छन्?

अहिले नै ठ्याक्कै निष्कर्षमा पुग्न सकिने अवस्था छैन। बाहिर धेरै कुरा आएका छन्। त्यसबारे वस्तुगत र यथार्थ अध्ययन, अनुसन्धान र विश्लेषण गर्नुपर्छ। त्यसपछि मात्र निष्कर्षमा पुग्न सकिन्छ। मलाई यो आन्दोलन हुन्छ भन्ने कल्पना थिएन र जानकारी पनि थिएन। अरूलाई जानकारी थियो भने पनि मलाई सेयर गरेनन् तर भदौ २३ गते युवाहरूले अघि सारेका माग आफैंमा बेठिक थिएनन्।

सुशासन कायम, भ्रष्टाचारविरुद्धको माग थियो र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्ने माग थियो। त्यसलाई सरकारले सकारात्मक रूपमा सम्बोधन गरिदिएको भए त्यहाँसम्म नपुग्न सक्थ्यो। त्यतिबेलाको सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीजीको अहंकारले आन्दोलन भड्किने बहाना बन्यो। त्यसपछि आन्दोलनलाई हाइज्याक गरेर तोडफोड र सम्पदामाथि विनाश गरियो त्यो अत्यन्तै निन्दनीय छ।

तपाईंलाई यो योजनाबद्ध थियो भन्ने लाग्छ?

त्यो त योजनाबद्ध नै देखिन्छ। नभए कुनाकाप्चाका घर खोजीखोजी आक्रमण गर्ने, एकै किसिमका साधन प्रयोग गर्ने जस्ता काम कसरी भए ? कहीं न कहींबाट सञ्चालित भएको देखिन्छ तर कसले सञ्चालन गर्‍यो भन्ने अहिले थाहा छैन। इतिहासले त्यसलाई पत्ता लगाउनेछ र लगाउनुपर्छ।

तपाईंहरू पनि विगतमा यस्तैयस्तै आन्दोलन गरेर शासन सत्तामा पुग्नु भएको होइन र?

हामीले गरेका आन्दोलनमा सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत, संसद् भवन, सरकारी तथा निजी सम्पत्ति जलाउने, लुट्ने र पार्टी कार्यालयमा तोडफोड गर्ने काम कहिल्यै गरिएको छैन। यो अत्यन्तै निन्दनीय हो। यस्तो प्रवृत्तिमा लागेकालाई दण्डित गरिएन भने भोलि यस्ता घटना दोहोरिँदा के जवाफ दिने ? त्यसैले सरकार यसमा जिम्मेवार बन्नुपर्छ। र, दोषीमाथि कारबाही हुनुपर्छ।

पुराना दल र तत्कालीन सरकारले गर्नुपर्ने काम नगरेकाले युवा पुस्तामा आक्रोश बढेको र सडकमा आएको भन्नेचाहिँ लाग्दैन?

सरकार र दलका गतिविधिबाट जनतामा असन्तुष्टि बढेको थियो। हाम्रो राज्य र समाजमा धेरै विकृति र विसंगति छन्। त्यसलाई सम्बोधन गर्ने र मुलुकभित्रै युवालाई सीप र रोजगारी दिन नसक्नुले आक्रोश बढेको थियो। जति हुनुपर्ने हो, त्यति नभएको चाहिँ पक्कै हो तर केही पनि भएन भन्नु पनि गलत हो।

तपाईंहरूकै पुस्ताले लामो समय शासन गर्दा कुरा धेरै काम कम हुँदाको आक्रोश पोखेको होइन र?

सबैलाई एउटै डालोमा राखेर हेर्नु हुँदैन। जनताले हरेक व्यक्तिले के गर्‍यो भनेर पनि हेर्नुपर्छ। जनताको नाममा अपराध गर्ने तत्त्व पनि हुन्छन्। सबै जनता उस्तै हुँदैनन् र सबै नेता पनि खराब हुँदैनन्। समाजमा असल र खराब दुवै हुन्छन्। राजनीतिमा पनि असल र खराब दुवै हुन्छन्। सरकारमा पनि राम्रो र नराम्रो दुवै हुन सक्छ।

तपाईं र तपार्ईंहरूको पुस्ताले राम्रो काम गरेको दाबी गरे पनि जनताले त्यस्तो अनुभूति गरेनन्? तपाईं आफ्नो कामको मूल्यांकनचाहिँ कसरी गर्नुहुन्छ?

मैले केही काम गरेको छु। नेपालको सम्मान र विश्वको ध्यान नेपालतर्फ आकर्षित गर्न जलवायु परिवर्तनको विषयमा सगरमाथाको आधार शिविरमा जोखिम मोलेर बैठक गराएँ। घरबार नभएका मानिसका लागि जनता आवास कार्यक्रमअन्तर्गत राज्यले घर उपलब्ध गराउने सोच अघि बढाएँ।

काठमाडौंको पेट्रोल र डिजेलमा भइरहेको खर्च घटाउनेदेखि छोटो बाटोबाट काठमाडौं पुग्ने फास्ट ट्य्राकको अघि बढाए। गर्ने र नगर्ने उस्तै हुन थाले भने मूल्यांकन कसरी हुन्छ ? काम गर्नेलाई प्रोत्साहन र मूल्यांकन गर्नुपर्छ।

मूल्यांकन त जनताले निर्वाचनमा गर्ने हुन्। त्यो त गरेनन् नि, होइन?

कहिलेकाहीं आवेगमा हावाहुरी आउँछ। म जनतालाई धेरै आरोप लगाउने पक्षमा छैन। बरु त्यसबाट हामीले शिक्षा लिनुपर्छ र यस्ता अवस्थाको सामना कसरी गर्ने भनेर सिक्नुपर्छ। जनताको चाहना राम्रो होस् भन्ने हुन्छ। नयाँ सरकार बनाउँदा पनि जनताले राम्रो काम गरोस् भन्ने चाहना राखेका थिए र छन्। त्यसैले जनताको आवाज सुन्नुपर्छ। सरकार जनताप्रति जिम्मेवार बन्नुपर्छ।

अहिलेका प्रधानमन्त्री र सरकारलाई तपाईंले कसरी हेर्नुभएको छ?

अहिलेका प्रधानमन्त्रीजीका आफ्नै राम्रा पक्ष, विशेषता र भावना होलान्। तर मेरो उहाँसँग सम्बन्ध र सहकार्य भएको छैन। सपथग्रहण कार्यक्रममा बधाई दिएकोबाहेक दुई शब्द कुरा गर्न पाएको छैन। उहाँको पार्टी सभापति (राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने) सँग भने भेटघाट र छलफल भइरहेको छ।

पछिल्लो बैठकमा सरकारको आन्तरिक विषयभन्दा राष्ट्रिय मुद्दामा छलफल भयो। विशेषगरी रसुवाको बाढी र भोटेकोसी बाढीका विषयमा छलफल भयो। सर्वदलीय राजनीतिक संयन्त्र बनाउने र संसद्को विशेष समिति बनाउने विषयमा सहमति भएको छ।

राष्ट्रिय सरोकारका विषयमा हातेमालो गर्दै अघि बढ्ने कुरा भएको छ। सबै ठाउँमा असहयोग वा नकारात्मक सोच राख्नुहुँदैन। यथार्थवादी हुनुपर्छ, आग्रहपूर्ण होइन। राम्रो होस् भन्ने चाहनुपर्छ र राजनीतिक संस्कार देखाउनुपर्छ।

प्रधानमन्त्रीले संसद् र दललाई बेवास्ता गरेको जस्तो देखिएको छ। तपाईंलाई के लाग्छ?

प्रधानमन्त्री संसद् र जनताबाहिर जान मिल्दैन। दलीय व्यवस्था नभए निर्दलीय व्यवस्था हुन्छ, त्यसपछि राष्ट्रिय पञ्चायत आउला। अझ पुरानो निरंकुश शासनमा जाने हो भने आफ्ना मानिसको मात्र भेला गरिन्छ। जनतासँग जोडिएको र जनताको चुनावबाट आउने व्यवस्था हो भने संसद् र जनप्रतिनिधिसँग सम्बन्ध राख्नुपर्छ।

प्रधानमन्त्रीको आफ्नै स्वभाव होलान् तर मान्छेका स्वभावले पनि कहिलेकाहीं अप्ठ्यारोमा पार्छ। त्यसलाई उहाँले सुधार्नुपर्छ। जिम्मेवारीमा आइसकेपछि सिक्ने चाहना हुनुपर्छ, अरूका राम्रा कुरा सुन्ने र कमजोरी सुधार गर्ने बानी हुनुपर्छ। स्वभावका नाममा विधि र प्रक्रियालाई बेवास्ता गर्न त पाइँदैन।

अहिले संघीयताका विषयमा पुनर्विचार र परिवर्तनको कुरा पनि उठिरहेको छ। अझ राष्ट्रिय स्वतन्त्र पार्टी महाधिवेशनबाटै त्यसको विपक्षमा उभिएको छ?

संविधान समाप्त गर्ने कुनै पनि षड्यन्त्र स्वीकार गर्न सकिँदैन। संघीयतालाई सुधार्न सकिन्छ तर संघीयता समाप्त गर्ने काम स्वीकार्य छैन। समावेशिता हटाउने प्रयास पनि स्वीकार गर्न सकिँदैन।

हामी अझ समुन्नत, परिष्कृत र सुधारिएको लोकतन्त्रको पक्षमा छौं। संसारका विभिन्न देशका अभ्यासबाट सिकेर नेपालको वस्तुस्थितिसँग मेल खाने लोकतन्त्र निर्माण गर्नुपर्छ। हामी समाजवादप्रति पनि प्रतिबद्ध छौं।

समाजवाद सामाजिक न्याय र जनताको समृद्धिको सिद्धान्त हो। जनतालाई केन्द्रमा राखेर सामाजिक न्याय र आर्थिक समृद्धिका लागि काम गर्नुपर्छ।

अहिले संसद्, सरकार र रास्वपाको हातमा छ। उसले यी व्यवस्थाका विषयमा फरक धारणा राख्यो भने तपाईंहरूको प्रतिबद्धताले मात्रै के अर्थ राख्छ र?

रास्वपाभित्रका धेरै कार्यकर्ता र सदस्य पनि यी मान्यतामा स्पष्ट हुनुपर्छ भन्ने लाग्छ। भावावेशमा कुनै पनि निर्णय लिनु वा गर्नु हुन्न। त्यसले दीर्घकालसम्म कति असर गर्छ भन्ने ख्याल गर्नुपर्छ।

संविधान निर्मातामध्येका केही नेताले संविधानको भावनाविपरीत अभिव्यक्ति दिइरहेका छन्। कसैले म हिन्दु भन्दै छन्?

कसैले संघीयता नहुनु राम्रो भन्छन्, कसैले गणतन्त्र नै हुनुहुँदैन भन्छन्। आफ्नो मान्यता राख्न त पाइन्छ। हिन्दु भन्नु कसरी संविधानविपरीत हुन्छ ? उहाँ हिन्दु हुनुहुन्छ भने आफू हिन्दु हुँ भन्न सक्नुहुन्छ। हाम्रो परिवार पनि धार्मिक हिसाबले हिन्दु परिवार हो।

नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक देश हो। सबैले आफ्नो धर्म र संस्कृतिको पक्षपोषण गर्न सक्छन् तर अरूको धर्म, संस्कृति, भाषा वा जातिप्रति चोट पुर्‍याउनुचाहिँ हुँदैन।

निर्वाचनको मुखमा चुनाव जित्न पार्टी एकता गर्नुभयो, परिणाम पनि अपेक्षाअनुकूल आएन, एकीकरणको काम पनि अलपत्रै छ, होइन?

विभिन्न राजनीतिक र सामाजिक घटनाक्रमले असर पारेको छ। २२–२५ वटा घटकलाई मिलाउनु सजिलो हुँदैन। तर अब यो ढिलाइलाई धेरै लामो समय जान दिनु हुँदैन। प्रदेश तहमा कमिटी बनेका छन्। कतिपय जिल्लाले काम पूरा गरेका छन् र अभियान चलिरहेका छन्। विचार र सिद्धान्तमा समस्या देखिँदैन। संगठनलाई चुस्त–दुरुस्त बनाउनुपर्ने ठुलो आवश्यकता छ।

पार्टी संयोजक मात्रै दौडिरहेको र अरू नेताहरू छायामा परेको जस्तो देखिन्छ?

संयोजकले धेरै दौडनैपर्छ तर काम बाँडफाँट गरेर हामी पनि आआफ्नो जिम्मेवारी पूरा गरिरहेका छौं। पार्टीभित्र सामूहिक नेतृत्वको सिद्धान्त अनुसार बहुमतको निर्णय लागु हुन्छ।

एमालेसँग प्रदेशको सत्ता समीकरणमा भएको सहमति त पछि मात्र थाहा पाउनुभयो होइन?

पहिलेको बैठकमा म पनि थिएँ। त्यतिबेला कर्णाली प्रदेश सरकारको विषयमा सहमति जुट्न सकेको थिएन। नेपाली कांग्रेस, एमाले र हामी तीनै पक्ष सहभागी भएर सरकारमा जानुपर्छ भन्ने हाम्रो चाहना थियो। कांग्रेस र एमालेबिच द्वन्द्व चर्किएपछि हामीले भनेजस्तै केपी ओलीजीले मानेपछि अघि बढ्यौं। सहमतिमै भएको हो।

केपी ओलीसँग तपाईंको पनि संवाद भइरहेको छ?

हामी केपी ओलीसँग मात्र होइन, सबै वामपन्थीलाई एक ठाउँमा ल्याउने पक्षमा छौं। राष्ट्रिय राजनीतिका चुनौती सामना गर्न तयार शक्तिलाई एकताबद्ध बनाउने पक्षमा छौं। जो पार्टीसँग एकता सम्भव छ, एकता गर्छौं। एकता सम्भव छैन भने सहकार्य गर्छौं। विचार नमिलेसम्म र मनभावना नमिलेसम्म हतारमा एकता गर्दैनौं। पहिला जस्तो हतारमा एकता गर्ने र फुर्सदमा पश्चात्ताप गर्नु हुन्न भन्नेमा हामी सचेत छौं।

वामपन्थी एकता बेलाबेलामा चर्चामा आउँछ, प्रयास पनि हुन्छ तर लामो समय टिक्दैन। त्यसका कारण के हुन्?

मानिसको संस्कार र परिस्थिति दुवैले प्रभाव पार्छ। अहिले हामी सबै वामपन्थीलाई मिलाउन चाहन्छौं। आवश्यकता परे लोकतान्त्रिक शक्तिलाई पनि मिलाएर लैजान चाहन्छौं।

निर्वाचन नजिकिँदा पुराना दलहरू चुनाव जित्न नसक्ने भएपछि एक ठाउँमा आउन खोजिरहेका छन् पनि भन्छन् ? त्यस्तो त होइन?

हामी पनि कुनै बेला नयाँ थियौं। २२ वर्षको उमेरमा नयाँ पार्टी बनाइएको हो तर पछि मनमोहन अधिकारीलगायतसँग एकता पनि गर्‍यौं। तुलसीलाल अमात्य, शम्भुराम श्रेष्ठ, सिद्धिलाल सिंह, भरतमोहन अधिकारी र साहना प्रधानलगायत पुराना नेतालाई पनि सम्मान गर्दै एकताबद्ध गर्‍यौं। पुरानालाई विस्थापित गरेर मात्र हुँदैन। पुरानाले आफ्नो समयमा भूमिका खेलेका छन्। त्यसैले पुरानालाई सम्मान गर्ने र नयाँलाई अघि बढ्न प्रोत्साहित गर्ने सोच हुनुपर्छ। वृद्ध, अधबैंसे र नौजवान तीन पुस्ताको संयोजनले मात्र देश पार्टी र समाज अघि बढ्छ।

तपाईं अहिले पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणका लागि तयार हुनु हुन्न?  

हामी नौजवानलाई पार्टीका विभिन्न ठाउँमा ल्याउने योजनामा छौं। सम्भव भएसम्म ५० प्रतिशतसम्म जिम्मेवारी नौजवानलाई दिने सोच छ। तर नयाँ पुस्ताले पनि लोकतान्त्रिक तरिकाले सबैको विश्वास जित्नुपर्छ। विनम्रता, अरूको कदर गर्नुको साथै जुझारुपन र गतिशीलता पनि चाहिन्छ। अहिले योग्य नौजवान धेरै छन्। उनीहरूलाई अघि बढ्न हौसला दिनुपर्छ। भ्रष्ट, व्यक्तिवादी, अल्छी र पद मात्रै हेर्ने प्रवृत्तिलाई भने निरुत्साहित गर्छौं।

तपाईं नेकपा एमालेको महासचिवका रूपमा १५ वर्ष रहनुभयो। फर्केर हेर्दा त्यो अवधिमा के गर्नुभयो र के गर्न सकिनँ जस्तो लाग्छ?

म २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्य बनेको हुँ। २०२८ सालदेखि झापा आन्दोलनबाट प्रभावित भएँ र २०४६ सालसम्म भूमिगत जीवन बिताएँ। मदन भण्डारीको निधनपछि २०५० जेठ ९ गते महासचिवको जिम्मेवारी पाएँ र २०६५ वैशाखसम्म १५ वर्ष महासचिव रहेँ। तर, महासचिवबाट मलाई कसैले हटाएको होइन, संविधानभसाको निर्वाचन हारेपछि राजीनामा दिएको हुँ।

संसारमा नहार्ने को छ ? ठुलाठुला राष्ट्रपतिहरू पनि चुनाव हारेका छन्। चुनाव हार्दा राजनीति र पद छोड्ने कति छन् ? मैले स्वेच्छाले छोडेको हुँ। मेरो निम्ति पद ठुलो कुरा कहिल्यै भएन। काम र जिम्मेवारीलाई महत्त्वसाथ राखेर देश बनाउने हुटहुटी मेरो दिमागमा सधैं हुन्छ। देश नबनाउने कुरा हुँदा मलाई पोल्छ।

तपाईंका आलोचकले माधव नेपाल प्रधानमन्त्री बन्न राजाको निगाह खोज्दै ज्ञानेन्द्रकहाँ गएको आरोप लगाउँछन्?

त्यो सही होइन। त्यसबेला सबै पार्टीले मलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका थिए। सर्वदलीय बैठकबाट मेरो नाम प्रस्तावित भएको थियो। त्यसैले मैले राजा ज्ञानेन्द्रसँग प्रधानमन्त्रीको ‘दाबी गर्छु’ भनेको हुँ।

पार्टीका सबै नेताले मलाई प्रधानमन्त्रीका लागि सिफारिस गरेका थिए। ज्ञानेन्द्रले आफ्नो इच्छाले प्रधानमन्त्री बनाउन खोजेको भए त्यो स्वीकार्य थिएन। पार्टीको सिफारिसमा भएको हुनाले आफ्नो हक दाबी गर्नुपर्छ भनेको हुँ। ‘दाबी’ गर्नु भनेको चाकरी गर्नु होइन। ‘तपाईंको निगाह चाहियो’ वा ‘आशीर्वाद चाहियो’ भनेको होइन। २०६३ सालमा प्रधानमन्त्री बन्नुपर्ने बेला मेरो नाम पनि सिफारिस भएको थियो तर मैले नै सबै पार्टीका नेतालाई राखेर गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाऔं भनेको हुँ।

संक्रमणकालमा गिरिजाप्रसादजस्तो पुरानो, अनुभवी र परिपक्व व्यक्ति आवश्यक छ भन्ने मेरो धारणा थियो। म पदका लागि मरिहत्ते गर्ने मान्छे होइन। पछि गिरिजाबाबुले मलाई भन्नुभएको थियो– माधवबाबु, तपाईं प्रधानमन्त्री हुनुस्। उहाँले मलाई दुईवटा कुरा भन्नुभएको थियो।

केके?

एउटा मैले माधवबाबुको गुन तिर्नुपर्छ, अर्को त्यो जटिल परिस्थितिमा देश चलाउन सक्ने क्षमता माधव नेपालमा छ। उहाँसँग अन्तिम भेट गर्ने मान्छे पनि म नै हुँ। उहाँले त्यसबेला भन्नुभएको थियो– ‘माधवबाबु, अब यो देशको जिम्मेवारी तपाईंको काँधमा छ।

तर तपाईंले कांग्रेसलाई धोका दिएर बिचमै प्रधानमन्त्री पद छोड्नुभयो?

पार्टीभित्र मलाई प्रधानमन्त्रीबाट हटाउनकै लागि तानातान र लफडा हुन थालेपछि दिक्क लाग्यो अनि छाडिदिए। धेरै नेताले मलाई नछोड्न आग्रह गरेका थिए। मलाई झोक चल्यो, राजीनामा दिएँ।

पटक–पटक राष्ट्रपति बन्न पनि खोज्नु भएकै हो होइन र?

२०६४ सालमा प्रचण्डजीले मलाई राष्ट्रपति बन्न प्रस्ताव गर्नुभएको थियो। सुरुमा मैले मानेको थिइनँ। मेरो उमेर पनि त्यति पुगेको छैन भन्ने लाग्थ्यो। पार्टीका नेताहरूले दबाब दिएपछि मैले मानेँ तर राष्ट्रपति बन्न जाने क्रममा माओवादीले आफ्नो धारणा बदलिसकेको रहेछ। उसले रामराजाप्रसाद सिंहलाई अघि सार्ने निर्णय गरिसकेको रहेछ। त्यसले मलाई ठुलो अपमान महसुस भयो। त्यसपछि मैले राजनीतिक रूपमा अर्को उम्मेदवारलाई जिताउने रणनीति बनाएँ। अनि कांग्रेस, मधेसका दल लगायतसँग छलफल भयो। सोहीअनुसार रामवरण यादवजीलाई राष्ट्रपतिका लागि अघि सार्न मैले गिरिजाबाबुलाई फोन गरेको थिएँ। शेरबहादुरजीलाई पनि अलिअलि आकांक्षा थियो। मैले नउठ्न भनेँ किनभने मधेसी फ्याक्टरलगायत विभिन्न पक्षलाई ध्यानमा राख्नुपर्ने थियो। अन्ततः रामवरण यादवजी राष्ट्रपति बन्नुभयो। त्यसमा मेरो पनि महत्त्वपूर्ण भूमिका थियो।

पछि फेरि राष्ट्रपति बन्ने प्रस्ताव आएको थियो?

दोस्रो पटक पार्टीले नै मलाई राष्ट्रपति बन्न दबाब दिएको थियो। मैले मानेको थिइनँ। म अझै काम गर्ने उमेरमा छु, राष्ट्रपति भएर निष्क्रिय भएर बस्ने होइन भन्ने मेरो धारणा थियो। पछि विद्या भण्डारी र विष्णुप्रसाद पौडेलजीले पनि मलाई साथ दिन आग्रह गर्नुभयो। पार्टीमा छलफल भयो र विद्या भण्डारीजीलाई राष्ट्रपति बनाइयो।

तेस्रो पटक रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने बेला मेरो नाम पनि आयो। मैले पनि हुन्छ भनेको थिएँ। केपी ओलीजीले पनि भेटेर मलाई राष्ट्रपति बन्न प्रस्ताव गर्नुभएको थियो तर उहाँप्रति मेरो विश्वास थिएन। पछि प्रचण्डजीबाट पनि कुरा आयो। तर शेरबहादुरजीले रामचन्द्रजीलाई वचन दिइसकेको बताउनुभयो, त्यसपछि मैले त्यो कुरा स्वीकार गरेँ।

राष्ट्रपति पनि छोड्नुभयो, एमालेको अध्यक्ष बन्ने कुरा पनि भएन, पार्टी नै छोड्नुपर्‍यो?

एकपटक प्रधानमन्त्री भएर काम गरिसकेको अनुभव मसँग छ।

प्रधानमन्त्रीका रूपमा आफ्नो कामलाई तपाईं कसरी हेर्नुहुन्छ?

प्रधानमन्त्रीले धेरै कुरा सुधार गर्नुपर्ने हुन्छ। तर एक्लो प्रधानमन्त्रीले चाहेर मात्र हुँदैन। कानुन, संरचना, अन्तर्राष्ट्रिय राजनीति र छिमेकीसँगको सम्बन्ध सबै जोडिन्छ। प्रधानमन्त्रीले सही मान्छे पहिचान गरेर मन्त्रीको जिम्मेवारी दिनुपर्छ। मेरो पालामा सुरक्षा नीति पारित भयो। विदेश नीति अघि बढाउने काम पनि भयो। यी कामहरूलाई पनि मूल्यांकन गर्नुपर्छ।

हुन त हो तर पूर्वप्रधानमन्त्रीहरूमध्ये तपाईंमाथि मात्र पतञ्जलीको जग्गासम्बन्धी नीतिगत भ्रष्टाचार गरेको मुद्दा लाग्यो होइन?

मेरो विचारमा त्यो मुद्दा प्रथम दृष्टिमै खारेज हुनुपर्ने हो। पतञ्जली योगसँग जोडिएको संस्था हो। नेपालमा योगलाई नेपाली सभ्यतासँग जोड्ने काम गर्नुपर्छ। आचार्य बालकृष्णजी र स्वामी रामदेवजीले नेपालमा योग केन्द्र, आयुर्वेदिक अस्पताल, आयुर्वेदिक क्याम्पस, वृद्धाश्रम तथा जडीबुटी उत्पादन र उद्योग सञ्चालन गर्ने योजना अघि बढाउनुभएको थियो।

सरकारी जग्गा एक टुक्रा पनि दिइएको होइन। निजी जग्गा कानुनअनुसारको विषय हो। यो कुनै कुरा लुकाएर वा छिपाएर गरिएको होइन। त्यसमा नेपाल सरकारको एक टुक्रा जग्गा पनि छैन। राजस्व पनि लिइएको छ। त्यसैले मैले बदमासी गरेको वा पैसा खाएको भन्ने प्रश्न नै आउँदैन। रामदेव वा बालकृष्णले पैसा दिए भनेर कसैले पत्याउँछ ? भ्रष्टाचार भयो कसरी ? मलाई त यस्तो कामका लागि प्रशंसा गर्नुपर्ने हो जस्तो लाग्छ। अहिले अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ।

त्यसको कारण के देख्नुहुन्छ?

मेरो मनमा त केपी ओलीको कारणले भन्ने लाग्छ। अरू कसकसले भूमिका खेले, मलाई थाहा छैन। तर यसबारे न्याय पाउनेमा मलाई विश्वास छ। प्रक्रिया तलबाट पूरा भएर आएको थियो। कानुनी प्रक्रिया पुगेको थियो। कानुन मिल्यो कि मिलेन भन्ने हेर्ने जिम्मेवारी सम्बन्धित सचिव र प्रधानमन्त्रीलगायतको हुन्छ।

तपाईंको बुझाइमा केपी शर्मा ओलीले राजनीतिक प्रतिशोधका कारण मुद्दा चलाउन लगाउनुभयो?

मान्छेहरूले त्यही भन्छन्। उहाँ इख राख्ने र बदला लिने प्रवृत्तिको मान्छे हो भन्ने धारणा पनि छ। यस्तो भावना कसैमा हुनुहुँदैन। भ्रष्टाचार गरेको छ भने दण्ड पाउनुपर्छ तर भ्रष्टाचारको एक पैसा पनि नलिएको व्यक्तिले दण्ड भोग्नुपर्‍यो भने त्यो अन्याय हुन्छ।

म एमालेबाट अलगिएँ, नयाँ पार्टी बनाएँ। राजनीतिक जीवनमा यस्ता कुरा आउँछन्। सामना गर्नुपर्छ। मैले जीवनमा अनुचित काम गरेको छैन। भ्रष्टाचारको एक पैसा पनि लिएको छैन। मलाई दुःख लाग्ने कुरा के हो भने असल र खराब मान्छे समाजले छुट्याउन सकेन भने समस्या हुन्छ। अब भइसकेको कुरालाई कसरी सच्याउने भन्नेमा जानुपर्छ। कम्तीमा जीवनको अन्तिम बेलासम्म न्याय होस्। केपी ओलीजी पनि सुध्रिनुहोस् भन्ने मेरो चाहना छ।

तपाईं पनि उहाँसँग बदला लिने पक्षमा हुनुहुन्छ?

म बदला लिने र खुच्चिङ गर्ने पक्षमा छैन। उहाँले जे गर्नुभएको छ, त्यसलाई सच्याउने काम गर्नुभयो भने राम्रो हुन्छ। एउटा कुरा म सिधै भन्छु नडराउनु।

यति लामो राजनीतिक जीवनमा तपाईंले गल्ती गरेको महसुस हुँदैन?

म विभिन्न व्यक्तिलाई विश्वास गरेर महत्त्वपूर्ण जिम्मेवारीमा पठाउँछु भन्ने आलोचना पनि हुन्छ। संकटका बेला साथ दिनेहरूलाई धन्यवाद दिनुपर्छ। साथ दिन नसक्नेहरूलाई पनि त्यतिबेला आँट गरेको भए राम्रो हुन्थ्यो भन्न सकिन्छ।

ज्ञानेन्द्रको राज्याभिषेकमा दाम चढाउन गएको र दरबार हत्याकाण्डको छानबिन समितिमा नबसेर गल्ती भयो जस्तो लाग्दैन?

दाम चढाएको विषयमा केही गुनासो छ। तर त्यसबेला गिरिजाबाबु, रामचन्द्रजीलगायतले पनि त्यसै गरेका थिए। सबैले गर्नुपर्छ भन्ने अवस्था थियो। त्यही परिस्थितिको चलनअनुसार मैले पनि गरेँ। मैले राजाको खुट्टा ढोगेको होइन। चाकरी गर्ने मेरो प्रवृत्ति होइन तर कसैको अपमान पनि गर्दिनँ। म चाकरी पनि गर्दिनँ र अपमान पनि गर्दिन। राजनीतिक विषयमा राजासँग मैले कसरी जुधेको छु भन्ने मसँग सोध्न सकिन्छ। राजा वीरेद्रको पालामा पनि समयमै भेट भएन भने म पर्खेर बस्ने मान्छे होइन भनेर हिँडेको मान्छे हुँ।

दरबार हत्याकाण्डको छानबिन समितिमा नबसेर तपाईंले गल्ती गर्नुभयो भन्ने आरोपबारे के भन्नुहुन्छ?

छानबिन समितिको कुरा उठाउने मान्छे म नै हुँ। त्यतिबेला ज्ञानेन्द्र राजा भइसकेका थिएनन्। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राजाका मुख्यसचिव र म विपक्षी दलको नेता थियौं।

दरबार हत्याकाण्डबारे ज्ञानेन्द्रले समिति बनाउने घोषणा गर्छु भन्नुभएको थियो। गिरिजाबाबुले मलाई त्यसमा बस्न भन्नुभयो। मैले भनेँ– तपाईं (ज्ञानेन्द्र)ले मात्रै समिति बनाउँदा कसैले विश्वास गर्दैन। अर्को स्वतन्त्र निकाय बनाउनुपर्छ। प्रधानन्यायाधीशको नेतृत्वमा समिति बनाउने कुरा भयो। प्रधानन्यायाधीशले सभामुख र मेरो नाम पनि राख्नुभयो तर मैले त्यहाँ बस्न नहुने सोच बनाएँ।

गिरिजाबाबु बस्नुभएको भए म पनि बस्ने थिएँ किनभने त्यसमा राजपरिवारका सदस्यहरूसँग प्रश्न गर्नुपर्ने अवस्था आउन सक्थ्यो। त्यसलाई लिएर पछि कांग्रेस र एमालेबिच राजनीतिक विवाद बन्न सक्थ्यो। मैले समिति गठन हुनुअघि नै आफ्नो नाम नराख्न आग्रह गरेको थिएँ। मेरो ठाउँमा कानुन बुझेको व्यक्तिलाई राख्न सुझाव दिएको थिएँ। पछि पार्टीमा पनि यो विषय राखेँ। म आफैं इच्छुक थिइनँ। त्यहाँ बसेर सबैलाई प्रश्न गर्ने हो भने म नै तारो बन्ने सम्भावना थियो। कांग्रेस र एमाले दुवैको प्रतिनिधित्व भएको भए सहज हुने मेरो धारणा थियो। अन्ततः पार्टीले पनि मलाई त्यहाँ जानु हुँदैन भन्ने निर्णय गर्‍यो।

अहिलेको सरकारले दरबार हत्याकाण्डको छानबिन गर्ने भनेको छ?

छानबिन गर्छ भने गरोस्। बोलिसकेपछि पूरा गर्नुपर्छ।  
अर्को समाचार
नेपाल-भारतका समस्या हल गर्न समग्र दृष्टिकोण चाहिन्छ
१० मंसिर २०८३
•
२२ मिनेट पाठ
नेपाल-भारतका समस्या हल गर्न समग्र दृष्टिकोण चाहिन्छ
पूर्वप्रधानमन्त्री तथा राजनीतिज्ञ डा. बाबुराम भट्टराई संगठित पार्टी राजनीतिबाट जिम्मेवारीमुक्त भए पनि रूपान्तरण र परिवर्तनका लागि गरिने बहुआयामिक राजनीतिमा सक्रिय छन्। सधैं कार्यकारी भूमिकामा रहनुभन्दा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणका साथै विचार दिनुपर्छ र नयाँ समस्यालाई सम्बोधन गर्न पुराना पार्टी संरचना र विचारले नसक्ने र यसका लागि नयाँ विचार र नयाँ राजनीतिक शक्ति चाहिन्छ भन्ने बौद्धिक नेताको छवि बनाएका भट्टराईको बुझाइ छ।




डा. भट्टराईसँग प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, नेपालको बदलिँदो राजनीतिक परिस्थिति, शान्ति प्रक्रियाका अधुरा काम, नयाँ राजनीतिक शक्तिको उदय र आर्थिक रूपान्तरणका विषयमा ‘नागरिक फ्रन्टलाइन’ का लागि सम्पादक बालकृष्ण अधिकारीसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई तपाईंले कसरी लिनुभएको छ? भ्रमणअघि तपाईंले शुभकामना दिनुभएको थियो। फर्किएपछि केही उपलब्धि भए पनि अपेक्षित प्रगति हुन नसकेको आशय व्यक्त गर्नुभयो। समग्रमा भ्रमणको मूल्यांकन कसरी गर्नुहुन्छ?

यो महत्वपूर्ण भ्रमण हो। भारत हाम्रो सबैभन्दा बढी आर्थिक तथा मानवीय कारोबार हुने देश हो। छिमेकी हुनुको नाताले पनि भारतसँगको सम्बन्ध हाम्रा लागि महत्वपूर्ण छ। समयको गतिसँगै त्यो सम्बन्धलाई पुनःपरिभाषित गर्दै विकसित गर्नुपर्ने थियो, तर विविध कारणले हामीले त्यसलाई अगाडि बढाउन सकेनौं। केही हाम्रा कारणले भए पनि मेरो बुझाइमा धेरैजसो समस्या उताबाट पनि आएका छन्।

पछिल्ला केही वर्षमा नेपाल–भारत सम्बन्ध चिसिएको थियो। भारत ठुलो देश भएकाले नेपालसँगको सम्बन्धमा आउने उतारचढावले उसलाई खासै असर नगर्ला तर हामीलाई ठुलो असर पर्छ। हाम्रो आर्थिक कारोबारको झन्डै दुईतिहाइ हिस्सा भारतसँग जोडिएको छ। यस्तो अवस्थामा सम्बन्ध राम्रो नहुँदा त्यसको प्रतिकूल प्रभाव हामीले नै बढी भोग्नुपर्छ।

जेनजी विद्रोहपछि नयाँ पुस्ताको नेतृत्वमा सरकार बनेको छ। त्यसका युवा प्रधानमन्त्रीले भारत भ्रमण गर्दा हाम्रो सम्बन्ध कुन दिशामा जान्छ भन्ने एउटा महत्वपूर्ण संकेत पनि थियो। त्यही अर्थमा मैले उहाँलाई शुभकामना दिएको हुँ। फर्किएपछि भ्रमणको मोटामोटी मूल्यांकन गर्दा दीर्घकालीन र आधारभूत समस्या समाधान भएका छैनन्। अहिल्यै ती सबै समस्या समाधान हुन्छन् भन्ने अपेक्षा पनि थिएन। तर कूटनीतिमा ‘फिल गुड फ्याक्टर’ भन्ने हुन्छ। दुई देशबिच विश्वास र सकारात्मक वातावरण निर्माण गर्न भ्रमण केही हदसम्म सफल भएको मैले ठानेको छु। त्यसैले यसलाई नकारात्मकभन्दा सकारात्मक रूपमा लिनुपर्छ।

तर सीमा विवाद, सन् १९५० को सन्धि, व्यापार घाटा, पारवहन र जलस्रोतजस्ता पुराना विषयमा ठोस प्रगति देखिएन; के भ्रमणले जनअपेक्षा पूरा गर्न सकेन?

त्यस्ता विषयमा भारतीय पक्ष त्यति प्रवेश गर्न चाहेको देखिएन। भ्रमणपछि जारी संयुक्त वक्तव्यमा यी विषयलाई संवादमार्फत समाधान गर्ने भनिएको छ। त्यसैले सबै विषय बेवास्ता गरियो भन्न मिल्दैन, तर लामो समयदेखि थाती रहेका समस्याको समाधानतर्फ ठोस प्रगति भएको पनि देखिँदैन। मैले प्रधानमन्त्री हुँदा प्रबुद्ध व्यक्ति समूह (इपिजी) मार्फत नेपाल–भारत सम्बन्धका समग्र समस्या एकै ठाउँमा राखेर समाधान खोजौं भन्ने प्रस्ताव गरेको थिएँ।

सन् १९५० को सन्धि, सीमा समस्या, द्विपक्षीय व्यापार, पारवहनलगायतका विषयलाई टुक्राटुक्रा पारेर होइन, समग्ररूपमा सम्बोधन गर्नुपर्छ भन्ने मेरो धारणा थियो। त्यसैअनुसार दुवै देशका विज्ञ सम्मिलित समूह बन्यो र त्यसले प्रतिवेदन पनि तयार गर्‍यो तर त्यो प्रतिवेदन आठ वर्षदेखि थन्किएको छ। त्यसमा टेकेर अगाडि बढ्न सकेको भए धेरै समस्या समाधानको बाटो खुल्न सक्थ्यो।

भारतीय विदेशसचिवले काठमाडौं उत्रिनुपूर्व नै इपिजी प्रतिवेदन पुरानो भइसकेको बताउनुभयो; यसले नेपाललाई फेरि शून्यबाट सुरु गर्नुपर्ने अवस्थामा पु¥याउँदैन?

इपिजी कुनै एक पक्षले बनाएको समूह होइन। दुवै देशका सहमतिमा दुवैतर्फका विज्ञ राखेर गठन गरिएको हो। त्यसले सुझाव दिएको हो, त्यसलाई हुबहु लागू गर्नुपर्छ भन्ने पनि छैन। प्रतिवेदनमा के सुझाव आएका छन्, कुन विषयमा सहमति हुन सक्छ, कुनमा हुन सक्दैन भन्ने छलफल त हुनुपर्‍यो नि। पुरानो भयो भने कुन कुरा पुरानो भयो, किन पुरानो भयो भन्ने स्पष्ट हुनुपर्छ। प्रतिवेदन नै सार्वजनिक वा छलफलमा नल्याई बाकसमा थुनेर राख्नुको औचित्य छैन। त्यसैले भारतीय विदेशसचिवको अभिव्यक्तिलाई पनि असन्तुष्टिको संकेतका रूपमा बुझ्न सकिन्छ।

हाम्रा नेताहरूले पनि यस विषयमा पर्याप्त पहल गर्न सकेनन्, तर अहिलेको नयाँ सरकारलाई एकैपटक सबै पुराना समस्या समाधान गर्ने भारी बोकाउनु पनि उचित हुँदैन। नयाँ नेतृत्वले सिक्न र सम्बन्ध बुझ्न समय पाउनुपर्छ। अहिलेका लागि कम्तीमा संवादको वातावरण बनेको छ। त्यसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्नुपर्छ।

नेपाल–भारत सम्बन्धमा पटकपटक उच्चस्तरीय भ्रमण हुन्छन्; भ्रमणका बेला उत्साह र सद्भाव देखिन्छ तर पछि सहमति कार्यान्वयन हुँदैनन्; यस्तो अवस्था किन दोहोरिन्छ?

विगतदेखि नै त्यस्तै हुँदै आएको छ। त्यसैले अब नयाँ सुरुवात गर्नुपर्छ भनेको हुँ। सन् १९५० को सन्धि, सीमा समस्या, व्यापारिक असन्तुलन र अहिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका विपत्तिसम्मका विषयलाई द्विपक्षीय रूपमा सम्बोधन गर्नुपर्छ। त्यसका लागि उच्च तहमा राम्रो गृहकार्य आवश्यक छ। बाहिर गालीगलौज गरेर केही प्राप्त हुँदैन। वार्ता टेबलमा भने आफ्नो राष्ट्रिय हितका विषयमा स्पष्ट र दृढ हुनुपर्छ। कूटनीति भनेको बाहिर झगडा देखाउनु होइन, टेबलमा बसेर आफ्नो हितमा प्रभावकारी संवाद गर्नु हो।

अर्को परराष्ट्र नीति देशको हुन्छ र हुनुपर्छ; कुनै पार्टी वा व्यक्तिको हुँदैन। हामी सरकारमा आउँछौं र जान्छौं तर राज्य निरन्तर रहन्छ। त्यसैले एउटा सरकारले बनाएको राम्रा नीतिलाई अर्को सरकारले पनि निरन्तरता दिनुपर्छ। प्रत्येक पार्टी र नेताले आफ्नो योगदानको डम्फु बजाउने प्रवृत्ति छाड्नुपर्छ।

तपाईं आफैं प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जानुभयो र बिप्पा सम्झौता गर्नुभयो; आफ्नै पार्टीभित्र त्यसको विरोध मात्र भएन विमानस्थलमा उत्रिँदा कालो झन्डासमेत देखाइयो; के नेपालको कूटनीतिमा आन्तरिक राजनीतिक असहमतिले पनि समस्या सिर्जना गरेको छ होइन?

त्यसबाट हामीले सिक्नुपर्छ। गल्ती दोहोर्‍याइराख्नु हुँदैन। बिप्पा सम्झौता लागु भएको भए नेपालमा बाह्य लगानी आउन सक्थ्यो, उद्योगधन्दा खुल्न सक्थे, रोजगारी सिर्जना हुन्थ्यो र व्यापार घाटा कम गर्न पनि सहयोग पुग्थ्यो। तर त्यसमा हामी सफल हुन सकेनौं। त्यसको घाटा देशले बेहोर्नुप¥यो।

कूटनीतिक विषयमा असहमति राख्न पाइन्छ, तर त्यसको ठाउँ संसद्, संसदीय समिति र दलहरूबिचको छलफल हुनुपर्छ। कुनै विषयमा चित्त बुझेन भन्दैमा देशको हितमा भएको सहमतिलाई असफल बनाउने वा खुट्टा तान्ने काम गर्नु हुँदैन।

राष्ट्रिय हितका विषयमा सर्वदलीय समझदारी आवश्यक छ। सरकारमा जो आए पनि राष्ट्रिय सहमतिबाट बनेको परराष्ट्र नीति कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्छ। म अहिले पनि नागरिकको तहबाट यस्ता साझा राष्ट्रिय मुद्दामा सहमति निर्माण गर्न योगदान गर्नुपर्छ भन्ने पक्षमा छु।

अहिलेको भ्रमणका क्रममा सन् १९५० को सन्धि र सीमा विवादजस्ता विषय थाती राखेर आर्थिक सहयोगका अरू सम्झौता गर्नुको अर्थ रहन्छ?

त्यसको पनि अर्थ हुन्छ। ज्वरो आएका बेला सिटामोल खाँदा केही कम हुन्छ। पानीपट्टी गर्दा राहत मिल्छ। अहिले भएका केही समझदारीलाई त्यसरी बुझ्न सकिन्छ, तर शरीरभित्रको रोग निको पार्न छुट्टै उपचार गर्नुपर्छ। त्यस्तै नेपाल–भारत सम्बन्धका आधारभूत समस्या समाधान गर्न समग्र उपचार आवश्यक छ। इपिजीमार्फत समग्र विषयलाई सम्बोधन गर्नुपर्दछ। सन्धि, सीमा, व्यापार, पारवहन, हवाई रुट, जलस्रोत र हिमाली पर्यावरणका विषयलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्छ।

तर तत्कालै दुवै देशलाई फाइदा पुग्ने विषयमा पनि काम गर्न सकिन्छ। सडक, रेल र डिजिटल कनेक्टिभिटी विस्तार गर्न सकिन्छ। पोखरा र भैरहवा विमानस्थलका लागि आवश्यक हवाई रुटको विषय समाधान गर्न सकिन्छ। जलविद्युत् आयोजनाहरू अगाडि बढाउन र नेपालको बिजुली निर्यातमा देखिएका अवरोध हटाउन सकिन्छ। यस्ता काम कार्यान्वयन भए विश्वासको वातावरण अझ बलियो हुन्छ।

दुई देश त्यही बाटोमा अघि बढेका हुन्?

भ्रमणले नयाँ र विश्वासको वातावरण बनेको छ। त्यसका आधारमा अघि बढ्नुपर्छ।

प्रधानमन्त्रीको भारत भ्रमणमा भएका सहमति कार्यान्वयन गर्न अब सरकारले के गर्नुपर्छ?

हामीसँग व्यापार, जलस्रोत र अन्य विषयमा विभिन्न संयन्त्र छन्। ती संयन्त्रलाई प्रभावकारी बनाउनुपर्छ। परराष्ट्र सचिव र भारतीय राजदूत तहबाट पनि सहमतिहरूको समीक्षा गर्ने व्यवस्था गर्न सकिन्छ। घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।

नेपालको तर्फबाट कुन मन्त्रालयले के काम गर्ने, कुन सहमति कहिलेसम्म कार्यान्वयन गर्ने भन्ने स्पष्ट कार्ययोजना हुनुपर्छ। समयसीमा तोकेर नियमित अनुगमन गर्नुपर्छ। सम्झौता र समझदारीको उपलब्धि भाषणमा होइन, जनताले अनुभव गर्ने परिणाममा देखिनुपर्छ।

भारतसँगको सम्बन्ध मात्र होइन, चीनसँगको सम्बन्ध र समग्र भूराजनीतिक सन्तुलनमा पनि नेपाल कमजोर हुँदै गएको विश्लेषण गर्न थालिएको छ, त्यस्तै हो?

नेपाल अहिले पनि जटिल भूराजनीतिक अवस्थामा छ। दुई ठुला देशको बिचमा हुनु चुनौती मात्र होइन, ठुलो अवसर पनि हो। चीन विश्वको पहिलो अर्थतन्त्र बन्नेतर्फ अगाडि बढिरहेको छ भने भारत पनि तेस्रो ठुलो अर्थतन्त्र बन्ने दिशामा छ। यी दुई विशाल बजारबिच नेपाल हुनु आर्थिक विकासका दृष्टिले ठुलो सम्भावना हो।

मैले पहिले पनि भनेको छु– नेपाल दुई ढुंगाबिचको तरुल मात्र होइन, दुई समुद्रलाई जोड्ने सेतु बन्न सक्छ र बन्नुपर्दछ। दुवैतर्फको पुँजी, प्रविधि र बजारसँग जोडिएर नेपालले उत्पादन बढाउन र वस्तु निर्यात गर्न सक्छ। त्यसका लागि हामीले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ।

कुनै एकतर्फ ढल्किएर अर्को छिमेकीलाई चिढ्याउने नीति उपयुक्त हुँदैन। नेपालको इतिहासले पनि दुवै देशसँग सन्तुलित सम्बन्ध राखेरै आफ्नो स्वाधीनता जोगाउँदै आएको देखाउँछ।

प्रधानमन्त्रीले भारत भ्रमण गर्नुभएको छ, अब राम्रो तयारी गरी चीन भ्रमण गर्नुपर्छ। चीनसँगको सम्बन्धलाई पुरानो दृष्टिकोणबाट मात्र हेर्नु हुँदैन। बदलिएको विश्व परिस्थितिअनुसार दुवै देशसँग आर्थिक साझेदारी विस्तार गर्नुपर्छ।

सरकार बनेको आठ महिना भएको छ; सुरुमा तपाईं निकै आशावादी देखिनुहुन्थ्यो; अहिले सरकारको कामलाई कसरी मूल्यांकन गर्नुभएको छ?

उहाँहरू अकस्मात् सरकारमा आउनुभएकाले अझै सिक्दै हुनुहुन्छ भन्ने लाग्छ। हामीले लामो राजनीतिक यात्राका क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, राज्यका अंग र प्रशासनिक प्रणाली बुझ्न समय लगाएका थियौं। उहाँहरू त नेतृत्वमा आउनुभएको हो।

प्रधानमन्त्रीका रूपमा उहाँसँग दुई वर्ष मेयर चलाएको अनुभवबाहेक त्यति लामो प्रशासनिक अनुभव छैन। अरू साथीहरूको पनि त्यस्तो अनुभव छैन। त्यसैले सुरुवातमा अलमल हुनु स्वाभाविक हो, तर अब आठ महिना हुन लागिसक्यो। सिक्न पर्याप्त समय भइसकेको छ। जनताले सुशासन र समृद्धि चाहेका छन्।

सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोग र प्रशासनिक चुस्तताका केही प्रयास देखिएका छन्, तर विधि मिचिएको भन्ने प्रश्न पनि छन्। मुख्य कुरा आर्थिक विकास र रोजगारी सिर्जना हो। त्यसमा सरकारले अपेक्षित काम गर्न सकेको देखिँदैन। त्यसैले सरकार अब परिणाम दिने काममा केन्द्रित हुनुपर्छ।

प्रधानमन्त्रीले काम गर्ने क्रममा विधि र प्रक्रिया मिचेको, संसद्लाई बेवास्ता गरेको र आफूलाई प्रत्यक्ष निर्वाचित कार्यकारीजस्तो ठानेर काम गरेको आरोप छ; तपाईंलाई त्यस्तो लाग्दैन?  

मैले उहाँलाई यस विषयमा खुलेर सुझाव दिइरहेको छु। म प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीको पक्षधर हुँ। प्रधानमन्त्री पनि त्यसतर्फ जान चाहनुहुन्छ भन्ने बुझ्छु तर अहिले हामीले चाहेर मात्र हुँदैन। संविधानले संसद्बाट निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरेको छ। त्यसैले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार हुनुपर्छ। संसद्मा जाने, सांसदका कुरा सुन्ने काम गर्नुपर्छ।

बहुदलीय लोकतन्त्रमा पक्ष र प्रतिपक्ष हुन्छन् तर शत्रु हुँदैनन्। प्रतिपक्षलाई दुस्मन ठान्ने वा संसद्लाई बेवास्ता गर्ने प्रवृत्ति उचित होइन। विगतमा जस्तो धेरै भाषण गर्ने, भेटघाट र गफमा समय बिताउने अनि काम नगर्ने प्रवृत्ति पनि दोहोरिनु हुँदैन। प्रधानमन्त्रीले काममा ध्यान दिन खोज्नुभएको छ भने त्यो सकारात्मक हो। काम र विधि दुवैलाई सन्तुलित बनाउनुपर्छ।

भारत भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञसँग पर्याप्त परामर्श नगरेको तथा राष्ट्रपतिलाई समेत जानकारी नदिएको विषयमा पनि प्रश्न उठेको छ; यो उचित हो?

भ्रमणअघि परामर्श गर्ने विषयलाई अनावश्यक कर्मकाण्ड बनाउनु हुँदैन। प्रधानमन्त्री विदेश भ्रमणमा जानुअघि कर्मचारीतन्त्रले धेरै तयारी गरेको हुन्छ। वार्तामा के विषय उठाउने, के सहमति गर्ने र के नगर्ने भन्ने गृहकार्य पहिल्यै भइसकेको हुन्छ। अन्तिम दिन बोलाएर सुझाव लिनुको खास अर्थ हुँदैन।

यदि सल्लाह लिनु छ भने १०/१५ दिन वा महिनादिनअघि लिनुपर्छ। म प्रधानमन्त्री भएका बेला त्यही प्रक्रिया अपनाएको थिएँ। बिप्पा सम्झौताअघि पार्टीभित्र सहमति बनाएको थिएँ। भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँगको भेटमा उहाँले पनि नेपालले चाहेको विषयमा सहमति गर्न तयार रहेको बताउनुभएको थियो। त्यसैले महत्वपूर्ण विषय भ्रमणको अन्तिम क्षणमा मात्र तय हुँदैनन्। तर राष्ट्रपति देशको अभिभावकीय संस्था हो। उहाँलाई सम्मान र शिष्टाचारका दृष्टिले भ्रमणबारे जानकारी गराउनु उचित हुन्छ। यसमा प्रधानमन्त्रीको ध्यान जानुपर्छ।

अहिलेसम्मको कामका आधारमा सरकारलाई सयमा कति नम्बर दिनुहुन्छ?

पहिले पनि ६० नम्बर दिएको हुँ। अहिले पनि त्यति दिन्छु। उहाँहरू सिक्दै हुनुहुन्छ। अब सिकाइबाट परिणामतर्फ जानुपर्छ।

सरकारलाई पाँच वर्ष काम गर्न दिनुपर्छ भन्नुभएको छ, तर सत्तारूढ दलभित्रै विवाद र नेतृत्वबिच दूरी बढेको देखिन्छ; यस्तो अवस्थामा सरकारको स्थायित्व कसरी सुनिश्चित हुन्छ?

बहुदलीय लोकतन्त्रमा दलका नेता र सांसदले आफ्ना प्रधानमन्त्रीले राम्रो काम नगरे प्रश्न उठाउन पाउँछन्, त्यसलाई अन्यथा लिनु हुँदैन। मैले रवि र बालेनजीहरूलाई भेट्दा पनि आपसी संवाद र समझदारी कायम राख्न सुझाव दिएको छु। सरकार चलाउने जिम्मेवारी पाएका शक्तिबिच निरन्तर संवाद हुनुपर्छ। संविधान बनेपछिका पछिल्ला दस वर्षमा सरकार बनाउने र गिराउने खेल धेरै भए। प्रदेशमा पनि त्यही प्रवृत्ति छ।

जनताले पाँच वर्षको म्यान्डेट दिएका छन् भने सरकारलाई काम गर्न दिनुपर्छ। सत्तारूढ दलका नेताहरूले पनि आपसी विवाद व्यवस्थापन गरेर स्थिरता कायम गर्नुपर्छ।

नयाँ सरकारप्रति जनताको अपेक्षा ठुलो छ, तर अर्थतन्त्रमा सुधार र रोजगारी सिर्जना नभए फेरि असन्तुष्टि बढ्ने खतरा छ?

त्यसमा मलाई चिन्ता छ। नेपालको अर्थतन्त्रको विकास गति सुस्त छ। सन् १९६०/७० को दशकमा भारत र चीनको प्रतिव्यक्ति आम्दानीसँग नेपालको अवस्था धेरै फरक थिएन। अहिले चीनको अर्थतन्त्र हाम्रोभन्दा दस गुणा बढिसकेको छ। भारत पनि धेरै अगाडि पुगेको छ।

पछिल्ला पचास–साठी वर्षमा नेपालले एक वर्ष पनि दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्न सकेको छैन तर भारत र चीन तीव्र आर्थिक वृद्धि हासिल गर्न सफल भए। नेपालले पनि तीव्र आर्थिक विकासको बाटो समात्नुपर्छ। कृषि क्षेत्रमा अल्झिएको जनशक्तिलाई उद्योग, सेवा र सूचना प्रविधिका क्षेत्रमा स्थानान्तरण गर्नुपर्छ। उत्पादन बढाउनुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ। त्यसका लागि सुविचारित योजना, समयसीमा र कार्यान्वयन क्षमता आवश्यक हुन्छ।

चुनावका बेला ठुला कुरा गर्ने र सत्तामा पुगेपछि काम नगर्ने प्रवृत्ति दोहोरिनु हुँदैन। आर्थिक विकासको प्रश्नलाई केन्द्रमा राख्न सकिएन भने देशमा आर्थिक संकट आउन सक्छ; युवा पलायन बढ्छ र असन्तुष्टि एवं विद्रोहको अवस्था आउन सक्छ।

त्यस्तो संकट रोक्न सरकार, प्रतिपक्ष र नागरिक समाजको भूमिका हुँदैन?

सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ। सरकारमा बस्नेको पहिलो जिम्मेवारी हुन्छ। प्रतिपक्षको दोस्रो जिम्मेवारी हुन्छ। नागरिक, सञ्चारमाध्यम र नागरिक समाजको तेस्रो जिम्मेवारी हुन्छ। हामी सरकारको राम्रो कामलाई राम्रो भन्नुपर्छ। आलोचना गर्नु लोकतन्त्रको महत्वपूर्ण पक्ष हो, तर आलोचना विनाशका लागि होइन, सुधारका लागि हुनुपर्छ। मिडियाले पनि उत्तेजक विषय मात्र खोज्ने र समाजलाई विभाजित गर्ने प्रवृत्तिबाट बच्नुपर्छ। प्रतिपक्षले सरकार ढाल्ने अवसर मात्र खोज्नु हुँदैन। सत्तामा बस्नेले आफू सधैंका लागि शासक भएको ठान्नु हुँदैन। हामी सबै जिम्मेवार भए मात्र लोकतान्त्रिक प्रणाली बलियो हुन्छ।

तपाईंहरूको पुस्ताले लामो राजनीतिक संघर्ष गर्‍यो तर मुलुक भ्रष्टाचार, अनियमितता, बेरोजगारी र सुशासनको संकटमा पनि यही अवधिमा फस्यो। तपाईंहरूको पुस्ता कहाँ चुक्यो?

मैले नेपालको इतिहासलाई तीनवटा कालखण्डमा हेर्ने गरेको छु। पहिलो, पृथ्वीनारायण शाहदेखि सुगौली सन्धिसम्मको राज्य र भूगोल निर्माणको चरण हो। दोस्रो लखन थापाको विद्रोहदेखि २००७ साल हुँदै २०७२ सालमा संविधान निर्माणसम्मको लोकतन्त्रीकरण र जनतालाई अधिकारसम्पन्न बनाउने चरण हो। तेस्रो चरण २०७२ सालपछि सुरु भएको सुशासन र समृद्धिको चरण हो।

हाम्रो पुस्ताको मुख्य जिम्मेवारी लोकतन्त्रीकरण थियो। बिपी कोइराला, पुष्पलाल हुँदै हाम्रो पुस्तासम्मका नेताहरूले त्यसका लागि संघर्ष गरे। हामीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशितासहितको संविधान निर्माण ग¥यौं। त्यसका लागि ठुलो त्याग र बलिदान भएको छ तर त्यसपछि विकास र समृद्धिको चरणमा पुराना राजनीतिक शक्तिहरूले अपेक्षित काम गर्न सकेनन्। त्यसैले मैले नयाँ र वैकल्पिक शक्तिको आवश्यकता देखेको हुँ। अहिले नयाँ पुस्ता नेतृत्वमा आएको छ। उनीहरूले हामीले निर्माण गरेको लोकतान्त्रिक आधारमा टेकेर अगाडि बढ्नुपर्छ।

तर राजनीतिक परिवर्तनसँगै भ्रष्टाचार र अनियमितता पनि बढ्यो अनि जेनजीले तपाईंहरूको पुस्ताको विकल्प खोज्यो होइन?

भ्रष्टाचार र अनियमितता रोक्नैपर्छ तर इतिहासलाई पनि हेर्नुपर्छ। राणाकालमा कानुनी शासन थिएन। शासकको मौखिक आदेशबाट मानिस मारिन्थे, जग्गा कब्जा गरिन्थ्यो। पञ्चायतकालमा पनि दरबारभित्रका विषयमा प्रश्न उठाउन पाइँदैनथ्यो। त्यतिबेला गाईकाण्ड, सुनकाण्ड, गलैंचाकाण्डलगायतका विषय चर्चामा हुन्थे। बहुदलीय व्यवस्थापछि पनि भ्रष्टाचारका घटना भए।

अहिले पनि भइरहेका छन्। यसलाई रोक्न बलिया र स्वतन्त्र संस्था निर्माण गर्नुपर्छ। कसैले गल्ती गरेको छ भने निष्पक्ष छानबिन गरेर कानुनअनुसार दण्डित गर्नुपर्छ। भ्रष्टाचार एकैपटक अन्त्य गर्छु भनेर भाषण गरेर मात्र हुँदैन। संस्थागत सुधार र निरन्तर कारबाहीबाट यसलाई न्यूनीकरण गर्दै अन्त्य गर्नुपर्छ।

तपाईं आफैं सरकारको नेतृत्वमा हुँदा सुशासन र राज्य सञ्चालनका विषयमा कमजोरी भएनन्? अहिले अरूलाई सुझाव दिँदा तपाईंहरूको पुस्ताले पनि आत्मसमीक्षा गर्नुपर्ने होइन?

संविधान जारी हुनुअघि मुख्य काम नै जनतालाई अधिकारसम्पन्न बनाउनु र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु थियो। जग नहाली घर बनाउन सकिँदैन। हामीले त्यो जग निर्माण गर्‍यौं। संविधान निर्माण भएपछिका दस वर्षदेखि नै विकास र समृद्धिको चरण सुरु भएको हो। त्यस अर्थमा मैले आफ्नो जिम्मेवारी पूरा गरेको ठानेको छु। तर ममाथि कुनै भ्रष्टाचार वा अनियमितताको आरोप छ भने छानबिन गर्नुस्, कानुनअनुसार कारबाही गर्नुस् भन्दै आएको छु। कसैले गल्ती गरेको छ भने उसलाई दण्डित गर्नुपर्छ। अब विगतका कमजोरीबाट पाठ सिकेर नयाँ पुस्ताले सुशासन र समृद्धिमा ध्यान दिनुपर्छ।

तपाईं अर्थशास्त्रको जानकार हुनुहुन्छ; नेपालको आर्थिक रूपान्तरणका लागि सरकारले के गर्नुपर्छ?

नेपालको आर्थिक विकास टुक्रे योजनाले हुँदैन। समग्र आर्थिक रूपान्तरणको योजना चाहिन्छ। पाँच, दस र बीस वर्षको स्पष्ट योजना बनाएर कार्यान्वयन गर्नुपर्छ। साथसाथै नीतिगत निरन्तरता, बलियो संस्थागत संरचना र कार्यान्वयन क्षमता आवश्यक हुन्छ। प्रधानमन्त्रीजीलाई पनि यही सुझाव दिएको छु।

प्रधानमन्त्रीमातहत बलियो प्राधिकरण बनाएर समग्र योजना कार्यान्वयन गर्न सकिन्छ। यस्तो प्रस्ताव गर्दा कतिपयले बाबुराम आफैं नेतृत्व गर्न खोजेको भने। मुख्य कुरा देशले स्पष्ट आर्थिक दिशा पाउनुपर्छ। कृषि, उद्योग, सेवा र सूचना प्रविधिलाई जोडेर उत्पादन बढाउनुपर्छ; रोजगारी सिर्जना गर्नुपर्छ र युवालाई देशभित्रै अवसर दिनुपर्छ।

भोटेकोसी बाढी र त्यसपछिका विपत्तिले जलवायु परिवर्तनको जोखिम उजागर गरेको छ; कोप सम्मेलनबाट पनि नेपालले अपेक्षित परिणाम पाउन सकेन; यसलाई कसरी हेर्नुहुन्छ?

हिमनदी पग्लिनु र तापक्रम वृद्धि हुनुको असर भोटेकोसीमा देख्यौं। त्यसपछि बुढीगण्डकीमा पनि देखियो। यो नेपालको मात्र नभएर विश्वव्यापी संकट हो। हिमाली क्षेत्रलाई तेस्रो ध्रुुव पनि भनिन्छ। उत्तर र दक्षिण ध्रुुवपछिको हिउँ भण्डार यही क्षेत्रमा छ। यहाँका हिमनदी पग्लिँदा त्यसको असर नेपालका साथै अर्बौं मानिसको जीविकामा पर्छ तर विकसित देशहरूले कार्बन उत्सर्जन घटाउने र पर्यावरण संरक्षण गर्ने दिशामा पर्याप्त प्रतिबद्धता देखाएका छैनन्; जुन दुःखद् हो। त्यसैले पनि हामीले जलवायु न्याय र क्षतिपूर्तिको मागलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाइरहनुपर्छ र अन्तर्राष्ट्रिय जनमत निर्माण गर्नुपर्छ।

जलवायुजन्य विपत्तिबाट प्रभावित देशका लागि बनाइने कोषमा पर्याप्त रकम जम्मा गराउन दबाब दिनुपर्छ। त्यसबाट नेपालजस्ता देशले क्षतिपूर्ति र पुनर्निर्माणका लागि स्रोत प्राप्त गर्नुपर्छ। हाम्रो आवाजले मात्र कोपमा सबै कुरा बदल्न सक्दैन, तर अन्तर्राष्ट्रिय जनमत निर्माण गर्न सकिन्छ। हिमाली क्षेत्रको संकट विश्वव्यापी हो भन्ने मान्यता स्थापित गर्न सकिन्छ। त्यसका लागि नेपालले निरन्तर पहल गर्नुपर्छ।

हामीले देशभित्र गर्नुपर्ने काम पनि गरिहेका छैनौं। भोटेकोसी प्रभावितको अवस्था तीन महिना हुँदा पनि दयनिय छ भन्ने लागेको छैन?

सरकारले सुरुवाती राहत र उद्धार कार्य गरेको हो, तर त्यसपछिको पुनस्र्थापना र दीर्घकालीन व्यवस्थापनमा ढिलाइ भएको छ। विस्थापित नागरिकलाई समयमै सुरक्षित बासस्थान र जीविकोपार्जनको व्यवस्था गर्नुपर्ने थियो, जुन अपेक्षित गतिमा बढ्न सकेको छैन।

भारत भ्रमणमा केही स्रोत जुटाउने प्रतिबद्धता भएको भनिएको छ, तर त्यो कहिले आउला? त्यसैले बाह्य सहयोगको प्रतीक्षा गरेर मात्र हुँदैन। राज्यले आफ्नै स्रोत पनि परिचालन गरेर प्रभावित नागरिकको पुनस्र्थापना तत्काल गर्नुपर्छ। विपत्तिमा परेका नागरिकको जीवन सामान्य बनाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ।

जिम्मेवारी पूरा गरें त भन्नुभयो तर विस्तृत शान्तिसम्झौता भएको दुई दशक पुग्यो; द्वन्द्वपीडित, बेपत्ता परिवार, घाइते र सहिद परिवारले अझै न्याय पाएका छैनन्; यसको जिम्मेवारी कसले लिने?

नेपालको लोकतन्त्रीकरण एकैपटक पूरा भएको होइन। २००७ सालदेखि नै लोकतन्त्रका लागि संघर्ष भए। त्यसपछि राजाले अधिकार खोसे, फेरि संघर्ष भए। अन्ततः लोकतन्त्र भनेको टाठाबाठाका लागि मात्र होइन, महिला, दलित, जनजाति, मधेसी, थारूलगायत सबै समुदायका लागि हुनुपर्छ भन्ने मान्यतासहित आन्दोलन अघि बढ्यो।

त्यही क्रममा जनयुद्ध भयो र शान्ति प्रक्रियामार्फत संविधान निर्माण तथा सेना समायोजनजस्ता काम सम्पन्न भए, तर द्वन्द्वकालमा भएका घटनाको निष्पक्ष छानबिन, मानवअधिकार उल्लंघनका घटनाको सम्बोधन र पीडितलाई न्याय दिने काम पूरा हुन सकेन। त्यसका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरियो, तर विभिन्न कारणले तिनले आफ्नो काम पूरा गर्न सकेनन्।

किन?

सरकार फेरिइरह्यो। त्यसलाई कारण देखाएर यो काम थाती राख्न मिल्दैन। अन्तरिम संविधानदेखि अहिलेको संविधानसम्म शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ। यो कुनै पार्टीको मात्र दायित्व होइन, राज्यकै संवैधानिक दायित्व हो। यो सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित विषय सम्बोधन गर्न अध्यादेश ल्याएको भन्ने सुनेको छु। त्यो आफ्नो ठाउँमा छ, तर शान्ति प्रक्रियाका बाँकी काम पनि पूरा गर्नुपर्छ। द्वन्द्वपीडितले न्याय पाउनुपर्छ।

यी विषयमा सरकार वा अन्य दलका नेतासँग कुरा गर्नुभएको छ?

संविधान दिवसका दिन राष्ट्रपति कार्यालयमा विभिन्न दलका नेताहरूको भेट भएको थियो। त्यहाँ रविजी, प्रचण्डजी, गगनजीसहितका नेताहरू उपस्थित हुनुहुन्थ्यो। मैले सबैका अगाडि शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनुपर्छ भनेको थिएँ। उहाँहरूले गर्नुपर्छ भन्नुभयो। तर यो विषय ओझेलमा परेजस्तो लाग्छ।

आफू नेतृत्वमा हुँदा नगर्ने अहिले जिम्मेवारीबाट उम्किन मिल्छ?

म उम्किन खोजेको होइन। मेरो नेतृत्वको सरकार १६ वटा दलको समर्थनमा बनेको थियो। संविधान निर्माण र सेना समायोजनको काम पूरा गर्नुपर्ने थियो, जुन सम्पन्न गर्‍यौं। सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन विधेयक पनि अघि बढाएँ। त्यसैले म शान्ति प्रक्रियाका बाँकी कामप्रति प्रतिबद्ध थिइनँ भन्ने होइन, तर ती काम पूरा हुन सकेनन्। अब तिनलाई पूरा गर्नु सबैको जिम्मेवारी हो।

संविधान जारी भएलगत्तै नयाँ शक्ति र वैकल्पिक राजनीतिक अवधारणा अघि सार्नुभयो, तर त्यसलाई संस्थागत गर्नु सक्नुभएन नि?

कुनै एउटै पार्टी वा संगठनमा सीमित हुनुपर्छ भन्ने छैन। युग परिवर्तन भइसकेको छ। पुराना पार्टी संरचना र विचारले नयाँ समस्यालाई सम्बोधन गर्न सक्दैन। यसका लागि नयाँ विचार र नयाँ राजनीतिक शक्ति आवश्यक छ भनेर अभियान सुरु गरेको हुँ। त्यही क्रममा विभिन्न शक्ति र राजनीतिक समूह बने।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो वैकल्पिक शक्तिका रूपमा अगाडि आएको छ। अरू नयाँ शक्ति पनि छन्। बहुदलीय व्यवस्थामा विभिन्न धार र समूह हुन्छन्। यी सबै नयाँ राजनीतिक विकल्पका सम्भावित हाँगा हुन्। म सबै नयाँ शक्तिप्रति सकारात्मक छु। उनीहरूले देशका अर्थराजनीतिक र भूराजनीतिक समस्यालाई गम्भीरतापूर्वक बुझेर समाधान गर्नुपर्छ; आत्मसन्तुष्ट भएर बस्नु हुँदैन।

अबको राजनीतिक सक्रियता कस्तो रहन्छ?

राजनीति भनेको सत्तामा पुग्ने मात्र होइन। एउटा सत्तामुखी राजनीति हुन्छ र अर्को रूपान्तरणकारी राजनीति हुन्छ। मैले झन्डै दस वर्षदेखि वैकल्पिक राजनीतिको पैरवी गर्दै आएको छु। दुई वर्षअघि संगठित पार्टी राजनीतिबाट जिम्मेवारीमुक्त भए पनि रूपान्तरण र परिवर्तनका लागि गरिने बहुआयामिक राजनीतिमा सक्रिय नै छु। राजनीतिमा विचार, नीति, सामाजिक अभियान र नागरिक तहको हस्तक्षेप पनि महत्वपूर्ण हुन्छ। सधैं कार्यकारी पदमा बसेर मात्र योगदान गर्नुपर्छ भन्ने छैन।

तपाईंका समकालीन नेताहरू पार्टी र सत्ता नेतृत्वमै हुनुहुन्छ; उहाँहरूलाई के सुझाव दिनुहुन्छ?  

उहाँहरू आफैंले समयको माग बुझ्नुपर्छ। उहाँहरूलाई सन्यास लिनुस् भन्न खोजेको होइन र मैले पनि सन्यास लिएको होइन। विचार दिएर, सल्लाह दिएर र नयाँ पुस्तालाई सहयोग गरेर पनि राजनीति गर्न सकिन्छ। सधैं कार्यकारी भूमिकामा बसिरहनु उपयुक्त हुँदैन। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ। पुरानो पुस्ताले नयाँ पुस्तालाई सहयोग गर्ने र आवश्यक पर्दा मार्गदर्शन गर्ने भूमिका निर्वाह गर्नुपर्छ।

तपाईंको राजनीतिक यात्रामा विभिन्न पद र जिम्मेवारीको चर्चा हुने गर्छ; भविष्यमा राष्ट्रपति बन्ने आकांक्षा छ?

यस्ता प्रश्न गर्दा मलाई दुःख लाग्छ। म गाउँको किसानको छोरो हुँ। आमासँग एक डाडु दूध मागेर पनि कहिल्यै खाइनँ। म पद र शक्तिको आकांक्षाले राजनीतिमा लागेको होइन। अहिले पनि त्यस्तो आकांक्षा छैन, भविष्यमा पनि राख्दिनँ।

अन्त्यमा, दस वर्षपछि नेपाल कस्तो बनेको हेर्न चाहनुहुन्छ?

म त नेपाल किन अल्पविकसित भयो र यसलाई कसरी विकसित बनाउन सकिन्छ भन्ने अभियानबाटै राजनीतिमा लागेको हुँ। लोकतन्त्र र जनतालाई अधिकारसम्पन्न बनाउने चरणसम्म हामी आइपुगेका छौं। अधिकारसम्पन्न नभई समृद्धि सम्भव हुँदैन। अब आर्थिक विकास र समृद्धिमा केन्द्रित हुनुपर्छ। स्पष्ट दृष्टिकोण र योजनासहित अघि बढ्न सकियो भने १०/१५ वर्षमा नेपाललाई कम्तीमा मध्यम आय भएको मुलुकको स्तरमा पु¥याउन सकिन्छ। त्यसपछि २०/२५ वर्षमा समृद्ध नेपाल निर्माण गर्न सकिन्छ। त्यसका लागि दूरदृष्टिसहितको योजना बनाउनुपर्छ र इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस