भेनिजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ भने ५० हजारभन्दा बढी मानिस बेपत्ता छन्।
राजधानी काराकाससहितका मुख्य क्षेत्रहरूमा ठूला आवासीय भवनहरू तासको पत्ताझैँ खप्टिएर ढलेका छन्। भग्नावशेषभित्र सयौँ मानिस पुरिएको आशंका गरिएको छ।
भेनिजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले हालसम्म ९२० जनाको शव फेला परेको पुष्टि गरे। प्रभावित क्षेत्रमा व्यापक रूपमा खोजी तथा उद्धार कार्य जारी रहे पनि अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजीएस) को सम्भावित क्षति सम्बन्धी सूचक मोडलिङले मृतकको संख्या आगामी दिनहरूमा अझै भयानक रूपमा बढ्न सक्ने देखाएको छ।
भूकम्पको पहिलो धक्का बुधबार साँझ स्थानीय समयअनुसार ६ बजेपछि सन फेलिपे शहर नजिकै ७.२ म्याग्निच्युडको महसुस गरिएको थियो। त्यसको मात्र ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को विनाशकारी धक्का गएको थियो।
सिस्मोलोजिकल रिसर्च सेन्टर अष्ट्रेलियाका मुख्य वैज्ञानिक एडम पास्कालका अनुसार यो एक दुर्लभ ‘डबलेट’ भूकम्प हो। यसमा सामान्य भूकम्पभन्दा दोब्बर बढी ऊर्जा निष्कासन भएको थियो।
अमेरिकी सञ्चार माध्यम सिएनएनको भिडियो विश्लेषणले विनाशको मुख्य कारण आवासीय भवनहरू ‘प्यानकेक कोल्याप्स’ शैलीमा ध्वस्त हुनु रहेको देखाएको छ। सेन्ट लुइस फायर डिपार्टमेन्टका पूर्व कमान्डिङ अफिसर तथा उद्धार टोलीका विज्ञ ग्रेग फाभ्रेका अनुसार यस प्रकारको दुर्घटनामा भवनका तलाहरू एकमाथि अर्को गर्दै सिधै तल खप्टिन्छन्, जसले गर्दा तल्लो तलामाथि ठूलो भार र दबाब पर्छ।
यसअघि सन् २०२३ को टर्की भूकम्प र १९८९ को क्यालिफोर्निया भूकम्पमा पनि यस्तै प्रकृतिको विनाश देखिएको थियो। दक्षिण अमेरिकामा पर्याप्त भूकम्पीय प्रतिरोधात्मक क्षमता नभएका कमजोर संरचनाहरूका कारण क्षति बढेको विज्ञहरूको विश्लेषण छ।
अमेरिका, मेक्सिको र जापान जस्ता मुलुकको तुलनामा भेनिजुएलामा भूकम्पको पूर्वसूचना दिने सेन्सर प्रणाली छैन। यसले गर्दा मानिसहरू पूर्ण रूपमा तयारीविहीन अवस्थामा परे।
राजधानी काराकासका ३१ वर्षीय स्थानीय जियोर्डी आर्डिलाले भने, ‘हामीसँग भूकम्पीय पूर्वतयारीको संस्कृति छैन। बिजुली गएपछि मात्र हामीले खतरा महसुस गर्यौँ।’ केही नागरिकहरूले भने मोबाइलमा गुगलको एन्ड्रोइड भूकम्प चेतावनी प्रणालीमार्फत कम्पन सुरु हुनु केही समयअघि र पछि सूचना पाएको बताएका छन्।
भूकम्पको समयमा आफ्नी आमाको फ्ल्याटमा जाँदै गरेका १७ वर्षीय विद्यार्थी रोबर्टो क्विन्टेरोले आफ्नो घर अगाडिको विशाल आवासीय भवन तासको पत्ताझैँ ढलेको प्रत्यक्ष देखेका थिए। उक्त दृश्यले आतङ्कित बनेकी उनकी आमालाई प्यानिक अट्याक भएपछि घरभित्रै थुनिएकी थिइन्। पछि छिमेकीहरूको सहयोगमा उनीहरू कार पार्कमा शरण लिन सफल भए।
क्विन्टेरोले भने, ‘हामी अहिले भवनभित्र पस्न सुरक्षित छ कि छैन भनेर नागरिक सुरक्षा विभागको निर्देशन पर्खिरहेका छौँ।’
प्रभावित क्षेत्रमा भारी मेसिनरी उपकरणहरूको चरम अभावका कारण उद्धार कार्य सुस्त बनेको छ। मानिसहरू खाली हातले भग्नावशेष पन्छाउन बाध्य छन्। दोस्रो ठूलो शहर माराकाइबोबाट आफ्नी छोरीको खोजीमा नौ घण्टाको यात्रा तय गरी राजधानी काराकास आइपुगेकी ६० वर्षीया आमा नुबिया गोमेजले आँसु पुछ्दै भनिन्, ‘मैले छोरीलाई मेसेज पठाएकी थिएँ तर उत्तर आएन। पछि इन्स्टाग्राममा भवन भत्किएको भिडियो देखेर म सिधै यहाँ आएँ।’
स्थानीय हार्डवेयर व्यवसायी आर्डिलाले कर्डलेस रोटरी ह्यामर, ग्राइन्डर र स्लेजह्यामर जस्ता आफ्नै औजारहरू ल्याएर उद्धारमा सघाइरहेका छन्। उनले थपे, ‘हामीले यो कठिन परिस्थितिबाट देशलाई सँगै मिलेर बाहिर निकाल्नुपर्छ।’
भौगर्भिक बनोटका आधारमा भेनिजुएला दक्षिण अमेरिकाको सबैभन्दा सक्रिय टेक्टोनिक सीमामा अवस्थित छ। यहाँ क्यारिबियन प्लेट र दक्षिण अमेरिकी प्लेट ठोक्किने गर्छन्।
यस क्षेत्रमा इतिहासमै ठूला भूकम्पहरू गएका छन्। यसअघि सन् १८१२ मा यहाँको बोकोनो फल्ट प्रणालीमा आएको भीषण भूकम्पमा परी झण्डै ३० हजार मानिसले ज्यान गुमाएका थिए।
नयाँ दिल्ली। भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ।
मन्त्रिपरिषद्ले सबै राज्यहरूको सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने यो विधेयक पारित गरेको छ।
सङ्घीय मन्त्रिपरिषद्ले लोकसभामा सीमाङ्कन अभ्यास लागू गर्न संविधानको (१३२ औँ संशोधन) विधेयक, २०२६ र व्यवस्थापिकामा महिलाहरूलाई ३३ प्रतिशत आरक्षण प्रदान गर्न नारी शक्ति वन्दन अधिनियम पनि स्वीकृत गरेको छ।
सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ मा महिला आरक्षणका लागि विशेष प्रावधान थपिएको छ। धारा १० अनुसार प्रत्येक राज्य र केन्द्रशासित प्रदेशलाई लोकसभामा व्यवस्था गरिएको सीट सङ्ख्या र प्रत्येक राज्यको विधानसभाको कुल सीट सङ्ख्यामा पचास प्रतिशत वृद्धि हुनेछ।
यो विधेयकले प्रस्तावित ऐन लागू भएपछि सीमाङ्कन आयोग गठन गरी सीमाङ्कन अभ्यास गर्न खोजेको छ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले लोकसभा सीटमा प्रस्तावित ५० प्रतिशत वृद्धिको पुष्टि गर्दै यसमा आफ्नो दल र व्यक्तिगत समर्थन रहेको बताए।
उनले जनसङ्ख्यामा आधारित सीमाङ्कनका कारण आफ्नो संसदीय प्रतिनिधित्वको हिस्सा गुमाउने डर राखेका दक्षिणी राज्यहरूलाई राहत दिने बताए। संविधान संशोधन विधेयकअनुसार सीमाङ्कनका अङ्कहरू सन् २०५१ सम्म स्थिर राखिनेछ।
अप्रिल १७ मा लोकसभामा दुई–तिहाइ बहुमत जुटाउन असफल भएपछि एनडीएले यो विधेयक प्रस्तुत गर्ने तयारी गरेको हो। कुल ५४३ सदस्यीय सदनमा हाल पाँच रिक्त स्थानलाई ध्यानमा राख्दा प्रभावकारी सङ्ख्या ५३८ छ, जसअनुसार दुई–तिहाइ सीमा लगभग ३५९ मत रहन्छ। संसदीय पर्यवेक्षकहरूले ट्र्याक गरिरहेको सम्भावित परिदृश्यअनुसार राष्ट्रिय लोकतान्त्रिक गठबन्धनअन्तर्गत हाल करिब ३२० सदस्य (२० टीएमसी विद्रोहीसहित) रहेका सत्तारूढ पक्षले आवश्यक सङ्ख्या पुर्याउन व्यापक दलीय समर्थन खोज्न सक्नेछन्।
इन्डिया गठबन्धनको हिस्सा रहेको र लोकसभामा आठ सीट रहेको राष्ट्रवादी काङ्ग्रेस पार्टी (शरदचन्द्र पवार) संसद्मा प्रस्तुत हुने यो विधेयकलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको छ।
जितेन्द्र अव्हाडले पार्टीका प्रमुख शरद पवारसँग छलफलपछि संसद् सदस्यका लागि सीमाङ्कन अभ्यासलाई संवैधानिक दायित्व बताउँदै समर्थन गर्ने बताए।
छलफलको प्रकृति स्पष्ट पार्दै अव्हाडले पत्रकारहरूलाई भने, 'छलफल हाम्रो पार्टीको आधिकारिक अडानबारे थिएन। सामान्य बिन्दु यो थियो कि सीमाङ्कन प्रक्रिया संवैधानिक आवश्यकता हो। सीमाङ्कन प्रक्रियालाई समर्थन गर्ने निर्णय भएको छ, र हामी यसलाई समर्थन गर्नेछौँ।'
'हामी सीमाङ्कनलाई समर्थन गर्नेछौँ,' पूर्व तमिलनाडु मुख्यमन्त्री तथा डीएमके प्रमुख एमके स्टालिनले लोकसभामा राज्यको प्रतिनिधित्वको हिस्सा जोगाउन सुरक्षा उपायको माग दोहोर्याउँदै राज्यको हितमा कुनै पनि सम्झौताको प्रश्न नभएको दाबी गरे।
डीएमके सांसद पी. विल्सनले शुक्रबार भने, 'हाम्रो पार्टीसँग प्रस्तावित सीमाङ्कन अभ्याससम्बन्धी सर्तमा सन् १९७१ को जनगणनामा आधारित तमिलनाडुको विद्यमान ७.१८ प्रतिशत संसदीय प्रतिनिधित्वको हिस्सा जोगाउने र जनसङ्ख्यामा आधारित सीमाङ्कनमा २५ वर्षको स्थिरता सुनिश्चित गर्ने दुई गैर–वार्तायोग्य माग छन्।
यसैबीच, वाईएसआरसीपीले प्रस्तावित सीमाङ्कन विधेयकलाई समर्थन गर्ने झुकाव देखाएको छ, तर विधेयकले क्षेत्रीय सन्तुलन सुनिश्चित गरी राज्यहरू, विशेषगरी दक्षिणी भारतका राज्यहरूको हित र राजनीतिक प्रतिनिधित्व जोगाउनुपर्ने सर्तसहित, पार्टी स्रोतहरूले बताए। काङ्ग्रेस र इन्डिया गठबन्धनका धेरै सहयोगी दलहरूले विधेयकको विरोध गर्ने अडान कायम राखेका छन्। नोभेम्बर ३० मा लोकसभा र डिसेम्बर २ मा राज्यसभाको पुनः बैठक बस्नेछ। एएनआई
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...