भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।
रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।
बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।
‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।
बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको, कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।
बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।
यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
२ घण्टा अघि
•
१ मिनेट पाठ