सरकार र चिकित्सक संघबिच सहमति, आन्दोलन फिर्ता
२५ असार २०८२
•
५ मिनेट पाठ
सरकार र चिकित्सक संघबिच सहमति, आन्दोलन फिर्ता
नेपाल चिकित्सक संघ र सरकारबिच सहमति भएको छ। मंगलबार साँझ सरकारसँगको वार्तामा सहमति जुटेसँगै संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ। उद्योग, आपूर्ति तथा वाणिज्यमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियासमेतको सहभागितामा भएको वार्तामा चिकित्सक संघका मागहरूको यथोचित सम्बोधन गर्न विद्यमान कानुनी एवं नीतिगत व्यवस्थामा आवश्यक संशोधनलगायत विषयमा सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने सहमति भएको छ।




त्यसका लागि उद्योग मन्त्रालयको उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने सहमति भएको छ। कार्यदलमा कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिवस्तरीय प्रतिनिधि सदस्य रहने सहमतिपत्रमा उल्लेख छ। कार्यदलबाट प्राप्त प्रतिवेदन उद्योगमन्त्री, कानुनमन्त्री तथा स्वास्थ्यमन्त्री र नेपाल चिकित्सक संघलगायत सरोकारवाला सम्मिलित वार्ता टोलीमा पेस गरी कार्यान्वयन गर्ने सहमति भएको छ।

त्यस्तै उपभोक्ता संरक्षण ऐन २०७५ लगायतका कानुनी तथा नीतिगत व्यवस्था संशोधनका लागि ११ दिनभित्र मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति लिने र कानुन संशोधनका लागि ‘फास्ट ट्रयाक’बाट प्रक्रिया अघि बढाउन सहमतिपत्रमा उल्लेख छ।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै उपभोक्ता ऐन र मुलुकी ऐन संशोधन गर्नुपर्नेलगायत माग राखेर संघको अगुवाइमा चिकित्सकहरूले सोमबारदेखि आन्दोलन गरेका थिए। आन्दोलनमा उत्रिएका चिकित्सकहरूले देशैभरिका अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा मंगलबार साँझसम्म ठप्प पारेका थिए। उपचारमा लापरबाहीको मुद्दामा बिरामीका आफन्तको पक्षमा उपभोक्ता अदालतले फैसला गरेपछि त्यसविरुद्ध चिकित्सकहरू आन्दोलित  भएका थिए।

उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार रुपैयाँ, हिमाल अस्पताल र उपचारमा संलग्न चिकित्सकले एक करोड ४५ लाख रुपैयाँ र ग्रान्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो।

चिकित्सकको आन्दोलनका कारण दुई दिन बिरामी मर्कामा

चिकित्सक संघको आन्दोलनका कारण उपत्यकाका अस्पतालहरूमा बहिरंग सेवा बन्द भएपछि सोमबार र मंगलबार बिरामीहरूले चर्को मार खेप्नुपर्‍यो। बन्दका कारण टाढाबाट आएका र बन्दका जानकारी नभएका बिरामी अलपत्र परे। मंगलबार दिउँसो वीर अस्पताल हाताभित्र चितवन भरतपुरकी चन्द्रकला मुखिया भेटिइन्। उनका साथमा छोरा र छोरी पनि थिए।

चन्द्रकलाका अनुसार उनीहरू मंगलबार बिहानै चितवनबाट गाडी चढेर वीर अस्पताल आइपुगेका हुन्। अस्पतालमा बहिरंग सेवा बन्दबारे उनीहरू कसैलाई जानकारी थिएन। भरतपुर अस्पतालले कानमा गम्भीर समस्या देखिएकाले शल्यक्रिया गर्नुपर्ने भन्दै वीर अस्पताल रेफर गरेपछि चन्द्रकला छोराछोरीका साथमा काठमाडौं आएकी थिइन्। तर उनले न बेलैमा चिकित्सक भेट्न पाइन् न शल्यक्रियाको निधो नै भयो। ‘काठमाडौंमा हाम्रा कोही छैनन्। होटलमा बस्न पैसा छैन,’ उनले भनिन्, ‘अस्पताल बन्दले गर्दा हामीलाई ठुलो मर्का पर्‍यो।’

उनले साँझसम्म डाक्टर नआए चितवन नै फर्किने बताइन्। तत्काल आन्दोलन रोकिने अवस्था नभएको सुनेपछि चन्द्रकला चिन्तित देखिइन्। ‘ टाढाबाट आयौं तर उपचार हुन सकेन,’ उनले भनिन्, ‘बेकारमा खर्च मात्र भयो।’ आन्दोलन फिर्ता भएसँगै अब उनले बुधबार उपचार लिन सक्ने भएके छ।

दैलेखकी मनरूपा पाण्डे सेवा बन्द भएको थाहा नपाएरै मंगलबार अस्पताल आइन्। मुटुमा समस्या भएर उपचारका लागि दुई साताअघि काठमाडौं आएकी पाण्डे गंगालाल अस्पतालले थप उपचारका लागि रेफर गरेपछि वीर अस्पताल आइपुगेकी हुन्। उनका अनुसार गंगालाल अस्पतालका चिकित्सकले फोक्सोमा समस्या रहेको भन्दै वीरमा पठाएका हुन्। उनी पनि दिउँसोसम्म अस्पताल खुल्ने आशामा अस्पताल हाताभित्रै बसिरहेकी थिइन्। काठमाडौंमा आफन्त नभएका उनी पनि बागबजारस्थित एक होटेलमा बस्दै आएकी छन्।

मंगलबार अस्पताल बन्द भएको थाहा नपाएर आउने अन्य बिरामी पनि थुप्रै भेटिए। तीमध्ये कतिपय सूचनामा पहुँच नभएका बिरामी थिए भने कतिपय वार्तापछि अस्पताल खुल्ला भन्ने आशाले आएका थिए। ‘कुनै न कुनै डाक्टर भेटिए उनीसँगै निजीमा गएर पनि देखाऔंला भनेर पर्खेका हौं,’ रौतहटका एक बिरामीका आफन्तले भने।

अस्पतालमा सेवा बन्द भएपछि धेरैजसो बिरामी मंगलबार पनि अस्पताल पुगेर फर्केको वीर, शिक्षण र पाटन अस्पतालले जानकारी दिएका छन्। संघले उपभोक्ता संरक्षण ऐन र उपभोक्ता अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै सोमबारदेखि अस्पतालको बहिरंग सेवा बन्द गरी हडतालमा उत्रिएको थियो। मंगलबार संघले राजधानीमा विरोध प्रदर्शन पनि गरेको थियो। माग सम्बोधन नभएसम्म हडताल जारी राख्ने घोषणा संघले गरेको थियो।

मानवअधिकार हनन भएको भन्दै उजुरी

अधिवक्ता डा. पे्रमराज सिलवालले नेपाल चिकित्सक संघको पटकपटकको आन्दोलनले नागरिकको मानवअधिकार हनन भएको भन्दै मंगलबार राष्ट्रिय मानवअधिकार आयोग र प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका छन्। संघको पटकपटकको स्वास्थ्य संस्थामा भएको बन्द, हडतालजस्ता कार्य गैरकानुनी भएको बताउँदै उनले त्यसविरुद्ध राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ को दफा १० अनुसार उजुरी दिइएको बताए।

त्यसैगरी संविधानको धारा १६ ले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार पनि हडतालले हनन गरेको, संविधानको धारा ३५ अनुसार स्वास्थ्यसम्बन्धी हकमा आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गर्न नपाइने भन्ने हक पनि उल्लंघन भएको उजुरीमा उल्लेख छ। संविधानको धारा २ मा उल्लेख भएअनुसार प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक, स्वास्थ्य सेवामा समान पहुँचको हक पनि हनन भएको बताइएको छ।

संविधानकै धारा ४४ ले व्यवस्था गरेको उपभोक्ताको अधिकारअनुसार प्रत्येक नागरिकलाई गुणस्तरीय सेवा वा वस्तु प्राप्त हुने हक चिकित्सकको आन्दोलनका कारण हनन भएको आरोप उजुरीमा लगाइएको छ। धारा ४४ कै उपधारा २ अनुसार गुणस्तरीय सेवा वा वस्तुबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक पनि हनन भएको उजुरीमा उल्लेख छ।

यीसँगै अन्य थुप्रै कानुनी अधिकारको हनन भएको उजुरीमा उल्लेख छ। अधिवक्ता सिलवालले कानुन संसद् र क्षतिपूर्ति अदालतले गरेको हुनाले सोहीअनुसारको प्रक्रियामा जानुपर्नेमा सिधै नागरिकको अधिकार हनन हुने काम संघबाट भएको बताए। ‘कानुन चित्त नबुझे अरू माध्यमबाट संसद्लाई सोध्न सकिन्छ, फैसला चित्त नबुृझे उच्च अदालत जानुपर्नेमा सिधै अदालत जानुभयो,’ उनले भने। यसको समाधान कानुन तथा संसदीय तहबाट पनि हुनुपर्ने उनको सुझाव छ।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस