एक सातादेखि दैनिक बढ्दो क्रममा रहेको कोरोना संक्रमणदर शनिबार ७.१ प्रतिशत पुगेको छ। १९ गते पिसिआर विधिबाट परीक्षण गर्दा संक्रमणदर २.६१ प्रतिशत देखिएको थियो। त्यसपछिका पाँच दिनमा संक्रमणदर बढेर ७.१ प्रतिशत पुगेको हो। पाँच दिनको अवधिमा संक्रमणदर ४ प्रतिशतले बढेकोे छ।
छिमेकी मुलुक भारतमा संक्रमणदर उच्च दरमा बढेको छ। नेपालमा ओमिक्रोन संक्रमितसँगै दैनिक संक्रमणदर उकालो लाग्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई सतर्कता अपनाउन अपिल गरेको छ। मन्त्रायलयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ। मन्त्रालयले सबै कोभिड अस्पताललाई व्यवस्थापकीय तयारी तीव्र पार्न पनि निर्देशन दिएको छ। मन्त्रालयले भिडभाड र जमघट नगर्न पनि अनुरोध गरेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू संक्रमित हुनुको कारण पनि पार्टीको महाधिवेशन हो। मन्त्रालयले जमघट तथा भिडभाड हुने कार्यक्रम रोक्ने निर्णय गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए। उनले भने, ‘लकडाउन गर्नेबारे कुनै छलफल भएको छैन, संक्रमणदर उकालो लाग्दै गए भिडभाड र जमघटका कार्यक्रम रोक्नुपर्ने हुन्छ।’ मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा रहन र खोप अभियान तीव्र पार्न निर्देशन दिइसकेको प्रवक्ता अधिकारीले बताए।
पछिल्लो तथ्यांकअनुसार काठमाडौं, ललितपुर, कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको तथ्यांकले औंल्याएको छ। काठमाडौंमा शनिबार ३ सय ६२ जना, ललितपुरमा ९४ जना र कञ्चनपुरमा ५१ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा २१ देखि ४० वर्ष समूहभित्रका धेरै छन्। भारतमा संक्रमणदर बढेपछि नेपालमा पनि बढ्न थालेको त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका कोभिड–१९ संयोजक डा. निरज बमले बताए।
उपत्यकामा दैनिक संक्रमित बढे पनि अस्पतालमा भर्ना हुनेको संख्या भने नबढेको डा. बमले बताए। उनका अनुसार अहिले सो अस्पतालमा १८ जना कोभिड–१९ का बिरामी छन्। तीमध्येमा सातजना आइसियुमा छन्। भर्ना बिरामीमा ६५ वर्षमाथि र त्यसभन्दा तलका उमेरका रहेको डा.बमले जानकारी दिए। भर्ना भएका बिरामी डेल्टा संक्रमित हुन् या ओमिक्रोेन भनेर छुट्टाउन बाँकी रहेको उनले बताए। ‘उस्तैउस्तै लक्षण भएकाले हामीले अन्य कोभिडका बिरामीलाई जस्तै उपचार गरेका छौं, भेरियन्ट हेर्न बाँकी छ’, उनले भने।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा.मनीषा रावलले पनि उपत्यकामा संक्रमित बढे पनि अस्पतालमा भर्ना दर भने नबढेको बताइन्। उनका अनुसार सो अस्पतालमा अहिले ११ जना कोभिड–१९ का बिरामी छन्। तीमध्ये तीनजना आइसियुमा र आठजना क्याबिनमा छन्। भर्ना भएका धेरैजसो ६५ वर्षमाथिका र खोप नलिएका रहेको डा. रावलले बताइन्। ‘खोप नपाएका चाहिँ युवा उमेरका पनि छन्’, उनले भनिन्, ‘संक्रमित संख्या बढे पनि सिकिस्त बिरामीको संख्या बढेको छैन।’ भारतमा संक्रमण फैलिएअनुसार नेपालमा फैलिन थप दुईदेखि तीन साता लाग्ने डा. निरज बमले बताए। ‘भारतमा कोभिड–१९ को असर हेरेपछि नेपालमा त्यसको असर थाहा पाउन केही साता पर्खिनुपर्छ’, उनले भने।
२५ पौष २०७८
•
२ मिनेट पाठ