दाँत उपचारमा अदक्षको बिगबिगी !
१७ फागुन २०८०
•
३ मिनेट पाठ
दाँत उपचारमा अदक्षको बिगबिगी !
दाँत टेढो, बांगो, बिग्रिएको छ भने मिलाउने चाहना सबैको हुन्छ। तर दाँत मिलाउन, भर्न निजी क्लिनिकमा पुगेका कतिपयको उपचारका नाममा उल्टै बिग्रिएको पाइएको छ। निजी डेन्टल क्लिनिकमाथि दाँतमा तार बाँध्ने र दाँत फिक्स गर्ने नाममा झन् बिगार्ने गरेको आरोप लाग्न थालेको छ।  




डडेल्धुराकी २५ वर्षीया सम्झना पन्तका दाँत अमिल्दा थिए। दाँत देखाउन उनी गत असारमा महेन्द्रनगरस्थित विष्ट मेडिकलमा पुगिन्। मेडिकलकी ईश्वरी विष्टले उनको दाँत तारले बाँधिदिइन्। दाँत उपचारका नाममा उनको ८० हजार रूपैयाँ खर्च भयो। ६ महिनापछि उनले दाँतबाट तार निकालिन्। दाँत त सिधा भएनन् नै, उल्टै तलमाथि नजोडिने, मुख बांगो हुनेजस्ता समस्या देखिए। 

मिलाउने नाममा ईश्वरीले सम्झनाका चारवटा दाँत पनि निकालिदिइन्। दाँत झन् बिगे्रपछि उक्त मेडिकलप्रति पन्तको विश्वास टुट्यो। उनले उपचारमा संलग्न विष्टलाई मेडिकल काउन्सिलमा दर्ता भएको प्रमाण देखाउन भनिन्। उनले काउन्सिलमा दर्ता भएको नम्बर दिइन्। र, पन्तलाई उपचारमा लागेको आधा पैसा फिर्ता दिने पनि बताइन्।

पन्त ईश्वरीले दिएको नम्बर भिडाउन नेपाल मेडिकल काउन्सिल पुगिन्। तर त्यो नम्बर कतै दर्ता भएको देखिएन। खोजी गर्दै जाँदा ईश्वरीले दाँत उपचारसम्बन्धी ६ महिनाको तालिम मात्र लिएको पाइयो। पन्तले आफूलाई ठगेको भन्दै कात्तिकमा ईश्वरीमाथि कारबाहीको माग गर्दै उजुरी दिइन्।

तर अहिलेसम्म मेडिकल काउन्सिलले उजुरीउपर कारबाही गरेको छैन। नुबझेकै कारण आफू ठगिएको पन्तको भनाइ छ। ‘सेतो पाेसाकमा मेरो उपचार भएको थियो। सामान सबै दाँत उपचारका थिए तर सेवा दिने व्यक्ति नक्कली भन्ने थाहा भएन,’ उनले भनिन्।

दाँत उपचारका नाममा निजी डेन्टल क्लिनिकबाट ठगिने पन्त एक्ली होइनन्। निजी अस्पतालमा दाँतमा तार बाँध्दा उल्टै दाँत बिग्रेको र किराले खाएको ठाउँमा निश्चित गरी दाँत भर्ने क्रममा भाँती नपुर्‍याउँदा झन् समस्यामा परेको गुनासो गर्ने धेरै छन्। काउन्सिलका अनुसार यस वर्ष दाँतको गलत उपचार गरिदिएको भन्दै कारबाहीको माग गर्ने १५ जना पुगेका छन्। यसरी कारबाहीका लागि उजुरी दिने काठमाडौं उपत्यकासहित बाहिरका पनि छन्।

गत पाँच वर्षको अवधिमा ६० जनाले दाँतको गलत उपचार गरिदिएको भन्दै कारबाहीका लागि उजुरी हालेको जानकारी काउन्सिलका सदस्य डा. कालुसंह खत्रीले दिए। खत्रीका अनुसार धेरैजसो आकर्षक देखिने डेन्टल क्लिनिकमा अदक्ष स्वास्थ्यकर्मीले उपचार गर्दा ठगिएका छन्। ‘कतिपयलाई निश्चित दाँत राखिदिन्छु भनेर नक्कली दाँत राखिदिएको पाइएको छ,’ खत्रीले भने। कतिपय उपचारका नाममा धेरै पैसा असुलेका उजुरी छन्। केही उजुरी बांगो दाँत मिलाउन तार बाँँध्दा झन् समस्या भएको भन्ने छन्।

डा. खत्रीका अनुसार देशैभरि खुलेका आकर्षक देखिने डेन्टल क्लिनिकबाट उपचारका नाममा ठगी भइरहेको पाइएको छ। यस्ता क्लिनिकमा सेतो कोट लगाएर बसेकाको हैसियत नबुझीकन उपचार गराउँदा पनि समस्या आएको खत्री बताउँछन्। ‘हामी सेतो कोट लगाएको देख्यो कि आँखा चिम्लेर विश्वास गर्छौं,’ उनले भने, ‘क्लिनिकमा जानेबित्तिकै काउन्सिलबाट प्राप्त लाइसेन्स मागिहाल्नुहोस्, कहिल्यै ठगिनुपर्दैन।’

काउन्सिलमा उजुरी परेपछि प्रहरीलाई कारबाहीका लागि सिफारिस गरे पनि खासै प्रगति नभएको उनले बताए। काउन्सिलबाट चिकित्सा कर्म गर्न अनुमतिपत्र नलिएकालाई कारबाही गर्ने अधिकार काउन्सिललाई छैन। गलत उपचार गर्ने धेरैजसो काउन्सिलबाट अनुमति नलिएका चिकित्सक र स्वास्थ्यकर्मी हुन्छन्।

डा. खत्रीका अनुसार दाँतको विशेष उपचार गर्न अर्थोडेन्टिस्ट तहको योग्यता हासिल गरेको हुनुपर्छ। तर नेपालमा सबै उपचार स्नातक तहसरह अध्ययन गरेका र सामान्य दाँत भर्ने स्वास्थ्यकर्मीबाटै हुँदा समस्या आएको उनको बुझाइ छ। नेपालमा सञ्चालित डेन्टल क्लिनिकहरूको अनुपातमा अर्थोडेन्टिस्ट विशेषज्ञको संख्या अत्यन्त न्यून छ।
अर्को समाचार
जोगाऔं धुलिखेलका धरोहर!
१७ माघ २०८०
•
७ मिनेट पाठ
जोगाऔं धुलिखेलका धरोहर!
राजधानीबाट अलमलमा परेको मनलाई सान्त्वना दिन सार्वजनिक बस चढेर धुलिखेल बजार चढ्दै गर्दा जहिले पनि डा. सुरेशराज शर्माको आवाज कानमा गुञ्जिरहन्छ। त्यो पनि तीन दशक पहिलेको। काठमाडौँको बसाइ त्यागेर र घरबार माया मारेर धुलिखेलको नेवार बस्तीमा एकाकार भइसकेका बयोवृद्ध शर्माको दलानमा भएको छलफल ताजा हुन थाल्छ। उनले काठमाडौँ विश्वविद्यालय स्थापना गर्दाताकाका उकालीओराली सुनाइरहँदा एउटा मानिस समाज बनाउन प्रतिबद्ध भयो भने कतिसम्म सम्भव हुँदोरहेछ भन्ने जानकारी पाइएको थियो। २०४६ सालको परिवर्तनबाट देशमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भएपछि मुलुकले गर्व गर्न लायक र नेपालीको इज्जत प्रतिष्ठालाई शिखरमा पुर्‍याउने नमुना बनेको थियो, काठमाडौँ विश्वविद्यालय।




गत पुस अन्तिम र माघ दोस्रो साता सञ्चार माध्यममा आएका दुई समाचारले नङ्गसिरी लाग्ने चिसोमा कक्रिरहेको यो स्तम्भकारलाई कसैले एकाएक चिसो पानी खन्याइदिए जस्तो भयो। धुलिखेल अस्पताल र काठमाडौँ विश्वविद्यालयले लगभग तीन दशकबीचमा गरेको राष्ट्रसेवाबाट प्रभावित मलाई ती समाचारले सप्रँदो र हुर्कँदो शिक्षा र स्वास्थ्यको हलक्क बढेको बिरुवामाथि बतास लागेझैँ भयो।

राजधानी नजिकैको काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालले आफ्नो यात्रामा प्राप्त सफलता र अप्ठेराहरूलाई सप्ठेरामा बदल्न त्यसका सर्जकहरूले गरेको मेहनत, परिवारका आकांक्षा पर सारेर जसरी संस्थालाई दहो बनाए आज तिनको सपना र जपनामाथि हुन थालेको तुषारापातले केयुका संस्थापक डा. शर्मा र धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ माकजू श्रेष्ठलाई कसरी पोलिरहेको होला? तिनको नदेखिने तर भित्रभित्रै सैन भइरहेको घाउमा कसरी मलमपट्टी गर्ने होला ? यो सम्झना गरिरहँदा आफैँलाई भतभती पोल्न थालेको छ।

धुलिखेल अस्पताल र काठमाडौँ विश्वविद्यालय

यतिबेला ३३ वर्ष पहिलेको परिदृश्य झल्झली मानसपटलमा आइरहेको छ। जतिखेर नेपालमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भइ संविधान जारी गर्न बनेको सरकार र प्रजातन्त्रपछि मुलुकको भविष्य कस्तो हुने भन्ने विषयमा भएका बहस, छलफल र चिन्तनको झल्को आइरहेको छ। काठमाडौँ विश्वविद्यालय बन्नुभन्दा अगाडि त्यसको प्रारम्भिक नक्सा मैले प्रारम्भमै देखेको हुँ। तत्कालीन सामाजिक सेवा समन्वय परिषद्को कानुनी सल्लाहकारका रूपमा अन्तरिम सरकारका कानुन मन्त्री एवम् संविधानविद् नीलाम्बर आचार्यले भावी समाज कल्याण परिषद्को ऐन बनाउनेलगायत कानुनी सुधारका काम गर्ने गरी यो पंक्तिकारलाई नियुक्त गर्नुभएको थियो।

तत्कालीन रानी ऐश्वर्यको अध्यक्षतामा सञ्चालित त्यो संस्थाको कर्मचारीतन्त्र मिनी दरबारको शैलीमा सञ्चालित रहेछ। अनेकखालका पुनर्संरचनाका खाका बनाउने काम धमाधम सञ्चालित थिए। त्यही सिलसिलामा सानोथिमीस्थित १४, १५ वर्षदेखि अधिकारबिहीन बालबालिकाका लागि प्राविधिक तथा शैक्षिक तालिम कार्यक्रममा भएका गतिविधिबारे जान्न र त्यसलाई समयानुकूल सुधारका लागि सल्लाह गर्न त्यसका महासचिव डा. सुरेशराज शर्मालाई हाल उपराष्ट्रपति भवन बनाइएको लैनचौरमा बोलाइएको थियो। उहाँ एक मुठो नक्सा हातमा बोकेरै बैठकमा प्रवेश गर्नुभयो। बैठक सकिएपछि उहाँले आफूसँग ल्याएको कागजका नक्सा खोलेर नेपालको शैक्षिक सपना देखाउनुभयो। व्याख्या गर्नुभयो र बुझाउनु पनि भयो। उहाँको त्यो नक्सा र सपना अहिलेको काठमाडौँ विश्वविद्यालयको थियो।

काठमाडौँ विश्वविद्यालय नामक नयाँ विश्वविद्यालयले स्वीकृति पाउन लागेको र त्यो धुलिखेलमा स्थापना हुने बताउँदै भवनको नक्सा देखाउनुभएको थियो। उहाँले बताइरहँदा मलाई रत्तीभर विश्वास लागिरहेको थिएन। तर काठमाडौँ विश्वविद्यालय के भयो र कसरी यो सफलताको सिढी चढ्दै गयो? दोहोर्‍याइरहन पर्दैन। पाठकहरू आफैँ जानकार हुनुहुन्छ तर धुलिखेल अस्पतालबारे भने मैले पछि मात्र थाहा पाएँ।

एसएलसीमा बोर्डमा आएका धुलिखेलका प्रतिभावान युवा युरोपमा चिकित्सा शिक्षामा अब्बल भएर निस्केका र त्यही आकर्षक उन्नति फेला पारेका डा. रामकण्ठ विदेशको नाम, काम र अत्याधुनिक सुविधासहितको दाम छाडेर नेपाल फर्के। आफू जन्मेको ग्रामीण क्षेत्र, स्याल कराउने रुखो डाँडोमा समुदायलाई स्वास्थ्य उपचार सेवा सुरु गरे। सम्झदै सुनौला अवसर र सुविधा छोडेर आफ्नै बन्जर पाखोमा जनताको सेवा गर्छु भनेर कुन मुटु र मनले त्यो निर्णय गरेर फर्किएको थियो होला?

उनै रामले खोरिया फाँडेर धुलिखेल अस्पतालको जग हालेका थिए। जो अहिले एमबिबिएसका लागि विद्यार्थीको पहिलो रोजाइको अत्याधुनिक सुविधा सम्पन्न प्रतिष्ठित मेडिकल कलेज बनेको छ। सानो छाप्रोबाट सुरु गरेकोे स्वास्थ्य चौकी धुलिखेल अस्पतालमा रूपान्तरण भइसकेपछि मात्र मेरो डा. रामसँग चिनापर्ची भयो। उहाँको कुरा गर्ने शैली, समयप्रति सचेत, विषयवस्तुमा पकड र धेरै समयदेखि चिनापर्ची भएको मित्र जस्तो व्यवहारले छक्क पाथ्र्यो। तलदेखि माथिसम्मका सबै तह र तप्काका सहकर्मीसँग एउटै बोली र व्यवहार गर्ने, कुरा होइन, जिम्मेवारीअनुसारको काम गर्ने र त्यहीअनुसारको व्यवहार खोज्ने चम्किलो बानी/बेहोराले उनीप्रति थप कौतुहल जाग्यो। कुरा मात्र हो कि काम पनि गर्छन् यी डाक्टर भनेर अस्पताल परिसर घुमेँ। बिरामीहरूसँग कुराकानी गरेँ। उनले भने भन्दा पनि सफा अस्पताल, व्यावहारिक व्यवस्थापन तथा बिरामीप्रति संवेदनशील पाएँ।

४० रुपियाँ तिरेर जुनसुकै विषयको विज्ञलाई जचाउन पाइने, फलोअप हुने र अस्पताल भर्ना भएपछि प्रत्येक बिरामीलाई तीन सय रुपियाँमा तीन छाक खाजा खाना, उपचार र बेड पाइने रहेछ। धनीमानीलाई विशेष सेवा र गरिबलाई त्यसपछि भन्ने चलनै रहेनछ। हाकिम र सामान्य कर्मचारीले खाने खाना पनि एउटै रहेछ, जहाँ अस्पतालका प्रमुख र अन्य कर्मचारी सँगसँगै बसेर क्याफ्टेरियामा खाने र समयाभावको आनीबानी र व्यवहारले साँच्चिकै समाजवादी मोडल त धुलिखेल अस्पताल पो रहेछ भन्ने महसुस गरायो। म मात्र होइन, जोकोही पाठकले धुलिखेल अस्पताल पुगेर र दुर्गम, विकट गाउँहरूमा सञ्चालित धुलिखेल अस्पतालको आउटरिचहरूले दिएको सेवा लिनेहरूले प्रत्यक्ष अनुभव गर्न सक्नुहुन्छ। औषधि पनि बजारभन्दा धेरै सस्तोमा त्यही उपलब्ध हुँदोरहेछ। बिरामी कुरुवाले पनि सय रुपियाँमा बस्न पाउने व्यवस्था रहेछ।

सबैभन्दा गजब त के भने अस्पताल सञ्चालनमा आएपछि धुलिखेलमा निजी क्लिनिक र नर्सिङ होम भन्ने नै नामोनिसान हराएछ। अस्पतालले नै त्यस्तो उत्कृष्ट सेवा दिएपछि डाक्टरहरूको व्यापारमै त्यहाँ पूर्णविराम लाग्न पुगेको देखियो।  

के हुण्डरी पस्यो?

यस्तो सामुदायिक अस्पताल र विश्वविद्यालयबीचको लामो समयदेखिको सम्बन्ध र सहकार्यमा अहिले के हुण्डरी पस्यो र यी दुई संस्थाको सहकार्य धरापमा पर्न पुगेको हो? काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सम्बन्ध भर्खर सुरु भएको होइन। यो सम्बन्धले लामोसमय पार गरिसकेको छ। पाँच कार्यकाल उपकुलपति बनेका डा. सुरेशराज शर्मा र दुई कार्यकाल उपकुलपति बनेका डा. रामकण्ठ मकाजू काठमाडौँ विश्वविद्यालय हाँकिसकेका मुर्धन्य खम्बा हुन्। यी दुवैका कार्यकालमा केयु र धुलिखेल अस्पतालले शिखर चुमेका थिए। यस्ता संस्थापकहरूकै अगाडि यी दुई संस्थाबीच फुट पार्ने अहिलेका गतिविधि किमार्थ क्षम्य होइन। लिखित सम्झौता गरेर यति लामो समयसम्म गतिशीलरूपमा सञ्चालित संस्थाबीच फुटको बिजारोपण देश, जनता र कसैको पनि हितमा छैन। यी दुई संस्थाबीच चिरा पार्नु र टुटफुट हुनु भनेको कुत्सित मनसाययुक्त अपराध हो। जो क्षम्य छैन। यो देश, जनता र धुलिखेलबासीविरुद्ध छ।

चम्किरहेका काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पताललाई नेपालको शैक्षिक तथा स्वास्थ्य सेवाको क्षेत्रमा नमुना विश्वविद्यालय र नमुना अस्पताल भनेर गाउँगाउँ सातै प्रदेश पुर्‍याउनुपर्नेमा कतै विष त पसेको छैन ? जसरी विष राखेको पानीमा निरमसी मिसाउँदा विष फालिदिन्छ, त्यसैगरी यी दुई संस्थामा कहीँ कतै विष छ भने निरमसीको प्रयोग टड्कारो देखियो। यसका लागि काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको स्थापना, विकास र समृद्धिमा सक्रिय सबै एकजुट हुनुपर्छ।

जनताको धरोहरलाई अहिलेको अवस्थासम्म ल्याउन लागिपरेका संस्थापकहरूसँगको हातेमालोबाट मात्र यो सम्भव छ। फौबन्जारहरूको कुत्सित र आपराधिक मनसायलाई मटियामेट पार्न लाग्नुपर्छ। २५ वर्षदेखिको सफलताको सूत्र भाँडेर मटियामेट पार्न उद्यतहरूलाई दण्डित गर्नुपर्छ। तिनका खुराफातलाई सचेत बुद्धिजीवी, प्राध्यापक र नागरिक समाजले टुलुटुलु हेर्न मिल्दैन।

जाग डा. सुरेशराज शर्मा र डा. रामकण्ठ मकाजु। आफू जिउँदो छँदाछँदै स्वास्थ्य र शिक्षाका गर्व गर्न लायक नेपाली धरोहरलाई भत्किन नदेऊ! 
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस