करिब दुई महिनादेखि फैलिएको डेंगुको प्रकोप धरानमा अझै नियन्त्रणमा आउन सकेको छैन। गएको जेठ तेस्रो साता यता डेंगु संक्रमित ८ जनाको मृत्यु भइसकेको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र ३,९८१ जनाको परीक्षण गर्दा २,३५३ जनामा पोजेटिभ देखिएको छ भने संक्रमण दर ५९ प्रतिशत रहेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए।
उपमहानगरपालिकासँग निजी स्वास्थ्य संस्थाहरुमा जाँच गरेको बिरामीको तथ्यांक छैन। धरानको सबै २० वटै वडामा डेंगु प्रकोप छ भने प्रत्येक घरमा डेंगुको बिरामी भएको अनुमान गरिएको छ।
डेंगु संक्रमित ८ जनाको मृत्यु भएको र घरैपिच्छे डेंगुका बिरामी हुँदा पनि स्थानीय सरकारले नियन्त्रण गर्न ठोस कार्य योजना र प्रभावकारी कदम नचालेको भन्दै आलोचना पनि भइरहेको छ।
मेयर हर्क साम्पाङले वडा र टोल विकास संस्थाहरुलाई सर्च एण्ड डिष्ट्रोय अभियान चलाउन आग्रह गरेका थिए भने आफै पनि प्रत्येक दिन दिउँसो विभिन्न टोलमा सर्च एण्ड डिष्ट्रोय अभियानमा जान्छन्। तर, डेंगु नियन्त्रणमा स्थानीय सरकारको भूमिका यतिले नपुग्ने वडा नं १३ का घनश्याम तिम्सिना बताउँछन्।
वीपी प्रतिष्ठानस्थित डेंगु क्लिनिकमा परीक्षण गर्न आएका बिरामीहरू।‘दिनमा एक दुई ठाउँ मात्र अभियान चलाएर हुँदैन। एकै दिन धरानको २० वटै वडामा एकै समयमा वृहत् अभियान हुनुपर्छ, र मात्र हुन्छ,’उनले भने, ‘यसको लागि स्थानीय सरकारले सबैलाई समन्वय गरेर आह्वान गर्नुपर्छ।’
जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँ पनि धरानमा डेंगुको स्रोत (लामखुट्टेको लार्भा) पुर्णरुष्मा नष्ट गर्न व्यापक जनपरिचालन हुन नसके गाह्रो हुने बताउँछन्।
जिल्ला स्वास्थ्यको टोलीसहित धरानको वडा ११, १५, १८ र १७ मा अभियान चलाउँदा प्रत्येक घरमा नै लार्भा देखिएको प्रसाईँले बताए।
‘प्रत्येक घरमा नै लार्भा छ, त्यसैले व्यापक जनपरिचालनसँगै हरेक घरका मानिसले आफ्नो घरमा ५,६ दिनमा ट्यांकी, गमला, पानी जम्ने ठाउँ, बोतल हेरेर नष्ट गर्नुपर्ने देखिन्छ, ’उनले भने, ‘स्थानीय सरकारले नगरेको होइन, तर इफोर्ट अझै पुगिरहेको छैन।’
प्रसाईँका अनुसार मृत्यु भएका ८ जना मध्ये एक जना महिला मात्र डेंगुको कारणले मात्र मृत्यु भएको पुष्टि भएको छ। अन्य ७ जना भने अन्य रोगका पनि बिरामी भएकोले के कारणले मृत्यु भएको हो भनेर थप अनुसन्धान भइरहेको पनि प्रसाईँले बताए।
उनले भने, ‘एक जना डेंगुकै कारण मृत्यु भएको कन्फर्म हो। अरूलाई अन्य रोग पनि थियो। त्यसबारेमा इपिडियोमोलोजीले र वीपी प्रतिष्ठान आफैले पनि अनुसन्धान गर्दैछ।’
वडा र टिएलओहरु परिचालित भएन
मेयर साम्पाङले वडाका टिएलओहरुलाई सर्च एण्ड डिष्ट्रोय अभियान थाल्न भेला राखेर आग्रह गरेको एक साता बितिसकेको छ, तर वडाका जनप्रतिनिधिहरू र टिएलओहरु सक्रिय भएको छैन। केही वडामा सर्च एण्ड डिस्ट्रोय अभियान चले पनि अधिकांश वडाहरू निष्क्रिय छन्। अधिकांश फगिङ मात्र गरेर बसेका छन्।
मेयर साम्पाङले स्थानीय सरकारले आफ्नो तहबाट सक्दो पहल गरेको बताउँछन्।
‘विद्यालयका प्रअहरुलाई बोलाएर विद्यार्थीहरुलाई आफ्नो घरमा लार्भा हेर्ने र नष्ट गर्ने विधि सिकाउन भन्यौँ। टिएलओहरुलाई आग्रह गरेका छौं। सबै नै लागिपर्नुपर्छ, नगरले मात्र गरेर सम्भव छैन, ’उनले भने, ‘टेष्ट किट सरकारसँग मागेका छौं, निःशुल्क परीक्षणको व्यवस्था गछौं। अहिले वीपीमा पनि निःशुल्क परीक्षणको प्रबन्ध छ।’
स्वास्थ्य महाशाखा प्रमुख मेहता पनि जे जति छलफल, बैठक राखे पनि डेंगु नियन्त्रणमा सर्च एण्ड डिष्ट्रोय अभियान नै प्रभावकारी भएको बताउँछन्। नगरको तहबाट भइरहे पनि वडा र टिएलओहरु परिचालन एक्टिभ नभएको उनले गुनासो गरे।
‘वडा र टिएलओहरु जति एक्टिभ हुनुपर्ने हो भएन। फगिङ गरेर मात्र हुँदैन,’ उनले भने।
धरानको मुख्य बजार भानुचोकबाट पूर्वतर्फको निकेतन गल्लीमा लस्करै राँगाको सुकुटी बेच्न राखिएको हुन्छ। मासुका पारखी टाढाबाट यहाँ सुकुटी किन्न आइपुग्छन्। पछिल्लो समय यहाँको सुकुटीको व्यापार पनि फस्टाउँदै गएको व्यापारीको भनाइ छ।
निकेतन गल्लीमा मात्रै सुकुटी बेच्ने पसल एक दर्जन हाराहारीमा छन्। घरमै बनाएर बेच्न सकिने सुकुटीबाट महिलाले जीविकोपार्जन गरिरहेका छन्। फुर्सदमा गफ गरेर बस्नुभन्दा सुकुटीको व्यापार गर्दा राम्रो आम्दानी गर्न सकिने धरान उपमहानगरपालिका–१५ की दिलकुमारी तामाङले बताइन्।
हरेक बिहानको ७ बजे उनी घरबाट निकेतन गल्ली आउछिन्। सोही गल्लीमा सुकुटी बेच्दाबेच्दैँ दिन बित्छ। बिहानदेखि बेलुका ८ः३० बजेसम्म व्यापार गर्दा राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ।
तामाङले बजारबाट दैनिक १५ देखि २० किलो राँगाको मासु किनेर ल्याउँछिन्। अनि आफैँ सुकुटी बनाउँछिन्। त्यसलाई सुकाएपछि बेच्नका लागि तयार हुन्छ। आफूले बनाएको सुकुटी धरानका विभिन्न होटल, रेस्टुरेन्टका साथै भारत, हङ्कङ, बेलायतसम्म पुग्ने गरेको उनले बताइन्।
निकेतन गल्लीमा सुकुटी बेच्दैँ उनले भनिन्,‘अलिक मेहनत गर्ने हो भने सुकुटीबाट मनग्ये फाइदा लिन सकिन्छ। धरानको सुकुटी भनेपछि विदेश पठाउनेहरु पनि धेरै आउँछन्।’
तामाङले यसरी सुकुटीको व्यापार गर्न थालेको सात वर्ष बितिसक्यो। यही व्यापारबाट घरपरिवारको जीविकोपाजृन भइरहेको उनले बताइन्। सुकुटीको व्यापार हेर्दा सजिलो देखिए पनि बनाउन धेरै समय र मेहनत लाग्ने उनको अनुभव छ।
मासु सुकाएर सुकुटी बनाउन दाउराको आगो प्रयोग गर्ने गरेको तामाङले बताइन्। पछिल्लो समय दाउरादेखि मासुको मूल्य पनि बढेकाले समस्या हुँदै गएको उनको भनाइ छ। उनले भनिन्, ‘मेहनतअनुसार कमाइ पनि राम्रै हुन्छ। दुःख गरेको खेर जाँदैन।’
ग्राहकले बजारबाट सुकुटी किनेर घरमा लगेपछि आफ्नो रुचिअनुसार अचार वा तरकारीका रुपमा बनाएर खान सकिने भएकाले मासु पारखीको रोजाइमा पर्ने गरेको तामाङले बताइन्। उनका अनुसार कतिपय व्यापारीले भने सुकुटीको अचार नै बनाए पनि बिक्री गर्ने गरेका छन्।
धरान–१५ की बिनिता गिरी सुकुटीसँगै सुकुटीबाटै बनेको अचार पनि बिक्री गर्छिन्। उनका अनुसार बजारमा अहिले सुकुटीको मूल्य प्रतिकेजी एक हजार छ सयदेखि तीन हजारसम्म पर्दछ। सुकुटीको गुणस्तरअनुसार मूल्य पनि फरक हुने गरेको उनको भनाइ छ।
सुकुटीको अचार प्रतिकेजी १२ सयदेखि १६ सयसम्ममा बिक्री हुने गरेको गिरीले जानकारी दिइन्। सुकुटीसँगै अचार बिक्री गरेर दैनिक २५ देखि ३५ हजारको कारोबार गर्दै आएको उनको भनाइ छ। सात वर्षदेखि सुकुटीको व्यापार गरिरहेकी गिरीले भनिन्, ‘मैले बनाएको सुकुटी धरान, झापा, काठमाडौँदेखि हङ्कङ, बेलायतसम्म पुगेको छ।’
धरानमा तामाङ र गिरी जस्तै सुकुटीको व्यापार गर्ने महिलाको सङ्ख्या बढिरहेको छ। पछिल्लो समय पुरुषको तुलनामा सुकुटीको व्यापार गर्ने अधिकांश महिला छन्। उनीहरुले राँगाको मासु किनेर घरमै सुकुटी बनाएर बेच्ने गरेका छन्। सुकुटीको व्यापारका लागि कतिले भानुचोक, निकेतन गल्लीमा पसल सञ्चालन गरेका छन् भने कतिपयले घरबाट पनि बिक्री गर्ने गरेका छन्।
धरानमा सुकुटीको व्यापार गर्ने महिला कति छन् र उनीहरुको कारोबारको स्तर कस्तो छ भन्ने यकीन विवरण पाउन मुस्किल रहेको स्थानीय बताउँछन्। धेरैले व्यक्तिगत रुपमा घरबाटै व्यापार गरिरहेका छन्।
बजारमा बिक्री गर्न बसेकाहरुसँगको कुराकानीमा दैनिक धरानमा सुकुटीको लाखौँको व्यापार हुने गरेको बताउँछन्। सुकुटीको व्यापार गर्ने दिलकुमारी तामाङले भनिन्,‘एउटै पसलबाट २५/३० हजारको व्यापार हुन्छ। सबैको हिसाब गर्दा त लाखौँ पुग्छ नि।’
विगतका वर्षहरुको तुलनामा कोरोना महामारीपछि सुकुटीको व्यापार अलि कम भएको व्यापारीको भनाइ छ। व्यापारी गिरीले भनिन्, ‘बजारमा सुकुटीको माग अलि खस्किए पनि अरु व्यवसाय जस्तो धेरै घटेको छैन। व्यापार गर्ने बढिरहेकाले सुकुटीको व्यापार फस्टाएकै छ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...