त्रिविमा राजनीतिक दाउपेच, आर्थिक हिनामिना गर्ने व्यक्ति कलेज प्रमुख
२७ जेष्ठ २०७७
•
६ मिनेट पाठ
त्रिविमा राजनीतिक दाउपेच, आर्थिक हिनामिना गर्ने व्यक्ति कलेज प्रमुख
राज्य हाल कोरोना संक्रमणको त्रासको कारण लकडाउनमै रहेको बेला मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयमा राजनीतिक दाउपेच सुरु भएको छ । लकडाउनको फाइदा उठाउँदै विश्वविद्यालयका पदाधिकारीहरूले मनोमानी रूपमा कलेज तथा अध्ययन संस्थानहरूमा दलनिकट कार्यकर्तालाई १४ निकायहरूमा प्रमुखहरूको नियुक्ति धमाधम गरिसकेको खुलेको छ । जसको विरोधमा त्रिवि प्राध्यापकहरू उत्रेका छन् ।




विगत १० दिनभित्र विश्वविद्यालयको उपकुलपतिले राजनीतिक दबाबमै त्रिवि कार्यकारी परिषद्को निर्णय गराई राजनीतिक आस्थाका आधारमा पूर्वएमाले र पूर्वमाओवादीलाई नियुक्त गरेका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँसकोटाले यतिसम्म गरे कि कलेजमा आर्थिक हिनामिना गरी कर्मचारी नियुक्ति गरेको आरोपमा कारबाहीमा परेकालाई समेत दलको मान्छे भन्दै कलेज प्रमुखको नियुक्ति दिन भ्याए ।

सिराहास्थित सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसमा सहप्राध्यापक रामहित यादवको नियुक्ति उपकुलपति बाँसकोटाले गरेका छन् । पूर्वमाओवादी यादव आठ वर्षअघि पनि चार बर्से कलेज प्रमुखको नियुक्ति पाएका थिए । त्यतिबेला उनले आफू कलेज प्रमुख भएलगत्तै आर्थिक प्रलोभनमा परी कर्मचारीहरू नियुक्ति गरेको छानबिन समितिकै रिपोर्टले ठहर गरेका थियो ।  

रिपोर्टले यादवले नियुक्त गरेका कर्मचारीहरू गैरकानुनी तरिकाबाट भएकाले नियुक्ति प्रक्रिया रद्द गर्नुपर्ने र प्रमुख यादवको विकल्प दिनुपर्ने ठहर गरेको थियो, जसका कारण विश्वविद्यालयले कारबाही गरी पदबाट हटाएको थियो । उनको साटो विश्वविद्यालयले सोही कलेजका सहप्राध्यापक कृष्णकुमार यादवलाई प्रमुख बनाएको थियो । तर हाल लकडाउन अवधिमै त्रिविका उपकुलपतिले सोही कलेजमा विवादित व्यक्तिलाई पुनः कलेज प्रमुख बनाउँदा कलेज नै धरासायी हुने त्रिवि प्राध्यापक संघका पूर्वअध्यक्ष योगेन्द्रनारायण बडबडियाको ठहर छ । बडबडिया हाल सोही कलेजका अवकासप्राप्त सहप्राध्यापक हुन् । 

‘लकडाउनमा सबै क्षेत्र बन्द भएको बखतको फाइदा उठाउँदै एकाएक कलेज तथा अध्ययन संस्थानहरूमा विवादित तरिकाको नियुक्ति गरिएको क्षतिबारे कल्पनासमेत गर्न सकिँदैन,’ पूर्वअध्यक्ष बडबडियाले नागरिकसँग भने, ‘उपकुलपति जुन पार्टीको हो त्यो पार्टीलाई सहयोग गर्नेलाई मात्र नियुक्ति दिनुले विश्वविद्यालयलाई धरासायी बनाउँछ ।’ उनका अनुसार विश्वविद्यालयका पदाधिकारीले विश्वविद्यालयको मूल्य, मान्यता र पद्दतिलाई कुल्चेर राजनीतिक दाउपेचको आधारमा नियुक्ति गर्दा विश्वविद्यालयमा शैक्षिक तथा प्राज्ञिक मर्यादा कायम हुँदैन ।’ सो कलेजमा हाल यादवभन्दा आठ जना सिनियर सहप्राध्यापकहरू कार्यरत छन् । यस्तो परिस्थितिमा अन्य प्राध्यापकहरूको मनोबल गिरेको हुँदा यसको नकारात्मक असर सीधै कलेजको पठनपाठनमा पर्ने उनले बताए ।

हाल उपकुलपतिले नियुक्ति गरेका १४ निकायमै पूर्वएमाले र पूर्वमाओवादीकै व्यक्तिहरू छन् । वीरगन्जको ठाकुरराम बहुमुखी कलेजमा हालै नियुक्त गरिएका सहप्राध्यापक राजदेव कुशवाहा पनि पूर्वएमालेकै हुन् । हाल उनी माओवादीनिकट मानिन्छन् ।

हाल ठाकुरराम कलेजलाई क्वारेन्टाइन बनाएको छ । न त्यहाँ पठनपाठनै भएको छ न  अनलाइन कक्षा नै चलेको छ । यस्तो अवस्थामा त्यस कलेजमा प्रमुख नियुक्तिको हतारोले सीधै दलका कार्यकर्ता भर्ना गर्नमात्र नियुक्ति गरिएको प्रजातन्त्र प्राध्यापक संघ नेपालका अध्यक्ष जगत तिमिल्सिनाले बताए ।

उनले एउटै कलेजमा तीन देखि चार कार्यकालसम्म एउटै पार्टीका व्यक्तिले कलेज चलाउँदा विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्केको बताए । उनले विश्वविद्यालयमा शैक्षिक सुधार गर्न पनि योग्यता र क्षमताको आधारमा सक्षम व्यक्ति नियुक्त गरिनुपर्ने ज्ञापनपत्र नै उपकुलपति बाँसकोटालाई सोमबार बुझाएका छन् ।

उपकुलपति बाँसकोटाले लकडाउनको अवधिमा हालसम्म तेह्रथुुुुुम कलेज प्रमुखमा पूर्वएमालेका उपप्राध्यापक निलम खरेललाई नियुक्ति गरेका छन् । खरेलले चार बर्से कार्यकाल समाप्त गरी दोस्रो पटक चार बर्से प्रमुखको नियुक्ति पाएका हुन् ।

गोरखा क्याम्पस प्रमुख उपप्राध्यापक रामशरण बानियाँ पनि पूर्वमाओवादी हुन् । उनी पनि चार बर्से कार्यकाल सकिएर दोहरिएका हुन् । इन्जिनियरिङ अध्ययन संस्थाको सहायक डिनमा प्राध्यापक चिन्तामणि पोखरेललाई नियुक्ति दिएको छ । उनी पूर्वमाओवादी हुन् । कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको सहायक डिन उपप्राध्यापक किशोरचन्द्र दहाललाई डिनको नियुक्ति दिएको छ । उनी पनि पूर्वमाओवादी हुन् । उनी नातामा नेकपाका अध्यक्ष पुष्पकमल दहालका भतिजा हुन् ।

नेपालगन्ज नर्सिङ क्याम्पस प्रमुखमा पूर्वमाओवादी उपप्राध्यापक तुलसा सुनारलाई नियुक्त गरिएको छ । कलेजमा उनीभन्दा वरिष्ठ उपप्राध्यापक अम्बिका चन्दलाई हटाएर उनकै विद्यार्थी तुलसालाई नियुक्ति गरिएको रहस्य खुलेको छ । यसैगरी, लकडाउन अवधिकै नियुक्तिमा त्रिविका पदाधिकारीले शिक्षा, विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा पूर्वमाओवादी प्राध्यापक सुरेन्द्र गिरीलाई नियुक्त गरिएको छ । गिरी शिक्षाशास्त्रको सबैभन्दा कनिष्ठ प्राध्यापक हुन् ।

चितवन इन्जिनियरिङ क्याम्पस प्रमुखमा उपप्राध्यापक सुदीप शर्मालाई नियुक्त गरिएको छ । शर्मालाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दहालको दबाबमा नियुक्त गरिएको त्रिविका प्राध्यापकहरू बताउँछन् । महेन्द्र विन्देश्वरी क्याम्पस प्रमुखमा प्राध्यापक सर्वेशचन्द्र मिश्रलाई पनि दोस्रो पटक प्रमुखमा नियुक्त गरिएको छ । उनीको केही महिनामै कार्यकाल सकिँदैछ ।

यसैगरी, काठमाडौंको रत्नराज्यलक्ष्मी कलेजको प्रमुखमा सहप्राध्यापक जीवनधर ज्ञवालीलाई नियुक्त गरिएको छ । यो नियक्तिबाट पूर्वएमालेका ज्ञवालीभन्दा कलेजमा थुप्रै वरिष्ठ प्राध्यापकहरू निरास बनेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान डिनमा डाक्टर राजेन्द्र हुमागाईलाई अर्को व्यवस्था नभएसम्मका लागि नियुक्त गरिएको छ । उनी पूर्वएमाले हुन् ।

‘डाक्टर गोविन्द केसीको आन्दोलनबाट स्थापित मान्यता वरिष्ठता क्रमबाट नियुक्ति हुने हो भने डिनको योग्य उमेदवार डाक्टर वाइपी सिंह पर्नुहुन्छ,’ प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष तिमल्सिनाले उपकुलपतिलाई ज्ञापनपत्र बुझाए लगत्तै भने, ‘उपकुलपतिमाथि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपतिको दबाब दिब्य सिंहलाई डिन बनाउनुपर्ने भएकोले उपकुलपतिले डाक्टर हुमागाईलाई अर्को व्यवस्था नभएसम्मलाई पूर्णअधिकारसहितको डिन नियुक्ति गर्नुभएको हो ।’ 

उनका अनुसार इन्जिनियरिङ अध्ययन संस्थाको डिन नियुक्तिमा नेकपाभित्र गुट–उपकुटबीच विवाद आएपछि पूर्वएमाले सुशीलबहादुर बज्राचार्यलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त डिन नियुक्त गरियो । विश्वविद्यालयको निकायहरूमा १६ वर्षसम्म अर्थात् चार कार्यकालसम्म एउटै विचारधाराका व्यक्तिहरू नियुक्त हुँदै आएकाले कलेज तथा संस्थानहरूले कोल्टो फेर्न नसकेको हो ।  

लकडाउन खुल्नासाथ हाल भएका नियुक्तिविरुद्ध प्रजातन्त्रवादी प्राध्यापक संघले कलेज, संस्थान र त्रिवि केन्द्रीय कार्यालयमा कडा विद्रोह र आन्दोलन गर्ने अध्यक्ष तिमल्सिनाले बताए । विश्वविद्यालय पूर्ण रूपमा पूर्वमाओवादी र एमालेमय बनेको भन्दै आक्रोसित उनले विश्वविद्यालय कुनै एक दलको नभएर विशुद्ध प्राज्ञिक थलो भएकाले हाल भएका नियुक्तिहरू खारेज हुनुपर्ने माग गरेका छन् । त्रिवि पदाधिकारीले त्रिविमा दलगत आस्थाको आधारमा नभएर त्रिवि ऐन–नियमको आधारमा निश्चित एवं पारदर्शी मापदन्ड बनाएर पदाधिकारी नियुक्ति गरिनुपर्ने प्राध्यापकहरूको माग छ ।

त्रिविका रजिस्ट्रार पेशल दाहालले पहिले नै काम गरिरहेकालाई नियुक्ति दिएको स्वीकार्दै उनले अब बाँकी रहेका कलेज प्रमुख र डिनको नियुक्तिमा मापदन्ड बनाएर जाने दाबी गरे । ‘पहाडतिरका कलेजहरूमा वरिष्ठ नपाएपछि पुरानैलाई दोह¥याइयो,’ रजिष्ट्रार दहालले नागरिकसँग भने, ‘अझै पनि ६ वटा कलेज प्रमुख र पाँचवटा डिन पद खाली छ । मापदन्ड बनाएर नियुक्ति हुन्छ । हाल विश्वविद्यालयका आंगिक कलेज र अध्ययन संस्थानहरूमा नभई नहुनेमा नियुक्ति गरिएको हो ।’ सिराहा क्याम्पसको सवालमा उनले कलेज प्रमुखमाथि प्रक्रिया नपु¥याएर कर्मचारी भर्ना गरेकोमा गलत प्रक्रिया समितिले रद्द गरेको स्वीकारे ।
अर्को समाचार
सीमा समस्यामा राजनीतिक दाउपेच
२३ चैत्र २०७८
•
६ मिनेट पाठ
सीमा समस्यामा राजनीतिक दाउपेच
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग दुई देशबीचको सीमा समस्याको मुद्दा उठाए। सीमा समस्याको विषयमा दुई देशबीचमा बढिरहेको तिक्तता र संवादहीनतालाई चिर्दै देउवाले यो विषय उठान गरेका थिए।




दुई समकक्षीबीच भएको संवादलाई प्रधानमन्त्री देउवाले नै सार्वजनिक गरे। दुई प्रधानमन्त्रीबीच भेट, प्रतिनिधिमण्डल स्तरीय वार्ता र केही सम्झौताहरूपछि देउवा–मोदीको संयुक्त पत्रकार सम्मेलनमा देउवाले भने, ‘हामीले सीमा समस्याबारे पनि छलफल गर्‍यौं। मैले मोदीजीलाई यो विषय स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गरौं भनेको छु।’ प्रधानमन्त्री देउवाले यो विषयमा सार्वजनिक रूपमा बोले पनि भारतीय प्रधानमन्त्री मोदीले प्रतिक्रिया दिएनन्।

प्रधानमन्त्री देउवाको यो भनाइलाई भारतीय विदेश मन्त्रालयले भने पुष्टि गरिसकेको छ। विदेश सचिव हर्षवर्धन शृंगलाले प्रधानमन्त्री देउवाले सीमा समस्याबारे धारणा राखेको प्रस्ट्याए। पत्रकार सम्मेलनमा उनले भने, ‘दुई प्रधानमन्त्रीबीच यस विषयमा संक्षिप्त रूपमा छलफल भएको थियो, दुवै पक्षले यसलाई वार्ताका माध्यममार्फत जिम्मेवारीपूर्ण रूपमा सम्बोधन गर्नुपर्छ भनेर आम समझदारी भयो।’ यति भन्दाभन्दै पनि भारतले सीमा समस्याको विषयलाई नेपालमा राजनीतीकरण गरिएको भन्दै चिन्ता देखायो।

विदेश सचिव शृंगलाले नजिकको सम्बन्ध भएका दुई देशबीचमा सीमा समस्या समाधान गर्नुपर्ने भारतको पनि धारणा रहेको बताउँदै नेपालमा भने राजनीतीकरण गरिएको भनी चिन्ता व्यक्त गरे। ‘हाम्रो नजिक र मैत्री सम्बन्धको भावनाका कारण सीमा विवाद समाधान गर्नुपर्छ। यस्तो विषयलाई राजनीतीकरण गर्नु हुन्न,’ उनले अगाडि भनेका छन्।

नेपालको अवस्था पनि भारतले चिन्ता प्रकट गरेजस्तै नै छ। सीमा समस्या र भूराजनीतिजस्ता संवेदनशील मुद्दालाई राजनीतिक अभीष्टका लागि उछाल्ने प्रवृत्ति मौलाउँदोे छ। जसबाट ‘राष्ट्रवाद’ को भ्रम सिर्जना गरी जनमत बटुल्न दलहरू लागि पर्दा यी समस्या झन्झन् गिजोलिँदै छन्। जसले नेपालको परराष्ट्र सम्बन्ध निकै संकटको अवस्थामा पुगेको जानकारहरूको चिन्ता छ।

यो सिलसिला यसपटक पनि रोकिएन। प्रधानमन्त्री देउवाले भारतमा सीमा समस्यासम्बन्धी मुद्दा उठाएको २४ घण्टा नबित्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवामाथि ‘दलाली गरेको’ आरोप लगाए। उनले सीमा समस्याबारे संवाद सुरु भएकोमा खुसी प्रकट गर्नुभन्दा उल्टै पुराना कुराहरूतर्फ फर्किएर सीमाका मुद्दालाई जोड्दै तितो अभिव्यक्ति दिए।

दिल्लीस्थित नेपाली दूतावासमा नयाँ नक्सा नराखिएको विषयमा उनले देउवालाई नै दोषी देखाए। ‘नेपालको दिल्लीस्थित राजदूतावासमा टाँगिएको फोटोमा नेपालको बुच्चे नक्सा राखिया’छ। योभन्दा राष्ट्रिय दलाली, योभन्दा राष्ट्रको गौरव निहुराउने, योभन्दा लज्जाजनक कुरा के हुन्छ,’ उनले प्रश्न गरे।

यसअघि प्रधानमन्त्री देउवाको ‘सरकारका १०० दिन’ भन्ने पुस्तकमा पुरानै नक्सा प्रयोग भएको विषयलाई पनि ओलीले दलालीको आरोप लगाए। उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीले प्रकाशित गरेको सरकारको १०० दिनमा चुच्चे नक्सा हटाउनुभो। के यो साधारण कुरा हो? भौगोलिक अखण्डताप्रतिको खेलबाड हो।’ उनको यो अभिव्यक्तिबाट सीमा समस्यालाई जोडेर जनमत प्रभावित पार्न खोजेको प्रस्ट संकेत हुन्छ।

मोदीसँगको भेटमा सीमा समस्याको विषय देउवाले उठाउने प्रधानमन्त्रीनिकट स्रोतले भारत भ्रमणअघि नै सार्वजनिक गरेको थियो। त्यसपछि एमाले अध्यक्ष ओलीले चुनावको मुखमा भारत जानुको औचित्यबारे प्रश्न गरेका थिए।

जनमत प्रभावित हुने ओलीको डर

ओली २०७२ मा संविधान जारी भएपश्चात् भारतले लगाएको अघोषित नाकाबन्दीको विरोधमा उत्रिएका थिए। यो विषयमा अर्को प्रमुख दल नेपाली कांग्रेस चुपचाप रहँदा ओलीले विरोध गरेर जनमत आफ्नो पक्षमा पार्न सफल भए। त्यति बेला एमाले नेता कार्यकर्ताले उनलाई ‘राष्ट्रवादी नेता’ का रूपमा प्रचारित गरे।

त्यसबाट हौसिएका ओली त्यसपछि भारतसँगको सीमा समस्या मुखरित भएर बोल्न थाले। त्यसैको बलमा एमालेले लोकप्रियता बटुल्यो। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेर ओली झन्डै दुईतिहाइ बहुमतका साथ प्रधानमन्त्री भए।

त्यसपछि भने उनको राष्ट्रवादी छवि स्खलित हुँदै गयो। चुनावमा देखाएको सीमा समस्या समाधानलगायतका विषयमा उनले कुनै ठोस पहलकदमी गर्न सकेनन्। यसैबीचमा भारतले २०७६ कात्तिकमा आफ्नो नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गर्‍यो। जसमा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको थियो।

त्यसबेला ओली नै प्रधानमन्त्री थिए। भारतको त्यो कदमपछि देशभित्र व्यापक विरोध हुनथाल्यो। अनि सरकारले विरोध गर्दै कूटनीतिक नोट पठाएको थियो। त्यसको भारतीय पक्षले कुनै मतलब गरेन। उल्टै ६ महिनापछि भारतका रक्षामन्त्री राजनाथ सिंहले सोही क्षेत्रमा सडकको ट्र्याक उद्घाटन गरे। त्यसको पनि विरोध गर्दै नेपालले कूटनीतिक नोट पठायो।

यसरी दुईवटा कूटनीतिक नोट पठाउँदा पनि भारतले मतलब नगरेपछि संसद्बाट पारित गर्दै २०७७ जेठ ७ मा ती भूभाग समेटेर नेपाल सरकारले पनि नयाँ नक्सा सार्वजनिक गर्‍यो। जसलाई ‘चुच्चे’ नक्सा भनेर चिनिन्छ। त्यसपछि तत्कालीन प्रधानमन्त्री ओलीले थप वार्ता अगाडि बढाउन सकेनन्। दुई देशबीचको सम्बन्ध चिसिँदै गयो। यसबीचमा परराष्ट्रमन्त्रीस्तरीय र परराष्ट्र सचिवस्तरीय संवाद हुँदा पनि भारतले यो विषयलाई महत्वका साथ लिएन।

यसै क्रममा यसपटकको भारत भ्रमणमा यो विषय प्रधानमन्त्री देउवाले उठाउँदा भारतले गम्भीर रूपमा लिएको अभिव्यक्ति आएको छ। जसबाट सीमा समस्या समाधानको आशा पलाएको छ। यसरी ओलीले नसकेको विषय देउवाले उठाइदिए, जसका कारण ओलीको टाउको दुखाइ सुरु भएको कांग्रेसका नेताहरू दाबी गर्छन्। त्यसैकारण ओलीले जनमत प्रभावित पार्न पुराना तुक नभएका कुरा फलाकेर आक्रोश पोखिरहेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको आरोप छ।

‘उहाँ आफ्नो नाकामी ढाक्न प्रधानमन्त्रीजीमाथि तुच्छ रूपमा देखिनुभो। सबै मिलेर नक्सा जारी गरिएको हो। त्यसपछि उहाँले भारतसँग संवाद गर्न सक्नुभएन,’ उनले भने, ‘देउवाजीले गरेको कुरामा त उहाँले पनि धन्यवाद दिनुपर्ने हो।’ जनमत प्रभावित पार्न यतामात्रै फर्केर कराएर नहुने उनले बताए।

आफूहरूले सीमा समस्यालाई जनमत बटुल्ने मुद्दा कहिल्यै नबनाएको पनि उनले दाबी गरे।

‘हाम्रो पार्टीको सभापति देउवाजीले राष्ट्रिय दायित्वमात्रै पूरा गर्ने प्रयास गर्नुभएको हो। त्यसलाई मत बटुल्ने साधन बनाउँदैनौं,’ उनले भने। यता नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ पनि प्रधानमन्त्री देउवाले पनि सानो स्वरमा बोलेर चुनावी वातावरणमात्रै बनाएको दाबी गरे। ‘उहाँले सानो स्वरमा एकतर्फी बोल्नुभो। मोदीले जवाफ दिनुभएन। यस विषयमा कुनै सहमति पनि भएको देखिएन,’ नागरिकसँग उनले भने, ‘यो खाली जनमत बटुल्ने हतकण्डामात्रै हो। राष्ट्रिय दायित्वका लागि होइन।’

सीमा समस्या, कूटनीतिक सम्बन्ध र परराष्ट्र नीतिलाई राजनीतिक स्वार्थको विषय बनाउनु दुखद रहेको जानकारहरू बताउँछन्। ‘राजनीति गर्ने अन्य तमाम विषय छन्/हुन्छन्। तर सीमा समस्या र कूटनीतिक सम्बन्ध यसरी स्वार्थको विषय बनाइनु हुँदैन,’ भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय भन्छन्, ‘तर हामीकहाँको अभ्यास निकै दुखद छ। यस्ता विषयमा राजनीतिक स्वार्थका लागि बोल्दा वाहवाही त पाइएला, निकास भने दिँदैन। झन्झन् जटिल हुन्छ।’

प्रधानमन्त्री देउवाले सीमा समस्याका विषयमा संवादहीनतको वातावरण हटाएको पनि उनले बताए। ‘जे भएको छ राम्रो भएको छ। मोदीसँगै उभिएर कुरा उठेको छ, जुन कुरा भारतको विदेश मन्त्रालयले पनि स्वीकार गरिसक्यो,’ उनले भने,‘समाधान नै हुँदैन भन्ने छैन। राम्रोसँग छलफल गरे, संवाद गरे यो विषय टुंगो लाग्छ।’ केही समयअघिसम्म बंगलादेशसँग भएको समस्या पनि छलफलका माध्यमबाट टुंगिएको दृष्टान्त सुनाउँदै नेपालले पनि समाधान गर्नसक्ने उनले दाबी गरे।

‘विवाद भारतका लागि पनि उत्पादक हुँदैन। उसले यो कुरा बुझेको छ। बंगलादेशसँगको विवाद बढी नै भूभाग दिएर भारतले समाधान गरेको पनि उदाहरण छ,’ उनले भने। कूटनीतिक सम्बन्ध र विवाद समाधानमा चर्को कुराभन्दा पनि कूटनीतिक कौशल, परिपक्वता र चातुर्‍याइँले बढी काम गर्ने पूर्वराजदूत उपाध्यायले बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस