शिक्षक सडकमा विद्यार्थी कता?
०३ वैशाख २०८२
•
६ मिनेट पाठ
शिक्षक सडकमा विद्यार्थी कता?
‘शिक्षक सडकमा, विद्यार्थी कता ?’ भन्ने प्रश्न अहिले निकै चर्चामा छ। किनभने नयाँ शैक्षिक सत्र वैशाख २ गतेदेखि सुरु भएको छ। यतिबेला सामुदायिक विद्यालयका शिक्षकहरू विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण र विद्यालयभित्र वर्षभरि गरिने शैक्षिक क्रियाकलापको योजना बनाउनमा व्यस्त हुनुपर्ने थियो। तर आफ्नो हकअधिकार सुरक्षित गर्न उनीहरू १४ दिनदेखि देशभरिका सामुदायिक विद्यालय बन्द गरी काठमाडौंको सडकमा आन्दोलनरत छन्। शिक्षकको आन्दोलनका कारण विद्यालय तहका ७० लाख विद्यार्थीको भविष्य अन्योलमा परेको छ। किनभने अझै पनि विद्यालय तहका ८० प्रतिशत बालबालिका सामुदायिक विद्यालयमै अध्ययनरत छन्।




यसपटक राज्यले समयमै पाठ्यपुस्तक विद्यालयमा पुर्‍याएको छ। तर विद्यालयमा विद्यार्थी छैनन्। सरकारी विद्यालयले भर्ना लिन नमानेपछि अभिभावकहरू विद्यार्थी फर्काएर निजीमा भर्ना गराउन थालेका छन्। यसले सामुदायिक विद्यालयको घट्दो विद्यार्थी संख्या शिक्षक आन्दोलनले थप घटाउने निश्चित छ। अर्कातिर प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार शुभकामना सन्देश दिँदै विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन सबैको सहयोगका लागि आह्वान गर्दै सबै बालबालिकाको उज्ज्वल भविष्यको कामना गरे।

‘सन् २०३० सम्ममा दिगो विकासको विश्वव्यापी लक्ष्यहरू हासिल गर्न विद्यालय शिक्षा साधारण र प्राविधिकदेखि उच्च शिक्षासम्मका सिकाइ समावेशी र गुणस्तरीय बनाउनुका साथै सबै शैक्षिक संस्थाहरूलाई उत्कृष्ट ज्ञानकेन्द्र बनाउन सरकार लागिपरेको छ,’ सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘शिक्षालाई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न माध्यम बनाउनुपर्छ। समृद्धिको एक आधारका रूपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्ता लाग्नुपर्छ।’  

एकातिर शिक्षकहरू आफ्नो पेसागत हकअधिकार सुरक्षित गर्न नेपाल शिक्षक महासंघको अगुवाइमा  १४ दिनदेखि देशभरिका सामुदायिक विद्यालयको पठनपाठन तथा समग्र शैक्षिक क्रियाकलाप ठप्प पारेर काठमाडौंको सडक आन्दोलनमा गरिरहेका बेला अर्कातिर वैशाख  २ गतेदेख नै भर्ना अभियान सफल गराउन भन्दै शुभकामना सन्देश दिनुलाई शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइरालाले प्रधानमन्त्रीले रित मात्र पूरा गरेको टिप्पणी गरेका छन्। उनले ‘१४ दिनदेखि शिक्षकहरू सडकमा छन्। विद्यार्थी कता छन् ?’ भन्ने प्रश्न उठाए।

सामुदायिकका शिक्षकहरू स्थायी छन्, उनीहरूको जागिर सुरक्षित छ। त्यसैले पनि उनीहरू निष्फिक्री भएर सडक आन्दोलन गरिरहेका छन्। निजी विद्यालयका शिक्षकहरू केही दिनदेखि आन्दोलनमा रहे पनि फिर्ता बोलाइएपछि उनीहरू नयाँ विद्यार्थी भर्ना, पाठ्यपुस्तक बिक्री–वितरण र वार्षिक शैक्षिक कार्ययोजनामा लागिसकिएको अवस्था छ।

सामुदायिक विद्यालयमा उसै त विद्यार्थी र अभिभावकको विश्वास घट्दो छ, त्यसमाथि शिक्षक आन्दोलनकै कारण भर्ना बन्द हुँदा अभिभावकले छोराछोरीलाई निजीमा भर्ना गर्न थालेका छन्।

२०७५ सालमा तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षक महासंघसँग सम्झौता गरे। त्यतिबेला केपी ओली प्रधानमन्त्री थिए। २०७८ सालमा तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि त्यस्तै सम्झौता गरे। त्यतिबेला शेरबहादुर देउवा प्रधानमन्त्री थिए। २०८० सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री रहेका बेला तत्कालीन शिक्षामन्त्री अशोक राईले पनि शिक्षकहरूसँग विभिन्न सम्झौता गरे।

‘आर्थिक क्षमताले नभ्याउने सहमति तिनै दलका नेताका प्रधानमन्त्री भएकै पालामा भएको छ। सहमति पूरा गर्न नसक्ने भए किन सहमति गरेर शिक्षकलाई भ्रममा पारियो,’ शिक्षाविद् कोइरालाले भने, ‘अहिले सामुदायिक विद्यालयमा भर्ना कार्यक्रम बन्द र निजीमा खुला छ। यसले सामुदायिक विद्यालयलाई घाटा पुर्‍याइरहेको छ। भोलि सरकारीमा विद्यालयमा विद्यार्थी छैन भनेर तिनै शिक्षकले भन्नुपर्ने अवस्था आउँछ।’

यसकारण अब सरकारले शिक्षकसँग बसेर उनीहरूको मागबारे केलाएर ऐन, नियमावली र मन्त्रालयले सम्बोधन गर्न सक्ने विषयवस्तुहरू छुटाएर सम्बोधनको ड्राफ्ट तयार पारी सबै राजनीति दलको हस्ताक्षरसहित अघि बढ्नुपर्छ। यसले शिक्षकहरूमा माग सम्बोधनको विश्वास जगाउने आधार बन्छ। शिक्षकलाई विद्यालयमा छिट्टै फर्काउनुपर्छ।’

संविधानले नै विद्यालय शिक्षा स्थानीय तहलाई दिइसकेकाले विद्यार्थी भर्नाका लागि शिक्षक किन कुर्नुपर्ने ? पालिका र विद्यालय व्यवस्थापन समितिले पनि गर्न सक्ने अधिकार प्रयोग गर्नुपर्ने कोइरालाको सुझाव छ। संविधान जारी भएको नौ वर्षसम्म पनि संविधानअनुकूल शिक्षा ऐन निर्माण हुन सकिरहेको छैन। शिक्षाप्रति राजनीतिक दलहरूको गैरजिम्मेवारी र अक्षमताका कारण ढिलाइ भएको विश्लेषण शिक्षाविद् कोइरालाको छ। ‘संसद् सचिवालयमा दर्ता भएको १९ दिनपछि २०८० असोज १४ गते तत्कालीन शिक्षामन्त्री अशोककुमार राईले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सदनमा पेस गरेका थिए,’ उनले भने, ‘अझै पनि राजाको पालाको शिक्षा ऐनले शिक्षा चलिरहेको छ।

तामझामका साथ भर्ना अभियान सञ्चालन गर्ने चलन उहिलेकै हो। अब शिक्षा पलिकामा गएको छ। वडालाई आफ्ना बालबालिकाको तथ्यांक थाहै छ। कुन विद्यार्थी विद्यालय आएका छैनन्, पालिका र विद्यालय व्यवस्थापन समिति मिलेर भर्ना गर्न सकिने अवस्था छ।’

हाल देशभरिका सामुदायिक विद्यालयमा विभिन्न थरी गरी करिब दुई लाख शिक्षक कार्यरत छन्। राजनीतिक दलकै तथ्यांकअनुसार त्यसमध्ये ८० हजार नेपाली कांग्रेसनिकट छन्, ७० हजार एमालेनिकट र ४० हजार माओवादी केन्द्रनिकट छन्। यसकारण पनि नेता तथा मन्त्रीहरूले शिक्षकहरूलाई मिलाउन सकिने आशाले शिक्षक आन्दोलन र मागबारे हेलचक्र्याइँ गरेको विश्लेषण चौतर्फी भइरहेको छ। यहीबिच सोमबार शिक्षा मन्त्रालय र शिक्षक महासंघबिच भएको छलफलमा सातबुँदे लिखित ड्राफ्ट तयार भएको नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष भागवत पौडेलले बताए।

‘म आन्दोलनमा गएर तीन/चार दिनमै फर्किएँ। मन्त्रालयमा भएको सातबुँदे सहमतिमा इसिडी, राहत, उच्च मावि, करार, प्राविधिक धार, ग्रेड समायोजन, तहगत बढुवा, संस्थागत विद्यालयका शिक्षक–कर्मचारीको पनि सरकारीसरह सेवासुविधाका लागि विगतमा भएको सहमति समेट्ने गरी आधार तय भएको छ,’ पौडेलले नागरिकसँग भने, ‘सातवटा बुँदा शिक्षक र मन्त्रालय दुवैबाट आयो।

यसमा अर्थ र शिक्षा मन्त्रालयले सम्बोधन गर्न सक्ने धेरै बुँदा छन्। सरकारले सम्बोधन गर्दै विश्वासको आधार बनाएर शिक्षकलाई विद्यालय फर्काउने वातावरण छिट्टै बनाउनुपर्छ। सरकार संवेदनशील बन्नुपर्छ। मावि तुलसीपुर सेन्टर दाङ मेरो स्कुल हो। यो स्कुल गत वर्ष देशभरिको उत्कृष्ट स्कुल बनेको थियो। भर्नाको चाप छ। विद्यार्थी लिएर अभिभावक आउनुभएको छ। भर्ना नगरी फर्काउँदा निजीमा भर्ना भइहाल्छन्। आन्दोलनले सरकारलाई हानि छ।’

माग सम्बोधन गर्न सरकार तयार

नेपाल शिक्षक महासंघले उठाएका माग सम्बोधन गर्न सरकार तयार भएको छ । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले शिक्षकका माग पूरा गर्न विद्यालय शिक्षा विधेयक पारित प्रयोजनका लागि वैशाख १२ गते दिउँसो १ बजे संघीय संसद्को बैठक आह्वान गर्ने निर्णय गरेको छ।

त्यस्तै शिक्षकको यथोचित माग सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न संवेदनशील र गम्भीर रहेको पनि सरकारले बताएको छ । शिक्षामन्त्री विद्या भट्टराईका अनुसार महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ।

मन्त्रिपरिषद बैठकले हाल विद्यार्थी भर्ना, एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा  १२ को राष्ट्रिय परीक्षाको बेला भएकाले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी शिक्षकहरूलाई आआफ्नो कार्यथलोमा फर्किन अनुरोध गरेको छ।
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
२२ घण्टा अघि
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस