किताब बोक्ने हातमा दलको झन्डा!
०९ भदौ २०८१
•
८ मिनेट पाठ
किताब बोक्ने हातमा दलको झन्डा!
सबै राजनीतिक दलको संलग्नतामा सरकारले विद्यालयलाई कानुनी रूपमै शान्ति क्षेत्र घोषणा गरे पनि तिनै दलहरूले विद्यालय र बालबालिकालाई आफ्नो स्वार्थअनुकूल प्रयोग गरिरहेका छन्। तीन प्रमुख दलकै भ्रातृ संगठनहरूले विद्यालय तहमै पुगेर आआफ्ना कमिटी विस्तार गरिरहेका छन्।




पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको भदौ १५ गते हुने धादिङ जिल्ला सम्मेलनको तयारीस्वरूप विद्यालयस्तरीय कमिटी गठनलाई तीव्रता दिइएको छ। यसअघि कांग्रेसनिकट नेविसंघ र एमालेनिकट अनेरास्वीयुले पनि एकाइ कमिटी गठन गरिसकेका छन्।

गत साउन  २९ गते धादिङको नीलकण्ठ नगरपालिका–७ स्थित सुनौलो भैरवी माविमा अखिल क्रान्तिकारीको टोली पुगेर विद्यार्थीलाई जबर्जस्ती सदस्यता दिलाई कमिटी गठन गरी बालबालिकालाई मानसिक तनाव दिएका प्रधानाध्यापक पुरुषोत्तम दहालले बताए।

उनका अनुसार बिहान आएको अखिल क्रान्तिकारीको टोलीलाई फर्काइए पनि पछि दिउँसो ४ बजे पुनः स्कुल प्रवेश गरी कक्षाकोठामै पुगेर बालबालिकालाई बलजफ्ती सदस्यता वितरण गरी कमिटी गठन गरिएको छ। कक्षाकोठामै राजनीतिक भाषण र नाराबाजीसमेत भएको विद्यालय प्रशासनले जानकारी दिएको छ।

‘म कामले बाहिर थिएँ। त्यहीबखत क्रान्तिकारीको समूह विद्यालयमा प्रवेश गरी कमिटी गठन गरेछन्,’ प्रअ दहालले नागरिकसँग भने, ‘जिल्लामा धेरै दलका भ्रातृ संगठन छन्। एउटालाई कमिटी गठन गर्न दिँदा अर्कालाई नदिँदा द्वन्द्व निम्तिने संकेत पाएको छु। त्यसकारण कसको अध्यक्षतामा कमिटी गठन भयो भनी लिस्ट माग्दा विद्यार्थीहरू मसँग डराए।’

यस्तो अवस्थाले विद्यार्थीको मनोदशा खलबल्याएको उनले बताए। यसबाट पठनपाठनमा नकारात्मक असर पर्ने उनको भनाइ थियो । राज्यले विद्यालय शिक्षा र बालबालिकालाई शान्ति क्षेत्र घोषणा गरिसकेको अवस्थामा दलकै भ्रातृ संगठन विद्यालयलाई दलको अखडा र बालबालिकालाई दलको कार्यकर्ता बनाइरहेको उनले गुनासो गरे।

‘अखिल क्रान्तिकारीले विद्यालयको पोसाकमै रहेका विद्यार्थीको हातमा झन्डा थमाएर सामाजिक सञ्जालमा फोटो राखी विद्यालयको सामाजिक प्रतिष्ठामा आँच पुर्‍याएको छ,’ प्रअ दहालले भने, ‘यसलाई विद्यालय परिवारले गम्भीर रूपमा लिएको छ।’

सरकारले २०६८ जेठ ११ गते विद्यालय र बालबालिकालाई शान्ति क्षेत्र घोषणा गरी मन्त्रिपरिषद्बाट निर्देशिकासमेत जारी गरेको अवस्थामा दलका भ्रातृ संगठनले विद्यार्थीलाई दलको कार्यकर्ता बनाएर बाल मनोविज्ञानमा नकारात्मक असर पार्नु बालबालिकाको हितविपरीत ठहरिएको बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका संस्थापक कृष्ण सुवेदीले बताए।

‘राज्यले निर्देशिका जारी गरेर बालबालिका र विद्यालयलाई शान्ति क्षेत्र स्विकारेको छ र सबै राजनीतिक दले ऐक्यबद्धता जनाई हस्ताक्षर गरी आआफ्ना घोषणापत्र जारी गरिसकेका छन्,’ सुवेदीले भने, ‘काठमाडौं महानगरले यसको पूर्ण रूपमा पालना गरेको छ। यसले काठमाडौंको सवालमा सार्वजनिक शिक्षा सुधार हुँदै गएको छ।’

उनले अन्यत्र जिल्लामा विद्यालय शान्ति क्षेत्र अभियान कार्यान्वयन नभएको स्पष्ट पार्दै विद्यार्थीको हातमा किताबको साटो झन्डा थमाएर विद्यालयको नामसहितको पोसाक लगाएको तस्बिर समाजिक सञ्जालमा पोस्ट गर्नु अपराध भएको बताए।

‘राज्यले यसविरुद्ध कारबाहीको कडा कदम चाल्नुपर्छ,’ उनले भने। अखिल क्रान्तिकारीको यस्तो गतिविधिलाई विद्यालयका प्रअहरूले रोक्न खोज्दा संगठनका प्रतिनिधिले धम्कीसमेत दिएको बताइएको छ।

विद्यालय शान्ति क्षेत्र निर्देशिकामा विद्यालय शिक्षा क्षेत्रमा बालबालिकालाई राजनीतिमा लगाउन नपाइने, विद्यालयमा हिंसात्मक गतिविधि गर्न नपाइने, बन्दहडताल गर्न नपाइने, बालबालिकालाई दलको सदस्यता दिन नपाइने कानुनी व्यवस्था छ। यही आधारमा सबै राजनीतिक दलहरूले आआफ्ना घोषणापत्रमा समेत यी कुरा उल्लेख गरेका छन्। यसका लागि शिक्षा ऐन तथा नियमावलीसमेत संशोधन गरिएको अवस्था छ।

यति हुँदाहँुदै राजनीतिक दलका भ्रातृ संगठन तथा नेतृत्वहरूले आफ्नो दलगत स्वार्थ पूर्तिका लागि विद्यालयका ससाना नानीबाबुलाई कक्षाकोठमा गएर उनीहरूका कलिला मनमस्तिष्कमा ‘फोहोरी’ राजनीति भरेर पार्टी कार्यकर्ता बनाउनु चिन्ताको विषय भएको धादिङको नीलकण्ठ नगरपालिका–३ का स्थायी बासिन्दा एवं अभिभावक दीपक अधिकारीले बताए।

उनले पछिल्लो समय करिब एक दर्जन सार्वजनिक विद्यालयका बालबालिकालाई बाध्यात्मक रूपमा दलको सदस्यतासमेत वितरण गरेर अखिल क्रान्तिकारीले कमिटी नै गठन गरी नानीबाबुको भविष्यमाथि खेलवाड गरेको बताए।

‘धादिङ जिल्लामा गत साता मात्र करिब एक दर्जन विद्यालयमा अखिल क्रान्तिकारीले कमिटी गठन गरेको छ। १२ देखि १४ वर्षका नानीबाबुहरूको कलिलो मस्तिष्कमा फोहोरी राजनीति भर्दा पनि शिक्षक, प्रअ र पालिकाले वास्ता नगरेकाले बालबालिका अध्ययन गर्ने उमेरमा गलत बाटोतिर लाग्ने त्रास छ,’ उनले भने।

साउन ३१ गते अखिल क्रान्तिकारीले एकै दिन दुई विद्यालयमा कमिटी गठन गरेको विषय आफ्नो समाजिक सञ्जालमा सार्वजनिक गरेको छ। अखिल क्रान्तिकारी धादिङ नामको फेसबुक पेजमा साउन ३१ गते नै दुईवटा विद्यालयमा कमिटी गठन गरेको जानकारी दिई शुभकामना दिइएको छ।

नीलकण्ठ नगरपालिकाको पञ्चकन्या माविको सुवास श्रेष्ठको अध्यक्षतामा ३५ सदस्य एकाइ कमिटी गठन गरेको र सोही दिन नेत्रावती डवजोङ गाउँपालिका सेमजोङमा रहेको चौतारा माविमा आशिष तामाङको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरेको उल्लेख छ।

यसैगरी भैरवी माविको आकृति श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय, सुनौलो भैरवी माविको निकेशा खातीको अध्यक्षतामा २१ सदस्यीय, सरस्वती माविको सञ्जय गुरुङको अध्यक्षतामा ३१ सदस्यीय, लामा गुरु माविमा मनीष गुरुङको अध्यक्षतमा २५ सदस्यीय कमिटी गठन गरेका छन्।

धादिङकै गंगाजमुना गाउँपालिकामा रहेको मण्डली माविको गौतम थापाको अध्यक्षतामा ३६ सदस्य र तामाङखर्क माविका सुमन मगरको अध्यक्षतमा ३१ सदस्य कमिटी गठन गरेका छन् भने नीलकण्ठ माविमा पेम्बा तामाङमा अध्यक्षतामा कमिटी गठन गरेका छन्। यो विद्यालयमा नेविसंघका एकाइ कमिटी अध्यक्ष रोयल तामाङ छन् भने अनेरास्ववियुको अध्यक्ष मदन सेन्चुरी छन्।

क्रान्तिकारीका धादिङ जिल्ला सहसचिव कृष्ण रिजालका अनुसार महाधिवेशनको तयारीका लागि विद्यालयमा राजनीति सचेतना जगाउन कमिटी गरिएको हो। यो जिल्लामा कुल पाँच सय १० विद्यालय रहेकोमध्ये एक सय ६१ मावि सञ्चालनमा छन्। ‘यीमध्ये सय वटा विद्यालयमा कमिटी गठन भइसकेको छ,’ सहसचिव रिजालले भने, ‘अरूमा गठन गर्न समयले भ्याएन। पछि गठन गरिनेछ। राजनीतिक सचेतना जगाउन विद्यार्थीको रुचि अनुसार कमिटी गठन गरिएको हो। विद्यालयले विरोध गरेको भए रोकिन्थ्यो विरोध नगरेपछि हामी अगाडि बढ्यौं।’

‘विद्यार्थीसँग अखिल क्रान्तिकारी अभियानअन्तर्गत नीलकण्ठ नगरपालिका–९ मा रहेको पाल्पा सामरी भन्ज्याङ माविमा आशिष नेपालीको अध्यक्षतामा २५ सदस्य एकाइ कमिटी गठनसहित सदस्यता वितरण गरिएको छ,’ फेसबुक पेजमा उल्लेख छ, ‘नवगठित एकाइ कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्छु।’

क्रान्तिकारीको यस्तो किसिमको सामाजिक सञ्जालमार्फत विद्यार्थीको विद्यालय , विद्यार्थीको हातमा दलको झन्डा बोकेको विद्यालयको बोर्डसहितको तस्बिर सार्वजनिकको रवैयालाई सरोकारवालाहरू तथा शिक्षाविद्हरूले कानुनी अपराध भनेका छन्।

यसैगरी नेविसंघका जिल्ला अध्यक्ष दिनेश श्रेष्ठका अनुसार नेविसंघले ६५ माविमा एकाइ कमिटी गठन गरिसकेको छ। ‘अहिलो हाम्रो सम्मेलन नभएकाले त्यति चासो दिएका छैनौं,’ अध्यक्ष श्रेष्ठले नागरिकसँग भने, ‘विद्यालयमा भइरहेको गतिविधि थाहा पाउन नेविसंघको कमिटी विद्यालयमा गठन गरिएको हो। विद्यार्थीलाई विद्यालय स्तरबाटै राजनीति सचेतना जगाउने हाम्रो उद्देश्य हो। पछि अझै विद्यालयमा एकाइ कमिटी गठन हुन्छ।’ एमालेनिकट अनेरास्ववीयुका इन्चार्ज रक्तिम रेग्मीका अनुसार धादिङ जिल्लाका कुल १६१ माविमध्ये ७५ विद्यालयमा डेढ वर्षअघि नै एकाइ कमिटी गठन भइसकेको छ।

शिक्षाविद् धनञ्जय शर्माले बालबालिकालाई विद्यालयको कक्षाकोठाभित्र कुनै दलका भ्रातृ संगठनले प्रवेश गरी बाध्यकारी रूपमा सदस्यता वितरण गरी दलको कार्यकर्ता बनाउनु कानुनी अपराध भएको बताए।

‘भदौ १५ गते हुने क्रान्तिकारीको सम्मेलनका लागि विद्यालय तहका १२ देखि १४ वर्ष उमेरका नानीबाबुलाई सम्मेलनको प्रतिनिधि बनाएर सम्मेलनमा डाक्नु बालअधिकारविरुद्धको कार्य हो,’ शिक्षाविद् शर्माले भने, ‘राज्यले डेढ दशकअघि नै विद्यालय र बालबालिकालाई शान्ति क्षेत्र घोषणा गरी मन्त्रिपरिषद्ले निर्देशिका नै जारी गरिसकेको छ।

यस्तो अवस्थामा बालबालिकालाई विद्यालयमा प्रवेश गरी राजनीति भाषण सुनाउनु, सदस्य बनाउनु, जिल्ला सम्मेलनको प्रतिनिधि बनाएर सम्मेलनमा डाक्नु बालबालिकाको हितमा हुँदैन।’

उनले यस्ता गतिविधि राज्यले तत्काल रोक्नुपर्नेमा जोड दिए। यस्ता विद्यालयका प्रअ पनि कारबाहीको भागी हुने बताए।

नीलकण्ठ माविका प्रअ धु्व अधिकारीले आफ्नो विद्यालयमा पनि यसअघि नै अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्वीयुले एकाइ गठन गरिसकेको बताए। ‘हाम्रा विद्यार्थीलाई पनि बाहिर बोलाएर तीन प्रमुख दलनिकट विद्यार्थी संगठनले खुसुखुसु एकाइ कमिटी गठन गरिसकेका रहेछन्,’ प्रअ अधिकारीले भने, ‘ती विद्यार्थी पासआउट भएर गइसके। फेरि अधिवेशननजिक आएपछि आउने होलान्। हामी प्रअलाई थाहै हुँदैन।’

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भदौ १५ गते हुने सम्मेलनका लागि विद्यार्थीलाई संगठित मात्र गरेको दाबी गरिन्। ‘विद्यार्थीलाई संगठित हुन पाउने संविधानप्रदत्त अधिकार हो,’ अध्यक्ष सिंहले भनिन्, ‘हाम्रो संगठनले जबर्जस्ती गरेको होइन। सदस्य बन्न चाहने विद्यार्थीलाई संगठित गरेको हो।’

नेपाल शिक्षक संघ धादिङ जिल्ला कार्यसमिति अध्यक्ष देवीप्रसाद छतकुलीले पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठका पालामा शिक्षकहरूलाई दलको सदस्यता त्याग्न लगाएको अवस्थामा दलकै भ्रातृ संगठन विद्यालयमा प्रवेश गरी स्कुले अबोध बालबालिकालाई जबर्जस्ती राजनीति सदस्यता दिएर सम्मेलनको प्रतिनिधिका रूपमा प्रयोग गर्नु कानुनी अपराध हो।

‘वास्तवमा भन्ने हो भने विद्यार्थी राजनीति सकिएको अवस्था हो,’ सालबास माविका शिक्षक छतकुलीले भने, ‘तर जब जिल्ला सम्मेलन हुन्छ, त्यतिखेर दलको कार्यकर्ताहरू विद्यालय केन्द्रित हुन्छन्। सम्मेलन प्रतिनिधि बनाउन खटाउन विद्यार्थीलाई कक्षा छोडाएर प्रयोग गर्छन्। यो धादिङ मात्र नभएर काठमाडौंबाहेक सबै जिल्लाकै दुःखद अवस्था छ। यसलाई तत्काल राज्यले रोक्न कडा कदम चाल्नुपर्छ।’
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
११ मंसिर २०८३
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस