सम्बन्ध सेतु
२५ माघ २०८१
•
४ मिनेट पाठ
सम्बन्ध सेतु
एकातिर तनहुँको आँबुखैरेनी गाउँपालिका। अर्कोतिर चितवनको भरतपुर महानगरपालिका। बीचमा गहिरो न गहिरो त्रिशूली। न यताका मानिस उता जान मिल्छ न उताका यता आउन नै। त्यसैले यी दुई फरक जिल्लाका बासिन्दाका लागि त्रिशूली मित्रतादेखि एकापसमा दुःखसुख बाँड्नसमेत अवरोधक बनेको छ। सर्सर्ती हेर्दा यो ठाउँमा पुल नबनेकाले दुई पालिकाका बासिन्दा मात्र प्रभावित हुने देखिए पनि समग्रमा यहाँ पुल अभावले देवघाट गाउँपालिकाको वडा नं. २,३,४, बन्दीपुर गाउँपालिकाको वडा नं. ६, आँबुखैरेनी गाउँपालिकाको वडा नं. ५ र ६ तथा व्यास नगरपालिकाको वडा नं. १३ र १४ का बासिन्दा निकै अप्ठेरो भोग्न बाध्य छन्।




त्यसो त यो यहाँ पुल नबनेको पनि हैन। ११ वर्षअघि बन्न थालेको पुल अझै सम्पन्न नभएका कारण हजारौँ स्थानीयले दुःख बेहोर्नुपर्ने अवस्था सिर्जना भएको हो। यति लामो समयसम्म पनि पुल नबनेपछि स्थानीय आक्रोशित भएर केही दिनअघि मात्र प्रशासन कार्यालय र सडक डिभिजन कार्यालय घेराउसमेत गरेका थिए। स्थानीयले सरोकार समिति गठन गरेर संगठितरूपमै दबाब दिँदै आएका पनि छन्। तर पनि उनीहरूको माग सुनुवाइ भएको छैन। यो राज्यले आफ्ना जनताप्रति गरेको ज्यादति होभन्दा फरक पर्दैन।

एउटा पुल बन्न कति समय लाग्छ ? सर्वसाधारण र उपभोक्ताहरू यसबारे सूचित हुन पाउनुपर्छ। त्यसैगरी ठेकेदार भाग्यो, सरकारले बजेट छुट्याएन, छुट्याए पनि कम छुट्यायो, विनियोजित बजेट पनि निकासा भएन, सडक डिभिजन कार्यालयका हाकिम फेरिए, निर्माण कार्य कमजोर भएकाले स्थगित गर्न निर्देशन, ठेकेदार भाग्यो...धेरै हुन सक्छन् पुल नबन्नुका कारण। तर यी कारण पुलका उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्दैनन्। यस्तो अवस्थाले पुल निर्माणमा ढिलाइ भएको हो भने त्यस्तो अवस्था सम्याएर अघि बढ्ने दायित्व पनि सरकारकै हो। त्यसैले यो पुल यति लामो समयसम्म पनि बन्न नसक्नुमा पूर्णतः राज्यको लापरबाही देखिन्छ।

स्थानीय तहहरू भ्युटावर बनाउनमा व्यस्त देखिन्छन्। पहाडै पहाडले भरिपूर्ण देशमा तिनका अगाडि वामपुड्के भ्युटावर निर्माण गर्ने प्रतिस्पर्धा नै चल्यो। यस्तो प्रतिस्पर्धामा वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्मको रुचि देखियो। तर करोडौँ खर्च गरेर यस्ता टावर बनाउन तम्सने स्थानीय सरकारहरूले आफ्नै पालिकाबासीलाई फाइदा पुग्ने र आफ्नो क्षमताले भ्याउने पुल निर्माणमा भने रुचि देखाउँदैनन्। सबै काम संघकै मुख ताक्नु पर्दैन। कतिपय काम त स्थानीय तहले पनि गर्न सक्छन् तर यसमा उनीहरू चुकिरहेका छन्। पहिले पहिले धेरै काम स्थानीयको समेत सहभागितामा हुने गरेको हो। अचेल माथितिर ध्यान छ।

अर्को कुरा, अहिले जताततै केबल कार बनाउने होड चलिरहेको छ। मुलुकको विकासका लागि यस्ता संरचना आवश्यक पनि छन्। तर अहिलेसम्म जति केबल कार बनेका छन् वा पाइपलाइनमा छन्, ती सबै सेवाभन्दा व्यापारका दृष्टिकोणले अभिप्रेरित छन्। यस्तो अवस्थामा पुल जस्ता धेरै सर्वसाधारणले फाइदा लिने सक्ने ठाउँमा यस्ता उद्योगी÷व्यवसायीलाई आकर्षित गर्न सक्दा पनि धेरैको कल्याण हुने देखिन्छ। आखिर सामाजिक उत्तरदायित्वअन्तर्गत उनीहरूले पनि समाज र समुदायका लागि केही न केही त खर्चनै पर्छ। यस्तो वातावरण निर्माणतर्फ सोच्न सक्दा पनि सरकारी भार कम हुन जान्छ।

गएको बुधबार मात्र सुर्खेतको बराहताल गाउँपालिका–४ कुटास्थित भेरी नदीमा झोलुंगे पुल निर्माणका क्रममा दुई जना बेपत्ता भए। उनीहरू सोही पुल निर्माणमा संलग्न थिए। यसबाट थाहा हुन्छ कि नदीमा सुरक्षिततवरले पुल हाल्ने तरिकाबाट समेत हामी अनविज्ञ छौँ। यस्तो अवस्थामा सर्वसाधारणका असुविधा हटाउन एक तहको सरकार वा सरकार मात्र पनि पर्याप्त हुँदैन। सबैको होस्टे र हैँसेले नै विकासको प्रतिफल महसुस हुने हो। त्यसका लागि वातावरण भने सरकारले बनाउनुपर्नेमा दुई मत छैन।

आफ्नो मुलुकभित्र सुरक्षिततवरले आवतजावत गर्न पाउनु सबैको नैसर्गिक अधिकार नै हो। बाटोघाटो तथा पुल अभावमा शिक्षा, स्वास्थ्य तथा अन्य अवसरबाट वञ्चित हुन पर्नु आजको युगमा कत्ति पनि सुहाउँदो विषय हुन सक्दैन। पुल अभावमा हामीले ओहोरदोहोर गर्न पाएनौँ र अधिकारबाट वञ्चित भयौँ भन्ने माग राख्नुपर्ने अवस्था यतिबेला राज्यका लागि लज्जास्पद हुनुपर्ने हो तर पनि हामी यही नियतिबाट गुज्रन बाध्य छौँ। राज्य र तीनै तहका सरकारले विकास निर्माणका क्रममा प्राथमिकता तोकेर अघि बढ्न नसक्दा पनि यस्ता समस्या छिमोलिन नसकेका हुन्।

संयोग नै मान्नुपर्छ, यतिबेला केपी शर्मा ओली नै प्रधानमन्त्री छन् जो अघिल्लो कार्यकालमा मुलुकमा तुइन बिस्थापित गर्ने उद्घोष गरेका थिए । विडम्बना भन्नुपर्छ, उनको उद्घोष विपरित अहिले पनि मुलुकमा थुप्रै तुइन उनलाई जिस्काइरहेका छन्। यस्तो अवस्थामा वास्तवमै आफ्नो प्रतिज्ञा पूरा गर्ने हो भने प्रधानमन्त्रीले सबैभन्दा पहिले पुल हाल्ने कामलाई प्राथमिकता दिनुपर्छ किनकि पुल प्रत्यक्ष हेर्दा कंक्रिटको संरचना मात्र देखिए पनि अर्थात् मानिस र जनावर ओहोरदोहोर गर्ने मार्ग मात्र ठानिए पनि वास्तवमा यो शिक्षा, स्वास्थ्य, मित्रता, सद्भाव अनि अवसरहरू पहिल्याउने साँघुसमेत हो। त्यसैले पुललाई पुल मात्र नठानी मानव विकासको एक उचित फड्को ठान्दै प्राथमिकतामा राख्न जरुरी छ। अझ वर्तमान प्रधानमन्त्रीका लागि त यो एकातिर आफ्नै प्रतिबद्धतालाई व्यवहारमा उतार्ने अवसर हो भने अर्कोतर्फ ‘जे बोलिन्छ, त्यो गरेरै देखाइन्छ’ भन्ने दाबी पुष्टि गर्ने उपयुक्त समयसमेत हो।  
अर्को समाचार
जनप्रशासन: राज्य-नागरिक सम्बन्ध सेतु
२४ पौष २०७९
•
९ मिनेट पाठ
जनप्रशासन: राज्य-नागरिक सम्बन्ध सेतु
अहिले नागरिकको तहबाट उठेको सर्वाधिक सरोकार र विरोधको सवाल नै सार्वजनिक सेवा लिन जाने नागरिकले भोग्नुपर्ने अन्योल र अपमान हो। राणाकालीन संस्कार, हुकुमी शैली र अनुशासनहीनताको ज्वलन्त प्रमाण खोज्न सरकारी कार्यालयमा गए पुग्छ। गएको चुनावमा एकजना नवोदित दलका उम्मेदवारले भनेको एउटा वाक्य सर्वाधिक चर्चामा थियो। उनले भनेका थिए, ‘यो कस्तो मुलुक हो जहाँ कर तिर्न जानेले पनि घुस ख्वाउनुपर्छ ?’ सर्वसाधारणले सरकारी कार्यालयमा प्रश्न गर्ने आँट हम्मेसी गर्न सक्दैनन्। कर्मचारीहरू आफूलाई राजाको सिन्दूर पहिरेका आदेशकर्ता र सेवाग्राहीलाई हुकुम मान्ने रैती ठान्छन्।




२०४६ सालको त्यत्रो परिवर्तन, २०६२ को गणतन्त्रको नागरिक सर्वोच्चताको सन्देश, सबै नागरिक अधिकारका आन्दोलनमा संलग्न भएको मात्र होइन कि पेसागत रूपमा पनि शैक्षिक क्षमता भएको, लोकसेवा आयोगको परीक्षणबाट उपयुक्त सावित भएको, अनेक तालिम अनुशिक्षण लिएको र आफू स्वयंको धरातलदेखि सर्वसाधारणसँग नियमित सम्पर्कमा रहेर यथार्थ बुझेको यो पंक्ति यतिबेला राज्यसँगको नागरिक सम्बन्धलाई तिक्त बनाउने प्रमुख कारकका रूपमा बुझिएको अवस्था छ। क्षमतावान कर्मचारी बाहिरी अवसर पाउनासाथ सेवा छोड्न आतुर छन। सेवाकालमा प्राप्त ज्ञानको उपयोग हुन सकेको छैन। वृति विकासको आधार संयोग हुन गएको छ र राष्ट्रसेवकको ध्याउन्न संयोग मिलाउनमा केन्द्रित छ। राज्यको योजना कार्यान्वयन गर्ने सरकारी औजारलाई यसरी पंगु र अपमानित बनाएर कसरी हुन सक्छ राष्ट्रको विकास? असम्भव।

नेताहरूले जतिसुकै ठूला र राम्रा योजनाको कुरा गर्नुहोस्, जनताले पहिले अविश्वास जनाउँछ। त्यो योजनामा आफ्नो भनाइ, पहुँच र भलाइका लागि उसले सम्पर्क गर्नुपर्ने राज्ययन्त्र भनेको सार्वजनिक प्रशासन हो जुन उसको अपनत्व र स्वमित्वमा छैन। वाल्टर लिपम्यानले भनेका थिए-सर्वसाधारणले क्लिष्ट समस्याको सरल समाधानमात्र बुझ्छन्। तर हाम्रो राज्य प्रशासनले सरल र छर्लङ्ग बुझिने कुरालाई पनि यति जटिल प्रक्रियामा हालेको छ कि प्रधानमन्त्रीदेखि सर्वसाधारण र स्वयं कर्मचारीतन्त्र बारम्बार किंकर्तव्यविमुढ अवस्थामा परिरहन्छ।

पञ्चायतकालदेखि यता बारम्बार प्रशासन सुधारका लागि आयोग बने। व्यापक चर्चा भयो। निजामती प्रशासनले गर्व गर्न लायक अधिकारीहरू पनि पायो। भ्रष्टाचार नियन्त्रणको कुरा अत्यधिक हुने मुलुकमा नेपाल पनि पर्छ। नियन्त्रणका लागि अनेक संरचना यसरी बनेका छन् कि लाग्छ कर्मचारीलाई च्याप्न चारै दिशामा सनासो तम्तयार छ। ती कुनै निकायले पनि भ्रष्टाचार नियन्त्रण गर्न अनुसन्धान अध्ययन गरेर सैद्धान्तिक मार्गदर्शन गर्न सकेका छैनन्। प्रतिवेदन र प्रष्टीकरण लिने निकाय यति धेरै छन कि अनेकलाई चित्त बुझाउँदाको फजिती छ। बेनामे उजुरीको भरमा प्रष्टीकरण, निलम्बन र वृति विकासको अवसरबाट विमुख भएर वर्षौँ थन्किनुपर्ने त्रासदीपूर्ण अवस्थामा राष्ट्रसेवक छन्। यसको कारण के होला?

व्यवहारसिद्ध उखान छ, अति सर्वत्र वर्जयेत। हामी अति–कानुनले पीडित छौँ। त्यसमाथि हजारौँ नियमावली र कार्यविधिको चाङ छँदैछ। सामान्यतया कानुन बनाउन २ देखि ३ वर्ष लाग्छ। त्यो कानुनको नियमावली बनाउन न्यूनतम १ वर्ष लाग्छ। अर्को १ वर्ष कार्यविधि बनाउन लाग्छ। अर्थात राज्यले देखेको सपनाको कार्यारम्भ गर्न कमसेकम ४ वर्ष लाग्छ। कार्यविधि बनेपछि स्रोत संरचना आदिको पालो आउँछ जुन कुरा, जहाँ कङ्गाल-त्यहाँ चण्डाल भनेजस्तो मुलुकमा जुटाउनु र जुराउनु साह्रै कठिन कर्म हो। अनि किन पत्याउनु जनताले जबकि ईश्वर कृपा भयो भने मात्र सरकारले पूरा पाँच वर्षको आयु पाउँछ।

हाम्रो वंशाणु (जिन)मा सामन्तवाद छ जसले कसैलाई विश्वास गर्न दिँदैन। अरूलाई कठोरतापूर्वक नियन्त्रण नगरी ठूलो होइन्न भन्ने मानसिकताले ग्रस्त भएर कानुन बनाइन्छ। कानुन निर्माण र सुधारको क्षेत्रमा अन्वेषण अनुसन्धान लगभग शून्य छ। कानुन आयोगलाई संवैधानिक, शक्तिशाली र प्रभावकारी बनाउने कुरामा स्वयम् वरिष्ठ वकिल अध्यक्ष रहेको संविधानसभाले किन ध्यान पुर्‍याएन होला? नेपाल बार र वकिल साहेबहरू आन्दोलनको अग्रपंक्तिमै थिए। कानुनले नागरिकको अनुकूल व्यवहारलाई सहजीकरण गरिदिने हो। त्यसमा विघ्न हाल्नेलाई नियन्त्रण गर्ने हो। नागरिकको सम्पूर्ण व्यवहार कुन कानुनअन्तर्गत पर्‍यो/परेन भनेर रोकछेक गर्ने अधिकार सरकारलाई हुँदैन।

नागरिकको व्यवहार अनन्त हुन्छ। अपराधबाहेक हरेक कर्म गर्न सार्वभौम नागरिक स्वतन्त्र छ। कानुनले नागरिकको अधिकार थप्न सक्छ, घटाउन पाउँदैन। कर्मचारीले सर्वसाधारणको हितमा थप अनुशासन कबोल गर्नुपर्छ। सेवाग्राहीको हितार्थ उसले पेसागत बन्देज सहनुपर्छ। निजामती वा सार्वजनिक कर्मचारी र नागरिकबीच अधिकारको मामिलामा रहने भिन्नता त्यत्ति हो। कर्मचारीले विवेक प्रयोग गर्न नपाउने हुँदैन। असल मनसायले गरेको काममा ऊ दोषको भागी हुँदैन। मुख्य कुरा नतिजा हो। नवप्रवर्तन गर्न, सिर्जनशीलता थप्न र परिणामको आधारमा आफ्नो योग्यता सावित गर्न कर्मचारी पनि स्वतन्त्र हुनुपर्छ। कागज र अक्षरका लागि जीवन होइन चाहे ती अक्षर संविधानमा लेखिएको होस् कि कानुनमा। सबै अक्षर नागरिकको सर्वोच्चता र हितको रक्षा र विकास गर्नका लागि लेखिएका हुन्। नागरिक चेतनाले बेगवान फड्को मारिरहने हुनाले एउटा नागरिकको हैसियतले सरकारी कर्मचारीको व्यवहार पनि कानुन नियम कार्यविधि लगायतको सुधार परिमार्जन गर्ने आधार हो।

अहिले हामीले तत्काल सच्याउनुपर्ने भनेको कार्यविधि हो, कार्यसंस्कृति हो। र, कानुनको प्रगातिशील व्याख्या गर्ने चलन तुरुन्तै चलाउन सकिएन भने हाम्रो भविष्य छैन। अब पनि जनताले पत्याइराख्लान् भनेर सोच्नु भन्दा ठूलो मुर्खता अरू केही होइन।जनताले सरकारलाई चिन्ने/छाम्ने भनेको सार्वजनिक प्रशासनबाट मात्र हो। सरकार कस्तो छ? भनेर नागरिकलाई सोधियो भने भन्नेछन्, हाकिमजस्ता छन् त्यस्तै। सरकारले बजेट पठाउने, कर्मचारीले टेन्डर जारी गर्ने र ठेकेदारले विकास गर्ने ढाँचाबाट जनता वाक्क भैसके। अति कानुनबाट आजित भएर भारत सरकारले हजारभन्दा बढी कानुन निरस्त गरिसक्यो। सिङ्गापुरमा लि क्वान युले विकासका मामिलालाई अदालती परीक्षणको दायरा बाहिर लगे। उनले विज्ञहरूको विश्वासयोग्य टोली बनाएर अनुगमन नियन्त्रण गर्ने व्यवस्था गरे जुन सर्वस्वीकार्य भयो। उनले भनेका थिए– वकिल विकास विज्ञ होइन र विकासका बहुआयामिक विषयलाई अदालतको झन्झटिलो र ढिलो प्रक्रियामा हाल्न सकिन्न।

नेपालमा त्रस्त मानसिकताले ग्रस्त कर्मचारीतन्त्र छ।कामपिच्छे कानुन/नियम हुँदै कार्यविधि नबनुन्जेल उसले काम गर्दैन। अनेक नियन्त्रणकारी जञ्जालबाट बच्न सकेसम्म धेरै ठाउँबाट सहमति लिने र आफ्नो स्तरबाट हुनु/गर्नुपर्ने निर्णय पनि मन्त्रिपरिषद् मा लगेर निर्णय गराउने गरिन्छ। उदाहरणको लागि कुनै बाटो बनाउन रुख काट्नुपर्ने भएमा यति लामो र यति चौडा क्षेत्रको रुख काट्ने भनिदिए हुन्थ्यो। तर वन कार्यालयले अरूलाई किन विश्वास गरोस् ? उसको कर्मचारीले एक-एक रुख गनेर प्रतिवेदन दिन्छ। अनि वनको स्थानीय कार्यालयबाट त्यो सिफारिस इलाका, जिल्ला,प्रदेश हुँदै वन विभाग, मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुग्छ।मन्त्रिपरिषद्ले निर्णय गरेर स्वीकृति आउन्जेल सय पचास नयाँ बोट हुर्किसकेका हुन्छन्। जति नयाँ बोट फेला पर्‍यो त्यसको स्वीकृति लिन फेरि उही तरिका अपनाउनुपर्छ। कहिले सम्भव छ यसको समाधान? कसैले कसैमाथि विश्वास नगर्ने र मन्त्रिपरिषद् आफूसँग जति बढी स्वीकृति माग्न आयो त्यति दङ्ग पर्ने भएपछि के हुन्छ?

अख्तियार, महालेखापरीक्षक, राष्ट्रिय सतर्कता केन्द्रलगायत सबैले कामैपिच्छे अनेक प्रष्टीकरण मागेर हैरान पारेकै हुन्छन्। सरकारी निर्देशनअनुसार काम गर्दा कुन चाहिँ निकायलाई चित्त बुझ्दैन र कारबाही थालिहाल्छ। अचम्म के छ भने सम्पूर्ण प्रमाण कर्मचारीले नै जुटाउनुपर्छ। नियामक निकायको रवाफ श्री ३ को पालाको कमान्डिङ जरसाहेबको भन्दा कम हुँदैन। काम गर्दा सानोतिनो गल्ती भेट्टाएछन् भने त्यसलाई सच्याउन मद्दत गर्नुको साटो अनेक बबण्डर खडा गरिन्छ। हरेक निकायले यसरी फर्मान गर्छन्, मानौँ देशको सर्वोच्च आदेश उनीहरूकै मात्र हो। सबै मन्त्रालयले आआफ्नो हैकम रहने गरी कानुन बनाउने गर्छन्। कानुनी सिद्धान्तको बारेमा न्यून ज्ञान भएका सांसद पनि कर्मचारीको प्रस्तावमा साथ दिनबाहेक खासै योगदान गर्न सक्दैनन्।

एउटा मन्त्रालयले अर्को मन्त्रालयको नियमावली कार्यविधिलाई कुनै हालतमा मान्यता दिँदैन। थलोमा उपलब्धि हेर्ने चलन छैन। कागजमा सबै दुरुस्त पार्ने, अनेक निकायसँग सहमति लिने अनि मात्र काम गर्ने संस्कृति नेपालको जनप्रशासनमा व्याप्त छ। एउटै कार्यालयमा फाँटपिच्छे नागरिकतालगायत सबै प्रमाणको फोटोकपी बुझाउनुपर्ने तहको बेथिति छ। अब नेपाली नागरिकले कतिवटा परिचयपत्र बोक्नुपर्ने हो ? नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट, प्यान, मतदाता परिचयपत्र र शायद जग्गाधनी प्रमाणपुर्जा पनि। अनि मन्त्री/प्रधानमन्त्रीलाई लाग्छ– उनीहरूको काम निर्देशन दिनु हो।

संसदीय समितिको त झन कुरा गरिसाध्य छैन। उनीहरूको बैठक चलेको बेलामा हरेक समितिले भरमार निर्देशन जारी गरेको गरै हुन्छन्। हाँस्यास्पद त त्यतिबेला हुन्छ जब यति घण्टा वा दिनभित्र फलानो काम सकेर जाहेर गर्नू भनेर निर्देशन जारी गरिन्छ र निर्देशन पाठ गर्ने सभापतिको ढाँचा हेर्दा लाग्छ, उनमा त्यो घडीमा विश्व विजयको उल्लास छ। यो स्थितिमा कर्मचारीले नियमावली र कार्यविधिमा प्रष्ट उल्लेख भएबाहेकको काम गर्न मान्दै/मान्दैनन्। र, त्यो पनि दशतिरको सहमति लिएर मात्र गर्छन्। यसकारण कि सबैको जिम्मेवारी कसैको पनि जिम्मेवारी नहुने गरी जवाफदेहीबाट मुक्त हुन पाइयोस्।

थोरै कानुन र विस्तारित सुशासन आजको मान्यता हो। विषयगत कार्यविधि नियमावली बनाएर त्यसअनुसारको दिग्दर्शन बनाएमा थोरै कानुनले धेरै विषय ओगट्न सकिन्छ। सेवाग्राहीले नियमानुसार गर्‍यो कि गरेन भन्ने कुरामा थलोमा अनुगमन गर्ने, सहजीकरण गर्ने, नियमन गर्ने र अन्त्यमा मात्र कारबाही गर्ने प्रक्रिया बसाल्न सकिन्छ। डेस्क आधारित प्रशासनिक प्रबन्ध गरेर सेवाग्राहीले तोकिएको एक व्यक्तिबाहेक अन्त जानु नपर्ने प्रबन्ध गर्न सकिन्छ। सिङ्गो राज्य प्रशासनलाई विषयगत ढाँचामा ८-९ वटामा विभाजित गरेर त्यसअनुसारको तालिम केन्द्र खोलेर आवासीय र विद्युतीय तालिम दिने र त्यसैअनुसारको नियुक्ति वा पदोन्नतिको व्यवस्था गर्न सकिन्छ। विद्युतीय दस्तखत र प्रणाली अपनाएर अद्यावधिक अभिलेख प्रणालीमार्फत सेवा दिन थाल्ने हो भने क्षमतावान कर्मचारीले आफ्नो रुचिअनुसारको विषयगत मन्त्रालय अन्तर्गतका सेवा छनोट गर्नेछन्। सेवाग्राहीलाई प्रक्रियाजन्य मामिलामा सहयोग गर्ने सेवालाई निजी क्षेत्रको जिम्मा पनि लगाउन सकिन्छ। अहिले कुनै कर्मचारीलाई कारबाही गर्ने कुरा फलामको च्युरा चपाएसरह गाह्रो छ। अचम्म त यो छ कि सेवाबाट बर्खास्त गर्नसमेत लोकसेवा आयोगको स्वीकृति लिनुपर्छ। नियुक्ति दिनेले बर्खास्तको स्वीकृति कसरी देला?

नयाँ सरकार साझा कार्यक्रम बनाउँदैछ। मलाई लाग्छ, संविधानको दूरदृष्टिका आधारमा नागरिकलाई केन्द्र भागमा राखेर सबैको सरोकारको उद्देश्य मिल्दो रणनीतिक लक्ष्यमात्र निर्धारण गर्न सकिएला। जस्तै-आत्मनिर्भर-सचेत-संगठित-नेतृत्वदायी-र मर्यादित नागरिक।योजना छनोटको मामिलामा आमूल परिवर्तन गर्नुपर्छ।अंग्रेजीमा पेडागोजी भन्छन्। जसको अर्थ हो-उपभोक्ताको प्रस्ताव सक्रियता र अनुगमनमा आधारित योजना छनोट प्रणाली। यस्तो योजना छनोट प्रणालीमा राजनीतिक दलबीच जनताको योगदान नेतृत्व र अनुगमन प्रथालाई स्थापित गर्न आपसमा प्रतिस्पर्धा होस्।

यति बुद्धि नपुर्‍याइदिनाले विकासका काम सरकारको मात्र हो, हामीले भनेको सरकारी ढुकुटीबाट सकेसम्म लुछ्ने हो भन्ने मानसिकताले गर्दा हरेक ठाउँमा स्थानीयको असहयोग हुने गरेको छ। लोकतन्त्रको प्राण नागरिक बहसमा आधारित हुन्छ। तर चलते चलाते योजना बाँड्ने र सम्भव/असम्भव फर्मान जारी गर्ने वंशाणुगत सामन्ती चिन्तनबाट नेतृत्ववर्गले मुक्ति नलिउन्जेल हामीले असल संस्कार निर्माण गर्न सक्ने छैनौँ। ख्याल रहोस्, आफ्नो चुलोसँग नजोडिने विकासप्रति जनताको चासो र समर्थन हुँदैन।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस