तामझामपूर्ण तरिकाले पोखरामा आइतारदेखि सडक महोत्सव शुरु भएको छ। अंग्रेजी नयाँवर्षको स्वागतार्थ रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराद्वारा पर्यटकीय केन्द्र लेकसाइडमा आयोजित पोखरा सडक महोत्सवको २७ औं संस्करण आईतबारदेखि शुरु भएको हो।
महोत्सवको उर्जामन्त्री कुलमान घिसिङले औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन्। महोत्सवको उद्घाटन अघि हल्लनचोकदेखि झाँकीसहितको र्याली निकालिएको थियो। विभिन्न जातजातिले आआफ्नो सांस्कृतिक झाँकीसहित सहभागी भएका थिए।
महोत्सव उद्घाटनमा बोल्दै घिसिङले पोखरा पर्यटनको हव भएकाले यससँग अन्य सहर र देशको कनेक्टिभिटी बढाउनुपर्ने बताए। पोखरालाई सडक र हवाई दुवै मार्गबाट कनेक्टिभिटी सहज बनाउनुपर्ने उनको भनाई थियो। उनले पोखराको गहना र पर्यटकीय केन्द्र भनेकै फेवाताल भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए। ‘स्थानिय र प्रदेश सरकारले फेवातालको संरक्षणको प्रयास गरिरहेको थाहा पाए,’ उनले भने,‘यसमा संघ सरकारको पनि भूमिका हुनुपर्छ, यसका लागि म प्रयास गर्छु।’
फरक प्रसंगमा मन्त्री घिसिङले फागुन २१ गतेको चुनावलाई सफल बनाउनु अहिलेको सरकारको मुख्य काम भएको बताए। चुनावले देशलाई स्थायित्वतर्फ लैजाने भन्दै उनले भने, ‘फागुन २१ मा चुनाव हुन्छ र हुनुपर्छ।’ उनले चुनाव नभए देश अस्थिरतामा जाने चेतावनी दिए। उनले चुनाव हुँदैमा समस्या समाधान नहुने बरु चुनावपछिको सरकार कसको हो भन्नेले महत्वपूर्ण अर्थ राख्ने उनको भनाई छ। चुनावमा जनता पनि सचेत हुनुपर्ने उनले बताए। चुनाव पछि देशले आर्थिक परिवर्तनमा फड्को मार्नुपर्छ र त्यसका लागि देशमा सहि नेतृत्व आवश्यक रहेको भन्दै उनले अगाडि थपे,‘संसद र सरकारमा सहि व्यक्तिलाई चुन्नुहोला। यसमा विशेष ध्यान दिनुहोला।’
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्र्तर्राष्ट्रिय उडान नियमति बनाउनका लागि पहल गर्न मन्त्री घिसिङलाई आग्रह गरे। उनले भने,‘जिओपोलिटिक्सको कुरा के हो हामीलाई थाहा भएन र मतलब पनि भएन, तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालन गर्ने वातावरण मिलाउन म आग्रह गर्छु।’
‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ शुरु भको महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको अवसरमा लेकसाईडकको खहरेदेखि अम्बोटसम्मको करिब साढे ३ किलोमिटर क्षेत्रमा सडकमै खानाका परिकार व्यावसायीले पस्किनेछन्। महोत्सवस्थल लेकसाईडलाई अहिले दुलही झैं सिंगारिएको छ। जहाँ सडक क्षेत्रको आकासमा ध्वजापताका लगाइएको छ भने बिजुलीबत्तीले झकिझकाउ पारिएको छ। रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पोखरामा पाहुना तान्न यस्तो महोत्सवले सघाउने बताए।
महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता मेला संयोजक वसन्त गौतमले जानकारी दिए।
बाँके, बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ।
केही दिनयता प्रेमको दिनचर्या बदलिएको छ। उनी हिजोआज बिहानै ताउमा सिंगाडा टिप्न पुग्ने र दिनभर बिक्री वितरण गर्ने कार्यमा व्यस्त छन्। परम्परागत सिंगाडाखेतीलाई व्यावसायिक रूप दिएर कश्यपले एकै सिजनमा करिब रु चार लाख आम्दानी गर्दै उदाहरणीय किसानको पहिचानसमेत बनाएका छन्।
वार्षिक रु २० हजार तिर्ने गरी गाउँपालिकासँग १५ कट्ठाभन्दा बढी क्षेत्रफलको तलाउ भाडामा लिएर कश्यपले वर्षौंदेखि सिंगाडाखेती गर्दै आएका छन्। अन्य अन्नबालीको तुलनामा कम लगानी र थोरै मिहिनेतमा राम्रो प्रतिफल पाइने भएकाले यस पेसाप्रति आकर्षित भएको प्रेमले बताए।
“अहिले सिंगाडाको सिजन हो, सिजनभर ६० क्विन्टलभन्दा बढी सिंगाडा बिक्री गर्छु,” कश्यपले भने, “प्रतिक्विन्टल रु छ हजारका दरले गाउँबाटै बिक्री भइरहेको छ, व्यापारीहरू खोज्दै गाउँमै आउने भएकाले बजारको कुनै चिन्ता छैन।”
कश्यपका लागि सिंगाडाखेती केवल व्यवसाय मात्र होइन, पुख्र्यौली विरासत पनि हो। बाउबाजेका पालादेखि चल्दै आएको यही पेशाले उनको आठ जनाको परिवारको जीविकोपार्जन धानेको छ।
सिजन सुरु भएसँगै कश्यप परिवारलाई बिहानदेखि साँझसम्म तलाउबाट सिंगाडा टिप्न, सफा गर्न र तौलेर व्यापारीलाई बुझाउन भ्याइनभ्याइ हुन्छ। माग अत्यधिक भएका बेला उहाँले चार–पाँच जना ज्यालादारी मजदुरसमेत लगाएर सिंगाडा टिप्ने गरेका छन्।
असार महिनामा तलाउको पानीमा बीउ रोपेपछि कात्तिक र मङ्सिर महिनामा सिंगाडा टिप्न तयार
हुन्छ। एकपटक रोपेपछि सिजनभर तीन पटकसम्म फल टिप्न मिल्ने कश्यपको अनुभव छ। “सिंगाडाको बीउ असार महिनातिर पानीमा हाल्छौँ, कात्तिक–मङ्सिर महिनामा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मिहिनेत र लगानी गर्नुपर्दैन”, कश्यपले भने, “रोपेपछि दुई/तीन पटकसम्म आवश्यकताअनुसार किराबाट जोगाउन विषादी हाल्छौँ, भिटामिन पनि हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ।”
चाडपर्व र मेलामा अत्यधिक माग
बाँकेका विभिन्न तलाउ तथा पोखरीहरूमा सिंगाडाखेती हुने गर्छ। बाह्रै महिना नपाइने भएकाले कात्तिक–मङ्सिरको सिजनमा यसको माग उच्च रहन्छ। विशेषगरी चाडपर्व, व्रत र स्थानीय मेलाहरूमा सिंगाडाको खपत ह्वात्तै बढ्ने गर्छ। व्रत बस्नेहरूले सिंगाडालाई उसिनेर, पिसेर हलुवा बनाई खाने तथा तरकारीका रूपमा समेत प्रयोग गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। यस वर्षको कार्तिक पूर्णिमा मेलामा मात्रै ठूलो परिमाणमा सिंगाडा खपत भएको कश्यपले बताए। नेपालगञ्जका खुद्रा व्यापारीहरू ताजा सिंगाडा किन्न सिधै नेवाजीगाउँ पुग्ने गरेका छन्।
उत्पादन र स्थानीय बजार राम्रो भए पनि भारतबाट अवैध रूपमा भित्रिने सिंगाडाले कहिलेकाहीँ स्थानीय किसानलाई मर्कामा पार्ने गरेको छ। भन्सार छली चोरीको बाटो हुँदै भित्रिने भारतीय सिंगाडा नेपालगञ्ज बजारमा सस्तो दरमा बिक्री हुन थालेपछि आफूहरूले पनि बाध्य भएर मूल्य घटाउनुपर्ने अवस्था आउने गरेको कश्यपको गुनासो छ। सीमा नाकामा कडाइ गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सके गाउँकै तलाउबाट अझै बढी आम्दानी गर्न सकिने उनको विश्वास छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...