कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ हात्तीभोजाका किसान आश्रयराम बडायकले १० बिघा जमिनमा सिर्जन अनुसार विभिन्न खेति गर्दै आएका छन् । बडायकले उक्त जमिनमा एक बिघा जतिमा गँहु, ६ बिघामा उखु, डेढ बिघामा मकैं र डेढ बिघामा तोरी खेति गरेका छन् । बडायकले यी सबै बालीनालीमा विषादी र रासायनिक झोल मल ड्रोनबाटै हाल्ने गरेका छन् ।
आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेश सरकारको कृषि विकास निर्देशनालय डोटीबाट नवीन प्रविधि अन्तर्गत ५० प्रतिशत अनुदानमा बडायकले ड्रोन खरिद गरेका थिए । उक्त ड्रोन १३ लाख रुपैयाँमा खरिद गरिएको थियो ।
खरिद मूल्यमा निर्देशनालयको साढे छ लाख रुपैयाँ र बडायकको साढे छ लाख रुपैयाँ लगानी थियो । ड्रोन खरिद गरेको तीन वर्षपछि मात्रै सञ्चालनमा ल्याइएको थियो । चालु आव २०८२/८३ को साउन १५ गतेदेखि ड्रोन प्रयोग गरिएको थियो ।
‘ड्रोनलाई दर्ता नगरी उडान गर्न नमिल्ने रहेछ । ड्रोनलाई सञ्चालनमा ल्याउन पहिला त उड्डययन मन्त्रालयमा दर्ता गर्नुपर्ने रहेछ । प्रशासनिक कामले गर्दा सञ्चालन गर्न ढिलो भएको हो,’ किसान बडायकले भने ।
उक्त ड्रोन रिमोर्ट र नेटको प्रयोगबाट सञ्चालन गर्न सकिने छ भने ड्रोनको ट्यांकी १८ लिटरसम्म रहेको छ । ड्रोनमार्फत करिब १५ मिनेटमा एक बिघामा विषादी छर्न सकिन्छ ।
बालीनालीमा रोग–किराको प्रकोप देखिँदा मल वा विषादी हाल्न निकै समस्या हुन्छ । उखु र मकैका बोट अग्लो हुने भएकाले हाते मेसिनबाट सबै ठाउँमा पु¥याउन पनि नसकिने र विषादी छर्किंदा शरीरमा पर्ने जोखिम पनि नहुने । अहिले बडायकले बालीनालीमा मल वा विषादी ड्रोनबाटै छर्किने गरेका छन् ।
‘बालीनालीमा मल र विषादी झर्किदा शरीरमाथि पर्थ्यो । विषादी शरीरमा पर्दा श्वास र छाला सम्बन्धी रोग लाग्छ । कतिसम्म भने केही किसानलाई क्यान्सरसमेत लागेको देखिन्छ,’ किसान बडायकले भने, ‘अब ड्रोनबाट विषादी हाल्न थालेपछि यो सबै समाधान हुनेछ ।’
सामान्यतया एक बिघा जमिनमा मल र विषादी हाल्न तीन घण्टासम्म लाग्ने गरेको भए पनि अहिले ड्रोनमार्फत छर्किंदा १२ देखि १५ मिनेटमै छर्कन सकिने किसान बडायक बताउँछन् ।
ड्रोनबाट विषादी छर्किंदा समयको सदुपयोग हुने त छँदैछ अर्कोतर्फ सुरक्षा जोखिम पनि कम गर्न मद्दत पुग्ने बडायकले भने । किसान बडायकले ड्रोन सञ्चालन सम्बन्धी तालिम भारतको गुजरातमा लिएका थिए । सबै बालीनालीमा मल र विषादी छर्कन ड्रोनको प्रयोग गर्न सकिने छ ।
‘मैले ड्रोनबाट बालीनालीमा मल र विषादी छर्न थालेको छु । छरछिमेका किसानले पनि हाम्रोमा ड्रोनमार्फत मल र विषादी छर्किदिनु भन्दै माग आउँछ,’ किसान बडायकले भने, ‘अहिले सेवा प्रदायक रूपमा काम गरेको छैन । अहिले व्यक्तिगत रूपमा मात्रै प्रयोग गरेको छु ।’
ड्रोनको व्याट्री एउटा मात्रै हुँदा ड्रोनलाई बडायकले व्यक्तिगत रूपमा मात्रै प्रयोगमा ल्याएका छन् । किसान बडायकले भने, ‘मसँग यसको ब्याट्री व्याकअप कम छ । एक पटकको चार्जले १५ मिनेटसम्म मात्र धान्छ । मसँग एक सेट मात्रै छ । मैले दुई÷तीन सेट ब्याट्री मगाएको छु । ब्याट्री आएपछि अरु किसानकोमा पनि सेवा दिन्छु ।’
बालीनालीमा मल र विषादी छर्कन ड्रोनको माग थुप्रै आउने गरेको बताउँदै किसान बडायकले बालीनालीमा भन्दा पनि उखु किसानहरूको माग बढी आउने गरेको बताए ।
किसान बडायकले भने, ‘ड्रोनको माग बढी नै छ । आगामी दिनमा ड्रोनको सेवा अरु किसानलाई पनि दिने छौं ।’
कास्की। कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ।
सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर रु ६८ देखि रु ७१ सम्म मात्र पाउँदै आएको र यो मूल्यले किसानको उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको जनाएको छ।
सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ। जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए।
दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष बरालको भनाइ छ। 'उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन्। त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ। भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ,' उनले भने।
उपभोक्ताको हित र बजारको अवस्थालाई समेत मध्यनजर गर्दै किसानले प्राप्त गर्ने दूधको मूल्य कम्तीमा प्रतिलिटर रु ८० कायम गर्न आफूहरुले सरकारसँग माग गरिरहेको अध्यक्ष बरालले बताए। दूधको मूल्य बढाउन मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले सरकारसँग लामो समयदेखि माग गर्दै आए पनि माग पूरा नभएको बताइन्छ।
किसानले दूधको मूल्य वृद्धिसँगै किसानले दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार र खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन तथा उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। त्यस्तै, पशुमा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।
पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको बताए। उनका अनुसार यसबीचमा दाना–चोकरको मूल्य २५ प्रतिशतभन्दा बढिसकेको छ। 'दाना–चोकरको मूल्य महिनैपिच्छे रु १० देखि रु १५ सम्म बढ्छ। हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ। यही अवस्था रहिरहने हो भने यसरी किसान कसरी बाँच्ने ? पशुपालनबाट पलायन हुनुको विकल्प छैन,' लामिछानेले भने।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहेको भए पनि दूधको मूल्य बढ्ने आशामा किसान तीन वर्षदेखि कुरिरहेको बताए। उपभोक्ताले बजारमा दूध किन्दा चर्को मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उनी बताउँछन्।
'किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ। उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ। किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन ?' अधिकारीको प्रश्न छ। रासस
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...