विद्युत् प्राधिकरणको नाफा पाँच अर्ब ३९ करोड घट्यो
०२ भदौ २०८२
•
५ मिनेट पाठ
विद्युत् प्राधिकरणको नाफा पाँच अर्ब ३९ करोड घट्यो
नेपाल विद्युत् प्राधिकरणको व्यापार वृद्धि भए पनि नाफा घटेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा विद्युत् बिक्रीबाट एक खर्ब २५ अर्ब २७ करोड ७० लाख रूपैयाँको आम्दानी गरेको भए पनि नाफामा गिरावट आएको छ।




प्राधिकरणले वार्षिकोत्सवमा आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफा पाँच अर्ब ३९ करोड ५० लाख रूपैयाँले घटेको छ। प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणको नाफा १३ अर्ब ३० करोड रूपैयाँ थियो। गत आव २०८१/८२ मा प्राधिकरणको नाफा नौ अर्ब ६ करोड रूपैयाँ मात्र कायम भएको छ।

चुहावटमा वृद्धि, अमेरिकी डलरको मूल्य बढेकाले विदेशी ऋण भुक्तानी गर्दा धेरै रकम खर्च भएकाले नाफा घटेको प्राधिकरणले जनाएको छ। त्यसैगरी डेडिकेटेट र ट्रंक लाइनको बक्यौता नउठाएर त्यसका लागि राखिएको प्रावधानका कारण पनि ब्यालेन्स सिटमा नाफा घटेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणको कुल सम्पत्ति भने बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा सम्पत्ति ६.२ प्रतिशतले वृद्धि भई गत आव २०८१/८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड रूपैयाँ पुगेको पर्छ। प्राधिकरणको कुल सञ्चालन खर्चमा १०.१५ प्रतिशतले बढेको छ।

जापानी येन, अमेरिकी डलरलगायत विदेशी मुद्रामा भएको अधिमूल्यनका कारण मात्रै अडाइ अर्ब रूपैयाँ बराबरको नोक्सानी भएको प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले बताए। ‘प्रशासनिक खर्च वृद्धि र औसत विद्युत् बिक्री मूल्यमा कमी आउँदा नाफामा केही कमी देखिएको छ’, शाक्यले भने।

विद्युत् बिक्रीसहित अन्य स्रोतबाट आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा कुल आम्दानी एक खर्ब ३८ अर्ब ८७ करोड रूपैयाँ पुगेको छ। प्राधिकरणका अनुसार सञ्चालन खर्च, ब्याज खर्चलगायत सम्पूर्ण खर्चसहित कुल खर्च एक खर्ब २९ अर्ब ८१ करोड रूपैयाँ खर्च भएको छ। डेडिकेटेड लाइन तथा नेपाल सरकारसँग बाँकी रहेको बक्यौताको प्रभिजनिङ गर्दा करिब साढे पाँच अर्ब रूपैयाँ नोक्सानी थप भयो।

विद्युत् निर्यात भने बढेको छ। भारततर्फ भएको विद्युत् निर्यात अघिल्लो आवको तुलनामा २२.३३ प्रतिशतले वृद्धि भई दुई हजार ३८० गिगावाट घण्टामा पुगेको छ। सोही अवधिमा नेपालले एक हजार ७१२ गिगावाट घण्टा विद्युत् आयात गरेको छ।

विद्युत् निर्यातबाट प्राधिकरणले गत आवमा १७ अर्ब ४७ करोड १० लाख रूपैयाँ आम्दानी गरेको छ। प्राधिकरणले भारत विद्युत् निर्यात गर्दै आएकोमा गत वर्षदेखि बंगलादेश पनि निर्यात सुरु गरेको छ।

भारत विद्युत् निर्यातका लागि ३० वटा जलविद्युत् केन्द्रहरूबाट उत्पादन हुने कुल एक हजार १० मेगावाट विद्युत् बिक्रीका लागि भारत सरकारबाट अनुमति पाएको छ। नेपालले भारतबाट १२ अर्ब नौ करोड रूपैयाँको बिजुली आयात गरेको छ। गत आवमा विद्युत् व्यापारमा नेपाललाई चार अर्ब ५७ करोड पाइदा भएको छ।

प्राधिकरणका अनुसार राष्ट्रिय विद्युत् प्रणालीमा जडित कुल क्षमता तीन हजार ५९१ मेगावाट पुगेको छ। गत आव २०८१/८२ मा मात्रै ४३४ मेगावाट विद्युत् उत्पादन क्षमता थपिएको छ। यसमध्ये प्राधिकरण तथा सहायक कम्पनीहरूको योगदान १५३.५ मेगावाट र निजी क्षेत्रको योगदान २९०.५ मेगावाट रहेको छ।

कुल विद्युत् उत्पादनमा प्राधिकरण तथा सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत, स्वतन्त्र विद्युत् उत्पादकहरूको योगदान ५५ प्रतिशत र ११ प्रतिशत विद्युत् भारतबाट आयात गरेर विद्युत् आपूर्ति गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका विद्युत् उपभोग गर्ने ग्राहक ४.६ प्रतिशतले वृद्धि भई ग्राहक संख्या ५७ करोड एक लाख पुगेको छ। प्राधिकरणका अनुसार उपभोक्तामा राष्ट्रिय ग्रिडको पहुँच करिब ९८ प्रतिशत पुगेको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले विद्युत् उत्पादनमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए। नेपाल खुद विद्युत् निर्यातकर्ता देश बनेको र ७५३ स्थानीय तहमध्ये ७३४ स्थानीय तह अर्थात् ९७.५ प्रतिशतमा विद्युत्को पहुँच पुर्‍याउन निजी क्षेत्रको पनि योगदान रहेको बताए।

सरकारले लिएको लक्ष्यअनुसार २८ हजार ५०० मेगावाट उत्पादन पुर्‍याई १५ हजार मेगावाट निर्यात गर्न सके वार्षिक पाँच देखि सात खर्ब रूपैयाँ देशमा ल्याउन सकिने र हालको वार्षिक ४०० किलोवाट प्रतिव्यक्ति विद्युत् खपतलाई एक हजार पाँच सय किलोवाट पुर्‍याएर १३ हजार ५०० मेगावाट खपत गर्न सके अर्थतन्त्र लगभग चार गुणाले वृद्धि हुने डाँगीले बताए।

आगामी १० वर्षसम्म वार्षिक दुई हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्न सके करिब ४५ खर्ब लगानीयोग्य रकम आय भई सोही रकमले नेपाल सरकारले निर्धारण गरेको लक्ष्य पूरा गर्न सकिने विश्वास व्यक्त गरे।

गुणस्तरीय बिजुलीमा सरकार कटिबद्ध: मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले गुणस्तरीय विद्युत् आपूर्तिमा सरकार कटिबद्ध रहेको बताएका छन्। नेपाल विद्युत् प्राधिकरणको ४० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री खड्काले सुरक्षित, गुणस्तरीय र भरपर्दो विद्युत् प्रवाहलाई मुख्य आवश्यकता ठहर गर्दै प्राधिकरणलाई स्मार्ट प्रविधि प्रयोगमार्फत विद्युत् चुहावट न्यूनीकरण गर्न निर्देशन दिए।

विगतका वर्षमा निजी क्षेत्रसँग सहकार्य गरेर विद्युत् उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल भए पनि अझै धेरै सुधारका पक्ष बाँकी रहेको बताए। ‘हामी नागरिकभन्दा एक कदम अगाडि छौं, त्यसैले केवल दायित्व पूरा गरेर पुग्दैन, कर्तव्यबोधका साथ प्रेरणादायी ढंगले काम गर्नुपर्छ’, उनले भने।

विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माणमा पनि निजी क्षेत्रलाई सक्रिय रूपमा सहभागी गराइएको र आगामी दिनमा विद्युत् बिक्रीमा समेत संलग्न गराइने स्पष्ट परे। मन्त्री  खड्काले गरिब तथा विपन्न वर्गलाई विना धितो जलविद्युत्को सेयर उपलब्ध गराएर उनीहरूको आर्थिक अवस्था सुधार गर्ने योजनाको समेत जानकारी दिए। उनले लामो समयदेखि असुल नगरिएको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तत्काल उठाउन निर्देशन दिए।

मन्त्री खड्काका अनुसार ऊर्जा क्षेत्रमा भएको प्रगति मुलुकको अर्थतन्त्र सबल बनाउन महत्त्वपूर्ण छ। त्यसैले प्राधिकरणले जिम्मेवार र उत्तरदायी ढंगले काम गर्दै २४ घण्टा विद्युत् आपूर्ति गर्ने क्षमताको विकास गर्नुपर्ने बताए।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी बिच्छाले सबै घरधुरीमा विद्युत् पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए भने विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले प्रसारण र वितरण प्रणाली अझ सबल बनाउनुपर्ने बताए।  
अर्को समाचार
विद्युत् प्राधिकरणः ७१ अर्ब आम्दानी गर्दा ६८ अर्ब खर्च, नाफा घट्यो
०१ भदौ २०७८
•
३ मिनेट पाठ
विद्युत् प्राधिकरणः ७१ अर्ब आम्दानी गर्दा ६८ अर्ब खर्च, नाफा घट्यो
नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७७/७८ मा बिजुली बिक्री गरेर ७१ अर्ब २८ करोड आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा सो आवमा  प्राधिकरणको बिजुली बिक्रीको आम्दानी घटेको हो। आव २०७६/७७ मा कूल ७६ अर्ब ३१ करोड बराबरको बिजुली बिक्रीबाट आम्दानी भएको थियो। 




यस्तै, सञ्चालन खर्चमा समेत १०.९६ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आवमा ६१ अर्ब ८७ करोड बराबरको सञ्चालन खर्च भएकामा आव २०७७/७८ मा ६८ अर्ब ४५ करोड पुगेको प्राधिकरणको ३६औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। प्राधिकरणले पछिल्लो एक वर्ष विशेष ध्यान दिन नसक्दा सञ्चालन मुनाफा घटेको छ। आव २०७६/७७ मा ११ अर्ब ६८ करोड नाफा गरेको प्राधिकरणले आव २०७७/७८ मा मात्रै तीन अर्ब ५१ करोड मात्रै भएको छ। लगातार नाफामा गएको प्राधिकरणले पछिल्लो एक वर्षमा प्रभावकारी काम गर्न नसक्दा मुनाफामा कमी आएको भन्दै आलोचना भएको छ।

कार्यकारी निर्देशक घिसिङले संस्थागत सुशासन कामय गर्ने, चुहावट नियन्त्रण तथा अन्य सुधारात्मक काम अगाडि बढाएर चालु आवमा प्राधिकरणको नाफामा उल्लेख्य वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे।उज्यालो नेपाल अभियानअन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक ४५ लाख ३० हजार पुगेका छन्।

अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७/७८ मा ७.३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा वृद्धि भएको हो। यस्तै, सामुदायिक संस्थातर्फ पाँच लाख ५० हजार पुगेका छन्। यस आधारमा देशभर विद्युत् उपभोग गर्ने ग्राहकको सङ्ख्या ५० लाख ८० हजार पुगेको छ।प्राधिकरणका अनुसार देशका ७४ जिल्लामा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ। कर्णाली प्रदेशको कालीकोट र जुम्लामा आव २०७७/७८ मा मात्रै केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको हो। सो प्रदेशको डोल्पा, मुगु र हुम्लामा आगामी दुई वर्षभित्र प्रसारण प्रणाली पुर्‍याउने योजनामा प्राधिकरण रहेको छ।

कार्यकारी निर्देशक घिसिङका अनुसार हालसम्म देशको ९० प्रतिशत जनसङ्ख्यामा आधारभूतरूपमा ग्रीडको पहुँचसहितको विद्युत् पुगेको छ। बिजुली पुर्‍याएर मात्रै नहुने भन्दै उनले अब विश्वसनीय र प्रभावकारी बिजुली उपलब्ध गराउने चुनौती प्राधिकरणको सामु रहेको बताए।कोरोना कहरका कारण चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकिएको प्राधिकरणले स्वीकार गरेको छ। एक प्रतिशत चुहावट बढ्दा झण्डै ७० करोड बराबरको नोक्सानी हुने देखिन्छ। आव २०७७/७८मा झण्डै दुई प्रतिशत बराबरको चुहावट बढेको छ। यस आधारमा कूल रु एक अर्ब ४० करोड बराबरको नोक्सानी भएको छ।

आव २०७७/७८ मा विद्युत् चुहावट १७.१८ प्रतिशत थियो। जुन आव २०७६/७७ को तुलनामा १.९१ प्रतिशतले बढी हो। विद्युत् खपतमा भएको वृद्घि, कोभिड–१९ का कारणले चुहावट नियन्त्रणको कार्यक्रम उल्लेख्य रुपमा सञ्चालन गर्न नसकिएको र नियमित मिटर रिडिङ हुननसकेका कारणले चुहावटमा वृद्घि हुन गएको प्राधिकरणको भनाइ छ। कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रणलाई प्रभावकारी रुपमा अगाडि बढाउने योजनामा आफूहरु रहेको जानकारी दिए।

आव २०७७/७८ मा साना विद्युत् गृहसहित प्राधिकरणका जलविद्युत् गृहबाट कूल दुई अर्ब ८१ करोड युनिट बिजुली उत्पादन भयो। आव २०७६/७७ मा उत्पादन कूल तीन अर्ब दुई करोड युनिट उत्पादन भएको थियो। आव २०७६/७७ मा निजी क्षेत्रका विद्युत् गृहबाट दुई अर्ब ९९ करोड युनिट विद्युत् प्राप्त भएकोमा गत आव मा ८.३६ प्रतिशतले बढ्न गई तीन अर्ब २४ करोड युनिट प्राप्त भएको थियो। यस्तै, आव २०७६/७७ मा भारतबाट रु एक अर्ब ७३ करोड युनिट विद्युत् खरिद गरिएकोमा ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेकाले गत आवमा ६३.४५ प्रतिशत बढी अर्थात् दुई अर्ब ८२ करोड युनिट विद्युत् खरिद गरिएको प्राधिकरणले जनाएको छ।

गत आवमा प्रणालीमा ८ अर्ब ८७ करोड ७९ लाख ५० हजार युनिट घन्टा विद्युत् उपलब्ध भएको तथ्याङ्क थियो। जुन, आव २०७६/७७ मा ७ अर्ब ७४ करोड १० लाख युनिटको तुलनामा १४.६८ प्रतिशत बढी हो। कूल उपलब्ध ऊर्जामध्ये प्राधिकरणका विद्युतगृहको योगदान ३१.६६ प्रतिशत छ भने आयातित र निजी क्षेत्रबाट किनिएको विद्युत्को योगदान क्रमशः ३१.८३ प्रतिशत र ३६.५१ प्रतिशत छ। आव २०७७/७८ मा कुल विद्युत् खपत ७ अर्ब ३१ करोड ९० लाख युनिट रहेको छ। जुन आव २०७६/७७ को ६ अर्ब ५२ करोड ९० लाख युनिटको तुलनामा १२ प्रतिशतले बढी हो। रासस
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस