एमसीसीले अगाडि बढाएका प्रसारण लाइन काठमाडौं उपत्यकाका लागि किन झनै महत्वपूर्ण छ?
२६ माघ २०७८
•
९ मिनेट पाठ
एमसीसीले अगाडि बढाएका प्रसारण लाइन काठमाडौं उपत्यकाका लागि किन झनै महत्वपूर्ण छ?
नेपालमा विद्युत् उत्पादन एकपछि अर्को गर्दै वृद्धि भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा हालसम्म दुई हजार १०० मेगावाट बराबर बिजुली जोडिएको छ। निर्माणका क्रममा तीन हजार ५०० मेगावाट क्षमताका आयोजना छन्।




यस्तै, निर्माणमा जाने तयारीमा झण्डै नौ हजार मेगावाट क्षमताका आयोजना छन्। जलविद्युत् उत्पादनमा एकपछि अर्को गर्दै सफलता हासिल हुँदै गए पनि प्रसारण प्रणालीको अभावमा एक स्थानमा उत्पादन भएको बिजुली अर्को स्थानमा लैजान भने समस्या उत्पन्न भएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बुझाइमा प्रसारण लाइन र त्यसको एउटा टावर निर्माण गर्नु एउटा आयोजना जस्तै बन्न पुगेको छ। अनेकन जटिलता र व्यवधानका कारण प्रसारण लाइन निर्माणको काम असाध्यै जटिल बन्न पुगेको छ।

काठमाडौं उपत्यकामा बढ्दो सहरीकरणका कारण हरेक वर्ष बिजुलीको माग थप हुँदै गएको छ। तर विद्यमान प्रणालीले मात्रै आगामी दिनको माग धान्न मुस्किल पर्ने देखिन्छ। त्यसका लागि वैकल्पिक प्रसारण प्रणाली आवश्यक भइसकेको छ। सोही आवश्यकतालाई दृष्टिगत गर्दै सरकारले काठमाडौंको नाङ्लेभारेदेखि नुवाकोटको रातमाटे हुँदै ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने योजना अगाडि सारेको हो। यो परियोजना प्राधिकरणको गुरुयोजनाअनुसार नै निर्माण गर्न लागिएको हो।

उक्त प्रसारण लाइन तनहुँ हुँदै एउटा नवलपरासी पुग्नेछ भने अर्को लाइन हेटौँडातर्फ जाने छ। कूल ३१२ किलोमिटर लामो उक्त प्रसारण प्रणालीलाई काठमाडौँ उपत्यकाको मेरुदण्डका रुपमा समेत लिइएको छ। यस्तै, प्रमुख सहरहरु पोखरा, हेटौंडा, नारायणगढ र बुटवललाई समेत सोही प्रसारण प्रणालीमा  जोडिनेछ।

यसबाट बढी बिजुली माग हुने क्षेत्रमा सहज रुपमा उपलब्ध हुन्छ। एमसिसीले उपलब्ध गराउने ४० करोड अमेरिकी डलर अनुदान सहायताले बन्ने ४०० केभी क्षमताको लप्सीफेदी, रातमाटा, दमौली तीनवटा सबस्टेसन निर्माण हुनेछ। नुवाकोटको रातमाटामा निर्माण हुने सबस्टेसनमा प्रस्तावित रसुवागढी–केरुङ ४०० केभी क्षमताको प्रसारण लाइन पनि जोडिनेछ। 

प्राधिकरणले  निर्माण गर्ने बुटवल–गोरखपुर ४०० केभीको नेपाल–भारत सीमासम्मको २२ किमी अन्तर देशीय प्रसारण लाइन पनि यसैमा जोडिन्छ। नेपालको बिजुलीको आन्तरिक खपतका लागि विद्युत् प्रसारण लाइन निर्माण गर्नुपर्ने तथा बढी भएको बिजुली भारतमा निकासी गर्न पनि यो परियोजना अत्यावश्यक रहेको ऊर्जा उद्यमी एवम् स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का केन्द्रीय कार्यसमिति सदस्य प्रकाश दुलालको भनाइ छ। 

उनले प्रसारण लाइन बनाउनु हुँदैन भन्नेहरूले दैनिक १८ घन्टा विद्युत्भार कटौतीको अन्त्य नेपालले भारतबाट विद्युत् आयात गरेर गरेको तथ्य थाहा नभएर वा आजको व्यावहारिक युगमा तुलनात्मक लाभको वस्तु उत्पादन गरेर विश्व बजारमा बेच्ने मान्यता विपरीत रहेको बताए।

लगानी डुब्ने जोखिम

सो प्रसारण लाइनमार्फत तामाकोसी वा भोटेकोसी कोरिडोरका आयोजनाको बिजुली जोडिनेछ। यस्तै रसुवा नुवाकोटको नदी कोरिडोरमा निर्माणका क्रममा रहेका र निर्माणमा जाने तयारीमा रहेका अधिकांश जलविद्युत् आयोजनाको बिजुली जोडिनेछ। ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानका अनुसार हाल निर्माण भइरहेका तीन हजार मेगावाट क्षमताभन्दा बढी आयोजना सोही प्रसारण लाइनको वरिपरि निर्माण भइरहेकाले पनि असाध्यै बढी महत्वपूर्ण छ।

प्रसारण लाइनको अभावमा सरकार र निजी क्षेत्रको लगानी डुब्ने, बैंक तथा वित्तीय संस्थासमेत डुब्ने र देशसमेत आर्थिक रुपमा समस्यामा पर्ने भएकाले कुनै पनि द्विविधा नराखी निर्माण गर्नुपर्ने उनको भनाइ छ। सो प्रसारण लाइनको आसपास मात्रै निजी क्षेत्रले झन्डै रु छ खर्ब बराबरको लगानी गरेको छ। निर्माणमा रहेका र निर्माणमा जान लागेका आयोजनाको बिजुली बढी माग हुने सहरी क्षेत्रमा पुर्‍याउन एवम् भारत र बङ्गलादेश निर्यातका लागि पनि यो प्रसारण लाइन आवश्यक रहेको प्रधानको भनाइ छ।  

यस्तै, बूढीगण्डकी एवम् कालीगण्डकी करिडोरमा निर्माण हुने बिजुलीसमेत सोही प्रसारण लाइनमा जोडिनेछ। विद्युत् उत्पादन हुने स्थानबाट आवश्यक रहने स्थानमा बिजुली पु¥याउन महत्वपूर्ण मानिएको सो प्रसारण लाइनलाई अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनले लगानी गर्न लागेको छ। सो प्रसारण लाइन प्रस्तावित नेपाल भारत दोस्रो अन्तरदेशीय प्रसारण लाइनमा पनि जोडिने भएकाले यहाँ बढी भएको बिजुली भारत र बङ्गलादेशको बजारमा पुर्‍याउनसमेत सहयोगी बन्ने छ।

नेपाल र भारतबीच समान लगानीमा ४०० केभी क्षमताको न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने सहमति भइसकेको छ। सरकारी विवरणअनुसार करिब ८३ हजार मेगावाट क्षमता बराबरको  विद्युत् उत्पादन सम्भावना भए पनि  हाल देशमा दुई हजार १०० मेगावाट अर्थात् करिब दुई प्रतिशत मात्रै उत्पादन भएको छ। हाल सरकारी क्षेत्रबाट ६१० र निजी क्षेत्रबाट तीन हजार ५०६ मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन्।

यस्तै निजी क्षेत्रबाट दुई हजार १४१ मेगावाट क्षमताका आयोजना विद्युत् खरिद सम्झौता (पिपिए) भई  निर्माणको चरणमा छन्। कूल एक हजार ८५२ मेगावाट क्षमताका आयोजनाको विद्युत् जडान सम्झौता सम्पन्न भई पिपिएको प्रतिक्षामा छन्। सरकारले सीमापार विद्युत् व्यापारका लागि आवश्यक विद्युत् प्रसारण लाइनको निर्माण गर्न नसकेर तीन वर्षदेखि कुनै पनि आयोजनाको पिपिए भएको छैन।

निजी क्षेत्रका ७२ मेगावाट आयोजनाले सर्वेक्षण कार्य सम्पन्न गरेर विद्युत् जडान सम्झौताका लागि आवेदन दिए पनि विद्युत् जडान सम्झौता रोकिएको छ। सरकारले प्रतिस्पर्धाका आधारमा वा बजारको सुनिश्चितता भएपछि मात्रै पिपिए गर्ने बताउँदै आएको छ। ऊर्जा उद्यमी दुलालका अनुसार जलविद्युत् आयोजनाको पहिचान, अध्ययन र विकासका लागि निजी क्षेत्रले हालसम्म करिब रु १२ खर्ब लगानी गरिसकेको छ भने आगामी पाँच वर्षमा थप रु १७ खर्बभन्दा बढी लगानी गर्नेछ।

काठमाडौँ उपत्यकाका लागि झनै आवश्यक  

नेपालको हालसम्मै ठूलो केवलकार परियोजना अगाडि बढाउन लागेका उद्यमी एवम् विश्लेषक अरुणकुमार सुवेदीका अनुसार काठमाडौँ उपत्यकाको विद्युत्को माग र आपूर्तिको सन्तुलन मिलाउनका लागि पनि ४०० केभी क्षमताको प्रसारणलाइन जरुरी रहेको बताउँछन्। हाल काठमाडौँ उपत्यकामा हेटौंडाबाट २२० केभी लाइन, नुवाकोटबाट २२० केभी लाइन र किर्नेटार हुँदै अर्को लाइन काठमाडौँ उपत्यकामा भित्रिएको छ।

विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिन र हरेक घरमा विद्युतीय चुल्होको प्रयोग बढाउन पनि उच्च क्षमतामा प्रसारण राजमार्गहरु आवश्यक पर्ने उनको भनाइ छ। संघीय राजधानीसमेत भएकाले आगामी दिनमा मेट्रो रेलको आवश्यकता झनै बढेर गएको छ। त्यसका लागि ठूला क्षमताका प्रसारण लाइन हाम्रा लागि आवश्यकता र बाध्यता दुवै बन्न पुगेको विश्लेषक सुवेदीको भनाइ छ।

जनघनत्वका हिसाबले पनि बिजुलीको माग सम्बोधन गर्न तथा निर्माणमा रहेका आयोजनाको बिजुली जोडन पनि ‘हाई भोल्टेज’ लाइन जरुरी रहेकाले यसलाई बिना अवरोध अगाडि बढाउनुपर्ने सुवेदीको तर्क छ। यसैगरी आगामी पाँच वर्षमा थप १३ हजार मेगावाट विद्युत् उत्पादन हुने र त्यसको  प्रवाहका लागि उत्तर–दक्षिण, पूर्व–पश्चिम ४००, २२०, १३२ र ३३ केभी क्षमताका प्रसारण लाइन तथा सबस्टेसनको निर्माण र स्तरोन्नति गर्नु आवश्यक छ।

त्यसका लागि मात्रै रु नौ खर्बभन्दा बढी लगानी आवश्यक पर्नेछ। आगामी पाँच वर्षमा १३ हजार मेगावाट विद्युत् उत्पादन भएको खण्डमा जलविद्युत् क्षेत्रमा मात्रै करिब रु ३० खर्बको हाराहारीमा लगानी हुनेछ। जुन लगानी प्रत्येक वर्ष पाँच खर्ब ५० अर्बका दरले पूर्वाधार निर्माणमा खर्च गर्नुपर्छ। यो सरकारको हाल भैरहेको वास्तविक विकास खर्च भन्दा तेब्बरले बढी हुन जान्छ।  

आगामी पाँच वर्षमा १३ हजार मेगावाट बराबरको आयोजना बनेको खण्डमा प्रतिवर्ष आठ लाख मानिसले रोजगारी पाउने र आयोजना निर्माण भइसकेपछि हरेक आयोजनामा १० जनाका दरले नियमित रुपमा एक लाख ३० हजार जनाले रोजगारी पाउनेछन्। ती आयोजना निर्माणका क्रममा मात्रै राज्यले रु एक खर्ब ८० अर्ब बराबरको मूल्य अभिवृद्धि कर (भ्याट) प्राप्त गर्नेछ । आयोजना निर्माणपछि सरकारले वार्षिक रुपमा रु नौ अर्ब ३० करोड र १६ वर्षदेखि ३० वर्षसम्म रु ५३ अर्बका दरले रोयल्टी प्राप्त गर्नेछ ।  

आर्थिक लाभ एवम् हाल बनीरहेका आयोजनाको बिजुली सहज रुपमा आदानप्रदानका लागि पनि नाङ्लेभारेदेखि बुटवलसम्म निर्माण हुने ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन अत्यावश्यक रहेको ऊर्जा उद्यमी दुलालको भनाइ छ । सरकारी एवम् निजी क्षेत्रका आयोजनामा भइरहेको लगानीको सुरक्षाका लागि पनि एमसिसीले प्रस्ताव गरेको प्रसारण लाइन जरुरी रहेको ऊर्जा उद्यमीहरुको भनाइ छ ।  

नेपाल सरकार एमसिसी सम्झौता  

सरकार र एमसिसीबीच २०७४ भदौ २९ मा अनुदान सहायतामा हस्ताक्षर भएको हो । एमसिसीसँग २०६८ माघ ५ गते थ्रेसहोल्ड कार्यक्रम छनोट भएको हो । त्यतिबेला डा. बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री थिए। यस्तै, विसं २०७० पुसमा विकासका अवरोध पहिचानका लागि विज्ञ समूह गठन भई प्रसारण लाइन र सडक निर्माणका लागि आग्रह गरियो।

एमसिसीबाट अनुदान लिन तत्कालीन खिलराज रेग्मी नेतृत्वको सरकारले आवेदन दिएको थियो। सोही आवेदनका आधारमा एमसिसीले २०७१ माघमा नेपाललाई अनुदान सहायता दिने निर्णय गरेको थियो। त्यस्तै, २०७३ साउन ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसिसी कम्प्याक्टको मस्यौदा तयार पारेर प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको हो।

त्यसपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री कृष्णबहादुर महराले २०७४ जेठ १८ गते अनुदान सहायतासम्बन्धी स्म्झौताको अन्तिम रुप दिन द्विपक्षीय वार्ता टोली गठन गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाको अघिल्लो कार्यकालयमा मन्त्रिपरिषद्ले २०७४ साउन १० गते एमसिसीसँग सम्झौताका लागि स्वीकृति दियो। तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसिसीका प्रमुख कार्यकारी अधिकृत जोनाथन जी नाशबीच २०७४ भदौ २९ गते अमेरिकाको वासिङ्टन डिसीमा एमसिसी सम्झौतामा हस्ताक्षर भयो।

तत्कालीन नेकपाका तर्फबाट प्रधानमन्त्री रहनुभएका ओली नेतृत्वको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले २०७५ पुस १३ गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई राय माग्दै सम्झौता सङ्घीय संसद्बाट अनुमोदन गर्नुपर्ने वा नपर्ने विषयमा पत्राचार गरे ।

सोही पत्राअनुसार २०७५ पुस २६ गते सम्झौताको धारा, ७ को प्रावधानअनुसार प्रतिनिधिसभाको सामान्य बहुमतबाट सम्झौता अनुमोदन गर्नु उपयुक्त हुने राय दिइयो। यस्तै, २०७५ असोज ६ गते एमसिसी परियोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राख्ने निर्णय भयो। तत्कालीन प्रधानमन्त्री ओली र अर्थमन्त्री डा. खतिवडाले २०६८ असार ३१ गते एमसिसीसँगको सम्झौता अनुमोदनका लागि सङ्घीय संसद् सचिवालयमा प्रस्ताव दर्ता पनि गराए।

यसैगरी २०७६ असोज १२ गते नेपाल र एमसिसीबीच परियोजना कार्यान्वयनको सम्झौता भयो भने २०६७ असोज २५ र २६ गते भारतमा भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको र त्यसको जानकारी असोज २८ गते दिइयो। रासस
अर्को समाचार
विद्युत् प्राधिकरणलाई उद्योगीको हाँक
१६ पौष २०८०
•
७ मिनेट पाठ
विद्युत् प्राधिकरणलाई उद्योगीको हाँक
ट्रंक तथा डेडिकेटेड विद्युत् लाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले धमाधम उद्योगको बिजुली लाइन काटिरहेको अवस्थामा उद्योगीहरूले केही सर्त अघि सारेका छन्।




प्राधिकरणले चालेको लाइन काट्ने कदमको सामूहिक प्रतिवादका लागि आइतबार पत्रकार भेटघाट गरेका उद्योगीहरूले एकै स्वरमा भने, ‘प्रमाण देऊ, पैसा शुल्क (पैसा) तिर्न तयार छौं।’

विद्युत्को बक्यौता तिर्न नसक्ने बताउँदै आएका उद्योगीहरूले पैसा तिर्नुपर्ने भए आफूहरूलाई टिओडी मिटरका आधारमा वास्तविक बिल दिन आग्रह गरे।
उनीहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सस्तो लोकप्रियताका लागि आफूहरूमाथि अपराधीलाई जस्तो व्यवहार गरेको आरोप लगाए। समस्या समाधानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न पनि उद्योगीले माग गरेका छन्।

सितिमिती सरकारी अधिकारीविरुद्ध बोल्न डराउने उद्योगीहरूले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको खुलेरै आलोचना गरे।

घिसिङको महत्त्वाकांक्षाले उद्योगीलाई अपराधी करार गर्न खोजेको उनीहरूको आरोप छ। नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सिमेन्ट उत्पादक संघ, धागो उत्पादक संघलगायत उद्योगका छाता संस्थासहितका उद्योगीहरूले प्रिमियम बिजुली उपभोग गरेको प्रमाण दिए बक्यौता तिर्न तयार रहेको बताए।

प्राधिकरणले टिओडी मिटरका आधारमा बिल पेस गरेको खण्डमा बक्यौता तिर्न तयार रहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए।

टाउकोमा तरबार झुन्ड्याएर तर्साउने काम भयो। घिसिङलाई आफ्नो बोली कानुन लाग्नु चिन्ताको विषय हो। उच्चस्तरीय न्यायिक आयोग बनाउनुपर्छ।

-अन्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
प्राधिकरणले मनलाग्दी ढंगले बिल जारी गरिरहेको छ। त्यो गलत हो। हामी सडकमा गएर आन्दोलन गर्नुपर्ने हो कि सडकमै रगत बगाउनुपर्ने हो?

पवन गोल्यान, अध्यक्ष, नेपाल धागो उत्पादक संघ

‘हामी महसुल तिर्न तयार छौं। तर प्रमाण दिनुपर्छ,’ उनले भने, ‘उद्योगीले सोही आधारमा पैसा तिर्छन्।’

अर्घाखाँची सिमेन्टले शतप्रतिशत रकम धरौटी राखेर पुरावलोकन समिति निवेदन दिँदा पनि वर्षौं सुनुवाइ नभएको गुनासो गरे।
‘बिजुली प्रयोग नै नगरेका उद्योगीलाई पनि प्राधिकरणले बिल काटेको छ,’ अर्घाखाँची सिमेन्टका सञ्चालकसमेत रहेका मुरारकाले भने, ‘प्राधिकरणले लोडसेडिङका बेला डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेको प्रमाण दिए महसुल तिर्न तयार छौं।’

बिजुली प्रयोग नगरेका उद्योगीलाई पनि बिल काटिएको छ। हामी महसुल तिर्न तयार छौं तर प्रमाण दिनुपर्छ। बिल पेस गरे बक्यौता तिर्छौं।

-पशुपति मुरारका पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
प्राधिकरणले टिओडी मिटरको बिल पनि नदिने र भावनात्मक कुरा गरेर लाइन काटेको आरोप लगाए।

प्राधिकरण आफैंले लोडसेडिङको समयमा विद्युत् आपूर्ति गर्न सक्दैन भनेर सार्वजनिक सूचना प्रकाशित गरेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए।

‘प्राधिकरणले आफ्नो कर्मचारीको गलत क्रियाकलाप छोप्नकै लागि उद्योगीलाई बिल काटेको छ,’ थापाले भने, ‘महसुल तिर्न बिल काट्ने प्राधिकरणले प्रमाण दिनु पर्दैन?’

उद्योगीले टिओडी मिटरको बिल दिन भनेपछि नेपाल विद्युत् प्राधिकरणलाई नैतिक संकट आइलागेको छ। घिसिङले प्राधिकरणको ब्यालेन्स सिट राम्रो उद्योगीले बक्यौता नतिरेको भन्दै अपराधी बनाउन खोजेको उद्योगीको आरोप छ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उद्योगीले बक्यौता नतिरेको प्रमाण आफूसँग रहेको दाबी गरेका छन्। तर उद्योगीले प्रमाण दिए बक्यौता तिर्ने बताए। प्राधिकरणले अदालतलाई दिएको जवाफमा टिओडी मिटरको रेकर्ड नभएको जवाफ पठाएको थियो।

प्राधिकरणले शनिबारसम्म २३ वटा उद्योगको लाइन काटेपछि उद्योगीहरूले आइतबार पत्रकार भेटघाट गरेर तथ्य, प्रमाणसहित प्राधिकरण र कुलमानको कार्यशैलीको आलोचना गरेका छन्। ६१ वटा उद्योगले गत मंसिर मसान्तसम्मको अवधिमा २२ अर्ब २४ करोड रूपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणको दाबी छ।

पछिल्लो समय प्राधिकरण र उद्योगीबीच ट्रंक लाइन तथा डेडिकेटेड लाइन विवाद चर्किंदै गइरहेको छ। प्राधिकरणले बक्यौताबापतको महसुल नतिर्ने २३ उद्योगको लाइन काटिसकेको छ।
प्राधिकरणले लोडसेडिङको समयमा बिजुली प्रयोग गर्न अनुमति माग गर्दै निवेदन नै नदिएका ट्रंकलाइनका ग्राहकलाई २०७२ साउनदेखिको विद्युत् महसुल तिर्न २०७५ चैतमा पत्राचार गरेको थियो।

प्राधिकरणबाट अनुमति नलिई विद्युत् प्रयोग गर्नेलाई विद्युत् चोरी नियन्त्रण ऐनअनुसार कारबाही गर्ने विनियमावलीमा व्यवस्था कार्यान्वयन नगरी प्राधिकरणले कुन कानुनमा टेकेर टं«कलाइनका ग्राहकलाई प्रिमियम महसुल तिर्नुपर्ने पत्र पठायो भन्दै उद्योगीले आक्रोश व्यक्त गरेका छन्।

विद्युत् महसुल निर्धारण आयोगले डेडिकेटेड लाइनबाट बिजुली लिने ग्राहकलाई २०७२ पुसबाट र ट्रंलाइनबाट विद्युत् प्रयोग गर्नेलाई २०७३ साउन १ बाट ससर्त प्रिमियम दरमा महसुल लगाउन स्वीकृति दिएको अवस्थामा प्राधिकरणले २०७५ चैतमा किन प्रिमियम दरमा बिल जारी गरेको भन्दै उद्योगीले प्रश्न उठाएका छन्।

आयोगले ६ घण्टा लोडसेडिङ भएको अवस्थामा मात्रै प्रिमियम दरमा महसुल लिन स्वीकृति दिएकोमा २०७५ वैशाख ३१ बाट लोडसेडिङ अन्त्य भएपछि पनि कुन आधारमा प्रिमियम दरमा बिल जारी गरियो भनी घिसिङलाई प्रश्न गरे।

एउटा अमूक व्यक्तिको मनोकांक्षा र हठ पूरा गर्न उद्योगीलाई अपराधीकरण गर्ने काम भयो। के नेपालमा उद्योग खोल्नु ठुलो अपराध हो?

-राजेश अग्रवाल,अध्यक्ष, नेपाल उद्योग परिसंघ
प्राधिकरण र सरकारले उद्योगीलाई अपराधीलाई जस्तो व्यवहार गरेको भन्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आक्रोश पोखे। ‘अहिले उद्योगीहरूलाई जबर्जस्ती अपराधी देखाउन खोजिएको छ,’ अग्रवालले भने, ‘के नेपालमा उद्योग खोल्नु ठुलो अपराध हो?’

एउटा अमूक व्यक्तिको व्यक्तिगत मनोकांक्षा र हठ पूरा गर्न उद्योगीलाई अपराधीकरण गर्ने काम भइरहेको बताए। ‘प्रमाण देऊ तिर्छौं भन्दा पनि सुख नपाइने,’ अग्रवालले भने।

बिजुली प्रयोग नगरेका उद्योगीलाई पनि बिल काटिएको छ। हामी महसुल तिर्न तयार छौं तर प्रमाण दिनुपर्छ। बिल पेस गरे बक्यौता तिर्छौं।

-पशुपति मुरारका पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
मुलुकको अर्थतन्त्र संकुचित भएको बेला उद्योगी, व्यवसायीको टाउकोमा तरबार झुन्ड्याउने र तर्साउने काम भएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बताए। उद्योगीले प्रमाण देऊ रकम तिर्छौं भन्दा पनि सुख नपाएको उनले बताए। ‘विद्युत् प्रयोग गरेको प्रमाण देऊ तिर्छौं भनेर उद्योगीले भनेका छन्,’ उनले भने, ‘उहाँ (प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ) ले प्रमाण दिन सक्नुभएको छैन।’

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई मैले जे बोल्यो त्यो नै कानुन हुन्छ भन्ने लाग्नु चिन्ताको विषय भएको उनले बताए। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ धेरै भावनात्मक भएर उद्योगीलाई दोषी करार गर्न लागिपरेको बताए।

‘मुलुकमा न्याय छ र कानुन छ भने यसमा खोजिनुपर्छ,’ श्रेष्ठले भने, ‘छानबिन गरी कानुनी दायरामा ल्याउनुपर्छ।’ समस्या समाधानका लागि उच्चस्तरीय न्यायिक आयोग बनाउनुपर्नेमा उनले जोड दिए।

नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले प्राधिकरणले कुनै पनि सम्झौताबेगर नै रिलाइन्स स्पिनिङ मिल्सका लागि ७३ करोड रूपैयाँको प्रिमियम बिल जारी गरेको दाबी गरे। ‘रिलायन्स मिल्स र प्राधिकरणबीच टं«क र डेडिकेटेड लाइन प्रयोग गर्ने कुनै सम्झौता भएको छैन,’ उनले भने, ‘प्राधिकरणले मनलाग्दी ढंगले बिल जारी गरिरहेको छ। त्यो गलत हो।’

अध्यक्ष गोल्यानले पछिल्लो समय नेपालमा उद्योगधन्दा खोलेर रोजगारी दिनु अपराध गरेसरह भइरहेको भन्दै गुनासो पोखे। ‘मेरो उद्योगमा ५ हजारभन्दा धेरैले रोजगारी पाइरहेका छन्। के मैले उनीहरूलाई रोजगारी दिनु अपराध हो,’ उनले भने, ‘हामी सडकमा गएर आन्दोलन गर्नुपर्ने हो कि सडकमै रगत बगाउनुपर्ने हो?’

स्टिल रोलिङ मिल्स एसोसिएसनका अध्यक्ष साहिल अग्रवालले प्राधिकरणले उद्योगीहरूको निवेदनबिना र सम्झौताबिना डेडिकेटेड र ट्रंकलाइनको बिजुली प्रयोग गरेको भन्दै प्रिमियममा बिल जारी गरेर ठगी गर्न खोजेको आरोप लगाए।
नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले प्राधिकरणले दादागिरी गरेर उद्योगीको लाइन काटेर उद्योग क्षेत्रलाई धराशयी बनाउने प्रयास गरिरहेको बताए।

नेपाल सिमेन्ट उद्योगका अध्यक्ष ध्रुव थापाले प्राधिकरणले उद्योगको लाइन काटेसँगै उद्योगी व्यवसायी समस्यामा परेकाले पनि समस्या समाधानको लागि विभिन्न राजनीतिक नेतृत्वहरूसँग छलफल र बहस कार्यक्रम गर्दै आइरहेको बताए।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस