‘नेपाल गभर्मेन्ट रेल्वे’को १७ सय बिघा अतिक्रमित
१५ असोज २०७८
•
४ मिनेट पाठ
‘नेपाल गभर्मेन्ट रेल्वे’को १७ सय बिघा अतिक्रमित
‘नेपाल गभर्मेन्ट रेल्वे’ को पुलको भग्नावशेष र परवानीपुरनजिक जग्गा अतिक्रमण गरी बनाइएका भौतिक संरचना। तस्बिर : रितेश/नागरिक
तत्कालीन ‘नेपाल गभर्मेन्ट रेल्वे’ को एक हजार ७ सय ४९ बिघा जग्गा अतिक्रण गरिएको छ। रक्सौल–अमलेखगन्ज रेल मार्गमा पर्ने उक्त जग्गा व्यक्ति र उद्योगहरूबाट अतिक्रमणमा परेको हो। विक्रम संवत् १९८४ अर्थात् सन् १९२७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा ‘नेपाल गभर्मेन्ट रेल्वे’ स्थापित भएको थियो। २०२२ सालतिर उक्त रेल सेवा बन्द भएपछि त्यसका संरचना र जग्गा बेवारिसे बन्दै गए। त्यसमध्ये अहिले वीरगन्जको पावरहाउस चोकदेखि पूर्व–पश्चिम राजमार्गको पथलैयासम्म २२ किलोमिटर खण्डको ६६ फिट चौडा जग्गा विभिन्न व्यक्ति र उद्योगहरूको कब्जामा छ।  




त्रिभुवन राजपथसँगै जोडिएको उक्त जग्गाको क्षेत्रफल ४ लाख ४२ हजार ५ सय ६९ वर्गमिटर हुन आउँछ। यसलाई बिघामा भन्दा एक हजार ७ सय ४९ (३४ हजार ९ सय ९५.६ कट्ठा ) हुन्छ। राजमार्ग छेउको यो बहुमूल्य जग्गा निजी कित्तामा मिसाइसकिएको छ। अतिक्रमणकारी कतिपयले नयाँ नापीबाट प्रमाणित गराएर रेल्वेको जग्गा व्यक्तिगत बनाइसकेका छन्। ठूला–साना घर, पेट्रोल पम्प, वजन गर्ने काँटा (बृज), कलकारखाना, गोदाामजस्ता संरचना यो जग्गामा बनेका छन्। परवानीपुर, जितपुर र सिमरामा बस्ती नै बसेको छ। कतिपय सरकारी संरचना पनि यसमा बनेका छन्।

भारतमा पनि शासन गरिरहेको तत्कालीन बेलायती सरकारको सहयोगमा भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म ३९ किलोमिटर रेल्वे निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको थियो। यसको सञ्चालनका लागि तत्कालीन नेपाल सरकारले भारतको रक्सौलमा समेत तत्कालीन बेलायती सरकारसँग सन् १९२७ जुन १९ मा १६ बिघा १ कट्ठा ४ धुर अर्थात् ६ हजार ४ सय २४ धुर जग्गा खरिद गरेको थियो। उक्त जग्गा पनि अतिक्रमणमा परेको छ। त्यति बेला रेल सेवा मालसामान ढुवानीको साधनमात्र थिएन, रेलमा मानिस पनि आवतजावत गर्थे। तर अहिले उक्त रेल्वेको जग्गा भने गायबसरह छ।  

बहुमूल्य सम्पत्ति जोगाउन उदासीन सरकार

रक्सौल–वीरगन्ज खण्डको सुरुमा केही भाग पूर्ण रूपमा अतिक्रमित छ। अलि उत्तर आएर छप्कैया पोखरीदेखि घण्टाघर चोकसम्मको खण्ड भने अहिले वीरगन्ज महानगरपालिकाले ‘इनर बाइपास रोड’ भनेर प्रयोगमा राखेको छ। घण्टाघरदेखि करिब आधा किलोमिटरको १० बिघा जग्गा महानगरपालिकाले बिपी उद्यान बनाउने भनेर किनेर आफ्नो स्वामित्वमा राखेको छ। त्यहाँदेखि अगाडि अझ उत्तरतिर आउँदा साबिक रेल्वेको केही भागमा घण्टाघर पावर हाउस छ। अरू अतिक्रमित छ। पावरहाउस चोकदेखि पथलैयासम्म २२ किलोमिटर खण्डको जग्गा करिबकरिब पूरै अतिक्रमण गरिएको छ। यो क्षेत्रमा महँगोमा जग्गा किनबेच हुन्छ।

अतिक्रमणमा परेको जग्गाको मूल्य चलनचल्तीको भन्दा कम अर्थात् धुरको १० लाखमात्र हिसाब गर्ने हो भने पनि ७ खर्ब हुन आउँछ। टाउनप्लानिङसरह कित्ताहरू टुक्र्याएर बेच्दा मुलुककै प्रमुख व्यापारिक नगर तथा औद्योगिक करिडोरको मुख्य सडकमा जोडिएको यो जग्गाको मूल्य अझ बढी पर्न जाने स्थानीय जग्गा कारोबारी बताउँछन्। जानकारहरूका अनुसार ७ खर्ब भनेको वीरगन्जदेखि काठमाडौंसम्म ‘डबल लेन ब्रोडगेज रेल्वे’ स्थापनाका लागि बस्ती क्षेत्रभन्दा बाहिर सरकारले खरिद गर्नसक्ने जग्गाको रकम हो।  

१९८४ सालमा रक्सौल–अमलेखगन्ज पहिलोपटक रेल सञ्चालन भएको १० वर्षपछि अर्थात् १९९४ सालमा दोस्रो रेलका रूपमा बिहारको जयनगरबाट जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म ५२ किलोमिटर सञ्चालन भयो। उक्त रेल्वेको संरचना नयाँ रूपमा तयार भएर पुनः सञ्चालनमात्र हुन बाँकी रहेका बेला पहिलो रेल्वेको जग्गा भने अतिक्रमणको चपेटामा छ।  

रेल विभाग बेखबर

नेपालमा २०६८ असार १ को मन्त्रिपरिषद्को निणर्यबाट रेल विभाग स्थापना भएको छ।  

हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतमा रहेको यो विभाग रक्सौल–अमलेखगन्ज रेल्वेको जग्गाबारे बेखबर छ। ‘यो विषयमा हामीकहाँ खासै जानकारी छैन। रेल्वे कम्पनीसँग यसको केही जानकारी छ कि ? त्यता बुझ्दा हुन्छ,’ विभागका प्रवक्ता अमन चित्रकारले भने, ‘मलाई लाग्छ, मन्त्रालयले एउटा टोली खटाएर यसबारे एक पटक अध्ययन गराएको थियो। मन्त्रालयतिर पनि यसको जानकारी हुन सक्छ।’  

नेपाल रेल्वे कम्पनी लिमिटेडले भने रक्सौल–अमलेखगन्ज खण्डको रेल्वेको जग्गा आफ्नो स्वामित्वमा नभएको जनाएको छ। ‘कम्पनीको स्वामित्वमा जनकपुर रेल्वेको संरचना आएको छ, रक्सौल–अमलेखगन्ज रेल्वे खण्डको जग्गाको स्वामित्व हामीसँग छैन,’ कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भने, ‘रेल विभागमा कागजात हुनुपर्छ र मन्त्रालयमा पनि होला। हाम्रो नाममा जग्गा नआएकाले हामीसँग हुने कुरै भएन।’ उनले रक्सौलमा रहेको साबिक ‘नेपाल गभर्मेन्ट रेलवे’ को जग्गा भने कम्पनीको नाममा रहेकाले त्यसको रेकर्ड र कागजात आफूहरूसँग भएको बताए।  

नेपालमा रेल तथा मेट्रो यातायातको पहिचान, विकास, निर्माण, विस्तार, एवं सञ्चालनका लागि भनेर स्थापित विभागलाई साबिक रेल्वेको सम्पत्ति र पूर्वाधारको जानकारी नहुनु विडम्बना हो। हाल रेल विभागले रेल्वे तथा मेट्रो विकास आयोजना, भारतीय सहयोगको रेल परियोजना, मेची–महाकाली विद्युतिय रेलमार्ग, काठमाडौं मेट्रो आयोजना जस्ता कार्यक्रममा काम गरिरहेको छ। ठूला र महत्वाकांक्षी योजनाको नाममा स्रोत, साधन र जनशक्ति खर्चिरहेको विभागसँग पुरानो रेल्वेको अचल सम्पतिको अभिलेख छैन। ‘विभागको गठन नै नयाँ भएको हो, त्यसभन्दाअघिको कुरा हामीलाई थाहा नभएको हो,’ प्रवक्ता चित्रकारले भने।  

अहिले रेल्वे कम्पनीका नाममा रहेको रक्सौलको रेल्वे स्टेसनसँगै टाँसिएको अर्बौ मूल्यको जग्गा पनि अतिक्रमित छ। त्यहाँ बस्ती नै बसाइएको छ। रक्सौलका स्थानीयले जग्गा अतिक्रमण गरेका हुन्।
अर्को समाचार
डढेलो र अतिक्रमणले उजाडिँदै वन
२३ फागुन २०८०
•
५ मिनेट पाठ
डढेलो र अतिक्रमणले उजाडिँदै वन
पूर्वपश्चिम राजमार्गको दायाँबायाँका वन क्षेत्रमा अहिले जताततै धुवाँको मुस्लो देखिन्छ। महोत्तरीको भब्सीपुलदेखि सर्लाहीसँगको सीमा पर्ने बाँके पुलसम्मको करिब १६ किलोमिटर दूरीको वन क्षेत्रमा जताततै लागेको डढेलोले परैसम्म धुवाँको मुस्लो देखिएको हो।




धेरैजसो पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणतर्फ सागरनाथ वन विकास परियोजनाको प्लटमा देखिने डढेलो अब उत्तरतर्फ पनि बढेको छ। राजमार्ग दक्षिण परियोजना र उत्तरतर्फ सामुदायिक (राष्ट्रिय वन) वन क्षेत्र छ।

डढेलोको चपेटामा बढी परेको जिल्लाको बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने परियोजनाको वन क्षेत्र अभिलेखले आठ हजार हेक्टर देखाउँछ। यद्यपि ठाउँठाउँमा भएको अतिक्रमणले हाल परियोजनाको वन क्षेत्र छ हजार हेक्टर मुनि झरेको वनसम्बद्ध अधिकारी स्वीकार गर्छन्।

यसैगरी, जिल्लामा परियोजनाबाहेक सामुदायिक र धार्मिकसहितको वन क्षेत्र अभिलेखमा १६ हजार हेक्टरमाथि छ। यी क्षेत्रमा पनि अतिक्रमणको चपेटा छ। एकातर्फ अतिक्रमण र बर्सेनि फागुन÷चैतको डढेलोले वन सखाप पारिरहेको वन क्षेत्र नजिकका बासिन्दा बताउँछन्।

‘वन क्षेत्रका रुखदेखि जग्गासम्म तस्करमा आँखा छन्, वन क्षेत्र ओगट्ने कारबाहीमा परेका देखिँदैनन्’, बर्दिबास– ३ का पाटुका बासिन्दा होमबहादुर खड्का भन्छन्, ‘बर्सेनि डढेलोले वन क्षेत्र उजाड देखिएको छ।’ अतिक्रमणको चपेटा र बर्सेनिको डढेलोले वन क्षेत्र सखाप बन्दै गएको छ।

फागुन मध्ययता पहिले परियोजनाका प्लटमा देखिने डढेलो दुई÷तीन दिनयता राजमार्ग उत्तरको सामुदायिक वन क्षेत्रमा बाक्लै देखिन थालेको छ। वनमा डढेलो देखिएपछि बस्तीमा त्रास छाउने गौशाला– ८ ढल्केबर बेलगाछीका सामाजिक÷राजनीतिक कार्यकर्ता मीन रहपाल बताउँछन्। ‘बस्तीसँगै जोडिएको वन क्षेत्रमा आगोको मुस्लो देखिन्छ, डरले राति निदाउन सकिन्न’, रहपाल भन्छन्।

यसपालि हिउँदे वर्षा नहुँदा वन क्षेत्रका पतिङ्गर (रुखबाट झरेका पात) खंग्रिएका हुँदा आगो चाँडै फैलने गरेको छ। दिनहुँको डढेलोले वन क्षेत्रका ससाना नयाँ बुटा डढेर कालो ठुटा बनेका छन्। अहिले बढी डढेलो परियोजना प्लटमा देखिए पनि राजमार्ग उत्तरको सामुदायिक वन क्षेत्रमा पनि दुई÷तीन दिनयता डढेलो बाक्लै बढेको छ। सामान्यतः चैतमा बढी देखिने डढेलो यसपाली भने मध्य फागुनदेखि नै बढेको हो।

जिल्लाको बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका सागरनाथ वन विकास परियोजनाको प्लटबाहेक राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन र धार्मिक वन क्षेत्र पनि डढेलोले उजाड बनाउँदै लगेको बर्दिबास– ५ का वडाध्यक्ष कहारमान स्याङ्वा बताउँछन्।

‘राजमार्ग दक्षिणबाट सल्केको डढेलो अब राजमार्ग उत्तरतिर पनि बढ्दै गएको छ’, स्याङ्वा भन्छन्, ‘डढेलो नियन्त्रणमा अब कडाइ जरुरी छ।’ पूर्वपश्चिम राजमार्ग तल्तिर (दक्षिण) सागरनाथ वन विकास परियोजनाका प्लट छन्। माथितिर (उत्तर) राष्ट्रिय तथा सामुदायिक र धार्मिक वनको क्षेत्र बढी छ। अहिले तलतिर बढी डढेलो देखिएको छ।

‘धनुषा र महोत्तरीको साँध रातुपुलदेखि पश्चिम बाँकेपुलसम्मको महोत्तरीको करिब १८ किमि दुरीभित्रै पूर्वपश्चिम राजमार्गसँगै जोडिएर बर्दिबास र गौशाला नगर क्षेत्रका वनभित्रै चार वन सबडिभिजन कार्यालय (बाँके, टुटेश्वर, गणन्ता र गौरीडाँडा) छन्, सशस्त्र वन सुरक्षा कार्यालय छ । यसबाहेक सागरनाथ वन विकास परियोजनाको कार्यालय र पोस्ट नै छन्’, वन क्षेत्रसँगै जोडिएको गौशाला– १० का विवेक कुशवाहा भन्छन्, ‘डढेलो लगाउने कहिल्यै समातिएनन्।’

डढेलो लगाएबापत कोही समातिने र कारबाहीमा पर्ने नदेखिएपछि डढेलो लगाउने बढेको कुशवाहाको भनाइ छ। खासमा वनसम्बद्ध कर्मचारीले जिम्मेवारी क्षेत्रलाई सेवाको काम नभएर जागिर बुझ्ने प्रवृत्ति र वनसम्बद्ध समिति तथा कार्यालयको उदासिनताले वन उजाड हुँदै गएको यहाँ आम टिप्पणी बढेको छ।

वनमा डढेलो लगाए त्यसपछि पानी परेलगत्तै नयाँ घाँस पलाउने विश्वासले वन क्षेत्र नजिककै पशुपालकले डढेलो लगाउने गरेका यस क्षेत्रका बुढापाकाको ठम्याइ छ। दिनहुँ गाईबस्तु डुलाउन वन क्षेत्र पुग्ने गोठालाले नै यस्तो गर्नेगरेका धेरैको बुझाइ छ। बर्सेनि फागुन लागेपछि डढेलो लगाउने क्रम बढ्ने थाहा भएर पनि वनसम्बद्ध कार्यालयले त्यसको नियन्त्रणमा पूर्वसजगता नअपनाएको यस भेगका बासिन्दाको गुनासो छ।

जिल्लामा राष्ट्रिय वन, सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत अभिलेखमा २४ हजार चार सय ६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयले जनाउँदै आएको छ। यद्यपि पछिल्ला दुई दशकयता बढेको राजनीतिक संरक्षित अतिक्रमणले वन क्षेत्र अब १६ हजार हेक्टरभित्र खुम्चेको वन अधिकारी नै स्वीकार गर्छन्।

पछिल्ला केही वर्षयता सुरक्षा तरलताले वन क्षेत्र रूखविहीन बन्दै गएका वन तथा वातावरण क्षेत्रमा कार्यरत सामाजिक संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउँछन्। वन क्षेत्रको सुरक्षा र व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको डिभिजन वन कार्यालयले पर्याप्त सुरक्षाकर्मी नहुँदा सबै क्षेत्रमा सघन गस्ती गराउन नसकिएको स्वीकार गरेको छ।

वन क्षेत्रको सुरक्षा र प्रवद्र्धनको कार्य वन क्षेत्रसँग जोडिएका बस्तीका बासिन्दाको सहयोगबाट सम्भव हुने वन कर्मचारीको भनाइ छ। खासमा डढेलो वन वरिपरिकै पशुपालक परिवारका गोठालाबाट हुने भएको हुँदा यसको नियन्त्रणमा सर्वसाधारणको सहयोग अपरिहार्य बनेको डिभिजन वन कार्यालयका प्रमुख सन्तोस झा बताउँछन्।

‘वनमा डढेलो रूखहरुबीचको घर्षण र आगो सल्काएरै हुने हो, यहाँ धेरैजसो सल्काइएको आगोले नै नोक्सान गर्दै आएको छ’, झा भन्छन्, ‘बर्सेनि डढेलो नियन्त्रणका लागि छलफल, प्रचारप्रसार गरिँदै छ, यद्यपि यो नियन्त्रण हुन सकेको छैन।’ आगो सल्काएर हिँडेपछि अनुमानको आधारमा कसैलाई समात्ने न्यायोचित नहुने र यो मिनटभरमै गर्ने भएपछि यस्तालाई नियन्त्रणमा लिन कठिनाइ भएको झा स्वीकार गर्छन्।

‘हामी सुरक्षा र प्रशासनिक निकायको समन्वयमा गस्ती गरिरहेका हुन्छौँ तर डढेलो नियन्त्रणका लागि यो पर्याप्त छैन’, झा भन्छन्, ‘स्थानीय तह, नागरिक समाज, वनसम्बद्ध समिति र आम उपभोक्ताबीच डढेलोविरुद्ध समन्वय र संयुक्त पहलकदमीको आवश्यकता छ।’ यस्तो समन्वयका लागि डिभिजन वन कार्यालयले आफ्ना मातहत कार्यालयमार्फत निरन्तर प्रयत्न गरिरहेको उनको भनाइ छ। –रासस
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस