उद्योग झाडिले झपक्कै छोपेको छ । मुख्य गेटमा छजना सुरक्षा गार्ड आलोपालो बन्द उद्योग कुरिरहेका छन् । २०७२ को भूकम्पपछि पुर्णरुपमा बन्द गोरखकाली रबर उद्योगले २०७५ माघमा उद्योगमा रहेका धेरै कर्मचारीलाई अवकास दिएपछि उद्योग अहिले सुनसान छ ।
उद्योगमा रहेका दुईसय ४२ जना, डिपो र काठडमाडौंस्थित सम्पर्क कार्यालयका सहित दुईसय ८० भन्दाबढी कर्मचारीलाई त्यो बेला एकैपटक अवकास दिइएका थियो । हाजिर गर्न कर्मचारी गईरहँदा चहलपहल देखिने उद्योग त्यसयता सुनसान छ ।
उद्योगभित्र चारवटा साना गाडी थोत्रिएका छन् । गुड्दागुड्दै थन्किएका गाडी थोत्रो भईसक्यो । केही मोटरसाईकल पनि उद्योगभित्रै छन् । करोडौं रुपैयाँ पर्ने मेसिनहरु धुलो र खियाले थोत्रिएका छन । टायर उत्पादनको काम नहुँदा मेसिन कवाडीमा परिणत भएको छ । ‘हामीले भित्र मेसिन हेर्दैर्नाै र जान्दैनौ,’ सुरक्षा गार्ड गंगाप्रसाद गौतमले भने ‘हामीले उद्योगको भवन, कम्पाउण्डभित्रको सुरक्षा गर्ने जिम्मेवारी मात्रै पाएका छौं । उद्योगमा अहिले कोही आउँदैनन् ।’
सरसफाई गर्ने र मेसिनको अवस्था पनि के कस्तो छन् भनेर हेर्ने कोही छैन । ठुला र पक्कि भवन झाडिले छोप्ने, झ्यालका शिशा फुट्ने गरेका छन् । उद्योग भित्रै जथाभावि कच्चा पदार्थ मिल्किएका छन् । झाडिले उद्योगको हरेक ब्लक छोपेको छ । उद्योग भित्रको झाडि जंगली जनावरको बासस्थान बनेको छ । उद्योग परिसर घुम्न एक्लाएक्लै जान सुरक्षागार्ड पनि डराउँछन् । सयौं रोपनी क्षेत्रफलमा रहेको उद्योगका छुट्टाछुट्टै भबन छन । कार्यालय, उत्पादन कक्ष, प्रशोधन, स्टोर लगायत कुनैमा पनि तालाचावी लगाइएको छैन । उद्योगको कोठा, शौचालय फोहोर र दुर्गन्धित छन् ।
उद्योग परिसरमा जताततै बिजुलीको फलामे पोल स्टोर गरिएका छन् । वर्षाैदेखि राखिएका पोल कति छन् र कसले राखेको भन्ने बारेमा उद्योगका गार्ड बेखबर समेत छन् । विद्युत प्राधिकरण वितरण केन्द्रले स्टोर गर्न सजिलो भएर राखेको जनाएको छ । तर त्यहाँ यत्रतत्र छरिएर पोल राखिएको छ । उद्योगको वरपर ठुलो संख्यामा खयरको रुख छन । रुख काटेर काठ चोरी हुने क्रम बढेको गुनासो आईरहन्छ । कतिपय रुख थोत्रिएर कुहिएका छन् । महँगो मुल्यमा बिक्री हुने लडेका, पुराना खयरका रुखको ब्यवस्थापन उद्योगले गर्न सकेको छैन ।
तीनवर्ष अघि उद्योगले खयरको रुख काटेर बिक्री गर्न डिभिजन बन कार्यालय मार्फत प्रक्रिया अघि बढाएको थियो । लडेका रुख मात्र नभई सबै रुख काटेर बिक्री गरी कर्मचारीलाई तलब भत्ता खुवाउने उद्योगको योजना थियो । चौतर्फी आलोचनापछि वन विभागले रुख काट्ने अनुमती दिएन । रुख काट्न नपाएपछि उद्योगले सडेगलेका रुखको प्रयोग गर्न तर्फ पनि चासो नदिएको सेवानिवृत्त एक कर्मचारीले बताए । अहिले उद्योग क्षेत्रमा घाँस दाउरा गर्ने, नदीले कटान गर्ने गरेर रुख नासिँदै गएको छ ।
बन्द भएको तीनवर्ष सम्म उद्योगले बिना काम कर्मचारीलाई पुरा तलब दिएर पाल्नुप¥यो । यसले उद्योगमा घाटा थपिएको छ । ‘२०७२ देखि उद्योगमा उत्पादन ठप्प भयो, २०७५ मा कर्मचारीलाई अवकास दिईयो’ उद्योगका करार कर्मचारी दिनेश कार्कीले भने । आगामि दिनमा गोरखकालीलाई पहिलेकै अवस्थामा फर्काउन निकै नै मुस्किल रहेको उनले बताए ।
२०४९ सालदेखि टायर उत्पादन थालेको गोरखकाली रबर उद्योग नेपालको एकमात्रै टायर उद्योग हो । यसमा नेपाल सरकारको ३८, साल्ट ट्रेडिङको २३ प्रतिशत शेयर र सर्वसाधारणको पनि लगानी छ । उद्योग सुरु भएदेखि नै उत्पादन राम्रो नभएको कर्मचारीहरु बताउँछन् । ४० प्रतशितसम्म उत्पादन गर्न उद्योग सफल भएको थियो । त्यती मात्रै उत्पादन गरेको वर्षपनि उद्योग नाफामा चलेको रेकर्ड उद्योगसँग छ । उत्पादन ठप्प भएपछि उद्योग वर्षेनी घाटामा छ ।
टायर उत्पादनका लागि चाहिने ७० प्रकारका कच्चा पदार्थ मध्ये सबैजसो खाडी मुलुकबाट ल्याउनुपर्छ । कच्चापदार्थ ढुवानी समस्या, अन्तर्राष्ट्रिय बजारको सस्तो टायरले बजारमा बिक्री बितरण गर्न समस्या हुँदा उद्योग टाट पल्टिने अवस्थामा पुगेको हो । भारतीय बजारमा उत्पादन हुने टायरको मुल्य भन्दा पाँचदेखि १० हजार रुपैयाँ महंगो गोरखकालीका टायरको पर्दथ्यो । अवैध रुपमा कर छलेर नेपाली बजारमा आउने टायरले गोरखकाली टायरको बजार बिक्री घटेपछि बन्द हुन पुगेको अनुभव मजदुरहरुको छ ।
नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्ने योजना कार्यान्वयनमा आउन सकेको छैन। सरकारले चालु आवको नीति तथा कार्यक्रममा रुग्ण अवस्थाको सो उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको थियो। सरकार र राजनीतिक नेतृत्वबाट उक्त उद्योग चलाउने प्रतिबद्धता आए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको हो।
सरकारको नीति तथा कार्यक्रममा समावेश भए पनि उद्योग सञ्चालनका लागि प्रक्रिया सुरु नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। सो उद्योग सञ्चालनका लागि ठोस कार्ययोजना र ढाँचा तय भइनसकेको उद्योग विभागका निर्देशक अर्जनसेन ओलीले बताए। ‘मन्त्रालय तहबाट नीतिगत निर्णय त भएको हो, तर उद्योग सञ्चालनको गृहकार्य अघि बढेको छैन’, उनले भने।
मन्त्रालयले रुग्ण तथा बन्द अवस्थामा रहेका उद्योग सञ्चालनका लागि विसं २०७८ मा प्रारम्भिक अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाएको निर्देशक ओलीले बताए। ‘हेटौंडा कपडा उद्योग सञ्चालनको जिम्मा नेपाली सेनालाई दिनेबारे सरकारले छलफल चलाइरहेको छ, तर गोरखकाली रबर उद्योग सञ्चालनको ढाँचा र लगानी स्रोतबारे अहिलेसम्म कुनै निर्णय भएको छैन’, उनले भने।
सरकारले नीति तथा कार्यक्रममार्फत गरेको उक्त निर्णयले आशा जगाएको भए पनि घोषणा कार्यान्वयनमा हुनेमा जनस्तरमा संशय कायमै छ। यसअघि पनि गोरखकाली रबर उद्योगलगायत बन्द तथा रुग्ण अवस्थामा रहेका स्वदेशी उद्योग चलाउने सरकारी प्रयासले सार्थकता पाउन सकेको थिएन। गोरखकाली देशकै एकमात्र टायर उत्पादन गर्ने उद्योग हो।
विसं २०४९ साउनदेखि व्यावसायिक उत्पादन थालेको सो उद्योग व्यवस्थापनको कमजोरीका कारण विसं २०७२ देखि पूर्ण रुपमा बन्द छ। सरकारले उद्योगमा कार्यरत दुई सय ८० कर्मचारीलाई विसं २०७६ फागुनमा ९६ करोड रुपैयाँ दायित्वसहित अवकाश दिएको थियो। अहिले उद्योगको रेखदेखका लागि करारका कर्मचारी र सुरक्षागार्ड छन्।
गोरखाको गोरखा नगरपालिका १३ मजुवा देउरालीको ६ सय ६५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा झन्डै दस अर्ब रुपैयाँ बराबरको सम्पत्ति रहेको जनाइएको छ। उद्योगको जग्गा, भवन, वन सम्पदा, उपकरण आदिको संरक्षण प्रयास भए पनि लामो समयसम्म सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको उद्योगमा २५ वर्ष सेवा गरेको दिनेश कार्कीले बताए।
उनले सरकारले चाहेमा चाहेमा अहिले भएकै पूर्वाधारबाट उद्योग पुनः सञ्चालन गर्न सकिने बताए। ‘५०-६० वर्षलाई थेग्ने गरी उद्योगको भौतिक संरचना बनेको छ’, उनले भने, ‘बिग्रेका उपकरण र प्रविधि फेर्न थप लगानी भने गर्नुपर्छ।’
कार्कीका अनुसार उद्योगबाट ‘बायस’ प्रविधिको टायर र ट्युब उत्पादन हुँदै आएको थियो। अहिले भारतीय बजारबाट ‘रेडियल’ अर्थात् ‘ट्युबलेस’ प्रविधिको टायर नेपाल भित्रने गरेको छ। नेपालको भूबनोट र सडकको स्तरअनुसार अझै केही दशक ‘बायस’ प्रविधिकै टायर प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ। ‘रेडियल प्रविधिमा जाने हो भने ५० करोड रुपैयाँभन्दा बढी लगानी चाहिन्छ, यो प्रविधि महँगो छ’, कार्कीले भने।
यसअघि मन्त्रालयका सहसचिवको नेतृत्वमा बनेको अध्ययन कार्यदलले पनि गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालन गर्न सकिने भनेर औँल्याएको थियो। गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले सङ्घ सरकार र प्रधानमन्त्रीबाटै प्रतिबद्धता आएकाले आफूहरु उद्योग सञ्चालन हुनेमा आशावादी रहेको बताए।
‘जिल्ला र स्थानीयस्तरबाट पनि पहल हुँदै आएको छ, तर अहिलेसम्म प्रयास सार्थक बन्न सकेको छैन’, उनले भने, ‘सार्वजनिक–निजी साझेदारीको अवधारणमा उद्योग सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो माग छ।’ सरकारले उद्योग सञ्चालनको घोषणा गर्ने तर कार्यान्वयन नहुने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए।
गुणस्तरीय टायर स्वदेशमै उत्पादन गर्न सक्ने उद्योग लामो समयसम्म बन्द हुनु दुर्भाग्य भएको प्रमुख राना मगरको भनाइ छ। ‘बजारमा रहेको भारतीय टायरको वर्चश्व तोड्न र नेपाली टायरलाई प्रतिस्पर्धी बनाउन पनि यो उद्योग सञ्चालन गर्नैपर्छ’, उनले भने, ‘स्वदेशी उत्पादनको प्रवर्द्धन र रोजगारी सिर्जनामा यसले ठूलो मद्दत पुर्याउँछ।’
लगानी र नयाँ प्रविधि भित्राएर भए पनि उद्योग सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। गोरखाका राजनीतिकर्मी, व्यवसायीलगायत सर्वसाधारणले लामो समयदेखि सो उद्योग सञ्चालनको माग गर्दै आएका छन्। राजनीतिक प्रभाव, कमजोर व्यवस्थापन, बजार प्रवर्द्धनको कमी जस्ता कारणले उद्योग बन्द हुन पुगेको स्थानीयवासी बताउँछन्।
सरकारले चालु आवको नीति तथा कार्यक्रममा गोरखकाली रबर उद्योगसँगै हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना पुनः सञ्चालनको घोषणा गरेको थियो। –रासस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...