गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः भौतिक निर्माण पूरा, सेवा अनिश्चित
१५ पौष २०७७
•
९ मिनेट पाठ
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः भौतिक निर्माण पूरा, सेवा अनिश्चित
नेपालका भौतिक पूर्वाधार निर्माणका आयोजनामध्ये पछिल्लो समय धेरै चर्चा हुने मध्ये एउटा हो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । पश्चिम नेपालको विकास र समृद्धिको ढोका खोल्न कोषेढुंगा सावित हुने विश्वास लिइएको यो विमानस्थलको भौतिक निर्माण सकिएको छ । भौतिक बाहेकका पनि ९३ प्रतिशत काम सकिएका छन् । प्राविधिक जनशक्ति उपलब्ध भए अबको तीन महिनामा सम्पूर्ण काम सक्ने आयोजनाको लक्ष्य छ ।




सुरुमा मूल्य अभिवृद्धि कर (भ्याट) सहित ६ अर्ब २२ करोड ५१ लाख लागतमा निर्माण सम्पन्न हुने भनिएको आयोजनाको लागत बढेर अहिले ७ अर्ब २५ करोड पुगेको छ।  
विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले भौतिक निर्माणको काम सकिए र संरचनाहरूमा उपकरण जडानको काम बाँकी रहेको बताए । अहिले इन्टेरियर तथा फिनिसिङको काम चलिरहेको उनले जनाए । आयोजनामा काम गर्ने विदेशी प्राविधिक जनशक्ति कोरोनाका कारण नेपाल फर्कन ढिला गर्दा लक्ष्य अनुसार काम गर्न नसकिएको आयोजना प्रमुख अधिकारीले बताए । उनका अनुसार विमानस्थलमा अहिले केही भारतीय र चिनियाँसहित २ सय कामदारले काम गरिरहेका छन् । सिभिल वर्क सहित मुख्य उपकरण जडान पूर्वका तयारीका काम चलिरहेको छ ।  

विमानस्थलमा ८ तले कन्ट्रोल टावरको निर्माण सकिएको छ । अन्तर्राष्ट्रिय ट्रमिनल भवन, प्रशानिक भवन, फायर बिल्डिङ, विद्युत् सवस्टेशन, सुरक्षाकर्मी आवास गृह जस्ता भौतिक संरचना निर्माण भइसकेका छन् । उक्त संरचनामा इन्टरनेटको तथा फिनिसिङसँगै चेकिङ काउण्टर, कार्यालयको काम चलिरहेको छ ।

तीन हजार मिटर लामो धावनमार्ग तयार भएको छ । ५ वटा विमान पार्किङ क्षमताको एप्रोन तयार छ । १ हजार ९ सय मिटरको ट्याक्सी वे बनेको छ । धावन मार्ग वरपर १० किलोमिटरको पेरिमिटर सडक, खानेपानी ट्यांकी, बगैंचाको काम भइरहेको छ । दीर्घकालीन योजना अन्तर्गत राडारका लागि पनि जग्गा अधिग्रहण गरिएको छ । आयल निगमले डिपो बनाउने तयारी गरेको छ ।

२८७ बिघामा सञ्चालित विमानस्थल अहिले ८१० बिघा क्षत्रेफलमा विस्तार भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको ‘फोर ई’ स्तरको यो विमानस्थलबाट एयर वस ३३०, बोइङ ७७७–२०० सिरिज, लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने जुनसुकै जहाजहरू सुरक्षित उडान तथा अवतरण गर्न सक्छन् । प्रतिघण्टा ४ सय यात्रुलाई सेवा दिन सक्ने यसको क्षमता रहेको छ । अत्याधुनिक उपकरण जडान गरिएको विमानस्थलको रनवे र ट्याक्सी वे को संरचना त्रिभुवन विमानस्थलकोभन्दा उत्कृष्ट रहेको आयोजना प्रमुख अधिकारीले बताए ।

कार्गो भवन बन्दै

विमानस्थलको उत्तर पश्चिममा १५ हजार वर्गमिटरमा पार्किङ्गसहितको कार्गो (गोदाम) भवन बन्दै छ । आयात, निर्‍यातको प्रोभिजनसँगै प्रशासनिक भवनसहितको कार्गो भवन बन्ने छ । ९० करोड ३६ लाखको लागतमा २०७७ को कात्तिकमा निर्माण गरिसक्ने गरी ठेक्का सम्झौता भएको थियो । कोभिड–१९ लगायत कारण देखाउँदै २०७८ को वैशाखसम्म म्याद थप भएको छ । सो अवधिमा पनि निर्माण सम्पन्न हुने सम्भावना कम छ । हवाइ मार्ग भएर जाने कृषिजन्य तथा अन्य उत्पादनहरूको व्यापार प्रवद्र्धनमा यो कार्गोले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ ।

उपकरण जडानको काम रोकियो

विमानस्थलको स्ट्रक्चरल कम्पोनेन्टका काम करिब सकिए पनि उपकरण जडान हुन सकेको छैन। सिभिल वर्क तर्फ आइसिवी–वान कै उपकरण जडानको काम रोकीएको छ । यसअघि एप्रोनमा प्रयोग हुने लाइट, एक्सरे मेसिन, कन्भियर बेल्ट, धावनमार्गका लाइट जस्ता उपकरण विदेशबाट आउन ढिलाइ भयो । अहिले सबै उपकरण आइसके पनि जडानका लागि चिन र थाइल्याण्डबाट प्राविधिक आउनु पर्ने भएका अझै आएका छैनन्।

एयर ट्राफिक कन्ट्रोल तथा मौसम पूर्वानुमान व्यवस्थापनका लागि आवश्यक उपकरण जडानको काम बाँकी छ । एयर ट्राफिक कन्ट्रोल तथा मौसम व्यवस्थापनको उपकरण सम्बन्धि अन्तर्राष्ट्रिय बोलपत्र ०२ (आइसीवि–टु) थाइल्याण्डको एरो थाइ कम्पनीले पाएको हो।

नेपाल नागरिक उड्ययन प्राधिकरणका उपनिर्देशक प्रविण न्यौपानेका अनुसार आइसिवि–टु तर्फका उपकरणहरू सबै आइसकेका छन् । तर दक्ष जनशक्ति नेपालमा नहुँदा समस्या भएको हो । उपकरण जडानका लागि अमेरिका, अष्ट्रियाबाट प्राविधिकहरू आउनु पर्ने भएपनि कोरोनाका कारण अहिलेसम्म नआएको उपनिर्देशक न्यौपानेले बताए । प्राविधिक नयाँ वर्ष मनाएर आउने जानकारी पाएको उनले बताए । जनशक्ति व्यवस्थापन भए दुई महिना भित्रै आइसिवि–२ को काम सम्पन्न हुने उपनिर्देशक न्यौपानेले बताए ।

समग्र आयोजनामा उपकरण जडान गर्न चीनबाट ३५ र अमेरिका, थाइल्याण्ड, अष्ट्रियाबाट ३० जना गरी ६५ जना प्राविधिक प्रस्ताव गरिएको छ । यो जनशक्ति समयमै उपलब्ध भए ९० दिनमा आयोजनाको सम्पूर्ण काम सम्पन्न हुने दाबी विमानस्थल निर्माण आयोजना प्रमुख अधिकारीको छ । तर नर्थवेष्टले आइसिवि वानका लागि तत्काललाई ९/१० जना मात्रै कामदार चीनबाट ल्याउने तयारी छ ।

लगानी ७ अर्ब २५ करोड  

सुरुमा भ्याटसहित ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा निर्माण सम्पन्न हुने भनिएको आयोजनाको लागत बढेर अहिले ७ अर्ब २५ करोड पुगेको छ । आइसिवि (वान) सिभिल वर्क तर्फको ६ अर्ब ८२ करोड लागत छ । आइसिवि –२ संचार उपकरण तर्फको लगानी करिब ५० करोड छ । धावन मार्ग र ट्याक्टी वे को सेन्टर लाइनमा समेत लाइट थप गर्ने निर्णयपछि गरिएकाले लागत केही बढेको आयोजना प्रमुख अधिकारीले बताए । यो आयोजनामा एशियाली विकास वैंकको सहुलियत ऋण सहयोग र नेपाल सरकारको लगानी छ ।

मुआब्जामा २२ अर्ब

सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि २२ अर्ब मुआब्जा वितरण गरेको छ । विमानस्थलको स्तरोन्नतीका लागि जम्मा २ हजार २ सय परिवारको करिब ५ सय बिघा जग्गा अधिग्रहण गरिएको हो । आयोजनाले ६ सय २५ घर विस्थापित भएका छन् । आयोजना प्रमुख अधिकारीका अनुसार अहिलेसम्म ९७ प्रतिशतको मुआब्जा वितरण सकिएको छ ।

छैठौं पटक म्याद थपिँदै

२०७१ माघ १ गते (सन् २०१५ जनवरी) मा पूर्व प्रधानमन्त्री स्वर्गीय शुसील कोइरालाले शिलान्यास गरेपछि विमानस्थल निर्माणको काम सुरु भएको हो । सिभिल वर्कतर्फ सन् २०१७ को डिसेम्बरमा निर्माण सक्ने गरी २०१४ को डिसेम्बर २१ मा चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभियसन कन्स्ट्रक्सन गु्रपसँग ठेक्का सम्झौता भएको हो । तर २०२० को डिसेम्बरसम्म काम सम्पन्न भएको छैन । अहिलेसम्म आयोजनाको म्याद ५ पटक थपिएको छ । छैठौं पटक थप्ने तयारी छ ।  

यो आयोजना सुरु भएलगत्तै नाकाबन्दी र मधेश आन्दोलनको चपेटामा पर्यो । त्यसपछि आयोजनामा घुसेको राजनीतिले पनि केही समय काम ठप्प भयो । पूर्वप्रधानमन्त्री झलनाथ खनालका छोरा निर्भिक खनाल, युवा संघका नेता राजु गुरुङलगायतका नेकपा सम्बद्ध युवाको समूह सव–कन्ट्रयाक्टर बनेर आयोजनामा पसेपछि विवाद भएको थियो । चिनियाँ कम्पनीको फितलो व्यवस्थापन र सव कन्ट्रयाक्टरसँगको विवादले झण्डै एक वर्ष आयोजना प्रभावित बन्यो ।  

त्यहीबेला एशियाली विश्व बैंकले ठेक्का रद्द गर्नेसम्मको चेतावनी दिएको थियो । तर तत्कालिन आयोजना प्रमुख ओम शर्माले राजनीतिक जोखीम मोलेरै भए पनि कन्ट्रयाक्टर, सवकन्ट्रयाक्टरको विवादकैबीच आयोजनालाई सही ट्रयाकमा ल्याउन सफल भएका थिए । आइसिवि –०२ संचार उपकरण तर्फ सन २०१९ को मार्चमा ठेक्का सम्झौता भएको हो । जसको म्याद २०२० को डिसेम्बरसम्म मात्रै छ ।  

चाँडो संचालनमा आउनेमा आशंका  

विमानस्थल निर्माण आयोजनाले प्राविधिक जनशक्ति उपलब्ध भए तीन महिनामा काम सक्ने दाबी गरे पनि प्राधिकरणका कतिपय अधिकारीहरू भने विमानस्थल छिट्टै सञ्चालन हुनेमा आशंका व्यक्त गर्छन् । ‘फिल्डमा आयोजनाका थुप्रै काम बाँकी छन् । सञ्चालनका लागि गर्नुपर्ने पूर्व तयारीहरू गरिएको छैन । सरासर काम भयो भने पनि ती काम सक्न कम्तीमा एक वर्ष लाग्छ,’ प्राधिकरणका एक अधिकारीले भने ।  

उनका अनुसार पहिले आइसिवि वान र टु का सबै काम सक्नुपर्छ । सुरक्षा, अध्यागमन, भन्सार जस्ता सबै सेवा सुविधा र कर्मचारी व्यवस्थापन समयमै गर्नुपर्छ । सबै कुराको व्यवस्थापन भएपछि परिक्षण उडान अघि थाइल्याण्डबाटै ल्याएको जहाज उडाएर सिष्टम चेक गरिने छ । त्यसका साथै भैरहवा विमानस्थल भारतको सीमा नजिक छ । अन्तर्राष्ट्रिय उडानका जहाजले अर्को देशको आकाश छुन सक्ने अवस्थामा सम्बन्धित देशसँग अनुमती लिनुपर्ने हुन्छ । त्यसका लागि भारतीय पक्षसँग छलफल भइरहेको र सकारात्मक प्रतिक्रिया आए पनि सम्झौताका लागि तयारी बाँकी नै रहेको छ ।

त्रिभुवन विमानस्थलको विकल्प  

संघीय राजधानीदेखि २९० किलोमिटरको दूरीमा पश्चिममा रहेको यो विमानस्थल बुद्ध जन्मस्थल लुम्बिनीबाट सबैभन्दा नजिकको दूरीमा छ । सन् १९५८ देखि सञ्चालनमा आएको यो विमानस्थल ६२ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नती हुँदैछ । यसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा हेरिएको छ । काठमाडाैं विमानस्थलमा प्रतिकुल मौसमका कारण अवतरण गर्न नसक्ने विमान लासा, ढाका, दिल्ली डाइर्भट गर्नुपर्ने यसअघिको बाध्यतालाई भैरहवा विमानस्थलले प्रतिस्थापन गर्ने विश्वास छ ।

पर्यटन विकास र निर्‍यात व्यापारमा सहयोगी

बुद्ध जन्मस्थल लुम्बिनीदेखि करिब २२ किलोमिटरको दूरीमा रहेको यो विमानस्थलले लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगतसँग सिधा हवाइ सम्पर्क स्थापित गर्ने छ । जसले लुम्बिनीसहित पश्चिम नेपालको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ । दक्षिण पूर्वी एशियाली बौद्ध धर्मावलम्बीलाई यो विमानस्थल बनेपछि लुम्बिनी भ्रमण गर्न सहज हुनेछ ।

लुम्बिनीसँग सिधा सम्पर्क नहुँदा अहिले झण्डै ६० प्रतिशत विदेशी भारतीय बाटो हुँदै लुम्बिनी आउने गरेका छन् । उनीहरू भारतले बनाएको बुद्ध सक्रिट र टुर प्याकेजलाइ अवलोकन गर्दै भैरहवाको बेलहिया नाकाबाट लुम्बिनी पुग्छन् । मायादेवि मन्दिरमा केही घण्टा बिताएपछि सोही दिन पर्यटक पुनः भारत फर्कन्छन् । जसका कारण बाह्य पर्यटकबाट लुम्बिनीले खासै फाइदा लिन नसकीरहेको पर्यटन व्यवसायीको भनाइ छ ।  

बुद्धधर्मावलम्बी देशहरूसँग सिधा हवाई सम्पर्क स्थापित हुँदा ती पर्यटकको नेपाल बसाइँ लम्ब्याउन सकिने पर्यटन व्यबसायीको अपेक्षा छ । लुम्बिनीसँगै नवलपरासी, कपिलवस्तुका बुद्ध स्थलहरू, लुम्बिनी प्रदेशका अन्य पर्यटकीय स्थलसँगै पोखरा, चितवन, सुदूरपश्चिम र कर्णालीका पर्यटकीय स्थलहरूलाई जोडेर भ्रमण प्याकेज बनाउन सकिने नाटा लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष विष्णु शर्माले बताए । ‘सरकार र निजी क्षेत्रले सहकार्यमा पर्यटन विकासका योजना र पूर्वाधारहरू बनाउनुपर्छ,’ उनले भने । यो विमानस्थल निर्माणसँगै अहिले रूपन्देही, कपिलवस्तु, नवलपरासीमा पर्यटन सम्बन्धि पूर्वाधारहरू निर्माण भइरहेका छन् । बुटवल, भैरहवा, लुम्बिनी क्षेत्रमा ठूलठूला होटल, क्यासीनो, ट्राभल टुर व्यवसायमा लगानी बढ्दो छ ।

यो विमानस्थलले अन्तर्राष्ट्रिय व्यापार पावद्र्धनमा समेत टेवा पुग्ने विश्वास यस क्षेत्रका उद्योगी व्यवसायीको छ । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले हिमाल, पहाड र तराईका कृषिजन्य, जडीबुटीजन्य र हस्तकला सम्बन्धि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्‍यात गर्न सकिने सम्भावना रहेको बताए ।

स्वदेशी सामानको प्रयोग

भौतिक निर्माण तर्फ यो आयोजनामा रनवे र एप्रोनमा प्रयोग हुने बिटुमिन अर्थात अस्पाल्ट, इन्धनलगायतका केही सामग्री बाहेक निर्माणका अन्य सामग्री स्वदेशी नै प्रयोग भएको छ । निर्माण कम्पनीका अनुसार अर्घाखाँची, सर्बोत्तम, शिवम्लगायतका स्वदेशी सिमेन्ट बढी प्रयोग भएका छन् । जगदम्बा, अम्बे, काठमाडौं स्टिल, एसआर स्टिल उद्योगका डण्डी तथा पञ्चकन्याका पाइप धेरै प्रयोग गरिएको छ । आयोजना प्रमुख अधिकारीका अनुसार तोकीएको मापदण्ड अनुसार गुणस्तर परीक्षण गरेर मात्रै निर्माण सामग्रीको प्रयोग गरिएको हो ।
अर्को समाचार
विमानस्थल नचल्दा होटल व्यवसायी चिन्तित
१३ वैशाख २०८१
•
४ मिनेट पाठ
विमानस्थल नचल्दा होटल व्यवसायी चिन्तित
फाइल तस्वीर
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले भैरहवाका पर्यटन व्यवसायीमा जति खुसी छाएको थियो अहिले विमानस्थल सञ्चालनमा नआउँदा त्यति नै निराशा छाएको छ।




अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि अर्बौं रूपैयाँ लगानी गरेर पर्यटकलाई उत्कृष्ट सेवा सुविधा दिन निर्माण गरिएका होटलहरू नचल्दा व्यवसायी चिन्तित भएका छन्। विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीहरू बैंकको ऋणले थिचिएको लुम्बिनी होटलका सञ्चालक रविन्द्र शर्माले बताए।

‘राष्ट्रिय गौरवको आयोजना मध्येको एक विमानस्थल आयोजनाले व्यवसायीलाई सुकुम्बासी बनाउने भयो’, शर्माले भने, ‘व्यवसायीहरूलाई मर्नुभन्दा बौलाउनु निको’ भनेझैं भएको छ।’

कुवेतको जजिरा एयरवेजले केही समय अन्तर्राष्ट्रिय उडान गरेको थियो। जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिन २०७९ जेठ २ गतेबाट सातामा तीनवटा उडान गर्दै आइरहेको थियो।

यसैबीच जजिरा एयरवेजले प¥याप्त यात्रु नपाएर गत वर्षको अप्रिल १९ तारिखमा अन्तिम उडान गरेको थियो। जजिराले  व्यावसायिक कारणले उडान बन्द गर्नु परेको बताएको थियो। जजिरा एयरवेजबाहेक हिमालय एअरलाइन्सले डेढ महिनाजति यस विमानस्थलबाट सिंगापुर उडान गरेको थियो।

नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये चितवनको सौरहा र रूपन्देहीको लुम्बिनी भ्रमण गर्न गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टबाट निकै छिटो र सजिलो यात्रा तय गर्न सकिन्छ। यही परिवेशलाई विचार गरी व्यवसायीहरू होटलमा लगानी गर्न हिचकिचाएनन्, सरकारले भने उडान नियमित गर्न सकेन र व्यवसायीहरू टाट पल्टिने अवस्थामा पुगे।

अन्तर्राष्ट्रिय एयरपोर्ट बनेर होटल व्यवसाय चल्छ भनेर तारे होटलहरू धमाधम खोलिएको बताउँदै सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष तथा नान्स होटलका सञ्चालक सिपी श्रेष्ठले पछिल्लो चार वर्षमा निर्माण भई सञ्चालनमा आएका होटल व्यवसायीहरूको स्थिति ज्यादै दयनीय भएको बताए।

‘भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु अघि एउटा मात्र स्टार होटल थियो’, उनले भने, ‘विमानस्थल निर्माणको क्रममा भैरहवामा मात्र करिब ४०÷५० अर्ब रूपैयाँ होटल क्षेत्रको पूर्वाधारमा लगानी गरिएको छ।’

अहिले भैरहवामा मात्र साना–ठूला गरी एक सय ५० वटा जति होटल सञ्चालनमा छन्। जसमध्ये आधा संख्यामा रहेका होटल गौतमबुद्ध विमानस्थल बन्ने क्रममा खुलेका हुन्। अन्तर्राष्ट्रिय होटल बन्छ र पर्यटकको आगमन बढ्छ भन्ने सोचेर व्यवसायीहरूले होटल क्षेत्रमा अर्बौं लगानी गरेका थिए।

सरकारले अन्तर्राष्ट्रिय उडान गर्न सक्दैनथ्यो भने विमानस्थल सञ्चालनको कार्ययोजना नै बनाउनु हुँदैनथ्यो भन्ने धारणा व्यवसायीहरूको छ। ‘सरकारले लगानी गरेको देखेर निजी क्षेत्रले पनि लगानी गरेको हो, यस्तो दयनीय अवस्था सरकारको अपूर्ण कार्ययोजनाका कारणले आएको हो’, अध्यक्ष श्रेष्ठले भने, ‘यसको क्षतिपूर्ति पनि सरकारले नै भरेर यहाँका व्यवसायीलाई जोगाउनुपर्छ।’

भैरहवाका व्यवसायीहरू मारमा पर्ने अर्को प्रमुख कारण भनेको लुम्बिनी परिसरभित्र सञ्चालनमा आएका ३५ वटा धर्मशालाहरू हुन्। थोरै संख्यामा मात्र परिआएको अवस्थामा आफ्नो मुलुकका नागरिकलाई सामान्य बसोबासको व्यवस्था हुनुपर्ने धर्मशालाहरू होटल जसरी सञ्चालन गरिएकाले परिसरबाहिरका व्यवसायीहरू मारमा परिरहेका छन्। अध्यक्ष श्रेष्ठका अनुसार ५० प्रतिशत बौद्धमार्गी पर्यटकहरू भित्रै बस्ने २५ प्रतिशत जति भारतीय पर्यटक आफ्नै मुलुक फर्कने र बाँकी रहेका पर्यटक मात्र होटलमा बस्ने बताए।

‘सिजनमा पनि भैरहवामा १२/१५ प्रतिशत मात्र पर्यटकको अकुपाई छ, आएका पनि सबै गुम्बा भित्रै बस्छन्’, अध्यक्ष श्रेष्ठले भने। लुम्बिनी परिसरभित्र पूजा पाठ मात्र गर्ने व्यवथा हुने र खाने बस्ने व्यवस्था नहुने हो भने होटल व्यवसायीलाई केही राहत हुन्छ।

व्यवसायीहरूले पटक पटक अवैधानिक तवरले भित्र बसेका पर्यटकहरूको बारेमा लुम्बिनी विकास कोषसँग छलफल गरे पनि सुनुवाई नभएको त्यहाँका व्यवसायीहरू बताउँछन्। करिब ४० वर्ष अघिदेखि सञ्चालन भएका त्यस्ता धर्मशालाले हाल सय, डेढ सय कोठाहरू परिसर भित्रै सञ्चालन गरिरहेको व्यवसायीहरूले बताए।

अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर भनी त्यहाँका व्यवसायीहरूले पटक पटक आन्दोलन गरेका थिए। चार महिना अघि मात्र पनि भैरहवाका होटल व्यवसायीहरूले पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, मन्त्रालयका सचिव, क्यानका अधिकारी, एयरलाइन्स सञ्चालकहरूसँग छलफल पनि गरेका थिए। त्यही बेला तत्कालीन मन्त्री किराँतीले एक महिनाभित्र अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन्छ भनेर व्यवसायीहरूसँग प्रतिबद्धता जाहेर गरे पनि चार महिना बितिसक्दासम्म कुनै उडान हुन सकेको छैन्।  
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
यो पनि पढौँ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस