प्याराग्लाइडिङ मार्फत पर्यटकलाई आकाशमा सयर गराउँदै आएका कम्पनिले अबदेखि ग्लाइडर पनि दर्ता गराउनुपर्ने भएको छ। हवाई कम्पनिले हवाईजहाज दर्ता गरेजस्तै प्याराग्लाइडिङ कम्पनिले पनि अब आफ्ना ग्लाइडर दर्ता गर्नुपर्नेछ। नेपालको हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ग्लाईडर दर्ता गर्न अनिवार्य गरेको हो।
प्राधिकरणका अनुसार पर्यटन मन्त्रालयबाट संचालन इजाजत प्राप्त गरि प्राधिकरणबाट मनोरञ्जनात्मक उड्डयन संचालन प्रमाणपत्र (आरएओसी) तथा मनोरञ्जनात्मक उड्डयन प्रशिक्षण संस्था संचालन प्रमाणपत्र (आरएटिओसी) प्राप्त गरेको कम्पनिले आगामि साउन १ देखि मातहतमा संचालनमा रहेका सबै एकल (सोलो) तथा यात्रुसहित (टेण्डम) प्याराग्लाइडरलाई तीनमहिनाभत्रि प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्याण्डर्ड विभागमा अनिवार्य दर्ता गर्नुपर्ने प्राधिकरणले बताएको छ।
आगामि आर्थिक वर्षको पहिलो ३ महिनाभित्र दर्ता नभएका प्याराग्लाइडरलाई गैरकानुनी घोषणा गरि प्राधिकरणको प्रचलित ऐन तथा नियमावली बजमोजिम कारवाही गरिने पनि प्राधिकरणले बताएको छ। प्राधिकरणको मनोरञ्जनात्मक उड्डयन शाखा प्रमुख ज्ञानेन्द्र भुलका अनुसार अहिलेसम्म उडान भईरहेका कुनैपनि सोलो तथा टेण्डम ग्लाइडरको दर्ता कतै थिएन।
‘पर्यटन मन्त्रालयमा कम्पनि दर्ता थिए । प्राधिकरणबाट आरएओसी र आरएटिओसी पाएका पनि थिए। तर, ग्लाइडर दर्ता थिएनन। अब भने ग्लाइडर नै दर्ता गनुपर्नेछ,’ भुलले भने, ‘हवाईजहाज, हेलिकप्टर, हट एयर बलुन, अल्ट्रालाइट दर्ता गरेर ‘कलसाइन’ पाएजस्तै प्याराग्लाइडिङका ग्लाइडर पनि दर्ता गर्नुपर्नेछ। ग्लाइडरले पनि अबदेखि हवाईजहाजको जस्तै भिन्दै कोड सहितको ‘कल साइन’ पाउनेछन।’
नागरिक उड्डयन नियमावली २०६९ को प्रावधान अनुसार नै अबदेखि ग्लाइडर दर्ता गर्नुपर्ने उनले बताए। ‘अहिलेसम्म दर्ता नभई उडान गरेकैले मनलाग्दी भएको थियो। कहिले कता त कहिले कता उडाएको भनेर हवाइजहाज र हेलिकप्टरको गुनासो आउने गरेको थियो। तर, अब भने दर्ता गरेपछि जहाँ पायो त्यहाँ उडान गर्न रोकिने अपेक्षा छ,’ उनले भने, ‘अहिलेसम्म मनलाग्दी उडान भनेरका ग्लाइडरको पहिचान गर्न नसक्दा उनीहरुलाई कारवाही गर्न सकिएको थिएन। तर, अब दर्ता भएपछि जथाभावि उडान भर्ने ग्लाइडर पहिचान हुनेछन। त्यसले गर्दा कारवाही गर्न सहज हुन्छ।’
ग्लाइडर दर्ता नगरि उडान भर्दा राज्यले राजस्व पनि गुमाएको उनले बताए। भुलका अनुसार आर्थिक वर्षको सुरुको तीनमहिनामा अहिलेसम्म दर्ता नभएका ग्लाइडरले दर्ता गर्नुपर्नेछ भने नयाँ ग्लाइडरले त सुरुमै दर्ता गर्नुपर्ने उनले बताए। ‘अहिलेसम्म प्याराग्लाइडिङका कम्पनि मात्र दर्ता थिए। कम्पनिले तोकेकै भरमा ग्लाइडरको संख्या राख्ने गरिएको थियो। एउटा कम्पनिले बढीमा पाँचवटा मात्र ग्लाइडर राख्न पाउने व्यवस्था थियो। तर, ती ग्लाइडर दर्ता थिएनन,’ उनले भने, ‘तर, अब भने ग्लाइडर नै दर्ता हुनेछन। दर्ता भएका ग्लाइडरका लागि भिन्दै दर्ता नम्बर दिइनेछ। त्यसले गर्दा कुनै समस्या परेमा पहिचान गर्न पनि सहज हुन्छ।’
दर्ता नगरी उडान गर्दा जसले पनि उडाउने, जहाँ पायो त्यहिबाट उड्ने गर्दा नियमन गर्न सकस भएपछि दर्ताको प्रक्रियामा लैजान थालेको उनले बताए। ‘दर्ता नगरि उडान गर्दा जहाँ पायो त्यहिबाट हाम फाल्ने प्रवृत्ति बढ्यो। पहिचान गर्न कठिन हुँदा कारवाहीको दायरामा ल्याउन पनि सकिएन। तर, अब दर्ता गरेको ग्लाइडरले गल्ती गर्नासाथ पहिचान गरेर कारवाही गर्न सकिन्छ,’ भुलले भने।
त्यसबाहेक गैरकानुनी उडान गर्न बाट पनि रोक्न सकिने उनले बताए। ग्लाइडरको अवस्था, उत्पादन मिति, आयु, ग्लाइडरमा प्रयोग गरिएका डोरी, हार्नेस लगायतका सामाग्रीको अवस्था बारे पनि पहिचान गर्न सकिने उनले बताए।
‘इन्जिन नहुने भएकोले ग्लाइडरको भौतिक अवस्था पहिचान गर्न समस्या थियो। तर, दर्ता भएपछि अवस्था पनि पहिचान गर्न सकिन्छ,’ उनले भने।
पोखरामा अहिले उडान भरिरहेका ग्लाइडरको अवस्था पहिचान गर्नका लागि प्राधिकरणका प्राविधिकहरु पोखरा आउनेछन। प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नेपाल हवाइ खेलकुद संस्था (ना) र प्राधिकरणका विज्ञहरु मिलेर पोखरामा हाल उडिरहेका ग्लाइडरको भौतिक अवस्था परीक्षण गरेर दर्ताका लागि अघि बढाइने भुलले बताए। ‘अहिलेसम्म मनलाग्दी उडान भएको थियो। अब त्यो रोकिनेछ, बद्मासी गर्नबाट रोक्नकै लागि उनीहरुलाई दर्तामा लैजान थालिएको हो,’ उनले भने।
नेपाल हवाइ खेलकुद संस्था (ना) का पूर्व अध्यक्ष कृष्ण भण्डारीले अहिलेसम्म प्राधिकरणमा दर्ता नभएपनि हवाइ खेलकुद संस्थाले ग्लाइडरको अवस्थाबारे विवरण राख्ने गरेको बताउँछन। ‘प्राधिकरणमा दर्ता मात्र नभएको हो। नत्र, हवाइ खेलकुद संस्थाले ग्लाइडरको सबै विवरण राखेको थियो। संस्थाले नै नियमन गरिरहेकोले खासै समस्या थिएन। तर, अब झनै व्यवस्थित हुनेछ,’ भण्डारीले भने, ‘मनोरञ्जनात्मक उड्डयन नियमावली अनुसार दर्ता गर्दा राज्यले गुमाएको राजस्व पाउँछ।’
दर्ताविहीन अवस्थामा उडान गर्दा कुनै बद्मासी भए त्यसको जानकारी हवाइ खेलकुद संस्थामा हुने भएकोले खासै समस्या नरहेको उनले बताए। ‘हवाइ खेलकुद संस्थाले सबै ग्लाइडरको लगत राखेकोले कुनै समस्या परेमा पहिचान गर्न सकिन्छ। तर, प्राधिकरणले दर्ता गरेपछि अझै व्यवस्थित हुने विश्वास छ,’ उनले भने। भण्डारीका अनुसार अहिले पोखरामा ५७ वटा कम्पनिले प्याराग्लाइडिङ उडानका लागि अनुमति लिएका छन। ती कम्पनिमा २ सय ५० जना पाइलट कार्यरत छन। २ सय ५० कै संख्यामा ग्लाइडर पनि छन। एउटा ग्लाइडरको आयु ४ सय घण्टाको उडान हुने पनि पूर्व अध्यक्ष भण्डारी बताउँछन।
आन्तरिक राजस्व कार्यालय पोखराले यहाँ संचालित प्याराग्लाइडिङ कम्पनिबाट २ करोड ५० लाख रुपैयाँ अतिरिक्त कर असुल्ने भएको छ। कर छलेको भन्दै आन्तरिक राजस्व कार्यालयले पोखरामा संचालित प्याराग्लाइडिङ कम्पनिका कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। अनुसन्धानपछि कम्पनिसँग अतिरिक्त रकम असुल्ने गरि कारवाही गरेको हो।
आन्तरिक राजस्व कार्यालय पोखराकी सूचना अधिकारी रेनु तिम्सिना भट्टराईले प्याराग्लाइडिङ कम्पनिले अघिल्लो आर्थिक वर्षभित्र गरेको कारोबार मध्ये नियमित बिलबिजकको बाहेक कम्तिमा २ करोड ५० लाख रुपैयाँ अतिरिक्त कर तिनुपर्ने बताईन।
‘पोखरामा संचालित प्याराग्लाइडिङ कम्पनिले कर छली गरेको भन्दै उजुरी परेपछि आन्तरिक राजस्व कार्यालयले छानविन थालेको थियो। त्यसपछि ती कम्पनिले थप रकम तिनुपर्ने देखिएको हो,’ उनले भनिन, ‘औषतमा कम्पनिले ५ लाख रुपैयाँ हाराहारीमा थप कर तिर्नुपर्ने हुन्छ। त्यसको आधारमा कम्तिमा २ करोड ५० लाख रुपैयाँ अतिरिक्त कर निर्धारण भएको हो।’
पोखरामा प्याराग्लाइडिङका ५३ वटा कम्पनि संचालनमा रहेका छन। भट्टराईका अनुसार पोखरामा प्याराग्लाइडिङका ५३ वटा कम्पनि दर्ता रहेपनि सबै कम्पनिले व्यावसाय नगरेकोले व्यावसाय नगर्ने कम्पनिबाहेकले अतिरिक्त कर तिर्नुपर्ने उनले बताईन।
‘हुन त ५३ वटा कम्पनि दर्ता रहेछन। तर, केहीले व्यावसाय गरेका थिएनन। जो जति व्यावसायमा सक्रिय थिए, ती सबैजसो कम्पनिले अतिरिक्त रकम तिर्नुपर्ने गरि कर रकम थपिएको हो,’ उनले भनिन।
उनका अनुसार एकैजना व्यक्ति एक भन्दा बढी कम्पनि दर्ता गरेर संचालन पनि गरेका थिए। उनका अनुसार पोखरामा संचालित सबै प्याराग्लाइडिङ कम्पनिका अघिल्लो आर्थिक वर्षको साउनदेखि फागुनसम्मका सबै काजजात लिएर अनुसन्धान गरिएको थियो। ‘प्याराग्लाइडिङ कम्पनिले कर छली गरेको भन्ने उजुरी परेको थियो। त्यसपछि आन्तरिक राजस्व कागजात कब्जामा लिएर कार्यालयले अनुसन्धान सुरु गरेको थियो,’ उनले भनिन, ‘प्याराग्लाइडिङ कम्पनिको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) मार्फत सबै कम्पनिका कागजात लिएर अनुसन्धान गरिएको हो।’ ना मार्फत कागजात लिएपनि अतिरिक्त कागजात सम्बन्धित कम्पनिबाट लिएका हौ।’
उनका अनुसार कतिपय कम्पनिले कारोवारको रेकर्ड नराखेको, कर नबुझाएको, ना ले तोकिदिएको कोटा संख्या अनुसार उडान गरेको तर, कर छली गरेको पाइएको थियो। ‘प्याराग्लाइडिङ कम्पनिहरुले कर छलेको देखियो। धेरैजसो कम्पनिले कर छलि गरेको पाइएकोले उनीहरुलाई कारवाही स्वरुप कम रकम थपिएको हों,’ उनले भनिन, ‘कतिपयले त अझै पत्र बुझ्न मानेका छैनन्। हामीले प्राप्त गरेको तथ्यांकसँग उनीहरुको कारोवार मिलेको छैन।’
प्याराग्लाइडिङ कम्पनिहरुको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीका अनुसार आन्तरिक राजस्व कार्यालयले पोखरामा संचालित सबै कम्पनिको फाइल लिएर अनुसन्धान गरेको थियो। ‘ना को नयाँ कार्यसमिति आउनुअघिको केही समय समस्या थियो। प्याराग्लाइडिङ कम्पनिले उडान गर्ने पर्यटकसँग लिएको मुल्यकै बारेमा पनि विवाद थियो। त्यो बेला सही व्यवस्थापन हुन सकेको थिएन,’ उनले भने, ‘गत भदौ पछि बल्ल नयाँ कार्यसमिति आयो र व्यवस्थापन सुरु भएको हो। बीचमा केही समस्या भएकै हो।’
अध्यक्ष केसीका अनुसार अहिले पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्दा एकजना व्यक्तिले बढीमा ८५ सय र कम्तिमा ७५ सय रुपैयाँ तिरे पुग्छ। दुईथरी मुल्य हुँदा पनि करको रकममा फरक पर्न जाँदा अन्योल भएको उनले बताए। ‘कम्पनिले लिँदै नलिएको रकमको कर तिर्नुपर्दा सबैजसो कारवाहीमा परेको जस्तो देखिएको छ,’ उनले भने, ‘कम्पनिले ७५ सय रुपैयाँका दरले लेनदेन गरेका छन। तर, आन्तरिक राजस्व कार्यालयले ८५ सय रुपैयाँका दरले कर लगाएरै छाड्यो।’ अधिकतम र न्यूनतम मुल्यमा १ हजार रुपैयाँ फरक पर्दा पनि कर विवरणमा फरक पर्न गएको उनले बताए।
‘कतिपयले ७५ सय रुपैयाँ लिएर त्यही अनुसार कर तिरेका थिए। केहीले ८५ सय रुपैयाँ लिएर त्यसै अनुसारको हिसाब बुझाएका छन। यो बारेमा हामीले जानकारी गराएका हौ। अधिकतम र न्यूनतम मुल्यमा केही अन्तर हुँदा पनि अन्योल परेकै हो,’ अध्यक्ष केसीले भने, ‘तर, ८५ सय रुपैयाँका दरले तिनुपर्दा सबै कम्पनिमाथि दोष थपियो।’ केही कम्पनिले भने आर्थिक कारोबार पारदर्शी नगरेकोले कारवाही हुनु स्वभाविक भएको उनले बताए।
पछिल्लो समय आर्थिक कारोबार चुस्त दुरुस्त गर्नका लागि सबै कम्पनिलाई कडाई गरेको र कर तिरेको रसिद अनुसार बोर्डिङ पास दिएर मात्र उडान गरिरहेकोले समस्या नरहेको उनले बताए। अफसिजनको यो बेला पोखराको आकासमा प्याराग्लाईडिङ उडान गर्ने पर्यटकको संख्या दैनिक ५० को हाराहारीमा छन। तर २ सय ५० जना पाइलट रहेकोले धेरैले काम नपाएको पनि ना ले बताएको छ।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...