सांसदका खल्तीका योजनालाई ५० अर्ब बढी बजेट
२२ जेष्ठ २०८२
•
५ मिनेट पाठ
सांसदका खल्तीका योजनालाई ५० अर्ब बढी बजेट
सरकारले प्रत्यक्ष रूपमा ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ खारेज गरे पनि अर्थ मन्त्रालयले घुमाउरो बाटोबाट ‘सांसद र ठुला नेताका’ खल्तीका योजनालाई आधा खर्ब रूपैयाँभन्दा बढी बजेट विनियोजन गरेको पाइएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सांसदमात्र नभएर राष्ट्रपति, सभामुखदेखि पहुँचवाला नेतासम्मलाई खुसी पार्न उनीहरूको निर्वाचन क्षेत्र र जिल्लामा प्रशस्त बजेट विनियोजन गरेका हुन् ।




संघीय सरकारको बजेटमा तीन करोड रूपैयाँ कमका योजना नराख्ने घोषणा गरेका अर्थमन्त्री पौडेलले त्योभन्दा कम रकमका खुद्रे योजनालाई पनि बजेट व्यवस्था गरेका छन्। सर्वोच्च अदालतले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ रोकेको भए पनि आगामी आवको बजेटमा हरेक निर्वाचन क्षेत्रमा १५ करोडदेखि २१ करोड रूपैयाँसम्मका योजनालाई सम्बन्धित मन्त्रालयमार्फत बजेटमा पारेर रकम व्यवस्था गरिएको छ। प्रत्यक्ष निर्वाचित सांसदका योजनालाई न्यूनतम १५ करोड रूपैयाँ बजेट विनियोजन भएको अर्थ मन्त्रालय स्रोतले बतायो। प्रत्यक्ष मात्र नभएर, समानुपातिक सांसद, राष्ट्रियसभाका सांसदका योजनालाई पनि बजेटमा समावेश गरिएको छ।

सहरी विकास मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८९ करोड रूपैयाँ भए पनि सांसद तथा प्रभावशाली नेताका सडक, भवन, विद्यालय, ढल निर्माण, खेलकुद पूर्वाधारका योजना समेट्दा एक खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। यो बजेटमा वैदेशिक सहायतासहित प्रदेशमा जाने २६ अर्ब रूपैयाँ ससर्त अनुदान छ। बाँकी ९२ अर्ब रूपैयाँ सहरी विकास मन्त्रालयअन्तर्गतका योजनाका लागि विनियोजन गरिएको छ।

सहरी विकास मन्त्रालयलाई करिब ५२ अर्ब रूपैयाँको सिलिङ दिए पनि करिब ४० अर्ब रूपैयाँ सांसद, मन्त्रीदेखि ठुला नेताका खल्तीका योजनालाई विनियोजन गरिएको मन्त्रालयका एक सहसचिवले बताए। ‘सांसद र प्रभावशाली नेताका योजना समेट्दा मन्त्रालयको बजेट आकार ठुलो देखियो,’ ती सहसचिवले भने, ‘अधिकांश योजना बिनातयारी सांसदको सिफारिसमा राखिएका छन् ।’

सहरी विकाससहित, भौतिक पूर्वाधार, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानीलगायतका विकासे पूर्वाधार मन्त्रालयमार्फत सांसददेखि नेताका योजनालाई उच्च प्राथमिकताका साथ अर्थमन्त्री पौडेलले बजेट विनियोजन गरेका हुन्।

अर्थमन्त्री पौडेलले सबैभन्दा धेरै बजेट आफ्नो गृहजिल्लाका लागि राखेका छन्। पौडेलले गृहजिल्ला रूपन्देहीलाई नौ अर्ब ८० करोड रूपैयाँ विनियोजन गरेका छन्। यो पालिकामा गएको बजेट हो। योबाहेक उनले केन्द्रीय योजनामार्फत पनि बजेट विनियोजन गरेका छन्। अर्थमन्त्री पौडेलले रूपन्देहीमा उपमहानगरपालिकालाई ८४ करोड ८३ लाख, नगरपालिकालाई ५ अर्ब ३२ करोड ८१ लाख, गाउँपालिकालाई १३ अर्ब ६२ करोड ५३ लाख रूपैयाँ विनियोजन गरेका छन्।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका स्थानीय तहका लागि सात अर्ब ८६ करोड ४१ लाख रूपैयाँ बजेट विनियोजन भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको गृहजिल्ला लमजुङमा ३ खर्ब १७ करोड, गृहमन्त्री रमेश लेखकको गृहजिल्ला कञ्चनपुरमा ३ अर्ब ९७ करोड, श्रम तथा सामाजिक सुरक्षामन्त्री शरद्सिहं भण्डारीको गृहजिल्ला महोत्तरीमा ५ अर्ब ६९ करोड, परराष्ट्रमन्त्री आरजु राणा देउवाको निर्वाचन क्षेत्र रहेको जिल्ला कैलालीमा ७ अर्ब ११ करोड रूपैयाँ विनियोजन गरिएको छ। सबैजसो मन्त्रीका गृहजिल्लामा स्थानीय तहका अतिरिक्त राष्ट्रिय योजनामा पनि प्रशस्त बजेट विनियोजन गरिएको छ ।

राष्ट्रपति, सभामुखदेखि प्रभावशाली नेताका जिल्लामा विभिन्न योजनाका लागि प्रशस्त बजेट राखिएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलकी स्वकीय सचिव अवज्ञा पौडेलले सामाजिक सञ्जालमा सेयर गरेका योजनालाई आधार मान्दा राष्ट्रपतिको गृहजिल्ला तनहुँमा सहरी विकास मन्त्रालयबाट मात्र ३२ करोड रूपैयाँका योजना परेका छन्। त्यसैगरी भौतिक पूर्वाधार मन्त्रालयबाट १७ करोड, खानेपानी मन्त्रालयबाट ६ करोड, युवा तथा खेलकुद मन्त्रालयबाट तीन करोड, पर्यटन मन्त्रालयबाट तीन करोड २५ लाख, ऊर्जा मन्त्रालयबाट एक करोड ५० लाखका योजना तनहुँमा परेका छन् ।

यसरी हेर्दा राष्ट्रपतिको गृहजिल्ला तनहुँमा ६० करोडका योजनाका लागि बजेट विनियोजन भएको देखिन्छ। तनहुँ स्वास्थ्यमन्त्री प्रदिप पौडलको पनि गृहजिल्ला हो। यहाँबाट निर्वाचित सांसद स्वर्णिम वाग्ले र शंकर भण्डारी पनि छन्।

समानुपातिक विकासका लागि हरेक निर्वाचन क्षेत्रका सांसदले सिफारिस गरेका योजना समेट्नुलाई कतिपयले स्वाभाविक रूपमा लिएका छन्। अर्काथरीको मत सांसदको भूमिका नीति निर्माण तहमा मात्र हुनुपर्ने छ। सैद्धान्तिक रूपमा सांसदको भूमिका कानुन बनाउने भए पनि आममतदाताले उनीहरूबाट विकास निर्माणको अपेक्षा गर्छन्। यसैले आफ्नो क्षेत्रमा बजेट पार्नुपर्ने दबाबमा उनीहरू हुन्छन्। बजेट छिरलेर वितरण गर्दा प्रतिफल नआउने अर्थक्षेत्रका जानकार बताउँछन् ।

मुलुकका एक सय ६५ निर्वाचन क्षेत्रमा सन्तुलित रूपमा बजेट पु¥याउन भन्दै प्रतिनिधिसभामा सहभागी दलहरूले आआफ्नो संसदीय दलमार्फत सांसदका योजनाको सूची पेस गरेका थिए। ती योजनालाई अर्थ मन्त्रालयले समेट्ने व्यवस्था मिलाएको हो। सडक, खानेपानी, सिँचाइ, भवन पूर्वाधारका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन भएको छ।

केन्द्रबाट सिधै राख्ने योजनाबाहेक तल्लो तहका निकाय तथा मन्त्रालय माताहतबाट आएका योजनाहरू पनि नियमित प्रक्रियाबाट समावेश गरी बजेट विनियोजन गरिन्छ। ती योजना क्रमागत तथा आवश्यकतामा आधारित विस्तृत अध्ययन गरेर तयार गरिएका हुन्छन्।

विगतमा संसद् विकास कार्यक्रम आलोचित भएको र सर्वोच्च अदालतको आदेशले कार्यक्रम रोकेकाले घुमाउरो बाटोबाट अर्थमन्त्रीले सांसदका मागलाई सम्बोधन गरेका हुन्। ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ मा केही खास जनप्रतिनिधिको वैयक्तिक तजबिजीमा खर्च गर्नु योजनाबद्ध विकासको अवधारणा तथा सुशासनको मान्यताअनुकूल नहुने ठहर सर्वोच्चले गरेको थियो। 
अर्को समाचार
२ खर्ब ८७ अर्बको प्रदेश बजेट
०२ असार २०८२
•
४ मिनेट पाठ
२ खर्ब ८७ अर्बको प्रदेश बजेट
भौतिक पूर्वाधारलाई प्राथमिकता दिँदै प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याएका छन्। संघीय सरकारले बजेट ल्याएको दुई सातापछि प्रदेशले बजेट ल्याएका हुन्। सात प्रदेशको बजेट करिब दुई खर्ब ८७ अर्ब २९ करोड रूपैयाँको रहेको छ। सबैभन्दा ठुलो आकारको बजेट बागमती प्रदेशको रहेको छ भने सानो गण्डकीको छ।




कोसी प्रदेशले ३५ अर्ब ८७ करोड ९९ लाख, मधेसले ४६ अर्ब ५८ करोड ३३ लाख, बागमतीले ६७ अर्ब ४७ करोड ७३ लाख, गण्डकीले ३१ अर्ब ९७ करोड ९९ लाख, लुम्बिनीले ३८ अर्ब ९१ करोड र सुदूरपश्चिम प्रदेशले ३३ अर्ब ४७ करोड ७० लाख रूपैयाँको बजेट ल्याएका छन्।

कर्णाली प्रदेशको बजेट करिब ३३ अर्बको छ। आइतबार मध्यरातमा बल्ल बजेट प्रस्तुत गर्न थालिएको थियो। नेकपा माओवादी केन्द्रले योजना बैंकको विषयमा प्रश्न उठाएका कारण बजेट सार्वजनिक गर्न ढिलाइ भएको हो।

कोसी प्रदेश सरकारले आगामी आवका लागि ३५ अर्ब ८७ करोड ९९ लाख बजेट विनियोजन गरेको छ। चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख (५२ प्रतिशत) रहेको छ भने पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख (४७.७ प्रतिशत) बजेट विनियोजन गरेको हो। कोसी प्रदेश सरकारले बजेटमा पूर्वाधार विकास, कृषि, पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ।

कोसी प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा केही नयाँ खालका कार्यक्रम पनि समावेश गरिएको छ। विशेष गरी युवाहरूलाई रोजगार र स्वरोजगार बनाउने उद्देश्यले यी कार्यक्रम समावेश गरिएको छ। धेरै जसो पुरानै नारा दोहोर्‍याएको प्रदेश सरकारले ‘सक्षम छोरी कार्यक्रम’मार्फत मुसहर समुदायका छोरीको शिक्षामा पहुँच बढाउँदै आर्थिक सामाजिक रूपान्तरणका लागि नमुनाका रूपमा सञ्चालन गरेको छ।

यसैगरी बागमती प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ। बजेटमा चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार (३८.६ प्रतिशत) र पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार (६१.४ प्रतिशत) विनियोजन गरिएको छ।

त्यसैगरी गण्डकी प्रदेशले ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। यो चालु आर्थिक वर्षको भन्दा करिब एक अर्ब कम हो। चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट कार्यान्वयन भइरहेको छ। गण्डकीको बजेटमा चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार (३९.५ प्रतिशत) बजेट विनियोजन भएको छ।

त्यस्तै पुँजीगततर्फ १९ अर्ब ९ करोड २४ लाख ३३ हजार (५९.७ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ २५ करोड (कुल बजेटको ०.८ प्रतिशत) बजेट विनियोजन गरेको छ। गण्डकी सरकारले भौतिक पूर्वाधारसँगै पर्यटन केन्द्रित बजेट ल्याएको छ।

गण्डकी सरकारले साइक्लिङमार्फत पर्यटन प्रवद्र्धनका लागि पोखराको लेक टु लेक, तनहुँको बन्दीपुर र मुस्ताङको जोमसोममा साइक्लिङ मार्ग निर्माणका लागि यस वर्ष पनि बजेट विनियोजन गरेको छ। गण्डकीमा पहिला घरदेश अनि परदेश अभियानलाई निरन्तरता दिइएको छ। गण्डकी सरकारले स्थानीय मदिराको गुणस्तरीय उत्पादन र बिक्री–वितरणका लागि कानुनी व्यवस्था मिलाइने बताएको छ।

त्यसैगरी मधेस प्रदेश सरकारले ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको छ। मधेस सरकारले चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार रूपैयाँ (३५.८९ प्रतिशत), पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार रूपैयाँ (६४.११ प्रतिशत) विनियोजन गरेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा ६.१३ प्रतिशत बढीले आगामी आर्थिक वर्षको लागि बजेट ल्याएको हो।

बजेटमा भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकता दिइएको छ। प्रत्येक जिल्लामा कम्तीमा दुई वटाटा सतह सिँचाइ आयोजना सञ्चालन गरिने, भूमिगत सिँचाइको उपयोग गरिने, वनजंगलका वन्यजन्तुका लागि पनि खानेपानीको व्यवस्था गरिने, वैकल्पिक तथा सौर्य ऊर्जाको क्षेत्रमा नदीको बगरको उपयोग गरिने प्रदेश सरकारले मुख्य कार्यक्रम घोषणा गर्दै बजेट विनियोजन गरेको छ।

यसैगरी लुम्बिनी प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रूपैयाँको बजेट ल्याएको छ। चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार (३०.८८ प्रतिशत) र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार (६०.३२ प्रतिशत) विनियोजित छ। लुम्बिनी प्रदेशले पर्यटन, कृषि, उद्यमशिलता विकास, दिगो पूर्वाधार विकासलाई प्राथमिकता राखेको छ।

यसैगरी सुदूरपश्चिम प्रदेशले ३३ अर्ब ४७ करोड ७० लाख रूपैयाँको बजेट ल्याएको छ। कुल बजेटमध्ये चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४८ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार (५९.२५ प्रतिशत) विनियोजन भएको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ तीन अर्ब ४२ करोड ७७ लाख (१०.२४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक करोड रूपैयाँ रहेको छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस