झन्डै एकवर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि चिनियाँ जहाज आउने भएको छ। पोखरामा हुन लागेको तेश्रो पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्रि दौडका सहभागि सहित कुन्मिङ नगरका पाहुना लिएर सिचुआन एयरलाइन्सको जहाज पोखरा आउन थालेको हो। चीनको कुन्मिङबाट उडेको जहाज बिहिबार दिउँसो २ बजेर ४० मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ।
यसअघि सन् २०२३ नोभेम्बर २३ मै हिमालय एयरलाइन्सको जहाज पोखरा आएर फर्केदेखि पोखरामा अहिलेसम्म कुनैपनि अन्तर्राष्ट्रिय उडान भएका थिएनन्। हिमालयनले त्यो बेला चीनबाट ९५ जना यात्रु पोखरा ल्याएको थियो। विमानस्थलकी प्रवक्ता जसोदा सुवेदीका अनुसार झन्डै एकवर्षपछि चार्टर गरिएको जहाज विहीबार पोखरा आउन थालेको हो।
उनका अनुसार चीनको कुनमिङबाट उडेको जहाज विहीबार दिउँसो पोखरामा अवतरण गरेको झन्डै २ घण्टापछि दिउँसो ४ बजेर १० मिनेटमा काठमाडौंका लागि उडान भर्नेछ । जहाज फर्किदा भने रित्तै जानेछ। विमानस्थलकै एकजना उच्च अधिकारीका अनुसार पोखरामा हुने प्रतियोगिताका सहभागि लिएर आउन थालेको जहाजको तिनै सहभागिलाई लिन पुन पोखरा आउने तालिका भने रहेको छैन।
सुवेदीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछिको यो आठौं उडान हो। ‘अंग्रेजी नयाँवर्ष २०२३’ को पहिलो दिन पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको थियो। त्यसपछि सन् २०२३ मा सबैगरि ७ वटा मात्र उडान भएका थिए। विमानस्थल संचालनको पहिलो दिन हिमालयन एयरलाइन्सले डेमो उडान गरेको थियो। त्यसपछि सिचुआनले नै २०२३ जनवरी २१ मा पोखराका लागि पहिलो उडान गरेको थियो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसहित अवतरण गरेको सिचुआनको त्यो नै पहिलो उडान थियो। फेवातालमा आयोजित ड्रागन बोटरेस फेस्टिभलमा सहभागि हुन आउने ८४ जना चिनियाँ पाहुनालाई लिएर सिचुआनको जहाज पोखरा ओर्लिएको थियो। त्यसपछि सेप्टेम्बर ९ मा भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ड्रुक एयरको जहाज पोखरा अवतरण गरेको थियो। ड्रुकले पोखरा आउँदा ३ जना यात्रु ल्याएको थियो भने फर्किँदा ४२ विदेशी यात्रु लिएर उडेको थियो। ड्रुकको अवतरणलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको पहिलो व्यावसायिक उडान पनि भनेको छ।
गत नोभेम्बर ८ मा जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि चिनियाँ सरकारले दिएको राहत सामग्री बोकेर चिनका दुइवटा कार्गाे जहाज पोखरा ओर्लिएका थिए। ती बाहेक हिमालयन एयरलाइन्सले अरु तीनवटा उडान पोखराका लागि गरेको थियो। सन् २०२३ मा पोखराका लागि जम्मा सातवटा अन्तर्राष्ट्रिय उडान भएका थिए। सबैगरि २१५ जना यात्रु पोखरा ओर्लेको र ८१ जना पाहुना पोखराबाट बाहिरिएका थिए। त्यसबाहेक विमानस्थलबाट अरु कुनैपनि उडान भएका थिएनन्।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै एकवर्षपछि अन्तर्राष्ट्रिय उडानको चार्टड जहाज पोखरा आउन थालेको हो,’ विमानस्थल प्रवक्ता सुवेदीले भनिन, ‘आन्तरिक उडान भने नियमित भईरहेको छ। तर, अन्तर्राष्ट्रिय उडानका लागि भने जहाजको तत्कालको कुनै तालिका छैन। अघिल्लो वर्ष सातवटा अन्तर्राष्ट्रिय उडान भएपनि यो वर्षको पहिलो उडान विहीबार हुँदैछ।’
पोखरामा हुने प्रतियोगिताका मिडिया संयोजक प्रतीक पहारीका अनुसार विभिन्न चारवटा विधामा दौड हुनेछन्। टिम ग्रुप रेस, च्यालेन्जिङ इन्डिभिजुअल रेस, विद्यार्थी रेस र ह्याप्पी रनरेस हुनेछ। टिम ग्रुप रेसको दूरी ५० किलोमिटर हुनेछ। यसमा व्यावसायिक धावक पनि सहभागि हुनेछन । त्यस्तै च्यालेन्जिङ इन्डिभिजुअल ग्रुपको दूरी पनि ५० किलोमिटर नै हुनेछ। विद्यार्थी दौड ५ किलोमिटर दूरीको हुनेछ भने २ किलोमिटरको ह्याप्पी रनरेस पनि हुने उनले बताए।
पहारीका अनुसार यहि प्रतियोगिताका लागि भनेर विदेशी र स्वदेशी धावकहरु पोखरा आउनेछन। यसअघि नै म्याराथन दौडेका धावकहरु पनि सहभागि हुने उनले बताए। चीनबाटै दौड्नैका लागि भनेर पनि धावकहरु पोखरा आउने उनले बताए। पर्यटन क्षेत्र र नगरहरुबीचको मित्रतालाईं यसले अझ बलियो बनाउने पनि संयोजक पहारीले बताए।
पोखरा र चीनको कुन्मिङबीचको सम्बन्धलाई बलियो बनाउन समेत यो कार्यक्रमले अझ सहयोग गर्ने पनि उनले बताए। चीनको कुन्मिङ सहरका उच्च पदाधिकारी समेत पोखरा आउने हुँदा यसले पोखरामा चिनियाँ पर्यटन प्रवद्र्धनमा समेत सघाउने उनको अपेक्षा छ। पोखरामा हुने कार्यक्रमलाई नेपालस्थित चिनियाँ दुतावास, पर्यटन बोर्ड लगायतले पनि सघाएका छन्।
पोखरा उद्योग वाणिज्य संघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सहरमा सिधा उडान तथा नेपालका लागि अतिरिक्त हवाइ रुट सुनिश्चितताको पहल गर्न माग गरेको छ।
संघले शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ध्यानाकर्षण पत्र पठाउँदै हवाइ रुट प्राप्तिसँगै भारतीय सहरमा सिधा उडान भर्न तथा ती सहरबाट पोखरामा पर्यटक भित्र्याउनका निम्ति आवश्यक पहल गर्नका लागि पनि उद्योग वाणिज्य महासंघमार्फत् भारतको निजी क्षेत्रसँग पहल गर्न सुझाएके छ।
पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्याललाई प्रेषित गरेको ध्यानाकर्षण पत्रमा पोखरा उद्योग वाणिज्य संघले विमानस्थल निर्माण र संचालनको लागि गरेको लामो आन्दोलन र पैरवीको स्मरणसमेत गराएको थियो।
‘भ्रमणको क्रममा देशको आर्थिक हित, द्विपक्षीय व्यापार, उर्जा, पारवहन तथा थप हवाइ रुटबारे विभिन्न सहमति हुने हाम्रो जानकारीमा आएको छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ,‘ भ्रमणको एजेण्डामा पोखरा–भैरहवा द्रूतमार्ग निर्माण र पोखरा विमानस्थलबाट भारतीय सहरमा सिधा उडानका एजेण्डा समावेश भएकोमा हामी खुसी छौं। यी एजेण्डामा मित्रराष्ट्र भारतले सदासयता देखाउने विश्वास पनि छ।’ नेपालको तर्फबाट प्रस्तुत हुने हवाइ रुट प्राप्ति र द्रुतमार्ग निर्माणको हाम्रो सपना पुरा हुनेछ विश्वस्त रहेको पनि संघको भनाई छ।
ध्यानाकर्षण पत्रमा अगाडि भनिएको छ, ‘छोटो र इन्धन कम खपत हुने हवाइ मार्ग उपलब्ध नहुँदा यहाँबाट भारतको वाराणसी, दिल्ली लगायतका सहरमा सिधा उडान हुन सकेको छैन। भ्रमणको क्रममा ती अप्ठेरा फुक्नेमा आशावादी छौं।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान संचालन नहुँदा विभिन्न शंका आशंका बाहिर आइरहेको पनि संघको भनाई छ। ‘हामी यो विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान भएको देख्न आतुर छौँ। विमानस्थलको दिगो संचालनबाट समग्र गण्डकीको समृद्धि हुनेछ।’
पोखराबाट भारतीय सहरमा सिधा उडानका निम्ति सजिलो हवाइ मार्गको अनुमति प्राप्त हुन नसकेको र त्यसल वायुसेवा कम्पनिलाई पोखरामा आकर्षित गर्न नसकिएको पनि संघको भनाई छ। ‘छोटो र इन्धन कम खपत हुने हवाइ मार्ग उपलब्ध नहुँदा यहाँबाट भारतको वाराणसी, दिल्लीलगायतका सहरमा सिधा उडान हुन सकेको छैन,’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘अहिले फेरो घुमेर जहाज अवतरण गर्नुपर्ने अवस्था रहेको छ।’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...