महिला उद्यमी महासङ्घ नेपाल (एफविन) ले महिला उद्यमीहरूको व्यवसाय चलायमान बनाउनका लागि सबै निकायले पहल गर्नुपर्नेमा जोड दिएको छ।
महासङ्घ स्थापना भएको २१ औँ वर्षमा पहिलोपटक महिला उद्यमीहरूको व्यवसायलाई कोरोना महामारी र आर्थिक मन्दीकाबीच कसरी चलायमान बनाउन सकिन्छ भन्नेमा केन्द्रीत गर्दै एकदिने तीज महोत्सव सम्पन्न गरेको छ।
शनिवार आयोजित एकदिने तीज महोत्सवको बौद्ध धर्मगुरु स्याल्पो रिम्पोचेले उद्घाटन गर्दै अहिले विश्वलाई नै शान्ति चाहिएको बताए।
उनले जीवनका विभिन्न सङ्घर्षहरूलाई जित्दै महिला उद्यमी व्यवसायीहरूले कसरी जीवन बाँच्न सक्छन् भन्ने सिकाईबारे बताएका थिए। उनले अहिले हरेक निकायमा शान्तिको आवश्यकता रहेको हुँदा जीवनयापनका लागि पनि चाहिने शान्तिले मात्रै महिला उद्यमी व्यवसायीहरू सफल हुन सक्ने बताए।
यस्तै महासङ्घका संस्थापक सदस्य एवं बागमती प्रदेशका प्रदेश सभा सदस्य याङ्किला शेर्पाले महिला व्यसायी उद्यमीहरूलाई अघि बढाउन पर्ने सबै खालका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले हालसम्म आफूले महिला उद्यमी व्यवसायीहरूका लागि सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने पनि बताए।
त्यसैगरी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले २१ वर्षे महासङ्घको इतिहासमा पहिलोपटक तीज महोत्सवको आयोजना गरी महिला व्यवसायीहरूको व्यवसाय चलायमान बनाउनका लागि एकदिने प्रदर्शनीले थोरै भएपनि सहयोग पुग्ने बताइन्।
उनले कोरोना महामारी र आर्थिक मन्दीको मारमा रहेका महिला उद्यमीहरूको साना तथा मझौला उद्योगलाई अघि बढाउन र प्रोत्साहन गर्न एकदिने तीज महोत्सवको आयोजना गरिएको बताइन्।
उनले भनिन्, ‘मारमा रहेका साना तथा मझौला उद्योग र उद्योगीहरूको मनोबल बढाउनका लागि हरेक क्षेत्रले सहयोग गर्न आवश्यक रहेको छ। त्यसका लागि सुस्त रहेको बजारको समयमा बेलाबेलामा यस्ता प्रदर्शनी, महोत्सव, मेला, बजारीकरण, व्यवसायीक क्षमता बढाउने सीप मेलाको आयोजना गरिनुपर्ने हुन्छ।’
आन्तरिक व्यवसायलाई प्रवर्द्धन गर्न, बजार चलायमान बनाउन, महिला उद्यमीहरूले गरेको उत्पादनलाई कसरी प्रोत्साहन र बजारीकरण गर्नमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ।
उनले महिला उद्यमी व्यवसायीहरूले आयोजना गरेका वा अन्य कुनै क्षेत्रले आयोजना गरेका यस्ता मेला प्रदर्शनीमा गएर उनीहरूको सामान खरिद गरिदिएर मनोबल उच्च बनाइदिन पनि आग्रह गरिन्।
एकदिने तीज महोत्सवमा ३५ वटा स्टल राखिएको महासङ्घकी कार्यकारी निर्देशक अभिलाशा पौडेलले बताइन्। उनले प्रदर्शनीमा चाडपर्व लक्षित विभिन्न सामाग्रीहरू राखिएको पनि जानकारी दिइन्।
स्वदेशी खाउँ, स्वदेशी लाउँ र स्वदेशी उद्यमशिलतालाई प्रोत्साहन गरौं भन्ने नारासहित महिला उद्यमी महासंघले बुधबार बागमती प्रदेशको राजधानी हेटौडामा कार्यक्रम गरेको छ ।
उद्यमी महिलाहरुको समस्या पहिचान गर्दै नीति निर्माणमा सरकारलाई सुझाव दिने उद्धेश्यसहित सुरु अभियानअन्तर्गत महासंघले बुधबार हेटौडामा कार्यक्रम गरेको हो । सरकारले बनाउने नीति तथा कार्यक्रम महिला उद्यमीमैत्री भए-नभएकोबारे छलफल चलाउँदै महासंघले सातै प्रदेशबाट प्राप्त सुझावलाई सम्बन्धित निकायमा पुर्याउने अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिइन् । आगामी दिनमा महिला उद्यमीलाई थप आत्मनिर्भर बनाउन आवश्यक पर्ने विषयबारे समेत महासंघले सुझाव संकलन गर्नेछ ।
यूएसएड र टी एण्ड सीको सहयोगमा आयोजित प्रदेशस्तरीय परामर्श कार्यशाला महिला उद्यमशीलता प्रवर्धनका लागि व्यवस्था गरिएका नीतिगत तथा कार्यक्रमका विषयमा अन्र्तकृया कार्यक्रम महासंघले यसअघि कर्णाली प्रदेशमा गरेको थियो । विहीबार मधेश प्रदेशमा गर्ने योजना रहेको अध्यक्ष ज्ञवालीले जानकारी दिइन् ।
महिला उद्यमी र उद्यमशीलता प्रवर्द्धनमा महासंघको प्रयास र दिगोपनासँगै जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्ने कार्यमा ध्यान केन्द्रित गरिएको बताउँदै उनले महिला उद्यमीहरुको उद्यमशिलता विकास तथा दिगोपनाका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरेको जानकारी दिइन् । प्राप्त सुझावलाई नेपाल सरकार तथा सम्वन्धित निकायमा नितिगत सुधारका लागि पठाउदैँ महिला उद्यमीहरुका लागि योगदान गरिरहेको उनको भनाइ छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफ्नो मन्तव्य राख्दै महिला उद्यमी महांसंघ नेपालले वास्तवमा नै महिला उद्यमीहरुको हकहितमा काम गरिरहेको र प्रदेश सरकारले पनि महिला उद्यमशिलता विकासका लागि आवश्कताअनुसार काम गर्दै गईरहेको उल्लेख गरे ।
लामाले देशका अर्थतन्त्रमा महत्वपुर्ण योगदान पुर्याउदैँ आइरहेका लघु घरेलु, साना तथा मझौला उद्योगहरु अधिकतम महिला उद्यमीहरुद्वारा नै सञ्चालित रहेको बताउँदै यसको दिगोपनाका लागि नितिगत सुधारमा प्रदेश सरकारले पनि सहयोग गर्ने आश्वासन दिए । मुख्यमन्त्री लामाले पछिल्लो समय पुरुषको तुलनामा महिलाहरुलाई बढी अधिकार सुनिश्चित गरेको चर्चा गर्दै यसको सदुपयोग गर्न महिलाहरुलाई आग्रह गरे ।
कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा र सामाजिक विकास शाखाका अधिकृत चन्दकुमारी व्यञ्जनकारले कार्यक्रमको महत्व र महिला उद्यमीहरूको विकासका लागि तय गरिएका नीतिहरू र यसमा सुधार गर्नु आवश्यक विषयहरुमा आफ्नो आफ्नो धारणा राखेका थिए ।