‘दिगो विकासका लागि बैंकको लगानी बढ्न आवश्यक’
२९ असार २०८१
•
४ मिनेट पाठ
‘दिगो विकासका लागि बैंकको लगानी बढ्न आवश्यक’
सरोकारवालाहरूले दिगो विकासका लागि बैंक तथा वित्तीय संस्थाको लगानी महत्त्वपूर्ण हुने भएकाले त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । नबिल बैंक स्थापनाको ४० वर्ष पुगेको अवसरमा शुक्रबार आयोजित ‘दिगो विकासमा बैंकिङ क्षेत्रको भूमिका’ शीर्षकको प्यानल छलफलमा उनीहरूले दिगो विकासका लागि ठूलो लगानी आवश्यक भएको र सोहीअनुसार बैंक तथा वित्तीय संस्थाले लगानी  केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरे।




नबिल बैंकका अध्यक्ष डा उपेन्द्र पौड्यालले दिगो विकासका लागि बैंक तथा वित्तीय संस्थाको लगानी महत्त्वपूर्ण भए पनि लक्ष्य प्राप्तिमा भने सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताए । मुलुकको अर्थतन्त्रमा ८० प्रतिशत निजी क्षेत्रको योगदान र त्यसमा बैंकको ७० प्रतिशतभन्दा बढी योगदान रहेको उल्लेख गर्दै उनले  सरकारले पनि नीतिगत तथा व्यावहारिक रूपमा दिगो विकासका लक्ष्य प्राप्तिमा साथ दिन आवश्यक रहेको बताए।

‘मुलुकको अर्थतन्त्र कता लैजाने भन्ने विषय बैंकले कुन क्षेत्रमा लगानी गर्छ भन्नेले पनि अर्थ राख्छ, पछिल्लो समयमा बैंकहरूको जलविद्युत् आयोजनामा लगानी बढाएकाले मुलुकको अर्थतन्त्र सोही दिशामा अघि बढेको छ’, उनले भने । अबको बैंकिङ क्षेत्र वास्तविक अर्थतन्त्रमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए। 

उनले दिगो विकासका लागि ऊर्जासँगै खाद्य र पानीको सुरक्षा महत्त्वपूर्ण भएकाले सीमसार जोगाउने देखिका काममा सबैको ध्यान जानुपर्नेमा आवश्यकता औँल्याए। यसका लागि बैंक तथा वित्तीय संस्थासँगै सरकार र अन्तर्राष्ट्रिय समुदायको सहकार्य आवश्यक भएको उनको भनाइ थियो।

अध्यक्ष पौड्यालले नबिलको दिगो बैंकिङको अभ्यासलाई सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गरे । ‘नबिल बैंकले आफ्ना लागि मात्रै काम गरेको छैन, ग्राहकको आवश्यकतालाई सम्बोधन हुने र दिगो विकासमा सहयोग पुग्नेगरी कार्यक्रम र सेवा प्रवाहलाई केन्द्रित गरेको छ’, उनले भने। 

सोही अवसरमा वर्ल्ड वाइड फण्ड फर नेचर (डब्ल्युडब्ल्युएफ) का नेपालका प्रतिनिधि डा घनश्याम गुरुङले हरेक काम आफ्ना लागि हो भन्ने सोचका साथ गर्ने हो भने त्यसले दिगो विकासमा सहयोग पुग्ने धारणा व्यक्त गरे। ‘दिगो विकास वातावरण जोगाउनका लागि होइन, यो त म आफ्नै लागि हो भन्ने सोचले काम गर्नुपर्छ, वातावरण जोगाउन सकेनौ भने हामी नै बाँच्न नसक्ने अवस्था आउँछ’, उनले भने।

दिगो विकासका लागि बैंकिङ क्षेत्रको लगानी जलविद्युत्, पर्यटन र कृषि क्षेत्रमा केन्द्रित हुनु आवश्यक रहेको उल्लेख गर्दै उनले वातावरण, सामाजिक र शासन ९इएसजी०लाई ध्यानमा राख्नुपर्नेमा जोड दिए । उनले हरेक क्षेत्रमा पानी आवश्यक पर्ने भएकाले सबैभन्दा पहिला पानीको सुरक्षा गर्नु दिगो विकासको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए।

ह्याबिट्याट फर ह्युमनिटी इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा एलिजा स्थापितले दिगो विकास सबै क्षेत्रसँग अन्तरसम्बन्धित भएकाले कुनै एक क्षेत्रको मात्रै अग्रसरता पर्याप्त नहुने धारणा व्यक्त गरिन । उनले बैंकहरूले पनि आगामी दिनमा घर कर्जा सिमेन्ट प्रयोग हुने घरका लागि मात्रै दिने कि बाँसबाट पनि निर्माण हुने घरलाई दिने हो त्यसमा विचार गर्नुपर्ने समय आएको बताइन। आफूहरूले मधेस र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहसँगको सहकार्यमा काम गरिरहेको र दिगो विकासलाई ध्यान दिइएको उनको भनाइ थियो ।

सोही अवसरमा हिन्दुकुश हिमालयका मानिसहरूको पक्षमा कार्यरत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का महानिर्देशक डा पेमा ग्याम्त्सोले पर्यावरण जोगाउन र पूर्वाधार निर्माणलाई वातावरणमैत्री बनाउन आवश्यक रहेको धारणा राखिन। दिगो विकास र वातावरण संरक्षण एक्लो प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै उनले यसका लागि सबै सरोकारवाला ‘थिङ्क ग्लोबल्ली,  एक्ट ग्लोबल्ली’ सोचका साथ अघि बढ्नु जरुरी रहेको उल्लेख गरिने । उनले कुनै एक स्थानमा उत्पन्न हुने समस्याले समग्र प्रणालीमा असर पार्ने भएकाले सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्नेमा आवश्यकता औँल्याइन ।

‘काठमाडौँमा हुने वायु प्रदूषण अन्यत्रै भएको समस्याका कारण पनि हुनसक्छ, त्यसैले हरेक क्षेत्रमा दिगो विकासलाई ध्यानमा राख्दै काम गर्नु जरुरी छ’, उनले भने । उनले दिगो विकासका लागि पानीको सुरक्षाका साथै यातायातका साधनलाई वातावरणमैत्री बनाउन जरुरी रहेको धारणा व्यक्त गर्दै बैंकिङ क्षेत्रले पनि दिगो विकास तथा हरित अर्थतन्त्रमा लगानी बढाउन आवश्यक रहेको बताए।

सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो हाल विद्युत्को पहुँच ९९ दशमलव नौ प्रतिशत जनसङ्ख्यामा पुगेको उल्लेख गर्दै ग्यासलाई विस्थापित गर्दै विद्युतीय चुल्होको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।  

‘हुम्लामा खाना पकाउने एलपी ग्यासको मूल्य नै प्रतिसिलिण्डर आठ हजारसम्म पर्ने रहेछ, त्यसको साटो स्वदेशी विद्युत्को प्रयोग गर्ने हो भने दिगो विकासमा सहयोग पुग्नुका साथै विदेशी मुद्रा पनि बचत गर्न सकिन्छ’, उनले भने । सो अवसरमा उनले चिलिमे जलविद्युत् आयोजनाको शेयर स्थानीयलाई वितरण गर्ने क्रममा नबिल बैंकले शाखा स्थापना गरी खेलेको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गरे ।

‘दिगो विकासका लागि विकास दशक घोषणा गरौँ । सरकारी स्तरबाट नीति तथा कानुनमा के–कस्ता परिवर्तन गर्नुपर्ने हो त्यसमा काम गरौँ, राजनीतिक प्रतिबद्धताका साथ कार्यान्वयन गर्न सकियो भने दिगो विकासका लक्ष्य हासिल गर्न सकिन्छ’, उनले भने । उनले यसका लागि बैंक तथा वित्तीय संस्थाको भूमिका महत्त्वपूर्ण हुने भएकाले सधैँ साथ र सहयोग आवश्यक भएको उल्लेख गरे ।
अर्को समाचार
जलवायु सङ्कटमा दिगो विकास
१९ मंसिर २०८१
•
८ मिनेट पाठ
जलवायु सङ्कटमा दिगो विकास
नेपालको विछट्टै सुन्दर हिमवत्खण्ड भूबनोटमा रहेको अतुलनीय सूक्ष्म जलवायु विविधता उन्नत प्रकृति संरक्षक प्राचीनतम् सभ्यता, संस्कार, संस्कृतिअनुरूपको जीवन पद्धतिबाट संरक्षित एवं व्यवस्थित भइआएको थियो। तर यो विशिष्ट पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनका कारण सङ्कटासन्न अवस्थामा पुगेको छ। यस भूखण्डमा रहने वायुमण्डलीय अवस्थिति तथा वायु प्रवाह प्रकृतिका कारण हिमवत्खण्ड क्षेत्रीय एवं विश्वव्यापीरूपमा उत्सर्जित वायु प्रदूषण विसर्जनको एक प्रमुख स्थल रहेको अर्को तथ्य पनि अध्ययनबाट खुल्न आएको छ।  




क्षेत्रीय एवं विश्वव्यापीरूपमा वायु प्रदूषण उत्सर्जनमा भएको भारी वृद्धिसँगै परापूर्वकालदेखि कञ्चन रहँदै आएको हिमवत्खण्डको वायुमण्डल तथा भूसतह अहिले आएर अत्यन्तै प्रदूषित बनेको छ र विद्यमान जलवायु तीव्र गतिमा परिवर्तन भइरहेको छ। फलस्वरूप यस भूखण्डको पारिस्थितिकीय प्रणाली नराम्रोसँग खल्बलिनुका साथै मानव स्वास्थ्य, कृषि उत्पादकत्व, जलस्रोत, जैविक विविधता, पर्यटन, ऊर्जा, बसोबास तथा पूर्वाधार आदि सर्वत्र क्षेत्रमा प्रतिकूल प्रभाव पर्न गएको छ।  

असामान्य प्रकृतिका जलवायुजन्य ठुल्ठूला प्रकोप र जनधनको क्षतिका घटनाहरू ह्वात्तै वृद्धि हुनुका साथै सीमान्तकृत जनसमुदायको जीविकोपार्जन अत्यन्तै कठिन बन्न पुगेको छ। यस्ता प्राकृतिक परिघटनाले नेपाली जनसमुदायलाई अत्यन्तै स्तब्ध बनाएको छ। जलवायु परिवर्तनजन्य समस्या नेपाल र नेपालीका लागि नखाएको विष सरेजस्तै भएको छ। जलवायु परिवर्तनमा हाम्रो भूमिका नगन्य भए तापनि हामी नै यसबाट अति प्रभावित र जोखिमपूर्ण अवस्थामा पुर्‍याइएका छौँ। स्वनियन्त्रण र स्वनिर्णयभन्दा परको र झट्टै समाधान गर्न नसकिने बहुआयामिक प्रकृतिको यस समस्यासँग जुध्न उपलब्ध अवसरहरूको बुद्धिमतापूर्ण सदुपयोग गर्दै अनुकूलनीय क्षमता विकास तथा असर न्यूनीकरणका प्रभावकारी उपायहरू सुझाइ कार्यान्वयन गर्न आवश्यक देखिन्छ।  

नेपाल विभिन्न महासन्धि, अभिसन्धि तथा सम्झौताहरूको पक्ष राष्ट्र भई अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन र असरबारे आफ्नो सरोकार र चासो अभिव्यक्त गर्दै आएको छ। तद्नुसार राष्ट्रिय जलवायु परिवर्तन नीति, वातावरण संरक्षण ऐन तथा नियमावली, स्थानीय अनुकूलन कार्ययोजनाको राष्ट्रिय खाका, जलवायु उत्थालशील योजना तथा बजेट तर्जुमा निर्देशिका एवं लैङ्गिक तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्ययोजना तर्जुमा गरी लागु गर्ने प्रयत्न गरिरहेको पनि छ। राष्ट्रियरूपमा निर्धारित योगदान र राष्ट्रिय अनुकूलन योजना कार्यान्वयन गर्न आवश्यक स्रोतको अनुमान तयार गरिसकिएको छ।  

यसैगरी राष्ट्रिय जलवायु सङ्कटासन्नता तथा जोखिम मूल्याङ्कन एवं दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीतिक प्राथमिकता र क्षेत्रगत लक्ष्यहरू तय गरी कार्यक्रमहरू कार्यान्वयन भइरहेका पनि छन्। तर जलवायु परिवर्तन एक बहुपक्षीय विषय भएकाले दरिलो अन्तरक्षेत्रगत निकायहरूबीच समन्वय गर्न नसकिएको, बुझाइमा एकरूपता ल्याउन नसकिएको, समग्र विकास प्रक्रियामा मूलप्रवाहीकरण गर्न बाँकी नै रहेको, संस्थागत क्षमताको विकास भइनसकेको, वित्तीय स्रोत नजुटिरहेको एवं आवश्यक ज्ञान तथा प्रविधिमा पहुँच नरहेकाले राष्ट्रिय निर्धारित योगदान तथा राष्ट्रिय अनुकूलन योजनाको प्रभावकारी कार्यान्वयन गर्न गराउन नसकिएकाले अपेक्षित लक्ष्य प्राप्ति हुन नसकेको सम्बन्धित निकायहरू स्वीकार गर्छन्।  

चालु १६औं योजनाले थुप्रै सवाल नीतिगतरूपमै सम्बोधन गर्नुपर्ने अवस्थाका बाबजुद मुलुकको जलवायु संवेदनशीलतालाई केन्द्रमा राखी क्षमता अधिवृद्धिसहित विकास व्यवस्थापनमा वातावरण संरक्षण र जलवायु उत्थानशीलताको आन्तरिकीकरणमा नेपाल अन्तर्राष्ट्रिय मञ्चमै उदाहरण बनेको दाबी पेस गर्दै स्वच्छ वातावरणमा बाँच्न पाउने नेपाल र नेपालीको मौलिक हकलाई साकार तुल्याउने कुरामा आश्वस्त पार्न खोजेको देखिन्छ। यसका लागि जलवायु उत्थानशीलता र समावेशी विकास, जलवायु परिवर्तनका मुद्दाहरूको अन्तर्राष्ट्रियकरण, स्वस्थ समाजका लागि प्रदूषण नियन्त्रण, वातावरणीय सेवा तथा हरित विकासका लागि दिगो वन व्यवस्थापन, पारिस्थितिकीय प्रणालीका लागि जैविक विविधताको संरक्षण, तुलनात्मक लाभमा आधारित हरित अर्थतन्त्रको प्रवद्र्धन, हरित उत्थानशील र समावेशी विकासका लागि जलवायु वित्त परिचालन, वातावरण तथा जलवायु परिवर्तनका सवालहरूको मूल्यप्रवाहिकरण र स्थानीयकरण एवं अध्ययन अनुसन्धानलाई प्राथमिकीकरण गर्ने रूपान्तरणकारी रणनीतिक कार्यक्रमका रूपमा अघि सारेको छ।  

झ्वाट्ट हेर्दा उल्लिखित जलवायु परिवर्तन नीति, रणनीति, कार्यनीति र कार्ययोजनाहरू सुन्दर नै देखिन्छन् तर नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्दा लिइएका वैज्ञानिक तथ्यगत आधारहरू कमजोर तथा लक्ष्यहरू अङ्कमा सुनिश्चित गर्न नसकेकाले १६औं योजनाले अघि सारेका रणनीतिक कार्यक्रमका उद्देश्यहरू प्राप्त हुनेमा प्रशस्त सन्देह गर्न सकिन्छ। सम्भवत: विश्वव्यापी र केही हदसम्म क्षेत्रीय स्तरमा प्रक्षेपित जलवायु परिवर्तन र अत्यन्तै सीमित मापन तथा अपूर्ण अध्ययनका आधारमा जलवायु परिवर्तनसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरिएको भनेर बुझ्न सकिन्छ किनभने हिमवत्खण्ड नेपालको जटिल भूबनोटमा विद्यमान सूक्ष्म जलवायु एवं मौसमी विविधताको आधारभूत तत्थ्याङ्कन र नक्साङ्कन गरिएको जानकारीमा आएको छैन। यसरी आधारभूत तत्थ्याङ्कविना तर्जुमा गरिएका जलवायु परिवर्तन नीति, रणनीति, कार्यनीति तथा कार्यक्रमहरूले भूधरातलीय यथार्थलाई व्यावहारिकरूपमै प्रतिनिधित्व गर्न नसक्ने भएबाट राष्ट्रिय जलवायु सङ्कटासन्नता तथा जोखिमलाई निरूपण गर्न धेरै कठिन देखिन्छ।

यिनै जलवायु परिवर्तन नीति, रणनीति, कार्यनीति तथा कार्यक्रमहरूअनुरूप आ.व. २०६८/२०६९ देखि राष्ट्रिय बजेटमा जलवायु सङ्केतको अभ्यास गरिँदै आएको र हाल प्रदेश तहमा समेत विस्तार गरी प्रदेशस्तरीय जलवायु परिवर्तन रणनीति र कार्ययोजनाअन्तर्गत २६३ भन्दा बढी स्थानीय तहमा स्थानीय अनुकूल योजना कार्यान्वयन हुन पुगेका छन्। स्मरण रहोस् कि राष्ट्रिय जलवायु परिवर्तन अनुकूलन कार्यक्रममा नै सूक्ष्मस्तरीय जलवायु परिवर्तनको भरपर्दो प्रक्षेपण उपलब्ध नभएकाले अपेक्षित अनुकूलन रणनीति तथा कार्यक्रमका उद्देश्यहरू प्राप्त हुनेमा सन्देह व्यक्त गरिएको छ। लोकयुक्ति ‘अह्राएको बुद्धि र भरेको खर्चले कहिल्लै पुग्दैन’ भने जस्तै सङ्कटासन्न जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न लिइएका राष्ट्रिय नीति, रणनीति तथा कार्यक्रमहरू आफैँमा निश्प्रभावी देखिएका छन्।  

त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वातावरण अनुसन्धान प्रयोगशाला, कीर्तिपुरले झण्डै डेढ दशकअघि नै हिमवत्खण्ड नेपालको जटिल भूबनोटमा रहने वायुमण्डलीय अवस्थिति, अतुलनीय विलक्षण र विविधतायुक्त सूक्ष्म स्तरीय जलवायु र जलवायु परिवर्तनका छुट्टै विशिष्ट प्रक्रिया तथा असरहरूबारे गहिरो अध्ययन अनुसन्धानका लागि नेपाल सरकारसँग संस्थागतरूपमा प्रस्ताव गरिएको थियो। अन्तर्राष्ट्रिय स्तरबाट विश्वव्यापीरूपमा प्रक्षेपित तत्थ्याङ्कहरू आफैँमा ठुल्ठूला चक्ला क्षेत्रका औसतका रूपमा हुने भएकाले विश्वव्यापी तथा क्षेत्रीय स्तरमा के कस्तो हुँदैछ भन्ने जानकारी प्राप्त गर्न सकिने भए तापनि हाम्रो जस्तो जटिल भू–खण्डमा रहेको विविधतापूर्ण विशिष्ट सूक्ष्म स्तरीय जलवायुको वितरण र परिवर्तनका प्रक्रियाहरूको यथार्थपरक चित्रण गरी आवश्यक ज्ञान हासिल गर्न सम्भव हुँदैन। विश्वव्यापी एवं क्षेत्रीय स्तरमा प्रक्षेपित जलवायु परिवर्तन तत्थ्याङ्कहरूका आधारमा तर्जुमा गरिएका अनुकूलनका कार्यक्रमहरू स्वभावत: प्रभावकारी बन्न सक्दैनन्।  

नेपाल भूखण्डमा विद्यमान सूक्ष्म स्तरीय जलवायु विविधता र वितरणको तत्थ्याङ्कीकृत नक्साङ्कन तथा भावी विभिन्न कालखण्डमा परिवर्तित भइरहन सक्ने सूक्ष्म स्तरीय जलवायु विविधता र वितरणको भरपर्दो भविष्यवाणी हुन सकेमा मात्रै वर्तमान अवस्थामा राष्ट्रिय तथा स्थानीय स्तरमा उपलब्ध सूक्ष्म स्तरीय जलवायु वितरणको बुद्धिमत्तापूर्ण सदुपयोग र भविष्यमा हुन सक्ने जलावयु परिवर्तन रोकथाम तथा परिवर्तित जलवायुको असर न्यूनीकरणका लागि परिणाम अंकमा सुनिश्चित गरिएका अनुकूलनका कार्यक्रमहरू तर्जुमा एवं प्रभावकारी कार्यान्वयन गर्न सम्भव हुन सक्छ। सहरी विकास मन्त्रालय, नयाँ सहर आयोजना समन्वय कार्यालयको सहकार्यमा नारेल प्रयोगशालाबाट डुम्रे–भन्सार नयाँ शहर विकास क्षेत्रमा गरिएको विद्यमान सूक्ष्म जलवायु नक्साङ्कन तथा शहरी विकासले स्थानीय जलवायु वितरणमा पर्न सक्ने असर र अनुकूलन विधि पद्धतिको विकासबारे गरिएको अनुसन्धानका उपलब्धिहरूले परिणाम अंकमा सुनिश्चित गरिएका राष्ट्रिय एवं स्थानीय स्तरका अनुकूलनका कार्यक्रमहरू हाम्रै विश्वविद्यालय स्तरीय अनुसन्धानहरूबाटै तर्जुमा गर्न सकिने देखाएको छ।

उपलब्ध राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक जनशक्ति र क्षमताको सदुपयोग तथा भावी वैज्ञानिक तथा प्राविधिक क्षमता विकाससँग जोडिएको विषय र राष्ट्रिय जलवायु सङ्कटासन्नता तथा जोखिमलाई न्यूनीकरण गर्न अपरिहार्य विश्वविद्यालयबाट प्रस्तावित अध्ययन अनुसन्धान विगत डेढ दशकदेखि नेपाल सरकारले विचाराधीनमा नै राख्नु विडम्बनापूर्ण छ। १६औं राष्ट्रिय योजनाले जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक सत्यतथ्यको अभाव र अध्ययन अनुसन्धानमा देखिएका कमी/कमजोरीलाई मनन् गर्दै जलवायु परिवर्तनसम्बन्धी तथ्याङ्क र प्रमाण सङ्कलन, अद्यावधिक र प्रमाणीकरण प्रणाली स्थापना, नीति तथा कार्यक्रमलाई प्रमाण वा तथ्यमा आधारित बनाउने र अध्ययन अनुसन्धानका लागि विश्वविद्यालय तथा अनुसन्धानमा संलग्न अन्य संस्थाहरूमा लागानी बढाउने र साझेदारी गर्ने रूपान्तरणकारी रणनीति तय गरेसँगै राष्ट्रिय एवं विश्वविद्यालय स्तरमा अध्ययन अनुसन्धानमा उचित प्रोत्साहन तथा जलवायु परिवर्तन उत्थानशीलता एवं असर न्यूनीकरणका कार्यक्रमहरूमा वैज्ञानिकता थपिनेमा आश गर्न सकिन्छ तर भरै पर्न सक्ने अवस्थाचाहिँ बनिसकेको छैन।– रेग्मी त्रिवि नारेल प्रयोगशालाका प्रमुख वैज्ञानिक हुन् । 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस