टंकराज गिरी गुठीचौर गाउँपालिका ३ गज्र्याङकोटका वासिन्दा। यतिबेला उनी दंग छन्। बगैंचामा विकसित फुजी जातका १५ हजार बोटमा स्याउ फलिरहेको देखेपछि उनी दंग परेका हुन्।
जडीबुटी व्यवसाय गर्दै आएका गिरी २०५२ सालदेखि व्यावसायिक रुपमा स्याउ खेतीमा होमिएका हुन्। उनी भन्छन्, ‘बगैंचामा फल्ने मात्रै १५ हजार बिरुवा छन्। अघिल्लो वर्ष ४ क्विन्टल स्याउ उत्पादन भएको थियोे। यो वर्ष ६५ लाख रुपैयाँ बढीको स्याउ बिक्री गरें।’
स्याउ काठमाडौंमा बिक्री भइरहेको उनले बताए। गिरी भन्छन्, ‘थोरै मात्रामा स्याउ जुम्लामा बिक्री भयो ,बाँकी सबै काठमाडौंमा बिक्री गरियो। बगैंचामा प्रति केजी २ सय रुपैयाँमा बिक्री भएको स्याउ काठमाडौंमा ३ सय ५० रुपैयाँमा बिक्री गरें।’
काठमाडौंमा जात र गुणस्तरका आधारमा मूल्य पाइने गिरीले बताए। स्याउ लगाएको १८ महिनापछि मुनाफा लिन सक्दा उनी निकै खुसी देखिएका थिए। गत वर्ष उनको बगैंचामा ३ सय ६० क्विन्टल झन्डै ३६ टन स्याउ उत्पादन भएको थियोे। गाला जातको स्याउले बजारमा राम्रो मूल्य पाएको उनले सुनाए।
गिरीले सात करोड रुपैयाँ लगानीमा स्याउ खेती सुरु गरेका थिए। अहिले उनको लगानी १० करोड नाघिसकेको छ। गिरीले भने, ‘अहिले २२ हेक्टरमा खेती गरेको छु। खाली जमिनमा स्याउ उत्पादन गरी बेरोजगार युवाहरूलाई रोजगारी दिन र आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न व्यावसायिक खेतीमा लागेको हुँ।’
गिरीको बगैंचामा १६ जना कर्मचारी छन्। उनीहरूले न्यूनतम मासिक १५ हजारदेखि २५ हजार रुपैयाँसम्म तलब पाउँछन्। प्रतिदिन २० देखि ३० दिनसम्मले नियमित ज्वालादारीमा काम गर्छन्। गिरीले स्याउ टिप्ने समयमा पाँच हजार मानिसले काम पाउने बताए।
तल्लो गुठीचौरमा ‘हिमाली टिएनएन एग्रो फार्म प्रालि’ फर्म दर्ता गरेर उनले व्यावसायिक रुपमा स्याउ खेती गरिरहेका छन्।
कास्की। कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ।
सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर रु ६८ देखि रु ७१ सम्म मात्र पाउँदै आएको र यो मूल्यले किसानको उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको जनाएको छ।
सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ। जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए।
दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष बरालको भनाइ छ। 'उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन्। त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ। भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ,' उनले भने।
उपभोक्ताको हित र बजारको अवस्थालाई समेत मध्यनजर गर्दै किसानले प्राप्त गर्ने दूधको मूल्य कम्तीमा प्रतिलिटर रु ८० कायम गर्न आफूहरुले सरकारसँग माग गरिरहेको अध्यक्ष बरालले बताए। दूधको मूल्य बढाउन मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले सरकारसँग लामो समयदेखि माग गर्दै आए पनि माग पूरा नभएको बताइन्छ।
किसानले दूधको मूल्य वृद्धिसँगै किसानले दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार र खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन तथा उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। त्यस्तै, पशुमा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।
पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको बताए। उनका अनुसार यसबीचमा दाना–चोकरको मूल्य २५ प्रतिशतभन्दा बढिसकेको छ। 'दाना–चोकरको मूल्य महिनैपिच्छे रु १० देखि रु १५ सम्म बढ्छ। हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ। यही अवस्था रहिरहने हो भने यसरी किसान कसरी बाँच्ने ? पशुपालनबाट पलायन हुनुको विकल्प छैन,' लामिछानेले भने।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहेको भए पनि दूधको मूल्य बढ्ने आशामा किसान तीन वर्षदेखि कुरिरहेको बताए। उपभोक्ताले बजारमा दूध किन्दा चर्को मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उनी बताउँछन्।
'किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ। उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ। किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन ?' अधिकारीको प्रश्न छ। रासस
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...