कृषि उपजले बजार पाएन, मर्कामा परे किसान
२३ पौष २०८०
•
६ मिनेट पाठ
कृषि उपजले बजार पाएन, मर्कामा परे किसान
बजार अभावले कृषि क्षेत्र संकटमा पुगेको जनाउँदै इलामका किसानले गुनासो गरेका छन्। उनीहरूले दूध, अर्थोडक्स चियालगायत उत्पादित उपजको खस्किँदो बजार, पशु तथा बालीनालीमा लाग्ने रोगका कारण समस्यामा पर्दै गएको बताएका हुन्। प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्दै आएका सूर्योदय नगरपालिका- ११ का गोपाल भट्टराईले पछिल्लो समयमा डेरीमा थन्किएको घिउ छुर्पी देख्दा चिन्तित हुन थालेको बताए।




उत्पादित कृषिउपजले बजार नपाउँदा किसानले हातमुख जोड्न समस्या भएको बताएपछि किसानसम्बद्ध संघसंस्थाले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्। किसानलाई प्रोत्साहन कम भएको जनाउँदै सूर्याेदय उद्योग वाणिज्य संघ, नगरस्थित राष्ट्रिय कृषक समूह महासंघ, एलाइन्स फर एग्रो इन्टरप्रेसनर्स र हिमालयन चिज उत्पादक संघले सूर्योदय नगर प्रमुख रणबहादुर राईलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

सूर्योदय नगरमा दिनहुँ उत्पादन हुने करिब ६० हजार लिटर दूधको बिक्री र मूल्य भुक्तानीको व्यवस्था सहज गर्न, हाल ‘स्टक’ रहेको ३७ हजार किलो घिउ र ४८ हजार किलो छुर्पी र ९३ हजार किलो चिज (इलाम जिल्लाभर) बिक्रीका लागि व्यवस्था गर्न माग गरिएको नगरस्थित राष्ट्रिय कृषक समूह महासंघका सचिव मदन पौड्यालले बताएका छन्।

इलाम कृषि तथा पशुपालन उद्योगबाटै ख्याति कमाएको जिल्ला भए पनि जीवनयापनको आधार संकटग्रस्त भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ। 

भारतबाट आयात हुने दुग्ध पदार्थभन्दा सस्तोमा यहाँको दुग्ध परिकार उत्पादन गर्ने वातावरण बनाउन, लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरेको अवस्थामा त्यसलाई तीव्र गतिमा अघि बढाउन पनि माग राखिएको हिमालयन चिज उत्पादक संघ सूर्योदयका सचिव तोयानाथ महतले बताए।

उनका अनुसार, लम्पीस्किन रोगको खोप कार्डबिना किसानले गाईको बीमासमेत नगर्ने भएकाले पशु बिमा सहज बनाउन आवश्यक समन्वय गरिदिन र खोरेतमुक्त क्षेत्र निर्माणका लागि आवश्यक पहल गर्न माग गरिएको छ।  

‘कृषकले थालेको दूध र दुग्ध व्यवसाय करिब एक वर्षदेखि बजारमा आएको उतारचढावका कारण अप्ठ्यारामा छन्। खेतबारी मासेर लगाएको चियाको हरियोपत्तीको मूल्य महिनौंदेखि कृषकले पाएका छैनन्’, सूर्याेदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले भने, ‘जिल्लाभर अलैंचीको ७५ प्रतिशत बगान मासिएको छ। अब किसानको बाँच्ने जग कमजोर बन्दै गएको छ।’

उनीहरूले स्थानीय सरकारमार्फत् तीनै तहका सरकारले समस्या समाधानका लागि तत्काल पहल थाल्न ध्यानाकर्षण गरेका हुन्। सूर्योदय- ११ का गोपाल भट्टराइले प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्छन्।

ज्योतिपुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन गरिरहेका उनले स्थानीय सुप्रभात डेरी उद्योगलाई दुग्ध बिक्री गर्छन्। तर, पछिल्लो समयमा डेरीमा थन्किएको घिउ छुर्पी देख्दा उनको मनमा चिसो पस्न थालेको छ।

‘हाम्रो ठाउँमा आशलाग्दो बनेको गाईपालन नै मासिएलाजस्तो छ’, उनी भन्छन्, ‘दूध बिकेन भने किसानले हातमुख कसरी जोड्ने ? घरघरमा अभाव छिर्ने खतरा बढ्यो।’

दुग्ध पदार्थ बिक्री नहुँदा इलामका कृषकलाई ‘मिल्क होलिडे’ सुरु हुने त्रास बढेको छ। घिउ र छुर्पी बिक्री नभएपछि विराटनगर दुग्ध वितरण आयोजनाले मात्र होइन निजी क्षेत्रका डेरीले किसानको दूधको भुक्तानी दिन सकेका छैनन्। यसका कारण कृषक अप्ठ्यारोमा परेका छन्।

‘यसअघि गुणस्तरको आधारमा प्रतिलिटर रु ७० सम्म दूधको मूल्य पाएका किसानले अहिले  ४०–५० मा चित्त बुझाएका छन्।’ सूर्योदय– १ मकरजुङका किसान जीवन पोखरेल भन्छन्, ‘न समयमा पेमेन्ड हुन्छ, सबै उद्योगमा सामान स्टक देखिन्छ। यो पाराले त मिल्क हालिडे होलाजस्तो भइसक्यो’, इलाममा दुग्ध विकास संस्थान (डिडिसी) र निजी दुग्ध उद्योगका लागि ७८ हजार लिटर दुग्ध दैनिक उत्पादन गर्ने करिब चार हजार परिवार कृषकको यस्तै व्यथा छ।

सूर्योदयका दुग्ध व्यवसायी अमृत पाण्डेले घिउ, छुर्पी बिक्री नभएपछि निजी डेरीले दूधको मूल्य घटाउन बाध्य हुनुपरेको बताए। सन्राइज डेरी उद्योगमा दैनिक दुग्ध संकलन गर्दै आउनुभएका पाण्डेसँग हाल घिउ छुर्पी स्टक रहेको छ। उनी भन्छन्, ‘सकेसम्म ऋण लिएर पनि किसानको भक्तानी समयमा गरिरहेको थिएँ तर, अब अवस्था जटिल भइसक्यो।’

आयोजनाले पनि घिउ, पाउडर दूधको बिक्री सहज नभएसम्म किसानको दूधको मूल्य भुक्तानी सहज नहुने जनाएको छ। विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीले अहिले घिउ र पाउडर गरेर एक सय ३३ टन दुग्ध पदार्थ स्टकमा रहेको जानकारी दिए। ‘भण्डारण कक्ष कुनै खाली छैनन्’, उनले भने, ‘बिक्री ठप्प भएपछि आयोजनालाई दैनिक संकलन हुने दुग्ध व्यवस्थापन झनै चुनौतीपूर्ण बन्दै गएको छ।’

पशुलाई दाना खुवाउन पनि ऋण काढ्नुपर्ने अवस्था आएको गुनासो पोख्दै कृषक राजन भट्टराईले निजी डेरीले दूध लिनै छोड्छन् कि भन्ने डर सुरु भएको बताए। उनलाई आयोजनाले दूध थेग्न नसकेपछि मिल्क होलिडे सुरु हुने आशङ्का छ। 

सूर्योदय नगरपालिका- १२ का अर्का कृषक भूपेन्द्र गड्तौला आयोजनाले कृषकको दूध खरिद गर्दिन भन्न नमिल्ने बताउँछन्। उनी भन्छन्, ‘डिडिसी सरकारको निकाय हो, उसले किसानको दूध अस्विकार गर्न मिल्दैन।’

आयोजना प्रमुख चौधरीले क्षमताले धान्न नसक्ने अवस्था आउन लागेको बताए। ‘आयोजनालाई छोडेर निजी डेरीसँग कारोबार गर्न थालेका दुग्ध कारोबार गर्ने सहकारीले आयोजनामै दूध पठाउन थालेपछि आयाजनाको क्षमताले थाम्न मुस्किल भएको छ।’ उनले भने। गत जेठ महिनादेखि आयोजनामा दूध बिक्रीको चाप बढ्न थालेको हो।

दुग्ध पदार्थ बिक्री नभएपछि आयोजनाले कृषकलाई पुस महिनादेखिको दूधको ३० करोड रुपैयाँ भुक्तानी दिन नसकेको चौधरीले स्वीकार गरे।

उनका अनुसार, आयोजनाले इलाम, झापा, धनकुटा, तेह्रथुम र विराटनगरका स्थानीय कृषकबाट दैनिक २२ हजार लिटर दूध संकलन गर्ने गरेको छ भने अन्य आयोजनाबाट १५ हजार लिटर खरिद गरेर दैनिक ३७ हजार लिटर दूध जम्मा गर्ने गरेको छ।

जम्मा भएको दूधमध्ये दैनिक पाँच हजार लिटर स्थानीय बजारमा खपत भए पनि अरू प्रशोधन गरेर घिउ र पाउडर दूध बनाउने गरिएको छ।  

आयोजनाले इलामबाट दैनिक आठ हजार लिटर, झापाबाट पाँच हजार लिटर, धनकुटाबाट ६ हजार लिटर, तेह्रथुमबाट दुई हजार लिटर, आयोजना आसपासका कृषकबाट एक हजार लिटर र अन्य आयोजनाबाट १५ हजार लिटर दूध खरिद गर्दै आएको छ।

विसं २०३० देखि दुग्ध संकलन गर्दै आएको छ। पाँच बिघा क्षेत्रमा फैलिएको आयोजनाको दुग्ध स्टोर गर्ने क्षमता एक लाख लिटर छ भने प्रतिघण्टा पाँच हजार लिटर प्रशोधन गर्न सक्छ।

विराटनगर आयोजनाले इलामको शान्ति डाँडा, पूवाखोला, बिब्ल्याटे, लक्ष्मीपुर, तीनघरे, फिक्कल, कुटी डाँडा, झापाको गरामनी, धनकुटाको हिले र चित्रेमा चिलिङ सेन्टर स्थापना गरेर कृषकको दुग्ध संकलन गर्दै आए पनि दुग्ध सहकारीले आयोजनालाई दुग्ध दिन बन्द गरेपछि पुवाखोला, लक्ष्मीपुर, कुटी डाँडाको चिलिङ सेन्टर बन्द गरेको छ।

इलाममा निजी क्षेत्रले दैनिक ५३ हजार लिटरको हाराहारीमा दुग्ध खपत गर्दै आएको छ। निजी डेरीमा मात्रै एक हजारभन्दा बढी कृषकले दुग्ध बिक्री गर्दै आएका छन्। इलामका १८ वटा चिज कारखानाले दैनिक २७ हजार लिटर दुग्ध संकलन गर्ने आएका छन्।

स्थानीय बजार क्षेत्रमा दैनिक पाँच हजार लिटर दुग्ध बिक्री हुने गरेको छ। छुर्पी बनाउने उद्योगले दैनिक १५ हजार लिटर खपत गर्ने गरेको छ। ललिपप, बम्बैसनजस्ता मिठाई बनाउने उद्योगले तीन हजार लिटर र भारतका बजारमा तीन हजार लिटर दुग्ध बिक्री हुने गरेको दुग्ध व्यवसायमा संलग्न व्यवसायी बताउँछन्। इलाममा १८ चिज कारखाना, एक सय ५० को हाराहारीमा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाई बनाउने उद्योग रहेको सरकारी तथ्यांक छ।

इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको छ। होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार तीन सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्यांक छ। गाईपालनमा किसानको लगानी भए पनि अनिश्चित बजार र सरकारको बेवास्थाको कारण दुग्ध व्यवसाय संकटमा पर्दै गएको राष्ट्रिय कृषक समूह महासंघ इलाम अध्यक्ष विष्णु दुलालले बताए।–रासस
अर्को समाचार
बेमौसममा बिक्री गर्न चिस्यान गृहमा सुन्तला भण्डारण
०४ माघ २०८०
•
२ मिनेट पाठ
बेमौसममा बिक्री गर्न चिस्यान गृहमा सुन्तला भण्डारण
म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ। बेनी ४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो। बेनी ४ का वडाध्यक्ष अणबहादुर खड्काले बेमौसममा बजारमा पठाउने तयारीसहित चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको बताए।




‘बेनी ३ को मरेक, राखु, वडा नम्बर ४ को बास्कुना, सुर्केमेला र थामडाँडाका कृषकबाट चार सय क्रेट सुन्तला संकलन गरेर राखेका छौँ’, उनले भने, ‘सुन्तलापछि जिल्लाभरका कृषकले उत्पादन गरेको आलुलगायत कृषिउपज भण्डारण गर्ने तयारी गरेका छौँ।’

नगरपालिकाले क्रेट र कृषकले सुन्तला उपलब्ध गराएका छन्। चिस्यान गृहमा राखेको सुन्तला आगामी फागुन चैत महिनाको बेमौसममा बजारमा पठाएर बढी मूल्य पार्न सकिने वडाध्यक्ष खड्काले बताए। कृषिउपज संकलन, भण्डारण र व्यवस्थापनका लागि बेनी नगरपालिकाले गत असोजमा चिस्यान गृह निर्माण सम्पन्न गरेको थियो।

एक करोड ८३ लाख ४४ हजार तीन सय ७२ लागत अनुमान गरिएको चिस्यान गृह बनाउन राजेशबाबु निर्माण सेवा जाजरकोटसँग एक करोड ५१ लख २० हजार सात सय ३८ मा २०७९ फागुन तेस्रो साता सम्झौता भएको थियो।

तापक्रमलाई सन्तुलित बनाइराख्ने उपकरण र संरचना भएको सो चिस्यान गृहको क्षमता तीन सय मेट्रिक टन रहेको छ। नगर र म्याग्दीका अन्य पालिकामा उत्पादन हुने कृषिजन्य उत्पादनको उचित व्यवस्थापनमा चिस्यान गृह सहयोगी बन्ने अपेक्षा गरिएको छ। चिस्यान गृह नगरपालिकाको गत आर्थिक वर्षको सबैभन्दा ठूलो र प्राथमिकता प्राप्त योजना हो।

तीन वर्षअघि बेनी नगरपालिकालाई चिस्यान गृह बनाउन संघीय सरकारबाट बजेट विनियोजन भए पनि स्थान छनोट हुन नसकेपछि कार्यान्वयन हुन सकेको थिएन। चिस्यान गृह बनेपछि सुन्तला, आलुलगायत कृषिउपज भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन र बढी मूल्य पार्न सकिने कृषकसमेत रहेका वडा सदस्य सन्दीप खत्रीले बताए।

म्याग्दीको रघुगङ्गा गाउँपालिका ५ झिँमा २० मेट्रिक टन र वडा नम्बर २ भगवतीमा २५ मेट्रिक टन क्षमताको चिस्यान गृह निर्माण भएको छ। झिँमा २१ लाख ७८ हजारको लागतमा चिस्यान गृह निर्माण भएको गाउँपालिकाका इन्जिनियर सुदीप गौतमले जानकारी दिए।

भगवतीको चिस्यान गृह बनाउन डोलेश्वर महादेव कन्स्ट्रक्सन एन्ड सप्लायर्सले करबाहेक ७९ लाख ७० हजार ८४ मा ठेक्का सम्झौता गरेको थियो। दुुईवटै चिस्यान गृह प्रयोगमा भने आएका छैनन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा बेनी  ९ बियाडामा पाँच हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण भएको छ। यसअघि गत वर्ष अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा २० हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण भएको थियो। –रासस
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस