वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा उपभोक्ता ठगी गर्ने व्यवसायीलाई १४ करोड रुपैयाँ जरिवाना गरेको छ । विभागले चालु आवको साउनदेखि पुसको तेस्रो सातासम्म उपभोग्य वस्तुमा उपभोक्ता ठगी गर्नेहरूलाई जरिवाना गरेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी भरतप्रसाद आचार्यका अनुसार चालु आवको पाँच महिनामा उपभोक्ता ठगी गर्ने व्यवसायीलाई १३ करोड ९६ लाख आठ सय रुपैयाँ जरिवाना गरिएको हो । यो अवधिमा अनुगमनका क्रममा तीन सय ३५ फर्म र व्यवसायलाई जरिवाना गरिएको उनले बताए ।
विभागले यस अवधिमा फर्म र व्यवसाय गरेर एक हजार सात सय १८ वटामा अनुगमन गरेको थियो । यसमध्ये दुई सय ६१ फर्म र व्यापारीलाई कागजात माग गरेको, एक सय १५ वटा सामान्य अवस्थामा र एक हजार छ वटा फर्म र व्यवसायलाई अन्य निर्देशन दिइएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारी ।अनुगमनका क्रममा चार वटा फर्मको अखाद्य वस्तु नष्ट गरिएको छ । त्यसरी नष्ट गरिएका वस्तुको मूल्य एक लाख १५ हजार ७० रुपैयाँ बराबर छ । एउटा फर्मको सामान फिर्ता पठाइएको छ । यस अवधिमा अनुगमनमा चार सय ७५ जनाको टोली परिचालन गरिएको थियो ।
सूचना अधिकारी आचार्यका अनुसार दैनिक फर्म र व्यापार व्यवसायमा अनुगमन गरिरहेको बताउँछन् । ‘हामीले दैनिक तीन/चार वटा टोली नै खटाएर २०/२५ वटा फर्म र व्यवसाय अनुगमन गर्ने गरेका छौं । कतिपयले चाडपर्वलक्षित अनुगमन पनि भने गर्छन् तर त्यस्तो होइन हाम्रो दैनिक बजार अनुमगन हुने गरेको छ’, सूचना अधिकारी आचार्यले भने ।
विभागले अनुगमनका क्रममा फर्म र व्यवसायको दर्ता, नवीकरण, नियमित कर र सामानहरूको मूल्य र लेबल (म्याद) हेर्ने गरेको छ । उपभोक्तामार्फत उजुरी वा उपभोक्ता ठगी गरेमा पनि विभागले अनुगमन गर्ने गरेको जनाएको छ ।
फर्म वा व्यवसाय अनुगमनका क्रममा अखाद्य वस्तु फेला परे थोरै परिणाम भए त्यही ठाउँमा नष्ट गर्ने गरिएको सूचना अधिकारी आचार्यले बताए । उनी धेरै अखाद्य वस्तु फेला परे सामान सिल गरेर प्रहरी र विभागका कर्मचारीको रोहबरमा नष्ट गर्न निर्देशन दिने गरिएको बताउँछन् ।
उनका अनुसार अखाद्य वस्तु बिक्रीवितरण गर्ने फर्म र व्यवसायलाई पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
अनुगमनका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारी ।चालु आवमा विभागबाट चार हजार फर्म र व्यवसाय अनुगमन गर्ने लक्ष्य छ । आफूहरूलाई दिएको वार्षिक लक्ष्य पूरा गर्ने उद्देश्यका साथ अनुगमनलाई प्रभावकारी हिसाबले अगाडि बढाइएको सूचना अधिकारी आचार्यको भनाइ छ ।
सूचना अधिकारी आचार्यले भने, ‘हामीलाई दिइएको वार्षिक लक्ष्य अनुसार छ महिनामा दुई हजार फर्म र व्यवसाय अनुगमन गर्नुपर्ने हुन्छ । अहिले पाँच महिनामै १७ हजार बढी अनुगमन गरिसक्यौं । छ महिना पुग्न अझै केही दिन बाँकी छ । अनुगमन कार्य बढाएर भएपनि छ महिनाको अनुगमनको लक्ष्य पूरा गर्छौं ।’
बजार अनुगमन गर्न सरकारले विभागलाई बजेट विनियोजन गर्ने गरेको छ । विभागले कन्सल्टेन्सी ५० वटालाई ३१ लाख ७० हजार रुपैयाँ जरिवाना गरेकोमा खाद्य वस्तुका ५० वटालाई १९ लाख सात हजार रुपैयाँ, रेडिमेड तथा थान कपडाका ४४ वटालाई आठ लाख ५७ हजार रुपैयाँ, भाँडाकुडाका २३ वटालाई पाँच लाख ४५ हजार रुपैयाँ, कस्मेटिकका २० वटालाई सात लाख ६८ हजार रुपैयाँ, होटल तथा रेस्टुरेन्ट १९ वटालाई छ लाख ५१ हजार रुपैयाँ र अन्य १९ वटालाई १६ लाख २६ हजार रुपैयाँ जरिवाना गरेको छ ।
यसैगरी १५ वटा मिठाइ पसललाई ५५ हजार रुपैयाँ, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्ससम्बद्ध १३ वटा पसललाई तीन लाख रुपैयाँ, हार्डवेयर १० वटालाई दुई लाख ८२ हजार रुपैयाँ, फनिर्चर एन्ड फिक्चर्स आठ वटालाई चार लाख ३३ हजार रुपैयाँ र विविध आठ वटालाई तीन लाख ४७ हजार रुपैयाँ जरिवाना गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै जुत्ता चप्पल सात वटालाई चार लाख ८२ हजार रुपैयाँ, अटो पार्ट्स छ वटालाई तीन लाख ३५ हजार रुपैयाँ, निर्माण सामग्री छ वटालाई तीन लाख रुपैयाँ, स्कुल कलेज दुई वटालाई दुई लाख ५५ हजार रुपैयाँ, मदिरा एवं सुर्तिजन्य दुई वटालाई दुई लाख रुपैयाँ, डेरी प्रोडक्ट्स दुई वटालाई दुई लाख २५ हजार रुपैयाँ र डिपार्टमेन्टल स्टोर एउटालाई दुई लाख रुपैयाँ जरिवाना गरेको विभागले जनाएको छ ।
कास्की। कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ।
सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर रु ६८ देखि रु ७१ सम्म मात्र पाउँदै आएको र यो मूल्यले किसानको उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको जनाएको छ।
सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ। जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए।
दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष बरालको भनाइ छ। 'उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन्। त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ। भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ,' उनले भने।
उपभोक्ताको हित र बजारको अवस्थालाई समेत मध्यनजर गर्दै किसानले प्राप्त गर्ने दूधको मूल्य कम्तीमा प्रतिलिटर रु ८० कायम गर्न आफूहरुले सरकारसँग माग गरिरहेको अध्यक्ष बरालले बताए। दूधको मूल्य बढाउन मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले सरकारसँग लामो समयदेखि माग गर्दै आए पनि माग पूरा नभएको बताइन्छ।
किसानले दूधको मूल्य वृद्धिसँगै किसानले दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार र खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन तथा उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। त्यस्तै, पशुमा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।
पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको बताए। उनका अनुसार यसबीचमा दाना–चोकरको मूल्य २५ प्रतिशतभन्दा बढिसकेको छ। 'दाना–चोकरको मूल्य महिनैपिच्छे रु १० देखि रु १५ सम्म बढ्छ। हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ। यही अवस्था रहिरहने हो भने यसरी किसान कसरी बाँच्ने ? पशुपालनबाट पलायन हुनुको विकल्प छैन,' लामिछानेले भने।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहेको भए पनि दूधको मूल्य बढ्ने आशामा किसान तीन वर्षदेखि कुरिरहेको बताए। उपभोक्ताले बजारमा दूध किन्दा चर्को मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उनी बताउँछन्।
'किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ। उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ। किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन ?' अधिकारीको प्रश्न छ। रासस
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...