विद्युतीय सुशासन कागजमा मात्रै
२० पौष २०८०
•
८ मिनेट पाठ
विद्युतीय सुशासन कागजमा मात्रै
सरकारले आफ्ना सेवाहरूलाई विद्युतीय माध्यमबाट उपलब्ध गराएर सुशासन दिलाउने भन्दै नीति कार्यक्रममा समावेश गरेपनि आम नागरिकले सार्वजनिक निकायबाट ती सेवा पाउन सकिरहेका छैनन्।




सरकारले हरेक बर्ष नीति र कार्यक्रममा विद्युतीय सुशासन उच्च महत्वका साथ पार्ने गरेपनि आवश्यक कानुन र पूर्वाधार नहुँदा सेवाग्राहीले सरकारी अड्डाहरूमा विद्युतीय सुशासनको अनुभूति गर्न पाइरहेका छैनन्। जनसरोकारका कार्यालयहरूमै सेवाग्राहीले सेवा लिन अनावश्यक सास्ती खेप्नुपर्ने अवस्था छ। विद्युतीय सुशासनका लागि भन्दै सरकारले संरचना खडा गरेपनि राज्यको ढुकुटी सक्ने मात्रै काम भएको जानकारहरू बताउँछन्।

नीति कार्यक्रममा ती विषय प्राथमिकतामा परे पनि कार्यान्वयनमा सरकार उदासीन देखिएको हो। विद्युतीय सुशासनका लागि भन्दै सरकारले देखाउन मात्रै संयन्त्र खडा गरेको जानकारहरू बताउँछन्। तर सेवा प्रवाहलाई सहज र सरल साथै सुविधायुक्त बनाउनु टाढाको विषय बनेको छ।

शासन प्रणालीलाई प्रभावकारी बनाउँदै विद्युतीय सूचना र सञ्चार माध्यमको प्रयोगबाट सेवा दिनुलाई विद्युतीय शासनको रूपमा लिने गरिन्छ। सुशासन दिन यो अत्यावश्यक औजारको रूपमा लिइने गरिन्छ। प्रविधिमा आधारित शासनले सरकार, नागरिक र अन्य सरोकारबीच विद्युतीय रूपमा अन्तरक्रिया गर्न सहज र सम्भव हुने जानकारहरू बताउँछन्। विद्युतीय शासनको माध्यमबाट सार्वजनिक सेवालाई आधुनिकीकरण गर्दै सुशासन कायम गर्नका साथै सार्वजनिक सेवालाई सुलभ, सहज, सरल, पारदर्शी र प्रभावकारी रूपमा प्रवाह गर्न सघाउने हुँदा विकसित देशले समेत उच्चतम् अभ्यास गरिरहेको पाइएको छ। तर सरकारले दिने सेवासँग सम्बन्धित डेटाहरूको डिजिटलाइट, डिजिटलाइजेशन र डिजिटल टान्सफरमेशनका साथै एउटा निकायबिच अर्को निकायमा अन्तर आबद्धता कायम गर्न सरकारले आवश्यक पूर्वाधारहरू तयार नगरेकाले सरकारको नीति अनुरूप नागरिकले विद्युतीय शासन मार्फत सुशासनको अनुभूति गर्न नपाएका हुन्।

विद्युतीय सुशासन अन्तर्गत केही जनसरोकारका निकायले सेवाको सुरूवात गरेपनि समय समयमा डाटाको सुरक्षा र सर्भरमा समस्या देखिने गरेको छ।

सार्वजनिक सेवा प्रवाहसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न सरकारी वेबसाइट एवं वेब एप्लिकेसन सोमबार दिनभर अवरुद्ध भयो। सार्वजनिक आईपी अड्रेसलगायत डाटाबेस रहने डोमेन नेम सिस्टम (डीएनएस) सर्भरमा आइतबारदेखि नै डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डिडस) आक्रमण भएकाले सरकारी साइट सञ्चालनमा आउन सकेनन्। यस्तो प्रकृतिको आक्रमण भएको यो पहिलो घटना नभए पनि जनसरोकारका कार्यालयमा बारम्बार आइरहने समस्या समाधानमा भने सम्बन्धित निकाय गम्भीर बन्ने गरेको छैन।

गत बैशाखमा लोक सेवा आयोगमा दरखास्त दिएका आवेदकको डाटा नै हराएपछि आयोगसमेत तनावमा प¥यो। राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या देखिएपछि आयोगको डाटा हराएको थियो। आयोगमा दरखास्त दिएका झन्डै साढे तीन लाख आवेदकको डाटा हराएको थियो। आयोगको आव २०७९/८० को आवेदन असोजमा भएको थियो। आयोगका अनुसार त्यस यताको आयोगको सबै डाटा हराएको थियो।

प्रभावकारी विद्युतीय सुशासन दिन सरकारले काम नगरेको जानकारहरू बताउँछन्। सेवा प्रवाहमा समस्या आइरहने अवस्था रहेको उनीहरूको भनाइ छ। ‘नाम मात्रैको विद्युतीय शासन छ। नागरिकले चाहेको सेवा लिन कठिन छ’, ती अधिकारीले भने। सरकारले आव ०७९/०८० मा बजेट मार्फत डिजिटल नेपाल फेमवर्क २०७६ को कार्यान्वयन गरी पहिलो चरणमा संघीय मन्त्रालयलाई डिजिटल कार्यालयमा रूपान्तरण गर्ने घोषणा गरेको थियो।

सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाइ पारदर्शिता सुनिश्चित गर्ने प्रक्रियागत सरलीकरण गर्ने र सेवा प्रवाहको समय तथा लागत घटाइने बताएको थियो। त्यस्तै सेवा प्रवाहमा प्रत्यक्ष संलग्न हुने कार्यालयहरूलाई सेवाग्राही मैत्री एव खुल्ला कार्यस्थलको ढाँचामा विकास गदै लगिने उल्लेख थियो।

बजेट भाषणमा सरकारले सार्वजनिक सेवालाई मुहाररहित, सम्पर्करहित र कागजरहित बनाउन आवश्यक प्रबन्ध मिलाइने उल्लेख गरेपनि नागरिकले अत्यावश्यक सेवा विद्युतीय सुशासनको अनुभूति गराउँदै ती सेवा दिन सकेको छैन। त्यसैगरी आव ०८०/८१ को बजेट कार्यक्रममा जग्गा प्रशासन सम्बन्धी कामलाई सूचना प्रविधिमा आधारित बनाइने र नापी भूमिसुधार सेवाग्राही विद्युतीय माध्यमबाट डे«स नक्सा बन्धक रोक्का लगायतका सेवा लिने व्यवस्था मिलाइने सरकारले घोषणा गरेको छ। साथै विद्युतीय तथ्याङ्कको सुरक्षा भण्डारण र उपभोगलाई व्यवस्थित बनाउन तथ्याङ्क सुरक्षा नीति तर्जु गर्ने उल्लेख गरेको थियो। सरकारका नीति तथा कार्यक्रममा विद्युतीय सुशासन दिने भने पनि सार्वजनिक निकायले त्यस्तो अभ्यास नै गरिरहेको देख्न पाइन्न। विद्युतीय सुशासन सेवा भनेर कतिपय मन्त्रालयले वेभ साइटमा उल्लेख गरेपनि ती सेवाहरूको एक निकायदेखि अर्कोसँग अन्तरआवद्धता नै भएको पाइएको छैन।

‘कार्यालयहरूका सफटेवरहरू अन्तरआवद्धता भएको छैन। डाटामा समस्या आउने र पटक– पटक डाटा लिन कठिन छ । धेरै ठाउँमा डाटा सुरक्षित गर्न डाटा सेन्टर समेत छैन’, विद्युतीय सुशासनका जानकार लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले भने।

सरकारले विद्युतीय सुशासन दिने कुरा नीति कार्यक्रममा मात्रै सीमित रहेको पूर्व सचिव शारदा प्रसाद त्रिताल बताउँछन्। ‘विद्युतीय सुशासन गफ र भाषणको विषय बन्यो। कर्मचारी र सरकार प्रमुख यसमा काम गर्न गम्भीर देखिएनन्’, उनले भने।

विद्युतीय सुशासन दिने भन्दै सरकारले आवश्यक उपकरण र सेवा खरिद परामर्शदाता मार्फत गर्ने प्रवृत्तिको विकासले विचौरियाले मात्रै लाभ लिने मौका पाएको उनले बताए।

‘जनतालाई सरकारका सेवा विना झन्झट सहज र कागजरहित हिसाबले पु¥याउनुपर्नेमा विद्युतीय सुशासनको नाउमा विचौरियाले लाभ लिइरहेका छन्’, उनले भने।

लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली पाँच वर्ष अगाडि विद्युतीय सुशासन सुरु गरेका निकायमा समेत समस्या देखिने गरेको बताउँछन्।‘डाटा ब्याक अप’  का लागि डाटा सेन्टर धेरै ठाउँमा राख्न सकिएको छैन। एउटामा समस्या आउने बित्तिकै सेवा नै अवरुद्ध हुने गरेको छ’, उनले भने। सरकारको नीति र कार्यक्रम विद्युतीय सुशासनका लोकप्रिय कार्यक्रम रहे पनि त्यस अनुरूप अपेक्षा र आशा गर्ने ठाउँ नै नरहेको उनले बताए।

‘सरकारसँग विद्युतीय सुशासन दिन आवश्यक पूर्वाधार र जनशक्ति नै छैन। परामर्शदाता मार्फत काम गराउँदा महँगो पर्ने र विचौरियाले लाभ लिने मौका पाइरहेका छन्’, उनले भने। सरकारले विद्युतीय सुशासन दिने हो भने स्वदेशकै जनशक्तिलाई सक्षम र प्रतिस्पर्धी बनाउनु पर्दछ। तब मात्रै सेवा प्रभावकारी बन्न सक्छ’, लोक सेवा आयोगका पूर्व अध्यक्ष मैनालीले भने।

संरचना देखाउनलाई मात्रै

सरकारले एक बर्ष अगाडि विद्युतीय सुशासन आयोग गठन गर्‍यो। सरकारी निकायमा सञ्चालन हुने विद्युतीय प्रणालीको स्थापना सञ्चालन र प्रणालीहरूको साइब र सुरक्षा सम्बन्धी नीति तर्जु गर्ने, सूचना प्रविधि तथा विद्युतीय सुशासन अल्पकालीन र दीर्घकालीन नीति तर्जुमा गरी सरकारलाई पेश गर्ने, सूचना प्रविधिको क्षेत्रमा रोजगारी प्रवर्द्धन गर्न आवश्यक नीति तथा योजना तर्जुमा गरी सरकारलाई सिफारिस गर्ने, सरकारी निकायमा रहने विद्युतीय तथ्याङ्क भण्डारण, विद्युतीय सञ्चार उपकरण तथा विद्युतीय सञ्चालनको सुरक्षा तथा सार्वजनिक सेवाको लागि प्रयोग हुने विद्युतीय प्रणालीको सञ्चालनको मापदण्ड बनाउने जिम्मा आयोगलाई छ। तर एक बर्ष अगाडि स्थापना भएको विद्युतीय सुशासन आयोग सरकारी नीति तथा समन्वयको अभावमा तोकिएको काम कसरी गर्ने भन्नेमै अलमलमै समय गुजारिरहेको छ।

विद्युतीय सुशासन कायम गर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग गठन गरेको थियो। प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन मिति घोषणा भइसकेपछि नयाँ नियुक्ति तथा गठनमा निर्वाचन आयोगको परामर्श लिनुपर्ने बाध्यकारी व्यवस्था छल्दै सरकारले आयोगमा पदाधिकारी भर्ना गरेको थियो। तत्कालीन प्रधानमन्त्री देउवाका आइटी विज्ञ दीपेश विष्टलाई विद्युतीय सुशासन आयोगमा नियुक्ती दिइएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ २४ मा विद्युतीय सूचना आयोगमा पदपूर्तिका लागि विज्ञापन गरेको थियो। उक्त विज्ञापनअनुसार विष्टसहित अर्का एक जना कार्यकारी अधिकृतमा अन्तर्वार्ताका लागि छानिएका थिए।

सीइओलाई सचिवस्तरको सेवा सुविधा दिएको छ। राज्यको लगानीका आधारमा आयोगको कामकारबाही र उपलब्धि नदेखिएकोले पुराना आयोगकै संख्या घटाउनुपर्ने बहस भइरहेका बेला सरकारले अर्को आयोग थपेर राज्यको ढुकुटीमा बोझ बढाएको सुशासनका जानकारहरु बताउँछन्।

प्रधानमन्त्री अध्यक्ष रहेको आयोगमा उनको व्यस्तताका नियमित बैठक समेत बस्न सकिरहेको छैन। गत भदौमा गठन भएको आयोगको जम्मा दुई वटा बैठक मात्रै सम्पन्न भएको छ। सरकारी सेवाको आबद्धता गर्ने लगायतका योजनामा युएनडिपीले १ करोड १३ लाख बजेट छुटयाएपनि आयोगले आवश्यक योजना पेश गरी कार्यक्रम गर्ने तदारूकता नदेखाउँदा उक्त रकम समेत उपयोगमा गर्न सकेको छैन। एक जना विदेशी परामर्शदाता मार्फत काम गर्न उक्त बजेट खर्च हुने आयोगले जनाएको छ। त्यस्तै नेपाल दुरसञ्चार प्राधिकरणले २ करोड रूपैयाँ विद्युतीय सुशासन नीतिको मस्यौदा, डाटा एक्सचेन्ज, टेक्निकल अडिट र इगभरन्यास अभियान, विद्युतीय सचेतना, तथा पर्सनल डाटा प्रोटेक्सन जस्ता क्षेत्रमा खर्चका लागि उक्त रकम दिन लागेको हो। तर उक्त रकम लिनेबारे सम्झौता भएपनि काम अगाडि बढेको छैन।

यो आवमा २ करोड रुपैयाँ बजेट सरकारबाट स्वीकृत भएको छ। गत बर्ष ३९ लाख बजेटमा चालु तर्फ खर्च ७२ प्रतिशत र पूँजीगत २८ प्रतिशत खर्च भएको आयोगले जनाएको थियो।

आयोगले दिएको जानकारी अनुसार इ गर्भन्यास ब्लुप्रिन्ट निर्माणको लागि प्रारम्भिक अध्ययन भइरहेको र नागरिक सेवा केन्द्र निर्माणका लागि नागरिक सेवा केन्द्र सञ्चालन र व्यवस्थापनको कार्यविधि मात्रै तयार भएको छ। विद्युतीय सुशासन नीति निर्माणको लागि मस्यौदा तयार समिति गठन भएको छ। आफ्नो पञ्चवर्षीय रणनीति समेत निर्माणको क्रममै छ।

विद्युतीय सुशासनका लागि आवश्यक नीति तथा पूर्वाधारको अभावले सेवा प्रवाहमा समस्या रहेको आयोगका कार्यकारी अधिकृत दिपेश विष्टले बताए। ‘विद्युतीय सुशासनका लागि आधारभूत कुरामा सरकारले हिजो पनि काम नै गरेको थिएन। अहिले ती काम गर्न दीर्घकालीन रणनीति बनिरहेको छ’, उनले भने।

‘जनतालाई सेवा सरल र सहज बनाउन प्रधानमन्त्री र सरकारको चासो छैन। आयोग देखाउनका लागि र आफ्ना मान्छेलाई जागिर खुवाउनका लागि मात्रै खडा गरेको प्रमाणित भएको छ’,पूर्व सचिव शारदा प्रसाद त्रितालले भने। ज्ञानेन्द्र शाहको शासनकालमा पनि सूचना प्रविधि आयोग गठन गरेको थियो। त्यसपछि पनि सरकारले उच्चस्तरीय सूचना प्रविधि आयोग गठन गरेको थियो। विगतमा र अहिलेसम्म आफ्ना निकटका व्यक्तिले जागिर खाने बाहेक केही काम नगरेको लोक सेवा आयोगका पूर्व अध्यक्ष मैनालीले बताए। ‘ज्ञान, अनुभव र विज्ञता भएका व्यक्ति त्यस्ता संयन्त्रमा नपुग्दा राज्यको स्रोत त्यसै खेर गइरहेको छ’, मैनालीले भने।
अर्को समाचार
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
३९ मिनेट अघि
•
१ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँके, बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 

केही दिनयता प्रेमको दिनचर्या बदलिएको छ। उनी हिजोआज बिहानै ताउमा सिंगाडा टिप्न पुग्ने र दिनभर बिक्री वितरण गर्ने कार्यमा व्यस्त छन्। परम्परागत सिंगाडाखेतीलाई व्यावसायिक रूप दिएर कश्यपले एकै सिजनमा करिब रु चार लाख आम्दानी गर्दै उदाहरणीय किसानको पहिचानसमेत बनाएका छन्।

वार्षिक रु २० हजार तिर्ने गरी गाउँपालिकासँग १५ कट्ठाभन्दा बढी क्षेत्रफलको तलाउ भाडामा लिएर कश्यपले वर्षौंदेखि सिंगाडाखेती गर्दै आएका छन्। अन्य अन्नबालीको तुलनामा कम लगानी र थोरै मिहिनेतमा राम्रो प्रतिफल पाइने भएकाले यस पेसाप्रति आकर्षित भएको प्रेमले बताए।

“अहिले सिंगाडाको सिजन हो, सिजनभर ६० क्विन्टलभन्दा बढी सिंगाडा बिक्री गर्छु,” कश्यपले भने, “प्रतिक्विन्टल रु छ हजारका दरले गाउँबाटै बिक्री भइरहेको छ, व्यापारीहरू खोज्दै गाउँमै आउने भएकाले बजारको कुनै चिन्ता छैन।”

कश्यपका लागि सिंगाडाखेती केवल व्यवसाय मात्र होइन, पुख्र्यौली विरासत पनि हो। बाउबाजेका पालादेखि चल्दै आएको यही पेशाले उनको आठ जनाको परिवारको जीविकोपार्जन धानेको छ।

सिजन सुरु भएसँगै कश्यप परिवारलाई बिहानदेखि साँझसम्म तलाउबाट सिंगाडा टिप्न, सफा गर्न र तौलेर व्यापारीलाई बुझाउन भ्याइनभ्याइ हुन्छ। माग अत्यधिक भएका बेला उहाँले चार–पाँच जना ज्यालादारी मजदुरसमेत लगाएर सिंगाडा टिप्ने गरेका छन्।

असार महिनामा तलाउको पानीमा बीउ रोपेपछि कात्तिक र मङ्सिर महिनामा सिंगाडा टिप्न तयार 

हुन्छ। एकपटक रोपेपछि सिजनभर तीन पटकसम्म फल टिप्न मिल्ने कश्यपको अनुभव छ। “सिंगाडाको बीउ असार महिनातिर पानीमा हाल्छौँ, कात्तिक–मङ्सिर महिनामा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मिहिनेत र लगानी गर्नुपर्दैन”, कश्यपले भने, “रोपेपछि दुई/तीन पटकसम्म आवश्यकताअनुसार किराबाट जोगाउन विषादी हाल्छौँ, भिटामिन पनि हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ।”

चाडपर्व र मेलामा अत्यधिक माग

बाँकेका विभिन्न तलाउ तथा पोखरीहरूमा सिंगाडाखेती हुने गर्छ। बाह्रै महिना नपाइने भएकाले कात्तिक–मङ्सिरको सिजनमा यसको माग उच्च रहन्छ। विशेषगरी चाडपर्व, व्रत र स्थानीय मेलाहरूमा सिंगाडाको खपत ह्वात्तै बढ्ने गर्छ। व्रत बस्नेहरूले सिंगाडालाई उसिनेर, पिसेर हलुवा बनाई खाने तथा तरकारीका रूपमा समेत प्रयोग गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। यस वर्षको कार्तिक पूर्णिमा मेलामा मात्रै ठूलो परिमाणमा सिंगाडा खपत भएको कश्यपले बताए। नेपालगञ्जका खुद्रा व्यापारीहरू ताजा सिंगाडा किन्न सिधै नेवाजीगाउँ पुग्ने गरेका छन्।

उत्पादन र स्थानीय बजार राम्रो भए पनि भारतबाट अवैध रूपमा भित्रिने सिंगाडाले कहिलेकाहीँ स्थानीय किसानलाई मर्कामा पार्ने गरेको छ। भन्सार छली चोरीको बाटो हुँदै भित्रिने भारतीय सिंगाडा नेपालगञ्ज बजारमा सस्तो दरमा बिक्री हुन थालेपछि आफूहरूले पनि बाध्य भएर मूल्य घटाउनुपर्ने अवस्था आउने गरेको कश्यपको गुनासो छ। सीमा नाकामा कडाइ गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सके गाउँकै तलाउबाट अझै बढी आम्दानी गर्न सकिने उनको विश्वास छ।



सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
यो पनि पढौँ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस