मुलुकमा १९ वटा पाँच तारे होटल दर्ता भएका छन्, ती मध्ये १८ वटा सञ्चालनमा छन्। सञ्चालित पाँचतारे होटलमा कुल लगानी करिब २७ अर्बं रूपैयाँ पुगेको छ। पर्यटन विभागको तथ्यांक अनुसार पाँच तारे होटलहरूमध्ये १८ वटाको कुल लगानी २६ अर्ब ९८ करोड २५ लाख ४१ हजार रूपैयाँ रहेको छ।
यसैक्रममा कोभिड यता पछिल्लो तीन वर्षमा मुलुकमा चार वटा पाँच तारे होटल थपिएका छन् । अर्बौं लगानी गरेर सञ्चालनमा आएका यी पाँच तारे होटलहरूले मुलुकको पर्यटन प्रबद्र्धनलाई महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन्। विभागको तथ्यांक अनुसार सबैभन्दा बढी लगानी ठमेल स्थित होटल अलफ्टले गरेको छ। अलफ्ट होटलको कुल लागत पाँच अर्बको रहेको छ। महेश्वरप्रकाश श्रेष्ठ मुख्य सञ्चालक तथा सेयरधनी रहेको होटल अलफ्टमा १६७ वटा कोठा र २१६ बेड छन्।
अलफ्टपछि काठमाडौंको हायात प्लेस, होटल ल्हासा इन्टरनेसनल र बाराको इच्छा होटलमा सबैभन्दा धेरै लागत लागेको छ। हायात प्लेस र इच्छा होटलको प्रमुख सञ्चालक र शेयरधनी एकै व्यक्ति रहेका छन्। प्रमुख सञ्चालक र सेयरधनी शक्तिकुमार गोल्यान रहेको हायात र इच्छा होटल प्रत्येकको लगानी दुई अर्ब ८० करोड रहेको छ। हायात प्लेसमा १५३ वटा कोठा र ३०६ बेड क्षमता छ भने इच्छा होटलमो ८९ वटा कोठा र १०० बेड छन्। साथै दोर्जे ग्ल्याजेन लामा प्रमुख सञ्चालक र सेयरधनी रहेको होटल ल्हासा इन्टरनेसनलको लागत पनि दुई अर्ब ८० करोड छ। जसको कोठा १०७ वटा र बेड क्षमता १७७ छ।
यस्तै महामारीपछिका पछिल्ला तीन वर्षमा चार वटा पाँच तारे होटल सञ्चालन हुन थालेका छन्। बिर्तामोडको होटल द किङ्सबरी, तहाचलको हायात प्लेस, सिमराको इच्छा होटल र लाजिम्पाटको होटल ल्हासा इन्टरनेसनल होटल गरी चार वटा पाँच तारे होटल सञ्चालनमा आएका छन्।
कोभिडपछि विभागमा दर्ता भएको पाँच तारे होटल होटल द किङ्सबरीको कुल लागत दुई अर्ब रहेको छ। यस होटलको सञ्चालकमा प्रकाश गोतामे रहेका छन् भने होटलमा ८२ कोठा र सय बेड छन्। यस्तै तहाचलको हायात प्लेसको कुल लागत २ अर्ब ८० करोड रहेको छ। सञ्चालक तथा सेयरधनी शक्तिकुमार गोल्यानसमेत रहेको होटलमा १५३ कोठा र ३०६ बेड छन्। सिमराको इच्छा होटलको कुल लगानी पुँजी दुई अर्बं ८० करोड रहेको छ। ८९ कोठा र सय बेड क्षमता रहेको यस होटलको मुख्य सञ्चालक तथा शेयरधनी पनि शक्तिकुमार गोल्यान नै रहेका छन्।
लाजिम्पाटस्थित होटल ल्हासा इन्टरनेसनलको कुल लागत पनि दुई अर्ब ८० करोड नै रहेको छ। १७७ बेड क्षमता र १०७ कोठा संख्या रहेको होटल ल्हासा इन्टरनेसनलको मुख्य सञ्चालक तथा सेयरधनी दोर्जे ग्याल्छेन लामा रहेका छन्। २०२९ सालमा सोल्टी होटल खुलेसँगै नेपालमा पाँच तारे होटलहरू सञ्चालन हुन थालेको हो। सोल्टी होटलदेखि होटल ल्हासा इन्टरनेसनलसम्म आइपुग्दा पाँच तारे होटल सञ्चालन हुन थालेको ५२ वर्ष पुगेको छ।
कोभिड महामारी मत्थर भएसँगै मुलुकमा तारे होटलहरू थपिन थालेका छन् । मुलुकमा विदेशी पर्यटको आगमन र गतिविधि क्रमिक रूपले बढेसँगै तारे होटल निमार्णमा लगानी थपिएको छ । द्रुत गतिमा भएको आर्थिक विकासको उपज नै पछिल्लो समय होटलहरूको उल्लेख्य वृद्धि भएको होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताए। उनले दुई विशाल मुलुकहरू बीचमा रहेको नेपाल पर्यटनको लागि राम्रो सम्भावना बोकेको मुलुक भएको बताउँदै भने, ‘चीनबाट १० करोड र भारतबाट २० करोड पर्यटक विश्वव्यापी रूपमा घुम्ने गर्छन् । हाम्रो मुलुक बीचमा भएका कारण हामी कहीं न कहीं यसबाट जोडिन सक्छौं। भविष्यमा दुबै देशबाट हाम्रो पर्यटनको लागि अनेक सम्भावना देखिन्छ।’ उनले थपे, ‘पर्यटन प्रबद्र्धन र विकासको सम्भावना प्रशस्त छ तर पर्यटकको आवागमनका लागि हवाई कनेक्टिभिटी र बाटोहरू सरल र सहज बनाउनु पर्छ।’
पर्यटन व्यवसायीहरूले सरकारले बनाउन लागेको नयाँ पर्यटन ऐन व्यवसायीहरूप्रति उदार हुनुपर्ने माग गरेका छन्।
होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले नेपालमा बन्ने ऐन कानुन नियन्त्रणमुखी हुने गरेको भन्दै नयाँ ऐन उदार र व्यवसायीमैत्री बनाउन सुझाए। उनले भने, ‘ऐन बन्दा यति राजस्व, जरिवाना र कैद तथा सजाय भन्नेमा मात्र केन्द्रित नहोस्’, शाहले भने, ‘राजस्व संकलन गर्ने तथा अधिकार संकुचित हुने खालको होइन, व्यवसायीको मनोबल बढाउने खालको हुनुपर्यो।’
वर्षौं अघि बनेको कानुनले अहिलेको पर्यटनलाई समेट्न नसकेको जनाउँदै उनले अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो कानुन हुनुपर्नेमा उनले जोड दिए।
वैदेशिक व्यापार घाटालाई कम गर्न पर्यटन क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छ। यस क्षेत्रले वैदेशिक मुद्रा आयतमा अर्थपूर्ण योगदान गरेको भन्दै अरू निकासी उद्योग जस्तै पर्यटन उद्योगलाई पनि प्रोत्साहन रकम दिने गरी कानुन संशोधन हुनुपर्ने तर्क उनले गरेका छन्।
अध्यक्ष शाहले अर्बौं लगानी गरेर रोजगारी सिर्जना गर्ने र विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्रलाई नयाँ बन्न लागेको ऐनमा उद्योगको रूपमा समेट्न पनि आग्रह गरे। ‘हामीलाई अझैसम्म सेवा, व्यवसायको वर्गीकरणमा राखिएको छ।’
उनले भने, ‘अर्बौं रूपैयाँ लगानी गरी रोजगारी सिर्जना गरेर सरकारलाई आर्थिक रूपमा सशक्त योगदान पुर्याउने हाम्रो क्षेत्रलाई सरकारले अब उद्योग भनेर पहिचान दिनुपर्छ।’
आन्तरिक पर्यटक जति सबल भयो देशको पर्यटन पनि त्यत्ति नै बलियो हुने उल्लेख गर्दै अध्यक्ष शाहले भने, ‘कोभिडको समयमा हामीले स्पष्ट महसुस गर्यौं, आन्तरिक पर्यटक पर्यटनको आधार हो, यस कुरालाई नयाँ बन्ने कानुनले समेट्न सक्नुपर्छ।’
उनले मानिसहरूलाई घुम्न पाउने संरचनाको विकासलाई कानुनमा उल्लेख गर्नुपर्ने बताए।
मन्त्रालयले ४५ वर्ष पुरानो पर्यटन ऐनलाई समयनुकूल बनाउन नयाँ पर्यटन ऐन बनाउन लागिरहेको छ। गत असार २६ गते मन्त्रीपरिषद्ले ऐन परिमार्जन गरी संघीय पर्यटन विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएसँगै मन्त्रालयले सोही अनुसार पर्यटन ऐन बनाउन लागेको हो।
यसैअनुरूप पर्यटन क्षेत्रमा आएका नयाँ विषय तथा यसका आयामलाई अहिलेको पर्यटन ऐनले समेट्न नसकेकाले समग्र पर्यटन क्षेत्रको विकासमा असर पारेको भन्दै सरकारले नयाँ पर्यटन ऐन निर्माणको काम गरिरहेको छ। ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले अहिले बन्न लागेको ऐनमा ठमेललाई पर्यटकीय नगरी घोषणा गर्नुपर्ने माग राखिएको बताए।
‘नेपालको पर्यटनमा ठमेलको योगदानलाई सरकारले पहिचान गरेर यसलाई पर्यटकीय नगरी घोषणा गर्नुपर्छ’, शर्माले भने, ‘ठमेललाई पर्यटकीय नगरी घोषणा गरेर अन्तर्राष्ट्रिय एयरपोर्टबाट ठमेल आउने पर्यटकलाई २४ सै घन्टा यातायात सुविधा लगायतका सेवाहरूको सहजीकरण गर्न सकिने प्रावधान नयाँ ऐनमा गरिनुपर्छ।’
अध्यक्ष शर्माले ठमेलले सिर्जना गरेको रोजगारी र पुर्याएको योगदानका आधारमा व्यवसायीहरूलाई पहिचान दिन कन्जुस्याईं गर्नु नहुने धारणा राखेका छन्। यसबाहेक उनले संशोधनको तयारीमा रहेको पर्यटन ऐनमा उल्लेख हुनुपर्ने कुराहरूमा अन्य संस्थाहरूले राखेका मागमा आफ्नो ऐक्यबद्धता रहेको जनाए।
देश संघीय संरचनामा गइसकेको अवस्थामा पनि केन्द्रीकृत संरचनामा बनेको पर्यटन ऐन पुरानो भएको सरोकारवालाको धारणा छ। २०३५ सालमा बनेको पर्यटन ऐनले वर्तमान परिवेशको पर्यटनलाई समेट्न नसकेको उनीहरूको तर्क छ।
यस्तै नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्टस्का अध्यक्ष रमेश थापाले धेरै वर्षपछि बन्न लागेको नयाँ ऐनले व्यवसायीहरूलाई सहजीकरण गर्ने पक्षमा ऐन तर्जुमा गर्नेहरूको ध्यान जानुपर्ने धारणा राखे।
नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्रालय अन्तर्गत पर्यटन महाशाखाका प्रमुख राजेन्द्र केसीका अनुसार पर्यटन ऐनको मस्यौदा तयार भइसकेको अवस्थामा त्यसलाई समयानुकूल परिमार्जन गरी जति सक्दो चाँडो ऐन ल्याउन मन्त्रालय लागिरहेको बताए।
पर्यटन ऐनलाई समय सान्दर्भिक बनाउन सार्वजनिक रूपमा सरोकारवाला निकाय तथा विज्ञहरूसँग सुझाव लिइसकेको बताएका छन्।
‘हामीले सरोकारवाला निकाय तथा सम्बन्धित विज्ञहरूसँग सार्वजनिक सुझाव मागिसकेका छौं’, केसीले भने, ‘संकलन भएका सुझाबहरूलाई अन्तिम स्वरूपमा ल्याउने काम भइरहेको छ।’
मुलुकको समग्र पर्यटन विकासका लागि समयसापेक्ष पर्यटन ऐन ल्याउन सरोकारवालाले पटक पटक माग राख्दै आएका थिए। २०३५ सालमा बनेको पर्यटन ऐन पुरानो भएको र यसले समग्र पर्यटन क्षेत्रको विकास प्रभावकारी हुन नसकेको गुनासो पर्यटन व्यवसायीहरूले गर्दै आएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...