महिला उद्यमी महासंघको बीसौं वार्षिक साधारणसभा तथा नवौं महाधिवेशनले शोभा ज्ञवालीलाई निर्विरोध निर्वाचित गरेको छ। राजधानीमा सम्पन्न महाधिवेशनले ज्ञवालीको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यकारिणी समिति निर्वाचित गरेको हो।
महाधिवेशनले महासंघको प्रथम उपाध्यक्षमा दर्शना श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सुनिता वैद्य श्रेष्ठ, तृतीय उपाध्यक्षमा वसन्ती प्रधान र चाैथाे उपाध्यक्षमा महालक्ष्मी श्रेष्ठ निर्वाचित गरेको छ। निर्वतमान अध्यक्ष निरू रायमाझी खत्रीकाे कार्यकालपछि अध्यक्षमा ज्ञवाली निर्विरोध निर्वाचित भएकी हुन्।
त्यस्तै, महासचिवमा कुन्नम पोखरेल, सचिवमा सुमित्रा पलाञ्चोके र कोषाध्यक्षमा सविता सुवेदी निर्वाचित भएका छन्। महासंघले आफ्नो स्थापना कालदेखि नै देशभरका महिलालाई आर्थिक रूपमा सशक्तीकरणका लागि पैरवी, सूचना प्रवाह, क्षमता अभिवृद्धि र व्यावसायिक परामर्श दिँदै आएको छ। महासंघ २०६० सालमा स्थापना भएको हो।
नवनिर्वाचित अध्यक्ष ज्ञवालीले महिला उद्यमीका आवश्यकता र चुनौती पूरा गर्न देशभरका महिला उद्यमीका व्यवसायलाई समावेशी तवरले विकास एवं प्रवद्र्घन गर्न विभिन्न कार्य गर्दै आएको र आगामी दिनमा थप प्रभावकारी ढंगले अघि बढाउने बताइन्। ‘महांसघले महिलाको सामाजिक एवं आर्थिक सशक्तीकरणका लागि बहस तथा पैरवी गर्दै आएको छ। यसका साथै महासंघले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा हुने नीतिनिर्माण तथा निर्णय प्रक्रियामा महिला उद्यमीका हक अधिकार सुनिश्चितताप्रति सशक्त ढंगबाट वकालत गर्दै आइरहेको छ’, ज्ञवालीले भनिन्।
महासंघबाट भावी दिनमा सञ्चालन गरिने परियोजना तथा क्रियाकलापको उद्देश्य प्रस्ट पार्दै उनले भनिन्, ‘विभिन्न जिल्लाका महिला उद्यमीका लागि क्षमता विकासका र आवश्यक कार्यक्रम सञ्चालन गर्न पहल गर्ने छौं। महिला क्षमता अभिवृद्धि गर्ने काममा महासंघले ज्ञानमूलक तथा सीपमूलक तालिम प्रदान गर्दै आएको छ। भोलिका दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन हामी तत्पर रहन्छौं।’ साथै महिला उद्यमीका लागि डिजिटल मार्केटिङ, आर्थिक दक्षता र ब्रान्डिङलगायतका कार्यको व्यवस्था गर्दै आएको पनि ज्ञवालीले बताइन्।
कार्यक्रममा महांसघकी कोषाध्यक्ष कुन्नम पोखरेलले आर्थिक वर्ष २०७९-८० को आर्थिक कारोबार तथा आयव्यय विवरण प्रस्तुत गरिन्। आर्थिक प्रतिवेदनमाथि छलफल गरी साधारणसभामार्फत पारित गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, विशेष अतिथि प्रतिनिधिसभा सदस्य रेखा यादव, महिला र उद्यमशीलता विकासमा काम गर्ने सम्बन्धित मन्त्रालय तथा विभागका सचिवहरूको उपस्थिति थियो।
सम्मेलनमा परियोजना अन्तर्गत सञ्चालन गरिएका क्रियाकलापका साथै महासंघका विभिन्न समिति तथा उपसमितिमार्फत आयोजित क्रियाकलाप तथा उपलब्धिबारे विवरण प्रस्तुत गरिएको थियो।
बीसौं वर्षमा प्रवेश गरेको अवसरमा महासंघले विभिन्न कार्यक्रम आयोजना गर्ने लक्ष्य लिएको छ। यस्तै महासंघले बीसौं वर्ष विशेष संस्करण उद्यमी पत्रिका, ब्रान्डको स्मारिका प्रकाशन, शान्ति र्याली आयोजना, व्यवसाय विकास केन्द्रका विभिन्न सेवामा महिला उद्यमीको पहुँच बढाउने, परियोजनालाई निरन्तरता दिनेलगायतका योजना राखेको छ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रिजालले महासंघले उद्यमशीलता विकास क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको बताउँदै महासंघका हरेक कार्यक्रममा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसैगरी महासंघले महिला उद्यमीहरूको हकहितमा काम गर्ने उत्कृष्ट जिल्ला संघ पुरस्कार प्रदान गरेको छ। कास्की महिला उद्यमी संघले प्रथम, बाँके महिला उद्यमी संघले द्वितीय, मोरङ महिला उद्यमी संघले तृतीया तथा सोलुखुम्बु महिला उद्यमी संघले सान्त्वना पुरस्कार र सम्मानपत्र प्राप्त गरेका छन्।
त्यस्तै महासंघले केन्द्रकाे साधारण सदस्य अल्पना राज भण्डारी प्रधान उत्कृष्ट सदस्य पुरस्कार प्रदान गरेको छ। उत्कृष्ट कर्मचारी पुरस्कार रमोला स्थापितले प्राप्त गरेकी छन्।
सोही क्रममा ‘नविकरणीय ऊर्जा तथा ऊर्जा क्षमता’ नामक कार्यशाला गोष्ठी गरिएको थियो। दुई दिने कार्यशालाको पहिलो दिन सरकारले बनाइरहेको सोह्रौ राष्ट्रिय योजनामा महिला उद्यमीहरुले आर्थिक मुद्धालाइ पनि समावेश गरियोस् भनेर छलफल गरि मस्यौदा बनाई सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको नवनिर्वाचित अध्यक्ष ज्ञवालीले जानकारी दिइन्।
कार्यशालाको पहिलो दिन प्रमुख अतिथिका रुपमा राष्ट्रिय योजना आयोगका सदस्य डा. अनिता ढुंगाना शाहको उपस्थिति थियो। उक्त कार्यशाला यूएन वुमनको नवनियुक्त कन्ट्रि डिरेक्टर प्याट्रिया फर्नान्डिशको सहयोगमा सम्पन्न भएको हो।
दोस्रो दिन नवीकरणीय ऊर्जा दक्षता कार्यक्रम – ग्रीन रिकभरी एन्ड इनर्जी एफिसियन्सी अन्तर्गत जर्मन विकास सहयोग (जि.आइ.जेड) र युरोपेली संघको नेपाल प्रतिनिधिमण्डल (इयू) को सहयोगमा "नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताको महत्व" सम्बन्धी अभिमुखीकरण कार्यशाला सम्पन्न भएको थियो। कार्यक्रममा व्यवसायलाइ कसरी अगाडी बढाउने भनेर जिल्लाबाट आएका महिला उद्यमीलाई महासंघले तालिम दिएको थियो।
कार्यशालामा महिला उद्यमी महासंघसँग आबद्ध १२० भन्दा बढी महिला उद्यमीहरूलाई नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताको माध्यमबाट आफ्नो व्यवसायलाई अगाडि बढाउनुको महत्त्वबारे बताइएकाे थियाे।
कार्यशालामा महिला उद्यमी महासंघ नेपालकी निवर्तमान अध्यक्ष निरु रायमाझी खत्री र नेपालका लागि युरोपेली संघ प्रतिनिधि मण्डल (इ.यु.डि) का प्रमुख डा. मार्को गेमरले स्वागत मन्तव्य राखेका थिए। त्यसैगरी (जि.आई.जेड) का कार्यक्रम कम्पोनेन्ट म्यानेजर डा. सञ्जय प्रसाद गोर्खालीले ग्रीन रिकभरी एन्ड इनर्जी एफिसियन्सीबारे बताएका थिए। त्यस्तै (जि.आइ.जेड) का ऊर्जा सल्लाहार पशुपति प्रसाद खत्री र वरिष्ठ ऊर्जा दक्षता विज्ञ ज्ञानेन्द्र उपाध्यायले यसकाे महत्वबारे प्रस्तुति दिएका थिए।
समापन सत्रमा महिला उद्यमी महासंघ नेपालकी नवनिर्वाचित अध्यक्ष ज्ञवाली, युरोपेली संघको नेपाल प्रतिनिधिमण्डलका नेपाल (इ.यु.डि) का लागि वरिष्ठ कार्यक्रम प्रबन्धक डा. रञ्जनप्रकाश श्रेष्ठ र जर्मन विकास सहयोग (जि.आइ.जेड) का डा. गोर्खालीले समापन मन्तब्य राखेका थिए।
महिला उद्यमी महासंघ नेपाल (एफविन)को अध्यक्षमा शोभा ज्ञवाली निर्वाचित भएकी छन्।आज आयोजित महासंघको २०औ साधारण सभा तथा नवौँ महाधिवेशनबाट अध्यक्षमा ज्ञवाली निर्विरोध निर्वाचित भएकी हुन्।
अहिलेसम्म महासंघमा प्रथम उपाध्यक्ष रहेकी ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समिति सदस्य समेत छिन्। अध्यक्ष ज्ञवालीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको महासंघले जनाएको छ।
ज्ञवाली नेपाल रिपब्लिक मिडियाकी निर्देशक हुन। महिला उद्यमी महासंघको महा सचिवमा कुन्नम पोखरेल, सचिवमा सुमित्रा पलाञ्चोके र कोषाध्यक्षमा सविता सुवेदी चयन भएका छन्।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...