लन्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापना हुने, सन् २०२७ मा पहिलो आध्यात्मिक महोत्सव
१८ जेष्ठ २०८३
•
७ मिनेट पाठ
लन्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापना हुने, सन् २०२७ मा पहिलो आध्यात्मिक महोत्सव
पश्चिम लन्डनमा आइतबार आयोजित एक धार्मिक तथा सांस्कृतिक भेलाले पश्चिम लन्डनमा नेपाल कल्चरल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ। भेलाले आगामी सन् २०२७ मा लन्डनमा पहिलो पटक आध्यात्मिक महोत्सव आयोजना गर्ने घोषणा समेत गरेको छ।




कार्यक्रमलाई सम्बोधन गर्दै धर्म दर्शन सांस्कृतिक केन्द्रका संस्थापक तथा अठार पुराणका ज्ञाता गुरु पण्डित कुबेर सुवेदीले बेलायतमा सनातन धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा प्रवर्द्धनका लागि पश्चिम लन्डनमा एक बहुउद्देश्यीय सांस्कृतिक तथा आध्यात्मिक केन्द्र आवश्यक रहेको बताए।

उनले मन्दिर निर्माण मात्र नभई सांस्कृतिक जागरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भगवानको दिव्य मन्दिर र नेपाली सांस्कृतिक केन्द्रको स्थापना समुदायको साझा अभियान हुनुपर्ने बताए। 'मन्दिर निजी होइन, सामुदायिक हुन्छ। सनातन धर्म र संस्कृतिको संरक्षण गर्नु सबैभन्दा ठुलो सम्पत्ति हो,' उनले भने।

सुवेदीले आगामी एक वर्षभित्र बेलायतमा भव्य आध्यात्मिक महोत्सव आयोजना गर्ने योजना रहेको जानकारी दिँदै तन, मन र धनले सहयोग गर्न समुदायलाई आह्वान गरे। उनले धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरू एउटै स्थानबाट सञ्चालन गर्न सकिने बहुउद्देश्यीय भवन निर्माण गर्नुपर्ने सुझाव पनि दिए।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले यस्तो केन्द्र निर्माणको अभियान सामूहिक प्रयासबाट अवश्य सफल हुने विश्वास व्यक्त गरे।

'यो कुनै एक व्यक्तिको परियोजना होइन, सम्पूर्ण समुदायको साझा सपना हो,' उनले भने, 'मन्दिर केवल पूजा गर्ने स्थान मात्र होइन, संस्कार, ज्ञान, सामाजिक एकता र सामुदायिक विकासको केन्द्र पनि हो।'

दुवाडीले केन्द्रलाई सुरुदेखि नै बहुउद्देश्यीय बनाउने सुझाव दिँदै त्यहाँ धार्मिक अनुष्ठान, व्रतबन्ध, पास्नी, विवाह तथा अन्य सामुदायिक कार्यक्रम सञ्चालन गर्न सकिने बताए। नयाँ पुस्तालाई संस्कार, अनुशासन र सत्संगको शिक्षा दिन समेत यस्तो केन्द्र उपयोगी हुने उनको भनाइ थियो।

गुरु चिरञ्जीवी ढकालले समुदायको साथ र सहयोग प्राप्त भए पश्चिम लन्डनमा मन्दिर निर्माणको सपना अवश्य साकार हुने विश्वास व्यक्त गरे। उनले आगामी वर्ष धार्मिक महोत्सव आयोजना गरेर अभियानलाई थप सशक्त बनाउनुपर्ने बताए।

त्यसैगरी पण्डित नीलहरि घिमिरेले 'धर्मो रक्षति रक्षितः' भन्ने वैदिक उक्ति उद्धृत गर्दै विदेशमा रहेका मन्दिरहरू विश्वविद्यालयसरह ज्ञान र संस्कृतिका केन्द्र हुने बताए। उनले मन्दिर कुनै एक व्यक्तिले नभई समाजले निर्माण गर्ने भएकाले सबै समुदाय एकजुट हुनुपर्नेमा जोड दिए। साथै, नियमित सत्संग सञ्चालन गर्दै अभियानलाई निरन्तरता दिनुपर्ने सुझाव पनि दिए।

कार्यक्रमका सभापति तथा धर्म दर्शन सांस्कृतिक केन्द्रका अध्यक्ष सहदेव गिरीले पश्चिम लन्डनमा मन्दिर तथा सांस्कृतिक केन्द्र निर्माणको अवधारणा पण्डित कुबेर सुवेदीको प्रेरणाबाट अघि बढाएको बताए। उनले पश्चिम लन्डनमा यस्तो केन्द्रको आवश्यकता लामो समयदेखि महसुस गरिएको उल्लेख गर्दै अभियान अब नरोकिने र मन्दिर अवश्य निर्माण हुने विश्वास व्यक्त गरे।

दक्षिणपूर्वी लन्डनको प्लमस्टेडस्थित पशुपतिनाथ मन्दिर स्थापना गर्दाको अनुभव साझा गर्दै गिरीले आर्थिक स्रोत जुटाउनु मात्र नभई समुदाय परिचालन, स्थानीय निकायका नियमको पालना र सबैको सहयोग प्राप्त गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए।

उनले प्रस्तावित केन्द्रमा पशुपतिनाथ, साई, बुद्ध तथा प्रणामी परम्पराका आध्यात्मिक गतिविधिका साथै पुस्तकालय र क्यान्टिनको व्यवस्था गर्ने परिकल्पना रहेको जानकारी दिए। संस्थाको प्रारम्भिक चरणमा सहभागी संस्थापक सदस्यहरूलाई विशेष सुविधा प्रदान गरिने पनि उनले बताए। गिरीले आफू दक्षिण पूर्वी लन्डनमा बसोबास गर्ने भएकाले समय दिन गाह्रो भएको बताउँदै सेन्टरको नयाँ संयोजकमा चिरन शर्मालाई प्रस्ताव पनि गरे।

कार्यक्रममा नेपाल कल्चरल सेन्टरका संस्थापक सदस्यहरूलाई सम्मान गरिएको थियो। साथै, केन्द्र स्थापना सम्बन्धी सात बुँदे घोषणापत्र वाचन गरी सुनाइएको थियो। बेलायतमै हुर्किरहेकी किशोरी तिया आचार्यले नयाँ बन्ने केन्द्रले वयस्क मात्रै होइन बालबालिका र युवाहरूका लागि पनि विभिन्न गतिविधि सञ्चालन गर्नु पर्ने सुझाव दिइन्।

भेलामा सहभागीहरूले पश्चिम लन्डनमा धार्मिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिहरू सञ्चालन गर्न सक्ने बहुउद्देश्यीय नेपाल कल्चरल सेन्टरको स्थापना समयको आवश्यकता भएको निष्कर्ष निकाल्दै अभियानलाई सफल बनाउन सबै नेपाली समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा मोर्गेज एडभाइजर ऋषि खनालले नेपाली सांस्कृतिक केन्द्रका लागि भवन खरिद गर्न विभिन्न मोडेलहरू प्रस्तुत गर्दै बढी भन्दा बढी सदस्यहरूले नियमित रूपमा मासिक सहयोग (डाइरेक्ट डेबिट) गरेमा भवन खरिद गर्न वित्तीय संस्थाबाट ऋण लिन सजिलो हुने सुझाव दिए।

कार्यक्रमको सञ्चालन चिरन शर्माले गरेका थिए भने सुजन पराजुलीले राष्ट्रिय गीत तथा भजन गाएर भक्तजनहरूलाई नचाएका थिए। भेलाले नेपाली कल्चर सेन्टर युकेको संयोजकको जिम्मा चिरन शर्मालाई दिएको छ।

भेलाले जारी गरेको लन्डन घोषणापत्रको पूर्ण पाठ:
बेलायतस्थित नेपाली समुदायमा नेपाली भाषा, भेषभूषा, धर्म तथा संस्कृतिको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धन गर्ने पवित्र उद्देश्यका साथ सनातन धार्मिक देवलहरू सहितको एक एकीकृत सांस्कृतिक केन्द्र स्थापना गर्ने महान् संकल्पसहित लन्डनस्थित स्ट्यान्डवेलमा एक बृहत् धार्मिक भेला भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।

बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी, श्रद्धेय पण्डित कुवेर सुवेदीको प्रमुख आतिथ्यता तथा केन्द्रका अध्यक्ष सहदेव गिरीको अध्यक्षतामा सम्पन्न उक्त भेलामा बेलायतस्थित आदरणीय धर्मगुरुहरू, सामाजिक अभियन्ताहरू, सञ्चारकर्मीहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।

उक्त ऐतिहासिक भेलाबाट सर्वसम्मत रूपमा निम्न बमोजिमको घोषणापत्र जारी गरिन्छ:
१. पश्चिम लन्डनमा एक सुविधासम्पन्न सांस्कृतिक केन्द्र स्थापना गर्ने पवित्र उद्देश्यका साथ श्रद्धेय पण्डित कुवेर सुवेदीको विशेष पहल र अग्रसरतामा प्रारम्भ गरिएको 'धर्म दर्शन कल्चर सेन्टर' लाई परिमार्जन गरी अब उप्रान्त 'नेपाली कल्चरल सेन्टर युके' नामकरण गर्ने निर्णय गरिन्छ। साथै, यस पुण्य कार्यको आधारशिला स्थापना गर्नुहुने आदरणीय पण्डित कुवेर सुवेदीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै विशेष धन्यवाद ज्ञापन गरिन्छ।

२. पश्चिम लन्डनस्थित नेपाली समुदाय तथा भावी पुस्ताहरूका लागि नेपाली भाषा, कला, लिपि, संस्कृति एवं सनातन हिन्दु धार्मिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित 'नेपाली कल्चरल सेन्टर युके' को अभियानलाई सफल बनाउन बेलायतवासी सम्पूर्ण नेपाली समुदाय, संघसंस्था तथा शुभेच्छुकहरूलाई आर्थिक, भौतिक तथा नैतिक सहयोगका लागि हार्दिक अपिल गरिन्छ।

३. सनातन हिन्दु धर्मको प्रवर्द्धन तथा 'नेपाली कल्चरल सेन्टर युके' को स्थापना र दीर्घकालीन स्थायित्वका लागि आगामी एक वर्षभित्र बेलायतमा भव्य रूपमा 'पहिलो बृहत् धार्मिक महोत्सव' आयोजना गर्ने संकल्प गरिन्छ। उक्त महोत्सवलाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न संस्थाका संरक्षक आदरणीय चिरञ्जीवी ढकालको संयोजकत्वमा संस्थापक सदस्यहरू समेत समावेश रहने गरी ५१ सदस्यीय महोत्सव तयारी मूल समिति गठन गरिएको छ।

४. यो भेला युकेमा नेपाली भाषा, कला–संस्कृति तथा हिन्दु धर्मको प्रवर्द्धनलगायत समान सामाजिक, धार्मिक तथा सांस्कृतिक उद्देश्य र मूल्यमान्यता बोकेका विभिन्न संघसंस्थाहरू, धार्मिक समाजहरू तथा समुदायहरूबिच आपसी एकता, सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दछ।

५. यस ऐतिहासिक धार्मिक भेलालाई सभ्य, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने साई परिवार हन्स्लो तथा फेल्थम, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, स्वयंसेवकहरू, सञ्चारकर्मीहरू तथा सम्पूर्ण उपस्थित महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा साधुवाद ज्ञापन गरिन्छ।

६. 'नेपाली कल्चर सेन्टर युके' को दिगो विकास, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न संस्थाको सञ्चालन, आर्थिक व्यवस्थापन तथा निर्णय प्रक्रियालाई व्यवस्थित गर्न स्पष्ट विधान तयार गरी कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरिन्छ।

७. यो भेला भावी पुस्तालाई लक्षित गर्दै नेपाली भाषा शिक्षण, धार्मिक अध्ययन, सांस्कृतिक प्रशिक्षण तथा सामुदायिक कल्याणसम्बन्धी विविध कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्न एक दीर्घकालीन योजना बनाई यस केन्द्रलाई एक जीवित सांस्कृतिक धरोहरका रूपमा विकास गर्ने प्रण गर्दछ।
अर्को समाचार
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
२२ घण्टा अघि
•
२ मिनेट पाठ
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई भव्य र उपलब्धिमूलक बनाउने तयारी तीव्र पारिएको छ। मध्यपूर्वमा रहेका नेपालीहरूको एकता, श्रमिकका समस्या, सामाजिक सुरक्षा तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राखेर आयोजना हुन लागेको सम्मेलनमा विभिन्न व्यावसायिक संस्था तथा व्यक्तिहरू साझेदारका रूपमा जोडिएका छन्।




सम्मेलनमा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। समूहका निर्देशक सागर गुरुङले प्रवासी नेपालीको साझा अभियानलाई सहयोग गर्ने उद्देश्यले सम्मेलनसँग सहकार्य गरिएको जनाउँदै आगामी दिनमा पनि एनआरएनएसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार व्यवसायी, उद्यमी, समाजसेवी तथा प्रवासी नेपालीबीचको सहकार्यले सम्मेलनलाई व्यवस्थित बनाउनुका साथै यसले उठाउने मुद्दालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

रियल इस्टेट, हाउजिङ, केबलकार, जलविद्युत्, निर्माण, लगानी तथा औद्योगिक क्षेत्रमा सक्रिय रोड सो ग्रुपअन्तर्गत विभिन्न कम्पनी तथा व्यावसायिक परियोजनाहरू सञ्चालनमा छन्। समूहले आफ्नो व्यावसायिक अनुभव र स्रोतलाई प्रवासी नेपालीको सामाजिक तथा आर्थिक अभियानसँग जोड्ने उद्देश्यले सम्मेलनमा साझेदारी गरेको जनाएको छ।

सम्मेलनमा नेपालका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। श्रममन्त्री रामजी यादव, प्रमुख राजनीतिक दलका सांसद, एनआरएनएका संस्थापक तथा पूर्वअध्यक्ष, उद्योगी, व्यवसायी, पत्रकार र कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ।

आयोजकका अनुसार सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका साझा समस्या, सम्भावना र नेपालको समृद्धिका विषयमा ठोस छलफल तथा सहकार्यको साझा मञ्च बनाउने लक्ष्य राखिएको छ।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
यो पनि पढौँ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस