मेयरको पीडादायी रात
०२ जेष्ठ २०८३
•
७ मिनेट पाठ
मेयरको पीडादायी रात
वैशाख ३१ गते अन्तिम साताको रात थियो । आकाश कालो मेघले पुरै ढाकिएको । हावा र हुरीले घर नजिकै रहेको बाँसको तामा र रूखविरूवा निर्मम ढंगले भाँच्दै थियो । मेरो र छिमेकीको टिनको छाना टिनटिन थर्किरहेको थियो। बतासको कारण घरभित्र पानी छिरेर कपडा, पुस्तक र कापी भिज्यो ।




कपडा भिजेकोमा त मलाई केही चिन्ता थिएन तर गोवर्धन रानाले लेखेको नेविसंघको इतिहासको पुस्तक भिज्दा मन धुरूधुरू रोयो। ती महान शहीद वीरविरंगनाको त्याग र पसीनाको कथा पढ्नबाट वञ्चित हुने पिरलो भयो।  त्यो किताव अहिले बजारमा किन्न पनि पाइन्न! लामो सास फेर्दै पुस्तक जोगाउन प्रयास गरें तर कास…!

बाहिर मेघ गर्जंदै बिजुली चिम्किरहेको वातावरण । बैमौसम साउने झरीझैं झमझम पानी दर्किरहेको थियो । वैशाखमा देखिएको दृश्यले मानौं पृथ्वीमाथि कुनै अदृश्य पीडाले आकाश रोइरहेको थियो।

मानिसले प्रकृतिलाई अनावश्यक दुःख दिएकाले बैमौसमी वातावरणीय दुष्प्रभाव देखिन थालेको पो हो कि? मनमनमा कुरा खेलाउँदै थिएँ म। त्यो चकमन्न रात झन् गहिरिँदै गयो। घरका झ्यालहरू हुरीले थर्काइरहेका थिए। म आफ्नो सुत्ने खाटमा पल्टिरहेको थिएँ । रातको ११ बजिसकेको थियाे। मेरो प्रायः बेलुकी ९ बजे नै सुत्ने बानी तर त्यो रात निद्रा आँखाबाट कोसाैं टाढा भागे जस्तो अनुभूति भयो।

मेरो घर नजिकै नानीराम आचार्यको गोठमा बाँधिएको भैंसी रातभरि कराइरहेको थियो। उसको स्वरमा कुनै असह्य वेदना झल्किएको भाव थियाे । कुन्नि भोकले हो कि बिरामी भएर हो या स्वतन्त्रताको चाहनाले । उसले एकोहोरो आइँआइँ आवाज निकालिरह्यो। घरधनीले उसको गलाको दाम्लो नफुकाएसम्म उसले चाहेको ठाउँ पुग्न सक्ने सम्भावना थिएन। ऊ मानिसको बन्धनमा थियो। मलाई त्यो भैंसीको आवाज बालककालको करूण संगीत जस्तो लागिरहेको थियो। रातको अन्धकारसँगै मनभित्र अनगिन्ती प्रश्न उठिरहेका थिए। कतै यो देश पनि त्यस्तै दाम्लोमा त बाँधिँदै छैन? लोकतन्त्रको नाममा नागरिकका स्वतन्त्र आवाजहरू जबर्जस्ती रोकिंदै त छैनन्? संसदको मौनता, न्यायलयमाथिको बलात् आक्रमण।

अध्यादेशको हतारो, विचारमाथिको नियन्त्रण, विद्यार्थी र श्रमिकका आवाज कमजोर बनाउने प्रयत्न । यी सबै परिस्थितिले मनभित्र कुनै अदृश्य भय जन्माइरहेको थियो । बिजुली अचानक चम्कियो । क्षणभरका लागि कोठाभित्र उज्यालो छिऱ्यो अनि फेरि निस्पट्ट अन्धकार । मलाई लाग्यो, त्यो बिजुलीको चमकले मेरो मनको अँध्यारो पनि एकछिन उज्यालो पारिदियो तर फेरि उही गह्राैं मन । मन बेचैन भयो ।

यस्तो असहज अवस्थामा आमासँग कुरा गर्न पाए हुन्थ्यो भन्ने तीव्र इच्छा भयो । पल्लो खाटतिर फर्किएँ । टर्च बालेर हेरेँ तर खाट रित्तो थियो । एकाएक झसङ्ग भएँ । म त कहाँ हराइरहेको छु अचेतन अवस्थामा भए जस्तो।

२०८१ साल कात्तिक २६ गते आमाको स्वर्गारोहण भएको यथार्थता क्षणभरका लागि बिर्सिएछु । त्यसपछि सहारा खोज्दै मैले छेउमा सुतिरहेकी जीवनसँगिनी कुमारी सुम्सुम्याउन खोजेँ तर हात सिरानीमा पुग्यो । फेरि झस्किएँ । सरल र इमान्दार जेठो छोरा अध्ययन र चञ्चले तृष्ण बुद्धिको अनुसन्धानलाई कोट्याउन खोजेँ तर भरिएको पानीको बोतल पो रहेछ। एकाएक आफैँभित्र हराएको मान्छेझैँ भएँ।

मेरो चेत, स्मृति र यथार्थ कुनै अनौठो स्वप्नमा परिणत भइरहेको दुखान्त समय । उनीहरू अहिले काठमाडौं बस्छन् भन्ने पनि मानस्पलटबाट हराएको रहेछ । मेरो मन यति गह्राैं थियो कि मानौँ कुनै विशाल ढुङ्गाले शरीर थिचिरहेको जस्तो । छटपटाउँदै ढुंगा हटाउने कोसिस गरिरहे जस्तो अनुभूति । वस ! त्यही समय स्मृतिका पानाहरू बिस्तारै खुल्न थाले।

मलाई हाम्रो दोर्पाको कोलेखेत सम्झना आयो । खेत नजिकै बाबु लक्ष्मीप्रसाद र आमा पद्मकुमारीले झण्डै सत्तरी वर्षअघि वरपिपल रोप्नुभएको थियो । ती रुखहरू अहिले गाउँको इतिहासजस्तै जीर्ण अवस्थामा उभिएका थिए । अपाङ्गता शरीर भएर पनि दाजु गुणराजले वर्षौंसम्म डोकोमा पानी बोकेर ती बिरुवालाई सिँचाइ गरेको सम्झना आयो । जैविक विविधताको संरक्षण उहाँका लागि धर्मभन्दा ठूलो कर्म थियो।

मलाई सानो छँदा साइँला काका भीमप्रसाद र कान्छा काका रामप्रसादले वर-पिपलको विवाह गराउँदै गरेको दृश्य स्मरण भयो। बावियोको डोरी बाटेर वर, पिपल, आँप, अम्वक, सुन्तला, थुँगे फूल उनेर वरपिपललाई बाँधेको । २०६० साल मंसिर १७ गते यज्ञमा मेरो विवाहमा पनि त्यसैगरी डोरी टाँगिएको थियो । ससुरा बुवा रत्नप्रसाद र आमा इन्द्रमायाले पुजा गरेको सम्झिएँ ।

दाजु तोयानाथ विदेशमा हुनुहुन्थ्यो भने भाउजू सविता चुइचुम्मा, कुमालटारमा सासुससुरासँग। कान्छो भाइ उदय वरण्डाबाट मण्डपमा नियालिरहेका थिए। एक वर्षकी प्रतिमा फुपू दिदी कुमारीको काखमा लुटुपुट भएकी थिइन्। बालापन न हो के हुँदैछ भन्ने जिज्ञासा प्रतिमाका नयनहरूले चारैतिर मनमनै नियालिरहेका थिए।

उफ..! प्रकृति र मानव बिचको त्यो परम्पर र संस्कृति अहिले हराइरहेको छ । त्यसैले होला अहिलेको यो उत्पात र विपत्ति पनि। अरूले होइन हामी आफैंले निम्त्याएको हो यस्ताे अवस्था। त्यो समय प्रसादको रूपमा खाएको करेला, सुठुनी, अपुंगो र पञ्चामृतको स्वाद जिब्रोमा अझै  झुण्डेको छ। मेरा गुरू संगेले पण्डितसँगैका पण्डितले शंख र घण्ट बजाउँदा वातावरण पवित्र बनेको थियो। दाजु मोतिकृष्ण र वेदप्रसादले सत्यनारायणको कथा वाचन गरिरहनुभएको त्यो क्षण।

म भने बाल्यकालको त्यो निश्छल क्षणमा संसारलाई विस्मित आँखाले भित्रभित्रै नियालिरहेको थिएँ । बाहिर मुसलधारे पानी परिरहेको थियो । रोकिने छाँटकाँटै थिएन । रातको अन्धकारले स्मृतिहरूलाई चुमिरहेको थियो । छटपटी लागिरह्यो । सन्नाटा चिर्दै भित्ताको घडीले टिकचिक आवाज दिइरहेको सुनें । टर्च बालेर घडीतिर उज्यालो लगाएँ । रातको ठीक १२ बजेर २१ मिनेट गएको रहेछ ।

सधैं ९ बजे सुत्ने मानिस आज मध्यरातसम्म पनि निदाएको थिइन। मुटु ढुकढुक गर्छ । एकाएक मेरो मनमा त्यो समयमा राजनीति, परिवार, समाज, मृत्यु र प्रकृतितिर मेरो मन सर्र दौडियो।

मलाई लाग्यो- मानिसको जीवन पनि यस्तै रहेछ। कहिले हुरी, कहिले घाम । कहिले भीड त कहिले एक्लोपन । बुबाआमा भएको भए मलाई ढाढस दिनुहुन्थ्यो। खाटमासँगै कुमारी पनि भएकाे भए रंगीन रातमा हराउँथें होला । छोराहरू अध्ययन र अनुसन्धान भए हिम्मत दिन्थें तर त्यो रात म एक्लै थिएँ र मेरो मन बरालिएको होला। यस्तै विविध कुरा सोचेर ओछ्यानमा ढल्किएर घोत्लिरहें। समय बित्दै गयो । घरि उठ्छु- घरी बस्छु। अहँ मेरो मनमा पटक्कै शान्ति छैन। मन अशान्त छ। नागरिकको विश्वास र मायाबाट भारी मतले दिक्तेलको नगर प्रमुख। सिडियो, कर्णेल, डिएस्पी या जिल्लाका गन्यमान्य सबैले इज्जत र सम्मान गर्छन् ।

नगरपालिका पुग्दा बाटामा भेट्ने तथा कर्मचारीले जुरूक्क उठेर अभिवादन गर्छन् । यत्रो मानसम्मान हुँदा पनि मन अशान्ति छ । आँखामा निन्द्रा पर्दैन । मैले आदेश दिएँ भने २-४ लाख राज्यकोश खर्चिएरै भए पनि सायद प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले निन्द्रा किनिदिनुहुन्थ्याे होला । नगरपालिकाका नागरिकको सेवामा अशान्त भएको नगर प्रमुखको निन्द्रा र शान्तिमा रकम खर्चिंदा अनियमितता पनि ठहर्दैनथ्यो कि?

यस्तै कुरा मनमा खेलिरहे । म छटपटाइरहें निन्द्रा लाग्दैन । सिरकमा गुटुमुटु भएर म रूमल्लिरहें । सन्नाटालाई चिर्दै भाले बासेको मेरो कानमा ठोक्कियो । ओछ्यानबाट जुरूक्क उठें । बाहिर सिमसिम पानी परिरहेको थियो । घडी हेर्दा विहानको तीन बजेको रहेछ ।

ओहो ! आज त पटक्कै निन्द्रा परेन । टाउको दुखिरहेको थियो । आँखा पोलिरहेका थिए तर निन्द्रा छैन । सधैं मेरो उठ्ने समय भएको थियो तर आज म फेरि ओछ्यानमै पल्टिएँ । अचानक म सुत्ने कोठाको ढोकामा ढकढक आवाज आयो । म झल्याँस्स बिउँझिएँ । थाहा भयो- विहानीपख म त गहिरो निद्रामा परेंछु । झ्यालबाट सूर्यकाे सुनौलो किरण कोठाभित्र पसिसकेका रहेछन् । रातको कालो बादल हराएर सुनौली विहानी छाएको रहेछ । बाहिर चराहरू चिरबिर गरिरहेका थिए । मैले ओछ्यानबाट जुरूक्क उठेर ढोका खोल्दा राजन दाहाललाई देखें । दश-पन्ध्र जना मानिस मलाई भेट्न पर्खिरहेका रहेछन् । उनीहरूको अनुहारमा बिहानको उज्यालो थियो। उनीहरूलाई केहीबेर हेरेर म मौन उभिरहेँ । म भने रातभरि नसुतेको मानिस । म नगरको ठूलो मान्छे मेयर । विहानै आएर कसैले ढोका ढक्ढक्याउने हिम्मत गरेनन् । मेयरको महत्त्वपूर्ण समय भंग गर्ने कस्ले हिम्मत गर्ने।

नागरिकको कायापलट गर्ने योजना पो बन्दै थियो कि नागरिकमा कौतुहल थियो होला । मेयर, प्रधानमन्त्री या जनप्रतिनिधि गाँजा नशामा अलमलिन्छन् भन्ने कल्पनासम्म हुँदैन । आफैंले भारी मतले जिताएको मेयर तर तलदेखि माथिसम्मका शासक कोही संसदमा केटीसँग अल्लारिरहेका छन् त कोही सुरक्षा घेराभित्र परिवारको प्रितमा रमाइरहेका । निश्चल मन भएका ती नागरिक घण्टौंदेखि मलाई कुरिरहेका । कसैले खेतमा पानी लगाउन थियो होला ।

रातभरिको भारी वर्षा र हावाहुरीले कसैको फुसको छानो उडाएको थियो होला । यो पर्खिने र सलाम माग्ने सोच गाउँदेखि बालुवाटारसम्मका सबै तहका शासकमा झाँगिएको छ । न विगत न वर्तमान । अभिमान र घमण्डको डंका बजाइरहेका छन् । रातभरि मलाई थिचिरहेको अन्धकार बिस्तारै हलुका हुँदै गयो।

मेरो जीवनका लागि त्यो कुनै साधारण रात थिएन । सायद यस्तो रात मैले कहिल्यै भोगेको थिइन । त्यो रात मेरो स्मृति, पीडा, देश, नगर, बुबाआमा, परिवार र आफ्नो आत्मासँग भएको एउटा लामो संवाद थियो । त्यो रात मेरो विस्मृतिमा हराए पनि पुस्तकका रंगीन पानाहरूमा रहिरहने छन् । घाम, पानी, हावा, हुरी कसैले पनि नष्ट गर्ने छैनन्। कसैले नष्ट गर्ने दुस्साहस गऱ्यो भने ऊ आफैं माटोमा विलीन हुनेछ ।

(कथाकार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको नगर प्रमुख हुन्। )
अर्को समाचार
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
१ घण्टा अघि
•
१ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्‍यो, मायासित बोल्दैमा गाल पर्‍यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।




यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।

२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।

इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।

उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। 
कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।

विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।

दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्‍याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।

बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।

संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’

यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।

उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस