राजनीति
०९ फागुन २०८२
•
५ मिनेट पाठ
राजनीति
१) राजनीति 




‘साँपसाँप!’ भुँराहरू पोखरीमा छटपटाएर हारगुहार गर्न थाले। उनीहरूको जीवनलीला समाप्त हुँदै थियो। आफ्ना सन्तानहरू नासिएको देखेर वयस्क माछाहरू  ठूलो चिन्तामा परे।

एउटाले सुझायो, ‘ठूलो माछालाई खवर गरौँ? आखिर हामी सबैको रक्षक उनी नै हुन्।’

कसै गरेर उनीहरू ठुुलो माछाकोमा पुगे। ऊ शानसँग सत्ताको कुर्सीमा विराजमान थियो। उनीहरूले समस्या राखे।

सुन्नासाथ ऊ तात्तियो, ‘पोखरीमा सुरक्षाका सबै तरिकाहरू अपनाइएको छ तर सर्पहरू कसरी छिरे?’

वयस्कहरू निरीहझैँ चूपचाप बसे। उसले हुकुमी पाराले आदेश गर्‍याे, ‘जाओ, पत्ता लगाओ।’

उनीहरू सुराक पत्ता लगाउन त खटिए तर सफल भएनन्। ठूलो माछा रन्किएर उनीहरूको झाँको झार्दै भन्यो, ‘यत्ति सानो काम गर्न सक्दैनौ? भोलि मेरो अवसानपछि पोखरीमा शासन कसरी गर्छौ?’

ठूलो माछा आफै मैदानमा उत्रियो। केहीबेरमै साँपहरू पोखरीबाट गायब भए। भुरा र वयस्क सबै माछाहरू खुसी भए। संकट मोचन गरेकोमा उनीहरूले  जयजयकार गरे। ठूलो माछा भने मुसुमुसु हाँसिरहेको थियो।

ठूलो माछाको सबै क्रियाकलाप हेरिरहेको एउटा माझीले सोच्यो, ‘सत्ता बचाइराख्न  प्रतिद्वन्द्वीसँग कसरी मेलमिलाप गर्नुपर्छ भन्ने कुरा यी आलाकाँचाहरूलाई के थाहा?’

२) बन्देज

‘शुभप्रभात!’ उसको मेसेज आयो।

‘हजुर शुभप्रभात!’ मैले जवाफ फर्काएँ।

‘चिया खानुभयो?’ फेरि प्रश्न आयो।

‘किन सम्झनुभयो?’ मैले सन्दर्भ कोट्याउन खोजेँ।

‘एकैछिन है!’ भनेर ऊ हरायो।

म सोच्न थालेँ, ‘साहित्यको संसारमा उसलाई चिनेको धेरै भएको छैन तर पनि हामी बीच कुरा कति मिल्छ? घण्टौँ कुरा गर्छौं। एक अर्कालाई चिन्न कहिले घरपरिवारको कुरा गर्छौं त कहिले आआफ्ना सिर्जनाबारे चर्चा गर्छौं।’

फुत्त एउटा लघुकथा मेसेजमा आयो। मेरो तन्द्रा टुट्यो। लघुकथा पढेँ। उसैको रहेछ।

केही सुझावसहित जवाफ फर्काउँदै आग्रह गरेँ, ‘टाइप गर्ने  मेरो औँलामा घाउ आएकाले अशुद्ध धेरै, मिलाएर बुझ्नू है!’

उसले तुरुन्तै सहानुभूति देखाएर जवाफ लेख्यो, ‘अहो, गाह्रो भयो भनेर आत्तिनु भएन। जीवनमा घाउ आउँछन्, जान्छन्। मान्छे धैर्यशील र सहनशील बन्न सक्छ नि!’

मैले अवस्था दर्साउँदै लेखेँ, ‘यो त निरंकुश शासकले विद्रोही साहित्यकारको कलम रोके जस्तै पो भएको छ।’

३) बराबर

बूढो घरबाट कार्यलयतिर निस्किनै खोज्दा बुढीलाई अङ्कमाल गर्‍याे, म्वाइँ खायो र भन्यो, ‘राम्ररी बस है!’

बुढीले पनि उसै गरिन् र भनिन्, ‘आज दिउँसो समय मिलाऊ है! म उतै आउँछु। सपिङ जाऔँ ल!’

‘म अवस्था हेरेर कल गर्छु नि!’ उसले आश्वासन बाँड्दै बाइक चलायो र आँखाबाट ओझेल भयो।

उनी चिटिक्क परेर घरबाट बाहिर निस्किन्। साथी भनाउँदाको बाइकमा बसेर हावामा उडिन्। एउटा रेस्टुरेन्टमा बन्द कोठामा दुई साथी मस्तीमा हराउँदै थिए।   फोनमा घण्टी बज्यो।

बुढाले भन्यो, ‘सरी डार्लिङ! आज मिटिङ छ। घर आउन अलि ढिला हुन्छ। भोलि निस्कौँला है।’

साथीको अँगालोमा बेरिँदै बुढालाई फोनमा नै सोधिन्, ‘आज तिमीलाई के खान मन छ? भन त! बेलुकालाई त्यही पकाउँछु नि!’

‘आज साधा खाना खाने है?’ उसले मस्किँदै भन्यो।

एकछिनको कुराकानीपछि कल कट्यो।

उनले भनिन्, ‘अब फर्किने होइन?’

उसले जिस्किँदै भन्यो, ‘के हतार छ र? तिम्रो बूढो मिटिङमा होइन र?’

‘हो तर काम सकिएपछि यहाँ किन बसरिरहनु नि?’

उनीहरू बाहिरिदै थिए। उताबाट अर्को जोडी भित्रिँदै थियो। आउने र जाने दुवैले नियालेर हेरे। उनीहरूका आँखा चार भए। आउने यात्री उनकै बुढा थिए।

४) साथी

विद्यालयबाट फर्किएपछि रोहणले पढ्ने टेबलभरि किताब फिँजायो र खुरुखुरु गृहकार्य गर्न थाल्यो। लेख्दा लेख्दै झमक्क साँझ पर्‍याे।

उसले आमालाई सोध्यो, ‘आज बाबा कतिबेला आउने हो?’

आमाले मायालु भावमा भन्नुभयो,‘बाबा त आज सधैँभन्दा अलि ढिलो आउने रे!  बाबु आज खेल्न नगएर किन बाबा खोजेको?’

उसले हैरान हुँदै भन्यो, ‘आज म खेल्न जादिनँ, आमा। गृहकार्य  धेरै छ। एउटा  चैँ  अलि गाह्रो छ, बाबालाई सोधेर मात्र गर्नुपर्छ।’

आमाले छोराको कपाल सुमसुम्याउँदै भन्नुभयो, ‘कठैबरा! ५ कक्षा पढ्ने बाबुलाई पनि मिस सरले कत्ति धेरै र गाह्रो काम दिएको होला? म भोलि विद्यालयमा कुरा गर्छु है त!’

ऊ अलि डरायो र भन्न थाल्यो, ‘नाई, नभन्नू आमा नत्र म विद्यालय जान्न। तपाईजस्तै घरमा बसेर घरकै काम गर्छु।’

आमा उसको हाउभाउ देखेर हाँस्नुभयो र भन्नुभयो, ‘ल तिम्रो गृहकार्य सकेर  बाबा नआउन्जेल आराम गर। म भात पकाउन जान्छु है त! ऊ आमा पछिपछि भान्सामा गयो। आमाको मोबाइल माग्यो। उहाँ सशंकित हुनुभयो।

‘कतै दुरुपयोग त गर्दैन?’

मोबाइल लिएर ऊ आफ्नै  कोठामा आयो। आफ्नै तालमा मक्ख पर्‍याे। निकैबेरपछि आमा आएर भन्नुभयो, ‘ल  बाबा आउनुभयो। पहिला गृहकार्य छिटोछिटो सकाऊ अनि खाना खानुपर्छ।’

उसले तत्कालै जवाफ फर्कायो, ‘अब सिकाउनु पर्देन। मैले गरिसकेँ बरू खाना खाऔँ। निन्द्रा लागिसक्यो।’

आमा छक्क पर्नुभयो र सोध्नुभयो, ‘ गाह्रो छ भन्थ्यौ, कसरी गर्‍याैं त?’

उसले खुसी हुँदै भन्यो, ‘आमाको फोनमा भएको गुगल साथीको सहयोगले  सकाएँ नि!’

५ ) भय 

‘जन्म र मृत्यु भनेका शाश्वत कुरा हुन्। जन्मेपछि मर्नै पर्छ भन्ने बुझेर पनि किन  कतिपय मानिसलाई मृत्यभय भएको होला?’  एक वृद्धले प्रश्न राखेँ।

सत्संग चलिरहेको थियो। प्रकाण्ड विद्वान जीवन दर्शनबारे लगातार ज्ञान प्रवाह गरिरहेका थिए। प्रश्न आउनासाथ  उत्तर दिन उनको ध्यान  केन्द्रित भयो।

उनले भने, ‘कर्मको आधारमा मान्छे सज्जन र दुर्जन हुन्छ। पापकर्म गर्ने  दुर्जनहरू दु:ख पाएर मर्छु कि भनेर ससंकित हुन्छन् र  मनमा मृत्यभय पाल्छन्। सज्जनहरू कहिले पनि मृत्यलाई भय ठान्दैनन्।’

एकाएक सभाहलमा खुसुर फुसुर चल्यो। छेउमा बसेकाहरू एकापसमा टिप्पणी र चर्चा गर्न थाले।

वृद्धले छेउमा बसेको आफ्नै दौँतेरीलाई उनले भने, ‘मैले जागिरे जीवन हुँदा कति दुश्कर्म गरेँ। म भगवान् मान्दिनँ। म नास्तिक हुँ, दुर्जन हुँ तर पनि म मृत्युसँग डराउँदिनँ।’

साथीले भन्यो, ‘मर्ने बेलामा रोगले सताएर, दुर्घटनामा परेर अशक्त भएर दुख पाइन्छ कि? भन्ने त्रास सबैलाई हुनु स्वभाविक हो।’

दुई जनाको बीचमा मृत्युभय ‘हुन्छ र हुँदैन’ भनेर तर्कवितर्क चल्यो। लामै समयसम्म चर्काचर्की परेपछि प्रवचन दिने विद्वानले दुवै जनालाई आफू नजिक बोलाए र सोधे, ‘तिमीहरू दुवै डाँडापारिका जून भैसक्यौ। भन त, तिमीहरूको अन्तिम इच्छा के छ?’ 

साथी बोल्न नपाउँदै वृद्धले प्रभुलाई सम्झेर भने, ‘हे प्रभु! म सहज मृत्यु वरण  गर्न पाऊँ।’ 

(पाहुर लघुकथासंग्रहबाट)
अर्को समाचार
राजनीति र पात्रता
१९ वैशाख २०७७
•
१४ मिनेट पाठ
राजनीति र पात्रता
सधैँझैँ अहिले पनि सामाजिक सञ्जाल अत्यन्त सक्रिय छ । अभिव्यक्तिका निम्ति सम्भवतः सामाजिक सञ्जाल जति स्वतन्त्र अन्य कुनै ठाउँ नै छैन । हो न हो, लोकतान्त्रिक अभ्यासको सर्वाधिक प्रकट रूप नै सामाजिक सञ्जाल जस्तो भएको छ । कसैका अगाडि सशरीर उपस्थित नभइकनै, कसैको अनुहारको भाव नहेरिकनै, कसैबाट तत्कालै शारीरिक वा मानसिक आक्रमण खेपिने सम्भावनाबाट पूरै बचेर, अचम्मको अपरिमित स्वतन्त्रता भोग गर्न पाइने स्थल बनेको छ यो । साँच्चै भन्ने हो भने सामाजिक सञ्जालले लोकतान्त्रिक अभ्यासको स्वरूप नै फेरिदिएको छ । एउटासिङ्गो नयाँ आयाम नै थपिदिएको छ । यति फराकिलो अभिव्यक्ति स्वतन्त्रता कुनै पनि किसिमको लोकतन्त्रमा कुनै पनि कालखण्डमा मानिसले उपभोग गर्न पाएको थिएन । 




वर्तमानमै पनि सामाजिक सञ्जालमा पाइने अभिव्यक्ति स्वतन्त्रता अन्य कुनै सम्भाव्य नागरिकस्थलमा पाउन असम्भव छ । तर यो स्वतन्त्रताको मूल्य त्यत्तिकै चर्को पनि छ । र, मानवसमाजले त्यो मूल्य लगातार तिरिरहेको छ । अति स्वतन्त्रताका कारण सामाजिक सञ्जालमा स्थान पाएका सामग्रीले पार्ने प्रभाव र ल्याउने परिणाम त्यत्तिकै चर्का हुनसक्छन् । यस्ता परिणाम साँच्चै सकारात्मक, रचनात्मकदेखि लिएर अत्यन्तै नकारात्मक, हानिकारक विध्वंशकसम्म हुन्छन् । सामाजिक सञ्जालमा ज्यादै स्वस्थ, सार्थक र विवेकपूर्ण छलफलदेखि लिएर सस्ता, फोहोरी रोगी गफगाफले पनि ठाउँ पाइरहेकै हुन्छन् । 

यतिबेला पनि सामाजिक सञ्जाल अनेक किसिमका अन्तरक्रियाले भरिएको छ । त्यसमा ‘राजनीतिक स्थिरता कि अस्थिरता?’, ‘विधिको शासन कि मनपरी?’, ‘व्यक्ति केन्द्रीयता कि लक्ष्य केन्द्रीयता?’, ‘लोकतन्त्रमा आचारको महत्व’ जस्ता सार्थक सवालसँगै मुछिएर अनेक किसिमका फोहोरी गालीगलौज र आत्मश्लाघाका अति सस्ता उदाहरणसम्म देखापरिरहेका छन् । 

अलि पछि बुझेँ– ‘वैकल्पिक राजनीति’ भनेको त हुँदै नहुने कुरा पो रहेछ । राजनीति भनेको त राजनीति नै रहेछ ।

लोकतन्त्रको वर्तमान चरणमा यो अत्यन्त स्वाभाविक हो । यो स्वाभाविकतालाई जसले स्वीकार गर्छ र यसैमा टेकेर आफ्नो सिर्जनशीलताको सदुपयोग गर्छ, ऊ सफल हुन्छ । यो स्वाभाविकतालाई जसले स्वीकार गर्न सक्दैन, ऊ कुनै न कुनै किसिमले विभिन्न किसिमका मानसिक संवेग वा क्लेसबाट प्रभावित, प्रताडित भएर आफ्ना अभिव्यक्तिमा वा निर्णयमा सन्तुलन गुमाइरहेको हुन्छ । यस्तो असन्तुलनबाट ठूला जिम्मेवारी लिएर बस्नेहरू, खास गरी राजनीतिक नेता बढी प्रभावित भइरहेका हुन्छन् । जति ठूलो जिम्मेवारी, उति नै ठूलो हानि । जति ‘ठूला’ मान्छे असन्तुलित हुन्छन्, त्यति नै धेरै नागरिकले त्यसको परिणति खप्नुपर्ने हुन्छ । अहिले हामीले देखिरहेको यही हो । निश्चय नै सामाजिक सञ्जाल बढी रचनात्मक र कम विध्वंशक हुँदै जानु भनेको लोकतन्त्रले परिपक्वता हासिल गर्दै जानु हुनेछ । तर सत्ताले जबर्जस्ती गर्दैमा यसो हुँदैन । बरु उल्टो हुन्छ । यो काम त नागरिक तप्कामा रहेका सामाजिक उत्तरदायित्व भएका मानिसहरूको यत्नले नै क्रमशः हुँदै जाने कुरा हो । र, साँच्चै सामाजिक उत्तरदायित्व बहन गर्ने नागरिकको संख्या भने रातारात बढ्ने कुरा पनि हैन ।   

अहिले सामाजिक सञ्जाल राज्यको लगाम सम्हालेका र सम्हाल्न चाहने विभिन्न पात्र वरिपरिका छलफलले भरिएको छ । तिनै छलफलका बीच हालसालै ट्विटरमा डम्बर खतिवडाले डा. सूर्यराज आचार्यलाई लक्षित गरेर लेख्नुभएको एउटा कुरा मलाई अर्थपूर्ण लागेको छ– ‘कि राजनीतिमा आउनु हुन्न, आइसकेपछि यसको निर्ममतालाई सामना गरेर हिँड्नुपर्छ ।’ यी हरफबाट मैले बुझेको कुरा के भने ‘राजनीतिमा लाग्नु’ भनेको सबैका निम्ति उपयुक्त हुँदैन । कसैकसैका निम्ति त राजनीति भनेको पटक्कै नसुहाउने कुरा मात्र हैन, अत्यन्त हाँस्यास्पद, प्रत्युत्पादक र मूर्खतापूर्ण कुरा पनि हुनसक्छ । यहाँ म कसैको पक्षपोषण गरिरहेको छैन । डम्बरजी र सूर्यराजजी दुवै नै मेरा नजरमा असल मान्छे हुनुहुन्छ । राजनीतिमा लाग्न पटक्कै नसुहाउने कुनै मान्छेले जानेर नजानेर छोटै समयको निम्ति भए पनि ‘राजनीतिमा पस्दा’ कस्तो हाँसो उठ्दो स्थिति सिर्जना हुने रहेछ भन्ने कुरा म आफैँ भोगेकाले पनि होला, डम्बरजीको कुरा मनपरेको । 

राजनीतिमा पसिसकेपछि यसको निर्ममतालाई सामना गरेरै हिँड्नुपर्ने रहेछ । राजनीतिमा पटक्कै नसुहाउने असल मानिस त्यसबाट मुक्त होउन् भनी कामना गर्दैछु यतिबेला ।

‘वैकल्पिक राजनीति’ भन्ने शब्दावली म आफैँले पनि २–३ दशकदेखि नै प्रयोग गरिरहेकाले यसबारे गफ गर्न खुब मज्जा लाग्थ्यो । तर अलि पछि बुझेँ– ‘वैकल्पिक राजनीति’ भनेको त हुँदै नहुने कुरा पो रहेछ । राजनीति भनेको त राजनीति नै रहेछ । अहिले हालीमुहाली गरिरहेका पार्टीका ठाउँमा ‘वैकल्पिक’ पार्टी आउन सक्लान् । ठूलठूला राजनीतिक आन्दोलन, विप्लव, विद्रोह, क्रान्ति जस्ता गतिविधिले ल्याउनेभन्दा अझै ठूला परिवर्तन् ‘वैकल्पिक आन्दोलन’ ले, ‘वैकल्पिक अभियान’ले ल्याउन सक्लान् । निश्चित उद्देश्य प्राप्तिका निम्ति राजनीतिक गतिविधिका ‘विकल्प’का रूपमा विभिन्न सामाजिक, प्राविधिक, वैज्ञानिक, प्राज्ञिक, आध्यात्मिक यत्न हुन सक्लान् र ती सफल पनि होलान् । तर राजनीति नै चाहिँ ‘वैकल्पिक’ भन्ने नहुँदो रहेछ ।

झण्डै पच्चीस–तीस वर्षअघि देखि परम्परागत राजनीतिका अनेक रूप हेरिरहँदा मनमा अनेक प्रश्न आइरहन्थे । ‘राजनीतिमा किन अर्काको दानवीकरण नगरी नहुने होला?’, ‘राजनीतिज्ञहरू किन भिन्नताका बीचमा समानता खोज्न अक्षम हुने होलान् ?’, किन स्वाभाविक भिन्नतालाई जबर्जस्ती ठूलो र फराकिलो बनाएर प्राप्त मैदानमा आफ्नो निहीत स्वार्थको खेती गर्छन् राजनीतिज्ञहरु?’, ‘क्रान्तिकालमा परिवर्तनका निम्ति आफ्नो जीवन नै उत्सर्ग गर्ने मानिस राज्यसत्ताको नजिक पुगेपछि किन यति भ्रष्ट हुने होलान् ?’ यी प्रश्नले स्पष्ट उत्तर नपाउँदै लाग्न थाल्यो–एक्काइसौँ शताब्दीको पहिलो एक चौथाइ बित्दा÷नबित्दा यस्तो राजनीति काम नलाग्ने भैसक्छ होला । 

जब भारतमा आम आदमी पार्टीको उदय भयो र नेपालमा पनि ‘विवेकशील नेपाली’ भनेर फरक धारका युवाहरूको गतिविधि सुरु भयो, मलाई मज्जा लाग्यो । साझा पार्टी गठन तयारीताका छलफलमा म पनि निम्त्याइएपछि ‘वैकल्पिक राजनीति’को सम्भावना रमाइलै मानेर ‘ठीक छ, म तपाईँहरूको साथमा छु’पनि भनेँ । तर ‘साझा पार्टी’ स्थापनाकालमा छलफलका क्रममा देख्न थालेँ– मैले भनेको ‘वैकल्पिक राजनीति” र ‘साझा’ का संस्थापक साथीहरूको बुझाइबीच धेरै फरक छ । बेलाबेलामा प्रश्न गर्थेँ– ‘हामीले खोजेको वैकल्पिक राजनीति हो कि अहिलेका राजनीतिक पार्टीहरूको विकल्पमा अर्को कुनै पार्टी ?’ 

यो प्रश्नको स्पष्ट उत्तर आउनुअघि नै जब ‘संस्थापक सदस्य’ कै रूपमा मेरो नाम पनि पत्रपत्रिकामा आउन थाल्यो, अप्ठेरो अनुभूत गर्न थालेँ । ‘आइ एम् विथ यु’ भन्नु कति गह्रौँ कुरा हुने रहेछ । यस्तो वाक्य उच्चारण गर्नुको अर्थ कति ठूलो भारी बोक्नु रहेछ भन्ने कुरा बुझ्न थालेँ । पत्रपत्रिकामा फोटोसहित नामै आइसकेपछि ‘ए..., म त हैन है हैन’ भन्न पनि असजिलो भयो । फेरि आफ्ना पाठक वा स्रोताको ठूलो भीडभाड नभए पनि दुई तीन दशकदेखि नै विभिन्न माध्यममा ‘वैकल्पिक राजनीति’ को गफ दिइरहेको हुँदा परेकै बेलामा चाहिँ पन्छिनु ठीक हुँदैन भन्ने धर्मसंकट पनि थियो । अनि सूर्यराजजीसँग ‘म राजनीतिको निम्ति उचित पात्र हैन’ पनि भनेँ । 

तर हल्लाखल्ला यति भइसकेको थियो कि हो न हो ‘साझा पार्टी’को ‘नेता’ नै जस्तो बन्न पुगेँ । साझा र विवेकशीलको एकता हुने परिस्थिति जतिसुकै अपरिपक्व भए तापनि, त्यसपछि दिशामा स्पष्टता आउला जस्तो लागेको थियो । तर त्यसो भएन । नहुनुमा अनेक व्यक्तिगत कमी त थिए होला, तर मुख्य कुरा के देख्न थालेँ भने सत्ताप्राप्तिलाई जतिसुकै ‘साधन’ भने पनि राजनीतिको साध्य नै सत्ता हुने रहेछ । र, सत्ताप्राप्तिका निम्ति मानिसले अहिलेसम्म जानेका जति उपाय छन्, तिनलाई अपनाएपछि राज्यसत्ताका अनुवांशिक वा जन्मजात रोगबाट कोही पनि मुक्त नहुने रहेछ । 

यी रोगबाट ग्रस्त हुँदाहुँदै पनि जनाताका लागि, देशका लागि, विश्वका लागि केही गर्न सक्ने ‘महामानव’ अत्यन्त कम हुने रहेछन् । यो कुराको बोध भएपछि कुनै गालीगलौज नगरी, कसैलाई नसरापी म साझा पार्टीबाट सर्लक्क निस्किएँ । साझा र विवेकशील फेरि फुट्दा पटक्कै आश्चर्य लागेन । अहिले बेलाबेलामा मनमा प्रश्न आइरहन्छ– धेरै असल मान्छे, खासगरी जीवनशक्तिले भरिएका जेहेनदार र मेधावी युवाहरू यो राजनीति नामको अनौठो खेलमा लाग्दा मानवताले भोगिरहेको नोक्सानी धेरै होला कि पाएको उपलब्धि ?

यति नै बेला भने लाग्दैछ– डम्बरजीले भनेको ठीक हो । सबैका लागि राजनीति उपयुक्त हुँदैन र राजनीतिका निम्ति सबै उपयुक्त हुँदैनन् । आफूलाई सुहाउँदैन भन्ने लाग्दालाग्दै राजनीतिमा लाग्नु भनेको त अनावश्यक दुःखै निम्त्याउनु रहेछ । राजनीतिमा पसिसकेपछि यसको निर्ममतालाई सामना गरेरै हिँड्नुपर्ने रहेछ । राजनीतिमा पटक्कै नसुहाउने असल मानिस त्यसबाट मुक्त होउन् भनी कामना गर्दैछु यतिबेला ।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
यो पनि पढौँ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस