सोचेजस्तो हुन्न जीवन!
२० मंसिर २०८२
•
७ मिनेट पाठ
सोचेजस्तो हुन्न जीवन!
मान्छेले चाहेका कुरा सबै प्राप्त हुन सक्लान्? मान्छेको सोचेजस्तो जिन्दगी हुनसक्ला? अरूको जीवन हेरेर आफ्नो जीवन पनि त्यस्तै होस् भन्ने चाह राख्दैमा होला र? यी यक्ष प्रश्न मनमा सलबलाएका छन्। सुन्दर भविष्यको चाहमा त्यो भन्दा सुन्दर सपना पनि देखिन्छ तर सबै सपना पूरा हुन्न। धेरैजसो सपना बिपनामा पानीको फोका बिलाएजस्तै बिलाउँछन्।




मान्छेको जीवनका दुई मोड सुख र दुःख रहेछन्। यीमध्ये मान्छेले रोज्ने र खोज्ने भनेको सुख हो। तर कहाँ सोचेजस्तो हुन्छ र?

सपना र बिपनाबिचको भेद सबैलाई थाहा छ। बिपना वास्तविकता हो। खुसी बिपनाले ल्याउँछ। सपनाको खुसी त केवल क्षणभंगुरमै सकिन्छ। निदबाट ब्युँझिनासाथ त्यस्तो खुसी तुहिन्छ। त्यतिबेला ‘ला सपना पो!’ भन्नुको विकल्प हुँदैन। सपनाको सुख बिपनामा खासै काम लाग्दैन। सपनाको नाफाको कुनै अर्थ रहन्न बिपनामा। त्यसैले त सपना र यथार्थ फरक छ। जीवनलाई यथार्थको कसीमा राखेर हेर्नुपर्छ।

दुनिया अलिक स्वार्थी छ। हाम्रा बाजेको पालामा जस्तो मानवीय संवेदना कहाँ पाउनु अहिले। त्यो भावना कहाँ छ र अहिलेको समयमा ? तपाईं एउटा सोच्नुहुन्छ, अपेक्षा एउटा राख्नुहुन्छ, तर दुनिया स्वार्थको पराकाष्ठामा डुबेर बसेको हुन्छ। उसले तपाईंबाट स्वार्थ चाह राख्छ। तपाईंलाई  मेरा कुरा बकबास लाग्न सक्छ।

तपाईं मलाई आँखा तर्न पनि सक्नुहुन्छ। अथवा मेरो कुरामा विमति राख्न पाउनुहुन्छ। आखिर सत्य सत्य नै हो। तपाईं मलाई सानले घुर्नुस्, केही अर्थ राख्दैन मलाई। मसँग रिसाएर नबोल्नुस् अथवा घृणाभाव राख्नुस् मप्रति। मलाई खासै फरक पर्दैन। म तथ्यमा बोल्छु। सत्यमा रहन्छु। तपाईं मलाई भाउ खाएको पनि भन्न सक्नुहुन्छ। घमण्डी छ, दोष लगाउन पाउनुहुन्छ। तर, म जे छु, त्यस्तै रहन मन पराउँछु।

सपना होइन, यो त हकिकत हो। तपाईंको प्रगतिमा डाह गर्छ दुनिया। रिस गर्छ। मन नदुखाउनुस्, यही हो सत्य। तपाईंसामु मिठो बोलिदेला भेटेको बेला। रामैै्र बेहोरा देखाउला। तर हेक्का रहोस्, तपाईंको पछाडि तपाईंको प्रगतिमा खुसी होइन, आरिस गर्छ आजको मान्छे।

वास्तवमै यो समय बढो कठिन छ। भौतिक सुखसुविधा र वैभव छ तर यी सब यान्त्रिक सुख हुन् जस्तो लाग्छ। मानिस सब चिज भएर पनि दुःखी छ आज। जीवनप्रतिको सोचले पनि मान्छे दुःखी छ। सहज छैन आजको मान्छेको जीवन। अभावमा संघर्ष गर्दै जिउने पनि खुसी छन्। भौतिक सुखसुविधा र मोजमस्तीमा दैनिकी सकाउनेहरू पनि दुःखी छन्। काम, क्रोध, भय र लोभलालचले मान्छेलाई झन् झन् दुःखको खाडलमा हाल्दै छ। यो समय पीडा हो। वर्तमान मान्छेको जीवनको एक नमिठो लाग्ने वास्तविकता हो यो। म ठोकुवा गरेर भन्नसक्छु। यसैले आजको मान्छे सुर्तामा जीवन सकाउँछ।

समय पनि सफेद छैन, दागी छ। यसो विचार गर्छु। मरीमरी दुःखकष्ट गरेर श्रम गर्नेहरूलाई दुई छाक मिठो मसिनोसम्म खान मुस्किल छ। अर्कोतिर धनी भनिएकाहरू सबैखाले सुख सुविस्ता उपभोग गर्न पाइरहेका छन्। यस्तै भइरहेछ यहाँ। यो सपना होइन। मैले आजको समयको यथार्थ कुरा राखेको हुँ। अरूलाई प्रगति गर्न हौस्याउँदैन आजको मान्छे। अरूको प्रगतिमा रमाउन जान्दैन आजको मान्छे। सहयोग त परको कुरा भयो। डाहा गर्छ बरु। अरू असफल होऊन् भन्ने चाह राख्छ। खुट्टा तान्ने प्रवृत्ति छ यहाँ।

तर, संघर्ष गर्न छोड्नुहुन्न। कर्ममा डट्न लागिरहनुपर्छ। कर्मशील भएर जिउनुपर्छ। मनमा धैर्य, काममा लगनशीलता, यो सूत्र जरुरी छ। जीवनमा बोधगम्य भाव भएन भने, समयलाई चिनिएन भने जीवनको अर्थ र सार्थकता रहन्न। प्रगति र उन्नति सपना मात्र भयो भने बिपना दुःखमय हुन्छ। आफूलाई चिनौं। अरूसँग दाँजेर दुःखी हुनु पनि व्यर्थ छ। तपाईं तपाईं नै हो। म म नै हुँ। किन अरूसँग तुलना गर्ने? जीवनलाई सहज र सरल रूपमा लिने गरौं। हैसियत बिचारौं। तब दुःखी हुन्न जीवन। अनावश्यक लोभ, लालच, महत्त्वाकांक्षा लगायतका लम्बे फेहरिस्तहरूको सपना देखेर बिपना दुःखी हुने हो। ती सबैतिर ध्यान नदिए केही हुन्न।

उद्देश्य रोजौं पूरा हुने। गन्तव्य पहिल्यायौं पुग्न सकिने। तर, सपना देख्नकै लागि निदाउन छोडौं। अर्थहीन सपनाको पछि नलागौं। प्रदूषित मन नबनाऔं। मन मस्तिष्कका पदचापहरू सन्मार्गमा लगाऔं। जीवन सुखी हुनेछ। खनौं बिपनामा गन्तव्यमा पुग्ने खुड्किलाहरू। मूल्यहीन भएर होइन, मान्छे भएर बाँच्नुपर्छ। सकेसम्म सपना नदेखौं– पूरा नहुने। देखे पनि सपनासँग नडराउँ। बिपनामा परिणत गर्न हरसम्भव प्रयास गरौं। जीवन सुखी हुनेछ। थुप्रै सम्भावनाहरू तपाईंसामु उभिएका छन्। पकड्नुस्, कुन मन पर्छ। मिहिनेत र श्रममा पसिना छरेर त्यो सम्भव छ। यसो गर्दा आफ्नो क्षमताको आत्मबोध गर्न पटक्कै भुल्नुहुँदैन है।

जीवनप्रति बेपर्वाह नहुनुस्। जतन गर्नुस् जीवनलाई। बाँच्नको सार्थकता बुझ्नुस्। जीवन जति जिउन सकिन्छ, जिउने हो आनन्दले। आँसुमा पनि खुसी खोज्न सिक्नुस्। दुःखमा पनि रमेर जिउन सिक्नुस्। किन लिनुहुन्छ पिर? किन ठान्नुहुन्छ असहज? पिरलाई खुसीमा बदल्ने तपाईंले हो। असहज परिस्थितिलाई सहज बनाउने पनि तपाईंले हो। दुःख र अभावका पहराहरू त छिचोल्दै अघि बढ्ने पनि तपाईं हो।

वास्तवमा जन्मनुको अर्थ भौतिक रूपमा जीवन प्राप्त हुनु हो। तर त्यो जीवन कसरी बाँचेको छ भन्ने कुराले अर्थ राख्छ। तपाईंलाई थाहा छ ओशो के भन्छन्– ‘जन्म त पाइन्छ। तर जीवनलाई भने खोज्नुपर्छ। जीवनको खोजी गर्नु एउटा कला हो।’

त्यसैले जीवनलाई सार्थकतामा खोज्नुपर्छ। जीवनलाई उज्यालोको खोजीमा लगाउनुपर्छ। छिचोल्नुपर्छ कर्मको पहाड। मन मस्तिष्कमा राख्नुपर्छ सकारात्मक भाव। असफलतामा प्रयासको निरन्तरता हुनुपर्छ, न  कि भाग्यलाई दोष। तपाईंको जीवन तुलना मसँग होइन, न कि अरूसँग पनि। तपाईं र म फरक हो। यति बुझेर कर्तव्यपथमा अगाडि बढ्न सके जीवन सफल र सार्थक हुन्छ। अनावश्यक दुःख आउँदैन। मन कमजोर हुँदैन। आत्मबल बलियो हुन्छ। रिस, द्वेश, क्रोध र लोभलाई पर सारौं। रचनात्मक र क्रियाशीलतामा जीवनलाई जोडौं। मदर टेरेसाले भनेझैं ‘जीवनलाई संघर्षका रूपमा स्विकारौं’। संघर्षसँग जुधेर जीवन जिउनुको मज्जै बेग्लै छ।

धैर्य र कुशलता हरेकको जीवनलाई सुखको मार्गमा डो¥याउने तत्त्व हुन्। यी तपाईं हामी सबैमा अनिवार्य हुनुपर्ने गुण हुन्। आफूले आफैंलाई चिन्ने प्रयास गरौं। भोगाइको अर्को नाम हो– जीवन। कहिलेसम्म भोग्नुपर्ने हो, न तपाईंलाई थाहा छ, न मलाई नै। निरन्तर कर्मलाई साथी बनाउँदा जीवन सुखको नजिक पुग्छ। जीवनमा समृद्धिको लहर छाउँछ। प्रतीक्षा धैर्य गरेर निरन्तर कर्मको मार्गमा लागिरहनुपर्छ। जहाँ चुनौती, त्यहाँ प्रचुर सम्भावना। सामना गरौं चुनौतीहरूको।

सपना देखेर रनभुल्लमा पर्नु, डराउनु या उत्साहित हुनु जरुरी छैन। धेरै जसो सपनामा देखेका कुरा बिपनामा पूरा नहुन सक्छन्। यति बुझ्नुस् सपना सपना नै हो, विपनामा परिणत हुन सक्दैन। त्यसैले जीवन पाएपछि तपाईं हामीले जिउने कला सिक्नुपर्छ। जीवन सहज जिउन वातावरण र परिवेश निर्माण पनि तपाईं हामी आफैंले गर्नुपर्छ। अरूले गरिदिने होइन।

सपनामा जिन्दगीको उडान गजब र आनन्ददायी ढंगले भरेको छु भनेर बिपनामा कर्म गर्नुभएन भने के होला जीवन? सपनाको प्रयोग सिकाइमा गर्न सकियो भने चाहिँ जीवनमा लाभप्रद होला। तर सपनाको भर बिपनामा कुनै अर्थ छैन। त्यही भएर मेरो जोड जीवनको भविष्यप्रति सचेत र सजग रहनुपर्छ भन्नेमा छ। याद राख्नुस्, समाजले बलेकै आगो ताप्छ। आफ्नो यथार्थ धरातल कहाँनेर छ, सचेत हुनुपर्छ।

पूरा गर्न वा हुन सक्ने सपनाले जीवनमा स्पर्श गरिरहून्। तिनले अपलक हेरिरहून्। जीवनका वास्तविकता निकट सपनाले घेरून्। मजै होला। नत्र अरू सपना सपना मात्रै हुन्। समयमै पूरा गर्नुपर्छ जे जे गर्नुछ। नत्र पछुतोबाहेक केही हात पर्दैन जीवनमा। स्वार्थ राखेर काम पूरा नगरौं। आफ्नो काममा अरूको दुरुपयोग पनि नगरौं। खुसी कसरी मिल्छ, त्यसरी नै काम गरौं। म जे छु, त्यही सत्य हो, यति बुझौं। तपाईं रुचिको काम सुरुचिपूर्वक गर्नुस्, खुसी मिल्नेछ। नत्र त बेकारको हुन्छ जिन्दगी। फुर्सदिलो नबसौं, सैतानले तनाव दिन्छ। व्यस्ततामा छ जिन्दगीको मज्जा। भोलिको चिन्ता नगरौं। चिन्ता होइन, चिन्तनमा छ जीवनको सार्थकता। जीवनदृष्टिचेत सही हुनुपर्छ, सन्मार्गको बाटो आफैं खुल्छ।

संघर्षको अर्थ बुझेर झुत्ति खेलियो भने दुःखको सागरमा डुब्नुपर्दैन। मस्तिष्कमा विकास भएको चेतनाको सही प्रयोगले जीवन सुखमय हुन्छ। सकारात्मक भएर मस्तिष्कले जीवनलाई निर्देशित गरौं। सकारात्मक विचार, सकारात्मक सोच र सकारात्मक दृष्टिचेतले आफूलाई चिनौं र सन्मार्ग पहिल्याऔं। अवसर खोजौं र त्यसलाई समातौं। त्यसपछि जीवनमा सुखैसुख प्राप्त हुनेछ। त्यसै भनेका होइनन् प्राचीन दार्शनिकहरूले– ‘स्वयं आफैंलाई चिन’ भनेर। अन्त्यमा यति भनेँ– जीवनको यथार्थ सोचेजस्तो हुन्न।
अर्को समाचार
‘सोचेजस्तो हुन्न जीवन’ रानीलाई मन परेको थियो
२१ चैत्र २०७७
•
११ मिनेट पाठ
‘सोचेजस्तो हुन्न जीवन’ रानीलाई मन परेको थियो
मेरा गीत ०३२ सालदेखि पत्रपत्रिकामा छापिन थालेका हुन्, ०३९ सालदेखि भने रेकर्ड हुन थाले। ‘निश्वास ए चाँडै थाकी न जा’ बोलको गीत राम थापाको संगीतमा मीरा राणाले गाउनुभएको हो, यो नै मेरो पहिलो रेकर्डेड गीत हो।  




मैले ६० वटा जति चलचित्रमा गीत लेखेको छु। मेरा १६ वटा एल्बम पनि प्रकाशित छन्। सबैमा गरी मैले लेखेका पाँच सय गीत प्रचारप्रसारमा आएका छन्। आफूले लेखेका गीतमध्ये लोकप्रियताका आधारमा निम्न गीत सम्झन्छु।

‘यो सम्झिने मन छ’ हुलाकबाट पठाएको थिएँ  

काठमाडौंमा कलेज पढ्दा (०३९ सालतिर) साथीहरूको प्रेमसम्बन्ध भएको चर्चा सुन्थेँ। कसैको प्रेम छिटै छुट्थ्यो। जसको छुट्थ्यो, छाड्नेले ‘मलाई बिर्सिदेऊ’ भन्थे। तर, बिर्सन सजिलो हुँदैनथ्यो। यही कुरालाई लिएर मैले गीत लेखेँ:

यो सम्झने मन छ, म बिर्सूं कसोरी,  

तिमी नै भनिदेऊ हे जानी निठुरी..’

कलेज सकेपछि जागिरका सिलसिलामा म बैतडीमा थिएँ। बैतडी जानुअघि नारायणगोपाल (गुरुवाचार्य) सँग मेरो कुरा हुँदा उहाँले ‘दिनेश, राम्रो गीत लेखेपछि मलाई पठाइदेऊ है’ भन्नुभएको थियो। त्यही कारण मैले यो गीत उहाँलाई हुलाकमार्फत पठाएँ। पछि मेरो सरुवा कलैयामा भयो। काठमाडौं आएका बेला मैले उहाँलाई फोन गरेँ। उहाँले गीत चाहियो भन्नुभयो। मैले हुलाकबाट पठाइसकेको बताएँ। उहाँले बिर्सनुभएको रहेछ। ०४४ सालमा निस्केको गीति यात्रा भाग १ एल्बममा समावेश भई यो गीत बजारमा आयो।  

‘तिमी यसै लजायौ’ले मलाई चिनायो  

संगीतकार राम थापा म पढ्ने कलेजनजिकै डेरा गरेर बस्नुहुन्थ्यो। मैले पढ्ने नेपाल ल क्याम्पसमा चिया पिउन आइरहनुहुन्थ्यो। चिनाजानी त्यहीँ भयो। त्यसपछि मैले द्ुई गीतवटा गीत दिएँ। ती गीत थिए, ‘निश्वास ए चाँडै थाकी न जा’ र ‘तिमी यसै लजायौ।’

पहिलो गीत उहाँको संगीतमा मीरा राणालाई गाउन दिनुभयो। त्यो गीतबाट मैले ४० सालको रेडियो नेपालको आधुनिक संगीत सम्मेलनमा सर्वोत्कृष्ट गीतकारको पुरस्कार पाएँ। राम थापा सर्वोत्कृष्ट संगीतकार हुनुभयो।  

त्यहीबेला लिएको दोस्रो गीत ‘तिमी यसै लजायौ’ चाहिँ ०४० सालमा रवीन शर्माको स्वरमा रेकर्ड गर्नुभयो। यो गीत रेकर्ड भएपछि अत्यन्त लोकप्रिय भयो। करिब दुई वर्षसम्म यो गीत दिन नबिराई बज्थ्यो। यो गीतले नै रविन शर्मालाई गायक र मलाई गीतकारका रूपमा चिनाएको हो।  

यो गीत बज्न थालेपछि मैले धेरैपटक देखेँ र सुनेँ पनि, कलेजबाट निस्कँदा युवायुवतीले ‘तिमी यसै लजायौ’ गुनगुनाउँदै निस्कन्थे, सिनेमा हलबाट पनि मान्छेहरू यही गीत गुनगुनाउँदै निस्कन्थे। कतिपय युवाले यही गीत गाउँदै युवती जिस्काउँथे। अहिले यो गीत २०–२५ जनासम्मले आ–आफ्ना स्वरमा रेकर्ड गराएका छन्। यसले पनि यो गीतको लोकप्रियता उजागर गर्छ।  

रानीलाई मन परेको गीत  

२०३६ सालमा मैले एउटा गीत लेखेँ:

सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन.

जस्तो भोग्यो उस्तै हुन्छ– देखे जस्तो हुन्न जीवन.

यसलाई गोरखापत्रमा पठाएँ, छापियो। जागिरका सिलसिलामा म कलैयामा थिएँ। काठमाडौं आउँदा रेडियो नेपाल गइरहन्थेँ। त्यहीबेला मैले नातीकाजीदाइलाई दुईवटा गीत दिएको थिएँ। त्यो बेला रानीको जन्मोत्सवका अवसरमा नयाँ गीत आउने गथ्र्यो। ०४४ कात्तिकमा रानीको जन्मोत्सव पारेर मेरो यो गीत आएको हो। त्यो बेला धेरैजसो गीत तारादेवीको स्वर, नातिकाजीको संगीत र चाँदनी शाह (रानी ऐश्वर्य) कै गीत हुने गर्दथ्यो, त्यसकारण धेरैलाई यो चाँदनी शाहकै गीत हो भन्ने भ्रम पनि रहेछ। मलाई सम्झना छ, चाँदनी शाहको निधनपछि डा. रामदयाल राकेशले पनि यस गीतलाई चाँदनी शाहको लोकप्रिय गीत भनेर पत्रिकामा प्रकाशित गर्नुभयो। मैले आपक्ति गरेपछि उहाँले त्यसलाई सच्याउनुभयो। यो गीत रानीलाई भने मनपरेको गीतमध्येको थियो। त्यसबेला राजाको जन्मोत्सवमा रानीको फर्माइसमा गीतहरू बज्दथ्यो। रानीले २–३ वर्षसम्म यो गीत फर्माइस गर्नुभएको थियो।

नारायणगोपालसँगको पहिलो गीत

नारायणगोपालले गाउनुभएको मेरो पहिलो गीत हो– ‘तिमी जुन रहरले ममा फुल्न आयौ..’  उहाँले सबैभन्दा कान्छो गीतकारको गीत गाएको पनि सम्भवतः यही हो। यो गीत ०४१ पुसमा राजाको जन्मोत्सवका बेला रिलिज भयो। यो गीतको पहिलो ड्राफ्ट ०३४ सालमा गरेको हुँ, अन्तिम रूप भने ०३६ सालमा दिएँ।

एक दिन दिव्य खालिङले मलाई ‘नारायणदाइले भेट्न बोलाउनुभएको छ’ भन्नुभयो। त्यो भन्दाअगाडि पनि मेरो सामान्य चिनचान उहाँसँग थियो। त्यो भेटमा उहाँले गाउने भनिएको गीतको दुई शब्दहरूको मेलोडीको विषयलाई लिएर मतान्तर भयो। त्यसको करिब २०–२५ दिनपछि म घुम्दै रेडियो नेपालमा पुगेको थिएँ। रत्न रेकर्डिङबाट फ्mर्किंदै गर्दा नारायणगोपालसँग मेरो त्यहीँ भेट भयो। उहाँ बाइकमा हुनुहुन्थ्यो। मलाई देखेर बाइक रोकी मलाई अर्को नयाँ गीत छ कि छैन भनेर सोध्नुभयो। मैले गीत दिव्य खालिङले संगीतबद्ध गर्नुभएको नयाँ गीत छ भनेर बताएँ। उहाँले सोध्नुभयो, ‘तिमीलाई त्यो संगीत चित्त बुझेको छ त ?’ मैले ‘बुझेको छ’ भनेपछि उहाँ सीधै कोपुण्डोल जानुभएछ र दिव्य खालिङसँग दिनेशको नयाँ गीत टेप (रेकर्ड) गरिदिनु भन्नुभएछ। पछि यो गीत रेकर्ड भई ०४१ सालमा ‘द ब्लु नोट्स’ नामको नारायणदाइको लङ प्ले (एलपी रेकर्ड) रेकर्डमा समावेश भई बाहिर आयो।  

‘यो सम्झने मन छ’ आम मान्छेले मनपराउने गीत हो भने योचाहिँ एउटा क्लासले मन पराएको गीत हो। यसलाई धेरैले रियाज गर्दा गाउनुहुन्छ भन्ने सुनेको छु। अहिले यो गीत सुन्दा म आफैँ अचम्ममा पर्छु, यस्तो किसिमको भावना कसरी आएको होला।

माओवादीमा चर्चित  

०४६ सालअघि रेडियो नेपालमा मात्र गीत रेकर्ड हुन्थ्यो। मायापिरती र धार्मिक आस्था, राष्ट्रिय भावना र राजारानीसँग सम्बन्धित गीत रेकर्ड भए पनि सामाजिक सरोकारका विषय समेटिएका गीत रेकर्ड हुँदैनथ्यो। रेकर्ड हुनुअघि नै गीत पास गर्नुपथ्र्यो। ०४६ पछि पनि पुरानो ढंगमा गीत आइरहेका थिए। म भने गीतमा सामाजिक सरोकारका विषय पनि आउनुपर्छ भन्ने मान्यता राख्दथेँ। त्यही मान्यताका आधारमा मैले केही गीत लेखेको थिएँ। तीमध्येको एउटा गीत हो–

रक्सी बेचेँ, आलु बेचेँ, बेचेँ चिउरामासु

सबैभन्दा धेरै बिक्यो जोवनको हाँसो..

सुरुमा धेरै गायक–गायिका तथा संगीतकारले ‘यस्ता गीत (सामाजिक सरोकारका) चल्दैनन्’ भनेर रेकर्ड गर्न चासो राख्नुभएन। पछि यस्ता गीतहरूको एल्बम निकाल्ने गरी संगीतकार मित्र शक्ति वल्लभ र मैले खर्च मिसाएर सस्तोमा गीतहरू रेकर्ड गर्न थाल्यौँ, त्यही सिलसिलामा यो गीत शर्मिला बर्देवाले गाउनुभयो। ०५७ को प्रजातन्त्र दिवसका दिन कान्तिपुर रेडियोबाट सार्वजनिक भएको अनुभूति शीर्षकको एल्बममा यो गीत समावेश छ।  

यो गीतमा मैले गाउँमा चिया/चमेना पसल (भट्टी) चलाउने चेलीलाई समाजले हेर्ने दृष्टिकोणलाई अगाडि सार्दै सुधारका लागि आग्रह गरेको छु। चलचित्र निर्देशक तुलसी घिमिरेले यो गीत सुनिसकेपछि यसमा आधारित सिनेमा बनाउने कुरा पनि गर्नुभएको थियो। त्यसमा म पनि सकारात्मक थिएँ। तर, केही कारणवश सिनेमा भने बन्न सकेन।  

यो गीतको एउटा अर्को कथा पनि छ। माओवादी द्वन्द्वका बेला दाङ भन्दामाथि पाठ्य सामग्री लगायत माओवादीले चेक नगरी जाँदैनथ्यो रे। म त्यो बेला सहसचिव थिएँ। एकजना पत्रकार मेरो अफिसमै आएर भन्नुभयो, ‘दिनेशजी, तपाईं त माओवादीमा हिट हुनुहुँदो रहेछ!’ त्यो सुनेपछि म एक किसिमले अकमकिएँ। त्योबेला माओवादीमा हिट हुनु भनेको डराउनुपर्ने कुरा थियो। कुरा अर्कै रहेछ, यो गीतको क्यासेट उहाँहरूले गाउँगाउँमा बाँड्नुभएको रहेछ। यी गीतमा भएको न्याय र समान्तरको खोजी, विद्रोह, समाज परिवर्तनको चाहना आदिका कुराले उहाँहरूलाई यो आफ्नै कुराजस्तो लागेछ र डबिङ गर्दै क्यासेटहरू बाँड्नुभएको रहेछ। त्यसबाहेक जेलमा रहेका दिदीबहिनीले पैसा उठाएर यो क्यासेट किनेर सुनेको र मनपराएको जानकारी पनि मलाई छ।  

‘पानी पानी भयो मेरो मन पनि’

एक दिन नलिना चित्रकारले मसँग गीत माग्नुभयो। मैले उहाँलाई धेरै गीत देखाएँ र एउटा छान्न भनेँ। उहाँले ‘पानी पानी भयो मेरो मन पनि’ बोलको गीत छान्नुभयो। सचिन सिंहको संगीतमा यो गीत ०५८ सालमा बजारमा आयो। नलिनाको ‘रङ’ भन्ने एल्बममा छ यो गीत। यसमा मैले एउटी यौवनाको मनोदशा, युवकप्रतिको आकर्षणलाई समेटेको छु। यो गीत युवाहरूका माझ निकै चर्चित छ।  

निधारमा लर्काएर सप्तरंगी टीको  

मेरा साथी राजेन्द्र शलभले चलचित्र ‘विजय–पराजय’ निर्देशन गर्ने कुरा भयो। र, मलाई गीत लेख्न अनुरोध गरियो। मैले यो चलचित्रका लागि दुईवटा गीत लेखेँ। त्योबेलासम्म दशैँ र तिहारबारे समग्र रूपमा गीत त लेखिन्थ्यो, तर भाइटीकाको छुट्टै गीत बाहिर आएको थिएन क्यार। मैले भाइटीकामै केन्द्रित भएर लेखेँ। यस गीतमा तिहारको सांस्कृतिक महत्व र दिदीभाइ, दाजुबहिनीको सम्बन्धलाई उतारेको छु। ठूलो पर्दाको चलचित्रका लागि लेखेको यो मेरो पहिलो गीत पनि हो। यो गीत शम्भुजित बाँस्कोटाको संगीत र हेमलताको स्वरमा २०४६ मा मुम्बईमा रेकर्ड भयो।  विगत ५–७ वर्षयता मलाई भिडियो क्लिप आउने गर्छ, विदेशमा बस्ने दाजुभाइ–दिदीबहिनीले भाइटीकाका बेला युट्युबबाट यो गीत बजाएर भर्चुअल टीका लगाइदिएको। टिकटकहरूमा पनि यसपटक यो गीतको लोकप्रियता अधिक देखियो।  

लैजा चरी मेरो खबर

चलचित्र ‘जूनतारा’का लागि मैले ‘लैजा चरी मेरो खबर’ बोलको गीत लेखेको हुँ। यो गीत चलचित्रमा प्रयोग पनि भयो। पछि संगीतकार न्ह्यू बज्राचार्य भाइले चलचित्रका लागि बनिसकेको यो गीतलाई आफूले नयाँ किसिमले बनाउने कुरा गर्नुभयो। त्यो बेला मैले रेकर्ड त नगरौँ होला भन्दै रहेँ। न्ह्यू भाइले धेरै जोडे गर्नुभएपछि मैले सोचेँ– नयाँ स्वर, नयाँ संगीत भएपछि गीत दिँदा के फरक पर्ला र रु त्यसपछि रेकर्ड गर्ने सिलसिलामा न्ह्यूभाइले योगेश्वर अमात्यलाई गाउन दिने कुरा गर्नुभयो। 

आफ्नो मान्छे बाहिर हुँदा उसको यादमा एक्लोपन महसुस गरेकी नारीको भावना यस गीतमा ल्याउने कोसिस गरेको छु। त्यसैले नारी स्वरमै रेकर्ड हुनुपर्छ भन्ने मेरो सुरुको सोच थियो। पछि योगेश्वरभाइकै स्वरमा यो गीत २०६१ कात्तिकमा रेकर्ड भयो। अहिले लाग्छ, योगेश्वरभाइको गायकीका कारण यो गीतले नयाँ जीवन पायो। बेलायतको रोयल एल्बर्ट हलमा पहिलोपटक गुन्जिएको नेपाली गीत पनि यही हो। त्यहाँ योगेश्वर भाइले नै यो गीत गाउनुभएको थियो।  

बोल बोल पाखाहरू

चलचित्र ‘झुमा’का लागि मलाई गीत लेख्न भनियो। मनाङको सेरोफेरोमा यो गीत लेख्नुपर्ने थियो। मैले पहाडी जीवन कल्पना गरेर कथाको आधारमा यो गीत लेखेको हुँ। यो गीतमा मैले स्थानीय लोकगीत पनि प्रयोग गरेको छु, जसले यो गीतलाई थप प्रभावकारी (सुन्दर) बनाएको छ। गीत भने यस्तो थियो–  

बोल, बोल पाखाहरू,

हिउँ फुल्ने काखहरू,

किन होला हिजोआज,

बाटो छेक्छन् आँखाहरू।

यो गीतमा एउटी हुर्केकी गाउँले युवतीको भावना छ, जसलाई उसले प्रकृतिलाई साथी बनाएर पोखेकी छे। यो गीतलाई समग्रमा प्रेमको गीत हो भन्दा फरक नपर्ला।

यो गीत प्रकाश गुरुङको संगीत र सुक्मित गुरुङको स्वरमा ०४६ सालमा रेकर्ड भएको हो। मलाई के लाग्छ भने, योभन्दा पहिले निस्केको ‘वनमा फूल्याे फूलै फूल’ बोलको गीतमा धेरैले नृत्य गर्थे, त्यस्तै ‘बोल बोल’ पनि नाच्ने प्रकृतिको गीत बनेको छ। अहिले पनि गायिका सुक्मित गुरुङसँग कुरा हुँदा यो गीतको कुरा हुन्छ। यसको अर्को एउटा कथा पनि छ। गायक यश कुमारलाई यो गीत खुब मन परेको रहेछ। उहाँले आफ्नो फिल्म ‘छिरिङ’को सुटिङमा मनाङ पुग्दा यो गीतको पनि सुटिङ गरेर आउनुभएछ। काठमाडौं फर्केपछि उहाँले मसँग छिरिङ भन्ने चलचित्रमा यो गीत राख्नका लागि अनुमति माग्नुभयो तर मैले अनुमति दिन सक्ने अवस्था थिएन। निकै लामो संघर्षपछि चलचित्र झुमाका निर्माताबाट अनुमति पाएपछि यो गीत चलचित्र ‘छिरिङ’मा पनि प्रयोग भएको छ।

पहाडमा जाडो बढे

बहुदल आइसकेपछि (२०४७ सालमा) तत्कालीन नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय गीतहरूको एउटा एल्बम निकाल्ने प्रोजेक्ट बनायो। १० गीतकारलाई चुनिएको थियो, जसमा म पनि थिएँ।  

२०३६ सालमा बहुदल र निर्दलबीच जनमत संग्रह भएको थियो। निर्दलको चिह्न पहेँलो र बहुदलले नीलो थियो। गाउँघरमा पनि यसको असर देखियो। हुँदाहुँदा केसम्म भयो भने, नीलो झन्डा गाडिएको घरमा बिहे भए पहेँलो झन्डा गाडिएको घरवालालाई नबोलाउने, त्यसैगरी पहेँलो झन्डा गाडिएको घरमा बिहे वा भोज आदि हुँदा नीलो गाडिएको पक्षधरलाई नबोलाउनेसम्म गरिन्थ्यो। यसरी सामाजिक सद्भाव नै खलबलिन पुगेको कुराले मेरो मस्तिष्कमा ठाउँ बनाइराखेको थियो। पछि त्योबेला खलबलिएको सामाजिक सद्भाव त संग्लियो तर मेरो मनमा त्यो कुरा अझै बाँकी थियो। मैले त्यही कुरा सम्झेर एकेडेमीको प्रोजेक्टका लागि गीत लेखेँ–  

पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ।

आँधी आए तराईमा पहाडले छेक्नुपर्छ।

हैन भने देशभक्ति छैन हाम्रो छातीभित्र,

माटोलाई चोट लाग्दा मुटुहरू रुनुपर्छ।

(स्वर: स्वरूपराज आचार्य, संगीतः आलोकश्री)

यो गीतमा गोपाल योञ्जनले संगीत गर्दै छु भन्नुहुन्थ्यो, तर प्रतिष्ठानसँग त्योबेला आर्थिक अभाव भएर एकेडेमीको यो प्रोजेक्ट नै रद्द भयो। ०५९ सालमा कान्तिपुर टेलिभिजन स्थापना हुने भएपछि जीवा लामिछाने भाइले मलाई लोगो गीत चाहियो भन्नुभयो। मलाई स्मरण छ– कैलाश सिरोहियाजी, विनोद ज्ञवालीजी, जीवा लामिछाने र भूषण दाहाल भएर यो गीत रोज्यौँ। यो गीत स्वरूपराज आचार्यको स्वरमा र आलोकश्रीको संगीतमा कान्तिपुर टेलिभिजनको तर्फबाट रेकर्ड भयो।

उद्घाटनका लागि दरबारमा अनुरोध गरी पठाउँदा सोचेभन्दा चाँडै उद्घाटन गर्ने गरी दरबारले जानकारी पठाएपछि समय अभावका कारण यो गीतकोे छायांकन हुन पाएन र ०५९ सालमा रेकर्ड भएको यो गीत ०६१ सालदेखि रेडियो कान्तिपुरमा बज्न थाल्यो। त्यसपछि मैले ०६८ सालमा मेरो एल्बम ‘देशको गीत’मा यो गीतलाई समावेश गरेँ। यसको भिडियो विन्ध्यवासिनी म्युजिक प्रालिबाट आएको छ। मलाई अझै स्मरण छ– कोशीमा बाढी आउँदा धेरैजसो टेलिभिजन र रेडियोमा यही गीत बज्थ्यो। अर्को घटना, ०७२ को भुइँचालोपछि संसद् चल्यो, त्यतिबेला मलाई चिन्ने सांसदले मसँग यो गीतको शब्द सोध्थे र यो गीत आफ्नो भाषणको क्रममा समावेश गर्थे।

नेपालको वर्तमान संविधान पारित भई संविधानसभाका सदस्यले सही गरिरहनुभएका बेला त्यो दिनभरि नै संसद्मा दुई गीत बजिरहे– नेपाली हामी रहौँला कहाँ र पहाडमा जाडो बढे.. यो आफैँमा मेरा निम्ति गौरवको क्षण थियो। यो घटना नागरिक दैनिकले समाचारको रूपमा त्यसबेला सम्प्रेषण पनि गरेको थियो।

(निमेष पौडेलसँगको कुराकानीमा आधारित।)
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस